पछिल्लो समय पाश्र्वगायनमा जमेको नाम हो– ताराप्रकाश लिम्बू । गायक बन्नका लागि उनले भारतको दिल्लीदेखि मुम्बई हुँदै काठमाडौँको यात्रा तय गरेका छन् । गायनकै लागि उनी दिल्लीमा समोसा बेच्नेदेखि मुम्बईमा वेटरसम्म बनेका छन् । दुई दर्जनभन्दा बढी फिल्ममा एकल संगीत दिइसकेका लिम्बू गीत पनि गाउँछन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः
आफ्नो गीतमा आफैँ अभिनय गर्नुभएछ नि ?
‘मायाको चिनो’ बोलको गीतबाट पहिलोपल्ट मोडलिङ गरेको हुँ । व्यावसायिक ढंगले अघि बढ्ने सोचका साथ चाहिँ होइन ।
सानैदेखि अभिनय गर्ने लक्ष्य पो थियो कि कतै ?
त्यस्तो त होइन । तर, म सानैदेखि गाउनुभन्दा बढी नाच्थँे । मेरो नाच मन पराएर आफन्त र छिमेकीले पैसा दिन्थे । मेरो खास रुचि चाहिँ गायनमै थियो ।
संगीत क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानैदेखि नाचगानमा बढी रुचि भएकाले होला पढाइमा त्यति ध्यानै गएन । त्यतिबेला धेरैले कला र गला भएको मान्छेलाई समस्या हुन्न भन्थे । म पनि होला नि भन्ठान्थँे । उदितनारायण झाको ठूलो फ्यान थिएँ । उहाँ मुम्बईमा हुनुहुन्छ भन्ने सुनेको थिएँ । मसँग एकदमै मिल्ने साथी कमल सापकोटासँग सल्लाह गरेर भारत जाने निर्णय गरियो । तर, घरमा फकाउन गाह्रो थियो । त्यसैले घरमा आर्मी भर्ती हुन जाने भनेर ३५ सय रुपैयाँ मागेँ । साथीले भैँसीको पाडो बेच्यो । सीधै मुम्बई जान सक्ने अवस्था थिएन । दिल्लीमा चिनेका दाइ थिए, पहिला त्यतै गयौँ । दिल्लीमा एउटा कम्पनीमा काम ग¥यौँ । त्यहाँ धेरै दुःख गरियो । चियादेखि समोसा बेच्नेसम्म सबै काम गरँे । छ महिनापछि साथीलाई त्यतै छोडेर म गायक बन्ने सपना लिएर कम्पनीको मालवाहक ट्रकमा चढेर मुम्बई लागँे । खल्तीमा जम्मा १५ सय रुपैयाँ थियो । खोज्दै जाँदा एउटा नेपालीको होटलमा काम पाइयो । वेटरदेखि कुकको सहयोगीसम्म भएर सबै काम गरियो । खास लक्ष्यको त छेउमा पनि पुग्न सकेको थिइनँ । भारत पुगेको तीन वर्षपछि संगीत गुरु कार्तिकप्रसादसँग भेट भयो । उहाँसँगै निःशुल्क संगीत सिक्ने मौका पाइयो । आइतवार बिदा हुन्थ्यो । संगीत सिकेबापत गुरुको घरमा काम गरिदिन्थँे । इन्डियन आर्मीमा रहेका मेरा साइला दाइले एक दिन फोन गर्नुभयो । भारत आएदेखि मैले घरमा सम्पर्क राखेको थिइनँ । दाइको पोस्टिङ नागपुरमा थियो । भेट्न बोलाउनुभयो । म गएँ । उहाँ धेरै रुनुभयो । ‘तलाइँ पढ्न र खर्चको समस्या त थिएन । किन यसरी हिँडेको ?’ भन्नुभयो । ‘कान्छो कहाँ गयो होला’ भनेर आमा रुने कुरा सुनाउनुभयो । त्यसको केही दिनपछि दाइ र म घर फर्कियौँ । एल्बम निकाल्न दाइले लगानी गरिदिन्छु भनेपछि ०६० सालमा राजधानी छिरियो र ०६१ मा ‘लाइफ’ नामक पहिलो एल्बम निकालियो ।
भारतमा संघर्ष गर्दा घरमा सम्पर्क किन गर्नुभएन त ? घरको याद आएन ?
याद त धेरै आउँथ्यो । तर, मलाई गायक बन्नु थियो । घरबाट ढाँटेर निस्किएको थिएँ । घरमा सम्पर्क नगरे पनि गाउँघरका साथीभाइसँग चिठी आदानप्रदान भइराख्थ्यो । घरबारे सोधिराख्थेँ । फोन नम्बर र खास ठेगाना चाहिँ कसैलाई दिन्थेन । दाइ इन्डियामै भएकाले खोजेर कतै घर पो लाने हो कि भन्ने डर लाग्थ्यो । मुम्बईको होटलमा काम पाएको पहिलो दिन त त्यहाँको स्टाफ रुम देखेर खूब रोएँ । मलाई बस्न दिएको कोठामा मुसाहरू गुडुडुडु यताउता कुदिरहेका थिए । कोठा भद्रगोल थियो । त्यो देखेर घरको धेरै याद आयो र खूब रोएँ ।
लक्ष्य हासिल गर्न भारतमा केही प्रयास गर्नुभएन त ?
होटलमा आउने कोही ग्राहक पहुँचवाला लाग्थ्यो कि म गीत सुनाइहाल्थेँ । बाहिर पनि अलिकति पावरफुलजस्तो लाग्यो कि आफ्नो स्वर सुनाउँथे । तर, एकजना पनि चलेको संगीतकर्मीसँग भेट्न सकिनँ । अन्त्यमा आफ्नै देश काम लाग्यो । त्यसरी भारत जानु मेरो एक किसिमको पागलपन थियो भन्ने लाग्छ अहिले ।
संघर्ष त राजधानी छिरेपछि पनि भयो होला नि ?
किन नहुनु ? नभेटेको संगीतकार कोही छैन । सबै निर्माताका ढोका ढकढकाएको छु । सबैलाई गीत सुनाउँथेँ । धेरै निर्माताले ‘राम्रो छ स्वर’ भन्थे । तर, खोइ किन हो गाउन चाहिँ दिएनन् ।
फिल्ममा ब्रेक कसरी पाउनुभयो ?
निर्माता राजकुमार राईले नै हो फिल्म ‘पापी मान्छे–२’बाट फिल्ममा ब्रेक दिएको । उहाँको फिल्मबाटै मैले मेरै संगीतमा स्वर दिने मौका पाएँ । उहाँसँग मेरो पहिलेदेखि नै चिनजान भइसकेको थियो । मेरो कामबाट प्रभावित हुनुहुन्थ्यो । उहाँकै रिफरमा संगीतकार महेश खड्काको असिस्टेन्ट भएर मैले काम गर्ने मौका पनि पाएको थिएँ ।
गायक बन्छु भनेर हिँडेको मान्छे भन्नुहुन्छ तर अहिले संगीतकारका रूपमा बढी परिचित हुनुहुन्छ नि ?
त्यही त । जीवनमा सोचेजस्तो हुन्न रहेछ । संगीत सिर्जना गर्दागर्दै बढी संगीतकार नै भइएछ । तर, पनि म खुशी नै छु । किनकि, संगीतकार आफैँ पहिलो गायक पनि हो । त्यसैले मेरो सपना एक हिसाबले पूरा भइसकेको छ ।
सफलता पाइसकेपछि संघर्षको समयलाई कसरी सम्झनुहुन्छ ?
संघर्षका ती दिनलाई म बारम्बार सम्झन चाहन्न ।
भनेपछि संगीतकारका रूपमा स्थापित हुनुभएकोमा खुशी हुनुहुन्छ ?
दुःखी हुने ठाउँ नै छैन नि । दालभात खाने मेलो नै संगीत बनेपछि किन दुःखी हुनु ?
‘बेबी आई लभ यू’ बोलको गीतबाट नै तपाईं दर्शक÷स्रोतामाझ गायकका रूपमा परिचित हुनुभयो है ?
हो । फिल्म ‘मायाको बारी’को यो गीतले मलाई धेरै दर्शक÷स्रोतामाझ चिनायो । थुप्रै कन्सर्टमा जाने मौका पाएँ । एक किसिमले यो गीत मेरो करिअरको टर्निङ प्वाइन्ट बनिदियो जस्तो लाग्छ ।
तपाईंले गाएका गीत प्रायः रोमान्टिक छन् । गीतको मेलोडी पनि लगभग उस्तै हुन्छ । ‘यो ताराप्रकाशको गीत हो’ भनेर स्रोताले सजिलै छुट्याउन सक्छन् । यसलाई संगीतकारको सफलता भन्ने कि असफलता ?
संगीतकारले आफ्नो छाप छोड्नु भनेको त ठूलो सफलता हो नि । तर, मेरा पहिले र अहिलेका फिल्मका गीतलाई दाँज्ने हो भने फरक स्वाद चाहिँ पाउनुहुन्छ ।
पछिल्लो समय अभिनेता आर्यन सिग्देलका लागि प्रायःजसो तपार्इंले नै स्वर र संगीत दिइरहनुभएको छ ? खास कारण केही छ ?
हो, फिल्म ‘आई एम सरी’देखि हामी सँगै काम गरिरहेका छौँ । हाम्रो सम्बन्ध नै खास कारण हो । व्यावसायिक हिसाबले मात्र नभएर व्यक्तिगत हिसाबले पनि हामी नजिक छौँ ।
समीक्षकहरू अहिले नेपाली संगीतलाई बजारले डो¥याइरहेको बताउँछन् । यस्तो अवस्थामा तपाईंले आफ्ना लागि कति गीत गाउनुभयो त ?
मैले कहिल्यै पनि आफ्नो या बजारका लागि भनेर संगीत सिर्जना गरिनँ । सधैँ राम्रो कुरा दिन खोजेँ । ती गीत बजारका लागि पनि भए र मेरा लागि पनि । एउटा सत्य के पनि हो भने पछिल्लो समय हिजोका जस्ता जीवन्त गीत बन्न छाडकै हुन् । समय परिवर्तन वा संगीतलाई बजारले डो¥याएरको पनि हुन सक्छ ।
कुन समयमा बढी संगीत सिर्जना गर्न रुचाउनुहुन्छ ?
संगीत ‘मुड नै भएन’, ‘फुरेन’ भनेर हुँदैन । यसका लागि त मुड बनाउनुपर्छ । बढीजसो बिहान संगीत सिर्जना गर्छु । हार्मोनियम र गिटारमार्फत गर्छु । एक्लै हिँडिरहेको बेला, बाइक कुदाइरहेको बेला र कुनै कार्यक्रममा पुगेको बेला पनि किन नहोस्, धुन सिर्जना गरिरहेकै हुन्छु ।
तपाईंको अनुभवमा संगीतकारमा हुनुपर्ने गुण चाहिँ के रहेछन् ?
गीतलाई महसुस गर्न सक्नुपर्छ संगीतकारले । भावनामा डुब्न सक्नुपर्छ । शब्दमा बढी ध्यान दिनुपर्छ । शब्दसँग न्याय दिन गर्न सक्छुपर्छ ।
संघर्ष गरेर यहाँसम्म आइपुग्नुभएको छ । संगीत क्षेत्रमा लाग्न चाहनेलाई के सुझाव दिन चाहनुहुन्छ ?
मलाई अझै याद छ पहिलोपल्ट गीत रेकर्डिङ गराउँदा आफूलाई ‘म हो नेपालको गायक, मजस्तो गाउने त कोही छैन’ जस्तो लागिसकेको थियो । आफूलाई मनमनै खतरै गायक सम्झिरहेको थिएँ । बाहिर व्यक्त चाहिँ गरिनँ । अहिले मेरा पहिलेका गीत सुन्दा आपैmँ हाँस्छु । त्यसैले यो क्षेत्रमा लाग्नुअघि घमण्ड भन्ने कुरा त्याग्नुपर्छ । संगीत सिकेर र यो क्षेत्रलाई बुझेर मात्र आउनुपर्छ भन्ने लाग्छ ।
Leave A Comment