विवादमा फान अवार्ड मनोनयन

शनिबार, ०४ असार २०७३, ०१ : ४३ शुक्रवार
विवादमा फान अवार्ड मनोनयन

चलचित्र कलाकार संघले गर्न लागेको ‘फान अवार्ड २०७२’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । तर, मनोनयन नै विवादमा भएको छ ।
गत बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमबीच २४ विधाको मनोनयन सार्वजनिक गरिएको थियो । जसअनुसार उत्कृष्ट फिल्मका लागि ‘कबड्डी कबड्डी’, ‘क्लासिक’, ‘पशुपति प्रसाद’, ‘प्रेमगीत’ र ‘ड्रिम्स’ बीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै अवार्डमा निर्देशकतर्फ ‘कबड्डी कबड्डी’ बाट रामबाबु गुरुङ, ‘वडा नं ६’ बाट उज्वल घिमिरे, ‘प्रेमगीत’ बाट सुदर्शन थापा, ‘क्लासिक’ बाट दिनेश राउत र ‘पशुपति प्रसाद’बाट दीपेन्द्र के खनाल प्रतिस्पर्धामा छन् ।

यसैगरी अभिनेतातर्फ दयाहाङ राई (कबड्डी कबड्डी), खगेन्द्र लामिछाने (पशुतपति प्रसाद), आर्यन सिग्देल (क्लासिक), प्रदीप खडका (प्रेमगीत) र सौगात मल्ल (फन्को) बीच प्रतिस्पर्धा हुनेछ भने अभिनेत्रीमा नम्रता श्रेष्ठ (क्लासिक), प्रियंका कार्की (फन्को), केकी अधिकारी (भाग सानी भाग), रिश्ता बस्नेत (रिफ्युजी) र नीता ढुंगाना (फूलैफूलको मौसम तिमीलाई) बाट मनोनयनमा परेका छन् ।

अवार्डमा फिल्म ‘प्रेमगीत’ सर्वाधिक १५ विधामा मनोनयनमा परेको छ ।
त्यसैगरी ‘क्लासिक’ दश, ‘पशुपति प्रसाद’, ‘कबड्डी कबड्डी’, ‘ड्रिम्स’ र ‘वडा नम्बर ६’ आठआठ विधामा मनोनयमा परेका छन् ।

दीपकराजको आरोप
गत वर्ष राम्रो चर्चा कमाएको फिल्म ‘वडा नम्बर ६’ भने अवार्डको उत्कृष्ट पाँच फिल्मको मनोनयनमा परेन । जसलाई लिएर थुप्रै मिडियाले समाचार बनाए । अनलाइनखबर डटकमको समाचार सेयर गर्दै यो फिल्मका अभिनेता एवं निर्माता दीपकराज गिरीले पनि असन्तुष्टि पोखे । उनले निर्णायकहरूको छनोट नै गलत भएको जस्तो आशय व्यक्त गरे । उनले ‘एउटा सिखन्डीलाई जब महाभारतको जिम्मा दिइन्छ, त्यहाँ पाण्डवप्रति अन्याय भयो भनेर कुर्लिनुको कुनै अर्थ हुँदैन । हामीलाई वास्तविक अवार्ड जनताले दिइसके’ भन्दै लेखेका थिए । यो अवार्डको निर्णायकमा कलाकार हरिहर शर्मा, फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा, संगीतकार सुरेश अधिकारी, अभिनेत्री सरिता लामिछाने र पत्रकारद्वय प्रकाश सुवेदी र शान्तिप्रिय रहेका थिए ।

अवार्ड विवादमा आएपछि निर्णायक रहेका पत्रकार सुवेदीले आफ्नो टेलिभिजन कार्यक्रम ‘चित्रपट’मा आफ्नो समर्थनमा रिपोर्ट बजाएपछि निर्माता दीपकराज झन् रिसाएको पाइयो । उनले पत्रकार सुवेदीले सेयर गरेको उक्त कार्यक्रमको भिडियोमै आयोजकले चाहेको व्यक्तिलाई अवार्ड दिन सजिलो होस् भन्दै सम्पूर्ण नोमिनेसन नै फिर्ता लिने धम्की दिएका छन् । यसरी यिनीहरूबीच फेसबुकमै दोहोरी चलेको छ ।

परेनन् कामेश्वर
गत वर्ष भित्रिएका नयाँ अनुहारमध्ये सर्वाधिक चर्चा कमाउनेमा पर्छन्, अभिनेता कामेश्वर चौरशिया । उनले फिल्म ‘रेशम फिलिली’मा मधेशी पात्रको भूमिका निर्वाह गरेका थिए । उनको अभिनय देखेपछि धेरैले उनलाई नवअभिनेताको अवार्डको हकदार भन्दै अड्कल काटेका थिए । तर, फान अवार्डमा उत्कृष्ट पाँचमा उनी अटाएका छैनन् । नवअभिनेतामा आमेश भण्डारी, पल शाह, सुशील श्रेष्ठ, नाजिर हुसेन र प्रदीप बास्तोला परेका छन् ।

वर्षा नवअभिनेत्री रे !
दुई वर्षअघि फिल्म ‘नाई नभन्नु ल २’मा खेलेकी अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘पशुपतिप्रसाद’बाट अवार्डमा उत्कृष्ट पाँच नवअभिनेत्रीको मनोनयनमा परेकी छिन् ।

आफैँ आयोजक, आफैँ प्रतिस्पर्धी
अशिष्मा नकर्मी र सविन श्रेष्ठ चलचित्र कलाकार संघको कार्यसमितिमा छन् । उनीहरू अवार्ड आयोजक हुन् । तर, उनीहरू पनि मनोनयनमा परेका छन् । अशिष्मा उत्कृष्ट सहअभिनेत्री र सविन सहअभिनेताको प्रतिस्पर्धामा छन् । आयोजक आफैँ प्रतिस्पर्धी भएपछि अवार्डको निष्पक्षतामाथि प्रश्नचिन्ह उठेको छ ।

भुवन र निखिल प्रतिस्पर्धी
गत वर्ष दुई अभिनेता भुवन केसी र निखिल उप्रेती पहिलो पटक फिल्म क्षेत्रमा निर्देशकका रूपमा देखापरे । यो अवार्डमा उनीहरू दुवै उत्कृष्ट नवनिर्देशकको विधामा मनोनयनमा परेका छन् । भुवनले फिल्म ‘ड्रिम्स’ निर्देशन गरेका थिए भने निखिलले ‘भैरव’ । उनीहरूसँगै सुव्रत आचार्य, निर्मल शर्मा र घनश्याम लामिछाने पनि प्रतिस्पर्धामा छन् ।

 

Leave A Comment