‘घुमघामको सोखिन म’

सोमबार, १७ असोज २०७३, ०९ : ३४ हिमाल लम्साल , Kathmandu
‘घुमघामको सोखिन म’

रवीन्द्रप्रताप शाह
सांसद्, नेकपा माओवादी केन्द्र

मनोरञ्जनका लागि के गर्नुहुन्छ ?
गीतसंगीत सुन्छु । फिल्म हेर्छु ।
नाच्न जान्नुभएको छ ?
बाध्यता नपरी नाच्दिनँ । कसैले ‘नाच्नै पर्छ’ भन्दा चाहिँ केही फन्को लगाएर बस्छु ।
गीत गुनगुनाउनुहुन्छ ?
घरमा एक्लै हुँदा गुनगुनाउँछु । बाथरुम सिंगर हुँ । नेपाली, हिन्दी सबै किसिमका गीत गुनगुनाउँछु ।
कस्ता गीत सुन्न मन पर्छ ?
जुन गीतको शब्द र लय जिब्रोमा बस्ने खालको हुन्छ ।
फिल्म चाहिँ कस्ता हेर्न रुचाउनुहुन्छ ?
एक्सन, थ्रिलर र हास्यप्रधान फिल्म हेर्न रुचाउँछु । रोनाधोना भएको फिल्म हेर्न मन पर्दैन ।
फिल्मको छनोट चाहिँ कसरी गरिन्छ ?
पत्रपत्रिकाले लेखेका समीक्षाका आधारमा र साथीभाइले ‘राम्रो छ’ भनेको फिल्म हेरिन्छ ।
घुमघाम गर्न मन पर्छ ?
घुमघामको सोखिन म । पहाडी जिल्ला घुम्न साह्रै मज्जा लाग्छ । पोखरा, पाल्पा र भेडेटार त गइराख्छु ।
पुस्तक पढ्नुहुन्छ ?
बजारमा चलेका प्रायः पुस्तक किनेर राख्छु । भ्याउँदा मात्रै पढ्ने हो ।
फुर्सदमा के गर्नुहुन्छ ?
फेसबुक चलाउँछु । अनलाइनमा समाचार पढ्छु ।
दशैँको योजना के छ ?
दशैँमा घरमा टीका लगाएर ससुराली गइन्थ्यो । तर, यसपालि ससुरालीका आफन्त यतै आउनुभएको छ । त्यसैले उता गइँदैन । यतै मनाइन्छ दशैँ ।

 

 

Leave A Comment