दशैँ यत्ति भयानक होला भन्ने थाहै थिएन । खसी मारेको देखेको हुँ, सुँगुर मारेको, भैँसी, कुखुरा वा बोको मारेको देखेको हुँ । म यीमध्ये केही पनि थिइनँ, न बोको, न खसी । न त दानव नै थिएँ महिषासुर ।
महिषासुर किन दानव थियो, कुन गल्ती उसले गरेको थियो, मैले बुझ्ने कुरा भएन । मैले न देवीलाई चिनेको थिएँ, न दानवलाई । न त यी दुईको झगडाको कारण नै थाहा थियो । खासमा देवीले जितेकामा हामी रमाउनु पर्ने किन ? त्यसबाट हामीलाई फाइदा के भयो ? देवीले हारेकी भए हाम्रो के नोक्सान हुन्थ्यो ? यी कुनै प्रश्नको जबाफ खोज्नु मेरो वशको कुरा थिएन, न त चासो नै थियो ।
तर, दशैँ हामीलाई रमाइलो लाग्यो । किन रमाइलो लाग्यो, भनिरहन पर्दैन ।
रमाइलो लाग्ने एउटा कारण आम्दानी पनि हो । सोचेभन्दा ज्यादा नाफा भयो भने दशैँ आउँछ । गाडी र मोटरसाइकल गरेर एउटै दशैँमा नेपालभित्र ६० अर्बको कारोबार हुँदो रहेछ । त्यो भनेको वर्षभरिको व्यापारको ४० प्रतिशत । मोबाइलहरूको त्यस्तै छ । लुगाहरूको कुरै गर्न परेन । जसले बढीभन्दा बढी बेच्न सक्छ, दशैँ उसलाई आउँछ । किन्नेहरू जो दशैँ ठानिराखेका छन्, विचरा झुक्किएका छन् । झुक्याउनका लागि विज्ञापन छ, अफरहरूको वर्षा छ । टिभीमा आउने, रेडियोमा आउने, समाचारपत्र र इन्टरनेटमा आउने विज्ञापनका अनेक अप्सराहरूले जादुगरी चमत्कार देखाइरहेछन् ।
साथमा धेरथोर पैसा छ भने दशैँमा मानिस कुत्किुतिन थालिहाल्छ । अलिकति पैसा त छ तर मोटरसाइकल किनिहाल्ने आँट छैन । घरमा अनेक आवश्यकता छन् । तर, चियासँगै पत्रिकामा विज्ञापन आउँछ । पानाभरि मोटरसाइकलको फोटो छ, टिलिक्क परेको, चढूँ चढूँ लाग्ने र लेखेको छ, ‘जाऊँ हिरो लिऊँः सुन चाँदी र पैसा पाऊँ ।’ हिरो नामको मोटरसाइकल दिन्छ रे, सुनचाँदी र पैसा दिन्छ रे । किन छोड्ने ?
बजाजको किन्दा लाख रुपियाँसम्मको नगद पुरस्कार, होन्डाको किन्दा लाखै रुपियाँको नगद छुट, यामाहाको किन्दा जापान भ्रमणको अवसर, सुजुकी किन्ने हो भने बम्परअन्तर्गत पाँच लाखसम्म जित्ने अवसर । मान्छेलाई उचाल्नु, फकाउनु, लोभ्याउनु र गोजी रित्याइदिनु । तास खेल्दा होस् वा व्यापार गर्दा अर्काको गोजी नरित्याईकन मजा आउँदैन ।
एउटा मोबाइल कम्पनी छ, लाभा । त्यसले लेख्छ, ‘बबाल छ अफर ः कार, बाइक र बैंकक सफर ।’ सामसुङ मोबाइल घोषणा गर्छ, ‘हरेक दिन लखपति ।’ सुन्दा यस्तो लाग्छ, नेपालीहरूलाई पैसा बाँड्न आएका कम्पनी हुन् । दशैँ त लाभाहरूलाई, सामसुङहरूलाई पो रहेछ । नेपालीकहाँ चाड आउँदा कति रमाएका छन् बिचरा, कति दिलदार छन् दानी । अर्को छ, एमआई मोबाइल । टेलिभिजन खोज्नेलाई टेलिभिजन, सुन खोज्नेलाई सुनका सिक्का । अर्को छ, जियोनी स्मार्टफोन– जियोनी उत्सव अफरः दुबई सफर । जियोनी फोन किन्ने हो भने दुबईमा कहर काटिराखेका नेपालीहरूको दुःख हेर्न सित्तैँमा सफर पाइने भो ।
दशैँका बेलामा आनन्द लाग्ने कुरा नै यही हो, सारा कम्पनी नेपालीलाई सेवा गर्न चाहन्छन् । नेपालीले गाडी चढ्न सकून्, राम्रो मोबाइल सेट लिन सकून्, राम्रो बाइक हाँक्न वा टिभी हेर्न पाऊन् । कत्रो चिन्ता छ बिचरा कम्पनीहरूलाई । पैसा नभए दशैँ कर्जा दिनेहरू पनि छन् । पैसा नभएर दशैँ रोकिन्न, रोकिनु हुँदैन ।
दशैँ उत्सव हो । बाढीमा बग्ने होस् वा भूकम्पमा थिचिने, सबैका लागि उत्सव हो । उत्सवमा कसैले दुःख देखाउनु हुँदैन । के धनी, के गरिब, गाउँले, शहरिया, सबका सबले रमाउनुपर्छ । के मधेश, के पहाड, के आर्य, के अनार्य सबका सबले खुशी हुन सक्नुपर्छ । यो झगडा गर्ने बेला होइन । कसैले कसैलाई भ्रष्टाचारी भन्न मिल्दैन । लुटेरा, अत्याचारी वा पाखण्डी भन्न मिल्दैन । कसैले कसैलाई ठग, फटाहा भन्न मिल्दैन । कालोबजारी भन्न मिल्दैन । सप्पै वैरभाव बिर्सेर रमाउने बेला दशैँ हो । आजसम्मका कुरा सब बिर्सने दिन हो ।
अन्याय यदि भएको थियो भने पनि त्यो सिद्धियो । सबै कुरा सिद्धियो, अब ठूलो र सानोको हिसाब मात्रै बाँकी छ । को ठूलो हो, को सानो हो । यो बिर्सन मिल्दैन । सानोले ठूलाको घरमा गएर टीका थाप्नुपर्छ, आशीर्वाद लिनुपर्छ । झगडा गर्ने होइन, अधिकार खोज्ने होइन, आशीर्वाद लिने हो सानाले । आशीर्वादले देश बिगारेको होस्, समाज बिगारेको होस् तर दशैँ बिगारेको छैन । टीका थाप्नु र आशीर्वाद लिनु यही दशैँको नियम हो ।
जस्तो दशैँमा मेलमिलापको कुरा आउँछ, सद्भावको कुरा आउँछ । तर, वास्तविकता के देखिन्छ भने जो अन्यायी हो, उसको शिर ठाडो हुन्छ । दशैँले जुन विधिबाट मेलमिलाप गराउँदै आएको छ, त्यो बाध्यता र आत्मसमर्पणमा आधारित छ । न्याय त्यहाँ हुँदैन । जो अन्यायमा परेको हो, ऊ वर्षैपिच्छेको दशैँमा शिर झुकाउँदाझुकाउँदै थाक्छ । हरेक दशैँमा झुक्नैपर्छ भन्ने बोध राम्ररी भइसकेपछि बिस्तारै ऊ जेठाबाठासँग टेक लिने कुराबाट पछि हट्छ, न्याय खोज्ने कुराबाट विमुख हुन्छ ।
ठूलालाई ढोग्ने र सानालाई ढोगाउने पर्व हो दशैँ । नयाँ पुस्ताले पुरानो पुस्तालाई ढोगोस्, उसबाट सिकोस्, उसैको अनुकरण गरोस् । नयाँले पुरानासँग, सानाले ठूला भनिएकासँग प्रश्न नगरोस्, आसिक शिरोधार्य गरोस् । नयाँलाई दशैँले गन्दैन, नयाँले पनि केही राम्रा कुराहरू जानेको होला भन्दैन । यसो भएपछि समाज बदलिने, नयाँ चलन चल्ने प्रश्नै आउँदैन । समाजको परिवर्तन रोकिनु भनेको ठूलाले सधैँ ठूलै भइरहन पाउनु हो, सानाले सधैँ सानै भइरहन पाउनु हो । धनीले सधैँ धनी र गरिबले सधैँ गरिब भइरहन पाउनु हो । कसैले यसलाई विकासविरोधी भनोस् वा पुरातनपन्थी, दशैँलाई त्यसले फरक पार्दैन ।
दशैँ पैसाको पर्व पनि हो । पैसा नहुनेहरूलाई दशैँमा धेरैले गन्दैनन्, मान्दैनन् पनि । खसी काट्नेको इज्जत हुन्छ । टीका लाउँदा पैसा धेरै दिनसक्छ भने अरूले उसको कदर गर्छन् । बराबरीका नातेदारमा कोही गरिब र कोही धनी छ भने आशीर्वाद र पैसा लिनका लागि धनीकै घरमा लाइन लाग्छ । गरिब दशैँमा पनि गरिबै हो ।
दशैँलाई कसैले महिषासुर नामको अत्याचारी पुरुषमाथि माता भवानीको विजय भनेका छन्, म एकदमै अलमलमा पर्छु । दशैँका बेलामा कामको चटारो मेरी आमालाई पथ्र्यो, आज श्रीमतीलाई छ । पूजापाठको बन्दोबस्तीदेखि सरसफाइका अनेक काम, पाहुनाको खातिरदारीसमेत । अष्टमीमा आठचोटि खानुपर्छ, नवमीमा नौचोटि खानुपर्छ । खाएको खायै गर्नुपर्छ दशैँमा भन्ने त छ तर भान्सामा पुरुष पस्ने चलन छैन । म तास वा गफमा नारिएका बेला उसले पकाउने काम सिध्याउनुपर्छ । मलाई रक्ती चाहिएको छ, भुटेको मासु वा पकुवा चाहिएको छ । मैले अराउने श्रीमतीलाई हो । चाडबाडमा पतिपरमेश्वर नरिसाओस्, सासूससुरा नरिसाऊन्, बच्चा नरोऊन्, सबैतिर हाँसीखुशी होस् भनेर चिन्ता गर्ने जिम्मेवारी उसको हो । दशैँलाई मातृशक्तिको विजय भन्नु खासमा के हो ? उनीहरूमाथि व्यङ्ग्य गर्नु वा उपहास गर्नु हो, कुरा बुझिने खालको छैन ।
दशैँ हामीले कयौँ वर्षैदेखि मनाउँदै आएका छौँ, सत्यको जीतको उत्सव मनाउँदै आएका छौँ । के त त्यसो भए आजको हाम्रो समाजमा सत्यको शासन छ ? हाम्रा विधि विधान, व्यवस्था, नियम कानुन सत्यका पक्षमा छन् ? अहिलेको हाम्रो समाजलाई न्यायपूर्ण समाज भन्न सकिन्छ ? जे जस्तो अहिले भइराखेको छ, त्यो हाम्रो विजय नै हो ? कि थाहै नपाईकन सत्यले उहिल्यै हारिसकेको थियो र हामी झुक्किएर आजसम्म पनि जीतकै उत्सव मनाइराखेका छौँ ? वा यस्तो पनि हुन सक्छ, कतै हामी सत्यलाई झुट र झुटलाई सत्य भनिराखेका त छैनौँ ?
स्कुलको फिस घटाउनुप¥यो भनेर वा महँगी घटाउनुप¥यो भनेर वा हामीलाई न्याय चाहियो भनेर नेपाल बन्द गराउनेका विरुद्ध बर्बादै भयो भनेर कराउने उद्योगपतिहरू, बुद्धिजीवीहरू, समाजसेवीहरू दशैँले यत्रो दिन नेपाल बन्द गर्दा किन चुपचाप देखिन्छन् ? एक दिन विद्यालय बन्द गर्दा विद्यार्थीको भविष्यलाई लिएर चिन्ता गर्नेहरू, बाल अधिकारको कुरा गर्नेहरू एक महिनासम्म विद्यालय बन्द हुँदा पनि किन शान्त रहन सक्छन् ? दशैँले विद्यार्थीको पढाइलाई बाधा गरेको छैन होला त ? थोरै भएका कारखाना पनि बन्द हुँदा, सरकारी कार्यालय ठप्प हुँदा कसैलाई मर्का पर्दैन होला ?
तर, बोल्ने मान्छे खासै छैन । न उद्योगपति बोल्छ, न व्यापारी, न मिडिया नै बोल्छ । जो धनीहरू छन्, तिनको सबैभन्दा धेरै इज्जत दशैँमै हुन्छ । उनीहरूलाई प्रभाव र रबाफ देखाउनैका लागि पनि दशैँ चाहिने नै भयो । उद्योगी व्यापारी पनि फाइदामा छन्, उत्पादित मालहरू खूब बिकेका छन् । व्यापारीको व्यापार चम्किएको छ । यिनीहरूले दशैँको विरोध किन गरून् ? मिडिया पनि बोल्दैन । विज्ञापनको भरमार । खोलमाथि खोल । तिन पाना पल्टाएपछि बल्ल पत्रिका सुरु हुन्छ । समाचार हेर्न टिभीको अगाडि बसेको दर्शक विज्ञापन हेरेरै थाकिसक्छ ।
जब हरेक विज्ञापनले मानिसको भित्र अनेक रहर जगाइदिन्छ, घरमा सङ्कट भित्रिन्छ । काम चलिरहेको मोबाइलले हुँदैन, नयाँ किन्नुपर्छ । बच्चाका रहर अनेकथरी जो बजारमा गएर जन्मिन्छन्, पूरा गर्नुपर्छ । नत्र बाबुआमाले आफूलाई हेला गरेको ठान्छन्, रिसाउँछन्, रुन्छन् ।
गणना गरिएको छैन र पो, नत्र एक वर्षको दशैँले कति मानिसलाई निराश र आक्रोशित बनाएको होला ? कतिले दशैँकै कारण आफ्नो स्वाभिमान गुमाएका होलान् ? कतिको परिवारमा असन्तोष थुप्रियो होला ? कतिले भ्रष्टाचार गरे होलान् ? कतिले ढाँटे, झुक्याए, झुटो बोले होलान् ? दशैँका बेलामा चोरी, डकैती र चन्दा असुलीका घटनाहरू बढेको भनिन्छ । एउटा दशैँले कतिजना नयाँ अपराधी जन्माइरहेको होला ?
घरमा एउटा खसी काट्न खोज्दा धेरै धेरै मानवीय गुणहरू काटिँदा रहेछन् । सबैभन्दा धेरै त सत्य काटिँदो रहेछ, न्याय काटिँदो रहेछ । एउटा सुँगुरलाई झिर रोप्न खोज्दा कतिको मुटुमा प्वाल पर्दो रहेछ । दशैँ यत्ति भयानक होला भन्ने मलाई थाहै थिएन ।
Leave A Comment