‘तँ यत्तिका कुरा पढिरहेको हुन्छस्, एउटा स्तम्भ लेखे हुन्छ नि,’ धेरैअघि मलाई मेरो दाइले सुझाएको थियो। म फिस्स हाँसेको थिएँ। स्वान्त सुखायका लागि पढेका कुरा ढ्वाङ फुक्नु ? अँहँ, यो त हुनै सक्तैन।
लौ मानेँ, कहिलेकाहीँ घमण्डले फुलेल भएर घोषणा नै गरेँ, मैले फलानो–फलानो पुस्तक पढेँ। त्यसो गरेपछि के हुन्छ र ? अनि मेरा गन्थन कसले सुन्दो हो र ? त्यस्ता गन्थन कसलाई काम लाग्दो हो ?
यस्तै सोचका कारण मैले कहिल्यै पनि पढेका कुरा टिपोट गर्ने, कतै लेख्ने जमर्को गरिनँ। बरु मलाई पढेका कुरा बिर्सिइन मञ्जुर भयो तर कतै केही टिपोट लेखिनँ।
त्यसै पनि चिट बनाउने बानी ममा कहिल्यै बसेन, न त स्कुलमा न त कलेज पढ्दाताका नै। बरु मलाई नम्बर बढी चाहिएन, मैले अड्डी नै कसेको थिएँ। एक पटक मैले दैनिकी लेख्न थालेको थिएँ तर त्यसमा मैले इमानदारी देखाउन नसकेपछि त्यो पनि छाडिदिएँ। जब म कतिपय कुरामा आफैँलाई छलिरहेको हुन्छु, त्यो पनि दैनिकी लेख्दा भने किन टिप्ने ? बरु ती सबै कुरा मलाई बिर्सिइन मञ्जुर छ, डायरी र कलमलाई धोका दिन मञ्जुर छैन।
सारा कुरा फेसबुकले बिगारिदियो। अफिसमा, घरमा, हातमा जताततै फेसबुक भएपछि भने किताब वा कुनै कुरा नलेख्ने मेरो अडानले धोका खायो। त्यसपछि नै हो, मैले केही साना–तिना टिप्पणी फेसबुकमा लेख्न थालेको। खासमा मैले त्यहाँ लेख्नु भनेको दिमाग नपाकोस्, मनमा उठेका कुरा निचोरेर त्यही फ्याँकिदिऊँ भनेर नै हो। हुन त सबैले त्यहाँ गर्ने त्यही हो। साराका सारा कुण्ठा, आक्रोश त्यहाँ पोखिनुको कारण पनि त्यही त हो !
सामान्यतः फेसबुकमा मेरा टिप्पणी पढेर प्रतिक्रिया जनाउने धेरै हुनुहुन्छ। खासमा फेसबुकमा लाइक वा रियाक्ट नगरे पनि भेटका बेला मेरा प्रसंग सुनाएर मलाई नै लज्जित बनाउनेहरु पनि हुनुहुन्छ। यसपछि मैले सोचेँ, प्रत्यक्ष प्रतिक्रिया नआए पनि लेखेका कुरा कसैले न कसैले पढिरहेकै हुन्छ, गुनिरहेकै हुन्छ। मेरो सानो टिप्पणीले कसैलाई कहीँ कतै प्रभाव परिरहेको हुन्छ भने त्यसो किन नगर्ने ?
‘अब त लेखौँ कि क्या हो ?’ एक दिन मैले दाइलाई सुनाएँ। उसले भन्यो, ‘तेरो स्तम्भको नाउँ सुझाइदिऊँ ?’
मैले प्रश्नवाचनक अनुहारले उसलाई हेरेँ। उसले भन्यो, ‘ज्ञान भनेको किताबमै पाइन्छ !’
ओहो, भारीभरकम स्तम्भ भएन र ?
०००
ज्ञान केमा पाइन्छ भनेर कसैले सोध्यो भने सायद उत्तरमा आउला, किताबमा। मेरो अनुभवले भन्छ– ज्ञान तीन किसिमले पाइन्छ। मैले गौतम बुद्धको जस्तो ध्यानबाट प्राप्त हुने तत्वबोधी ज्ञानको कुरा गरिरहेको छैन। मेरो किसिमको ज्ञान पहिलो– किताब पढेर, दोस्रो– संगत गरेर अनि तेस्रो– यात्रा गरेर पाउने अनुभव छ।
किताब पढेर पाइने ज्ञान सबैभन्दा कमसल हो। संगत (अवलोकन) गरेर पाइने ज्ञान उत्तम हो। अनि यात्रा गरेर पाइएको ज्ञान सर्वोत्तम ज्ञान हो। मैले यी तीनवटै माध्यमबाट पाएको अनुभवका आधारमा यो भन्दैछु। फेरि यी एकअर्कामा निश्रित छन्। सबै मान्छे यात्रामा जान सक्तैन। सबैमा अवलोकनको क्षमता हुँदैन। सबैले किताब पढ्न सक्तैनन्।
अब यत्तिका कुरा उठिसकेपछि मेरा किताबी अनुभवका बारे गढेको कुरा किन नगरुँ !
०००
साउने झरी केही दिनदेखि झरिरहेकै थियो। भैँसी गोठमा पानीको भल छिरेको थियो। आखिर पानी पनि जाओस् कता ? बाटोमा पानी, कुलोमा पानी, घरभित्र पानी, बाहिर पानी, समग्रमा सर्वत्र पानी नै पानी थियो। केही दिनमा पानी त घट्यो तर हाम्रो घरमा भैँसीले आहाल बनाएकोे ठाउँमा घटेन। त्यो यति ठूलो खाडल बन्न पुग्यो कि पानी फ्याँक्दा पनि खाल्डो भने रहिरह्यो।
अब त्यहाँ माटो हालियो। ढुंगा, इँटा, काठका लकडी आदि हालेर भरियो। भैँसीले फेरि त्यहाँ खाडल बनाइहाल्थ्यो। विचरो, भैँसीको पनि के दोष ? ठाउँ नै त्यस्तो थियो कि खाडल भइहाल्थ्यो।
आमालाई यति झ्वाँक चल्यो कि घरभरिका किताब बोरामा बाँध्नुभयो र त्यही खाल्डोमा हाल्दिनुभयो।
हामी निकै साना थियौँँ। बा बितेको केही वर्ष भएको थियो। हामी चार सन्तान थियौँ। सरसहयोग गरिदिने कोही थिएनन्। केही दिनदेखि खाल्डो भर्ने उपक्रममा एउटै मात्र सहयोगी सायद त्यही किताब हुन सक्थ्यो। मैले किताबको त्यो तहको ‘उपयोगिता’ अहिलेसम्म देख्न पाएको छैन।
त्यो बेला किताब हाम्रो प्राथमिकतामा थिएनन्। त्यसैले यसमा हाम्रो आपत्ति केही थिएन। अरु बेला भए किताबलाई ढोग्नुपथ्र्यो तर यो बेला किताबलाई हिलोमा हालेर गोडाले नै मिलाउन मिल्ने छुट पाइएको थियो। हामी रमाएका थियौँ।
अहिले मलाई त्यो घटना सपना हो कि विपना जस्तो लागिरहन्छ। आमाले त्यत्रा किताब किन खाडलमा पुर्नुभयो अनि के अर्को वर्षदेखि खाडल पर्न छोड्यो ? अहिले सम्झँदा यो एउटा भयानक घटना लाग्छ। जसरी ईशापूर्व दोस्रो शताब्दीमा चीनको सम्राट चिङ सि हुआङले देशभरिका सारा किताब जलाउने आदेश दिएजस्तै, नालन्दा विश्वविद्यालयका ९० लाख किताब जलाइएजस्तै हाम्रो घरका सारा किताब गाडिए, भैँसीगोठमा।
०००
‘विगत व्यर्थ हो, इतिहासको कुनै सान्दर्भिकता छैन,’ चिनियाँ सम्राट चिङ सि हुआङले घोषणा मात्र गरेको थिएन, चार सयभन्दा बढी विद्वानहरुलाई एकै चिहान बनाएको थियो। उसले हजारौँ पुस्तकहरु आगोमा स्वाहा बनाइदिएको थियो।
आमालाई लाग्यो होला, असमयमै स्वर्गे भएका दिंवगत पतिका विगत सम्झाउने सारा किताब व्यर्थ हो, तिनको कुनै सान्दर्भिकता छैन। अथवा हुनसक्छ, पञ्चायत काल थियो। त्यस कालमा ती किताब देखेर प्रशासन वक्र पनि हुनसक्छ। खतराका सूचक ती किताबको उचित व्यवस्थापन भैँसीगोठ नै हुनसक्छ। अथवा, भविष्यमा छोराछोरी तिनका बाउको जस्तो पढेर मगज नखुस्कियोस् भन्ने भयले पनि काम गरेको हुनसक्छ।
अहिले आएर मलाई भैँसीको आहालमा हालिएका बोराका बोरा पुस्तकले ऐंठनमा पारिरहन्छन्। त्यो भयानक दृश्यले घरिघरि सताइरहन्छ।
०००
जब क्रिश्चियनहरुको दबदबा बढ्न थाल्यो, उनीहरुले पनि संसारकै भव्यतम पुस्तकालय जलाएकै हुन्। ‘नयाँ युग, नयाँ संसारमा पुराना ज्ञानको के कुरा ?’ यस्तै केही नारा तिनले लगाएका हुँदा हुन्।
पुस्तकप्रति थाहा छैन किन यत्ति धेरै द्वेष हुन्छ मान्छेलाई, उसले पहिलो आगो त्यहीँ झोस्छ। जब उत्तरबाट लुटपाटको उद्देश्यले भाइकिङहरु ब्रिटानिया घुसेका थिए, तिनले पनि त्यहाँ बडो दुःख गरेर फ्रान्सिया, भ्याटिकन, फ्लोरेन्सबाट भेला पारिएका दुर्लभ पुस्तकलाई पनि तारो बनाएका थिए।
कुमार गुप्त प्रथमले बडो दुःखले स्थापना गरेको नालन्दा विश्वविद्यालयलाई सन् ११९३ मा टर्कीबाट आएका बख्तियार खिलजी र उनका विध्वंसीहरुले पनि आगो झोस्ने ठाउँ त्यहीँको पुस्तकालय देखे। त्यो आगोमा करिब ९० लाख पुस्तक जलेर ध्वस्त भएको आँकलन छ।
जब–जब म कुनै किताबको बिजोग देख्छु, मलाई चिङ राजवंशका पुस्तक जलाउने सम्राट याद आउँछ, नालन्दा जलाउने खिलजीको सम्झना हुन्छ। यस्ता चिङ र खिलजी अहिले पनि कम छैनन्। देशमा ज्ञानको उपेक्षा, अध्ययन प्रतिको विरक्ति, पुस्तकमाथिको कर, हराउँदै जान थालेका पुस्तक पसल, कसैको निजी संकलनमा रहेका किताबको रेखदेख हुन नपाएर सड्न र मक्किन थालेका पुस्तक, सबै सबैले मलाई खिलजी र चिङको सम्झना दिलाउँछन्।
अहिलेको समयमा पनि हामीमाझ एउटा सिङ्गो मध्ययुग बाँचिरहे जस्तो लाग्छ।
Leave A Comment