किताबी बिक्री: कोरोनाभन्दा करको डर

सोमबार, १० चैत २०७६, ०१ : १६ ऋतु काफ्ले
किताबी बिक्री: कोरोनाभन्दा करको डर

केही महिनादेखि किताबमा कर लगाइएयता पुस्तकको व्यापार सुस्त भइरहेका बेला कोरोनाको त्रासले अझ ठूलो समस्या थपिएको छ। पुस्तक व्यापारको लाइफलाइन मानिने फुटपाथको व्यापार यतिबेला यति सुस्ताएको छ कि पुस्तक व्यापारीहरु नै पलायन हुने अवस्था आएको छ।

‘पहिले किताब किन्नेको सानोतिनो भिड नै हुन्थ्यो,’ सुन्धारा आकाशेपुलकी फुटपाथे व्यापारी लक्ष्मी थापाले गुनासोको स्वरमा भनिन्, ‘किताब पढ्ने, हेर्ने र किन्नेको सानोतिनो भिडभाड र ठेलमठेल नै हुन्थ्यो। त्यो भिड अहिले सपनाजस्तै भएको छ।’

उपन्यास र आध्यात्मिक पुस्तक किन्नेहरुको राम्रो संख्या देखेकी उनले पछिल्लो समय सर्वसाधारणको पुस्तक प्रतिको मोह नै रित्तिएजस्तो महसुस गरेकी छन्। उनले लामो श्वास तान्दै भनिन्, ‘व्यापार शून्य !’

काभ्रेकी लक्ष्मी थापाले यहाँ पुस्तक व्यापार गर्न थालेको १४ वर्ष भयो। एक समयमा फुटपाथमै पुस्तक बिक्री गरेर राम्रो आयआर्जन गर्न सफल भएकी उनले पछिल्लो समय पुस्तकको बिक्री उदेकलाग्दो गरी घटेकामा छक्क परेकी छन्।

थापाले भनिन्, ‘सरकारले किताबमा कर लगाइसकेपछि अहिले किताबको व्यापार शून्यजस्तै भएको छ। कर लागेपछि व्यापार नै छैन। सरकारी करका कारण किताब महँगो पर्छ। त्यसमाथि पनि कोरोना भाइरसको महामारी हल्लाले मानिसहरुलाई झन् त्रसित बनाइरहेको छ। यस्तोमा किताब झन् कम प्राथमिकतामा पारेको छ।’

त्यसै पनि घट्दो बिक्री र त्रासका कारण मानिसको चहलपहलमा कमीले व्यापारमा सिधासिधा असर परेको उनको भनाइ छ।

‘सरकारले कर नलगाउँदा र महामारीको डर नहुँदा दिनमा कम्तीमा फाइदा मात्र दुई हजार पच्चीस सय हुन्थ्यो,’ लक्ष्मीले भनिन्, ‘अहिले त महिनामै दुई हजार पच्चीस सय कमाउनै गाह्रो होलाजस्तो भएको छ।’

लक्ष्मीले धेरैजसो उपन्यास नै बेच्ने गरेकी छन्। पहिलेको तुलनामा अहिले निकै कम पुस्तक बिक्री भएका छन्। दिनमा अहिले जम्मा पाँच सात सयको किताब बिक्री भएको उनको भनाइ छ। उनले किताबमा सरकारले कर लगाएको विषयमा आपत्ति जनाउँदै भनिन्, ‘पुस्तक भनेको धनीले मात्र होइन, गरिबले पनि पढ्छन्। किताबमा कर लागेपछि किताब महँगो हुने भयो र जो कोहीले किनेर पढ्न नसक्ने भए। त्यसैले किताबमा लागेको कर हट्नु जरुरी छ। त्यसमाथि कोरानाको महामारी हल्लाले पनि किताब किन्ने मानिस स्वात्तै घटिसक्यो। व्यापार त अहिले शून्यमा झरिसक्यो भन्दा पनि हुन्छ।’

अहिले लक्ष्मीलाई स्टोर भाडा कसरी बुझाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ। उनले भनिन्, ‘स्टोरको भाडा नै दश हजार बुझाउनुपर्ने हुन्छ। महिनामा त्यत्ति पनि व्यापार नहोलाजस्तो भएपछि कसरी स्टोर भाडा बुझाउने ?’ उनको १४ वर्षे किताब व्यापारको अनुभवमा कहिले यस्तो भोग्नु परेको थिएन।

पाटनका स्थानीय बासिन्दा ४० वर्षीय दिनेश चित्रकार न्युरोड पिपलबोटमा बसेर पुस्तक व्यापार गर्न थालेको २५ वर्ष भयो। पहिले किताब बेचेर नै दिनमा १५ देखि २० हजार व्यापार गर्ने गरेका उनलाई अहिले दिनमा अहिले ५ देखि ७ सयकै किताब बेच्न मुस्किल भएको छ।

पुस्तकमा कर या कोरोना भाइरसको आतंकले भन्दा पनि बेलाबेलामा भृकुटीमण्डपमा लाग्ने पुस्तक मेलाले फुटपाथमा बेच्ने पुस्तक व्यापारमा व्यापक कटौती गरेको चित्रकारको अनुभव छ। ‘मानिसहरु मेलामा नै आफूलाई चाहिने पुस्तक किन्छन्, किताबका लागि फुटपाथ को धाओस् ?’ उनले भने।

अहिले मानिसहरु किताब किनेर पढ्नभन्दा पनि अनलाइनमा हेर्न बढी रुचाउने गरेको र धेरैजस्तो किताब अनलाइनमै उपलब्ध गराइने हुनाले पनि किताबको माग घटेको चित्रकारको भनाइ छ।

नुवाकोट घर भएका राम पौडेलले न्युरोड भूगोलपार्कमा २७ वर्षदेखि पुस्तक बेच्दै आएका छन्। उनका अनुसार पुस्तकको व्यापार व्यापक रुपमा कमी भइरहेको छ। त्यसमाथि सरकारको किताबी करका कारण नयाँ किताब आउन छोडे र पाठकको रुचि पनि किन्नतर्फ घट्यो।

उनले भने, ‘भएका किताबहरु सबै पुराना छन्। ती किताबहरु पाठकले दोहा¥याएर कति पढून् ? पहिले मैले नै दिनमा ५० देखि ६० वटासम्म किताब बेचेको रेकर्ड छ। अहिले त त्यो सपना भइसक्यो !’

पौडेलको भनाइअनुसार अहिले पनि दिनमा चार पाँच हजारको किताब त बिक्री भई नै रहेको छ तर यो पहिलेको भन्दा निकै कम हो। अहिले युवावर्गले अनलाइनमै बुकहरु पढ्छन्। अहिले अनलाइनमै किताब बेचिने हुनाले फुटपाथको व्यापार कम भएको उनको भनाइ छ।

‘मानिसहरुले किताब किन्न छोड्नुको कारण किताबमा कर लाग्नु या कोरोनाको महामारी फैलिनु होइन,’ उनको बुझाइ छ, ‘यसले केही मात्रामा प्रभाव त पारेको छ तर बजारमा नयाँ किताबहरु नै आएका छैनन्। त्यसैले पनि व्यापारमा कमी भएको हो। राम्रा र रोचक किताबको अभावका कारण पाठक दौडिएर किताब पसल पुग्ने वातावरण नबनेको हो।’

यसैगरी नुवाकोटका राजेश गजुरेलले पनि भूगोलपार्कमै २०६२÷६३ को आन्दोलपछि पुस्तक र पत्रपत्रिका बेच्दै आएका छन्। उनको १७ वर्षे अनुभवमा पुस्तक कम बिक्री हुनुमा अलि फरक मत छ।

‘अहिले पनि पुस्तक बिक्री भइनै रहेका छन् तर पुस्तक बिक्री हुनु र नहुनुमा पनि पाठकले कस्ता पुस्तक पढ्न चाहन्छन् भन्ने कुराले महŒवपूर्ण भूमिका खेल्छ,’ गजुरेलले भने, ‘अहिलेको सन्दर्भमा सरकारले किताबमा कर लगाएको कारणले किताब बिक्री कम भएको कुरा साँचो होइन। सरकारले त गैरकानुनी रुपमा विदेशबाट भित्रिने विदेशी किताबमा कर लगाएको हो र यसलाई व्यवस्थित गर्न पनि जरुरी नै छ।’

कुनै रोग वा महामारीका कारण पाठकलाई पुस्तक किन्न समस्या नहुने उनको भनाइ छ। ‘मेरो अनुभवमा पाठकले कस्ता किताब पढ्न मन पराउँछन् भन्ने कुरा महत्वपूर्ण विषय हो,’ गजुरेल भन्छन्, ‘अहिलेका किताबमा पाठकले नयाँ स्वाद पाउन सकेनन्। नयाँ स्वादको अभावमा किताबप्रतिको पाठक रुचि घट्दै गएको देखिन्छ।’

लेखकहरुलाई गजुरेलले सल्लाह छ, ‘बरु किताब ढिलो निकाल्नुस् तर उत्कृष्ट निकाल्नुस्। अलिकति टाइम लिनुस्। रिसर्च गर्नुस् र पाठकका मन छुने खालका पुस्तक बाहिर ल्याउनुस्। त्यसपछि मात्र किताबको मार्केट आकासिने सम्भावना हुन्छ र आकासिन्छ पनि।’

Leave A Comment