दशैँमा मासु र चिल्लो खानेकुराको अधिक सेवनका कारण धेरैको स्वास्थ्य बिग्रिन्छ । चिकित्सकका अनुसार दशैँको समयमा खानपिनमा ध्यान नदिँदा दीर्घरोगीमात्र होइनन्, स्वस्थ मानिस पनि अस्पताल पुग्ने गरेका छन् । त्यसैले दशैँमा सबैले खानपिनमा विशेष ध्यान दिनुपर्ने उनीहरूको जोड छ । दशैँको समयमा उच्च रक्तचाप, मुटुरोग, मधुमेह र पेटजन्य समस्याका बिरामीको संख्या ह्वात्तै बढ्छ । यसबाहेक दशैँका बेला बजारमा पाइने अस्वास्थ्यकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखाला, क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गाैलाको रोग जस्ता समस्या पनि देखापर्ने गरेका छन् ।
वरिष्ठ फिजिसियन डा. ध्रुवप्रसाद सिंहका अनुसार दशैँमा खानपानमा हेलचेक्य्राइँ गर्दा विभिन्न रोग लागेका धेरै बिरामी मृत्युको मुखमा समेत पुग्ने गरेका छन् । ‘स्वास्थ्यका दृष्टिकोणले मासुलाई पोषिलो खानेकुरा मानिन्छ,’ उनले भने, ‘मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । मासुले स्वास्थ्यलाई फाइदा पु¥याउँछ । तर, मासु खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउन सक्दछ ।’ उनी मोटो शरीर, रगतमा कोलेस्टेरोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिलाई सकभर मासु खान सुझाव दिन्छन् ?
मुटुरोगी तथा उच्च रक्तचापका बिरामीले के गर्ने ?
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार धेरै मात्रामा चिल्लो हालेर बनाइने मासुका कारण मुटुका रोग, उच्च रक्तचापको समस्या देखिन सक्दछ । यस्तै धेरै दिन सुकाएर राखेको, सुकुटी बनाएको र धेरै तेलमसला प्रयोग गरेको मासुले पनि स्वास्थ्यमा अनेकौँ समस्या उत्पन्न गराउँछन् । मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले यो समयमा स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु अर्थात् खसी र राँगाको मासु नखाने, रक्सी सेवन नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा र माछा पनि थोरै मात्रामा खाने, नुन धेरै हालिएको खानेकुरा नखाने गर्नुपर्छ । यसका साथै धुम्रपानको लत छ भने त्यो पनि छाड्नुपर्ने डा. रेग्मीको सुझाव छ । उनका अनुसार उच्च रक्तचापका समस्या भएका वा बिग्रिने बाटो लिइसकेको मुटुलाई दशैँको खानाले बिग्रन नै मद्दत गदर्छ ।
मिर्गौला रोगीले के गर्ने ?
दशैँमा मासुका परिकारका साथै मदिरा पनि धेरै पिइने गरिन्छ । मिर्गौला रोग भएकाहरूले वा रोगको सामान्य लक्षण देखिएकाले दसँैको बहानामा मदिरा र खानपिनमा ध्यान नदिँदा मिर्गौलाले गर्ने नियमित क्रियाकलापमा सन्तुलन गर्ने प्रक्रियामा असर गर्न सक्ने मिर्गौलारोग विशेषज्ञ डा. शक्ति बस्नेत बताउँछन् । उनका अनुसार मिर्गौला धेरै रक्सीका कारण असन्तुलित हुन पुग्छ । मदिराजन्य पदार्थमध्ये बियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने रम, जिन, भोड्का, ब्रान्डी, ह्विस्की आदिमा अल्कोहलको मात्रा बढी हुन्छ । रक्सी पेटमा पुगेपछि सोसिएर रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरूले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना नै बढी हुन्छ । मधुमेहका बिरामीले रक्सी सेवन गरेमा मिर्गौलाबाट ग्लुकोज बन्न रोक्छ, जसले गर्दा मधुमेहका बिरामीको ग्लुकोज असन्तुलित हुन पुग्छ । त्यसकारण मिर्गौलो रोगीले मदिराजन्य पदार्थ नखाँदा नै राम्रो हुन्छ ।
युरिक एसिडका रोगीले के गर्ने ?
वरिष्ठ फिजिसियन डा. भूपेन्द्र बस्नेतका अनुसार दशैँको समयमा युरिक एसिड भएका व्यक्तिहरूले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । खानपिनमा ध्यान नदिँदा बिरामीहरूमा हड्डी कँुजिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिससमेत हुने सम्भावना रहन्छ । यस्ता बिरामीहरूले रातो मासु अर्थात् खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासु नखाँदा नै राम्रो हुन्छ ।
मधुमेहका बिरामीले के गर्ने ?
वरिष्ठ मधुमेहरोग विशेषज्ञ डा. ज्योति भट्टराईका अनुसार दशैँमा चिल्लो तथा चिनीको मात्रा बढी भएको खाना पाक्ने भएकाले बिरामीहरूले निकै नै सतर्कता अपनाउनुपर्ने हुन्छ । मधुमेह भएकाहरूले चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड खान हुँदैन । यसैगरी मह, केक, पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर आदि खानु मधुमेहीका लागि हानिकारक हुन्छ । तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन (डाल्डा, नौनी, घ्यू, क्रिम, तर, पुरी, समोसा, चप, पिजा, सेल, फिनी, अर्सा, अनर्सा आदि) खानु हँुदैन । धूम्रपान र मद्यपान त पटक्कै गर्नु हुँदैन । तर, मधुमेहीहरूले चामल, गहुँ, मकै, फापर, कोदो, जौ जस्ता कुराहरू भने थोरै मात्रामा खाँदा हुन्छ । यसका साथै गेडागुडी (दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा आदि), माछा, मासु, अण्डा थोरै परिमाणमा खान मिल्छ । मधुमेह भएकाले मासुभन्दा मसला कम हालिएका सागसब्जीमा बढी जोड दिनुपर्छ ।
कलेजो रोगीले के गर्ने ?
कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्माका अनुसार दशैँमा मदिरा र बोसोयुक्त खानाले कलेजो बिग्रने सम्भावना अत्यधिक हुने गर्दछ । उनका अनुसरा रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । मदिरालाई पचाउने काम कलेजोको हो । कलेजोमा मदिरा जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ । यस क्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट हुँदै जान्छ अनि ‘लिभर सिरोसिस’ हुन्छ र कलेजोले काम गर्न छोड्छ ।
Leave A Comment