खेलाडीले तौल घटाउँदा जोडीमा तनाव

मङ्गलबार, २० साउन २०७७, १२ : ०८ डा. दिनेश बाँस्तोला
खेलाडीले तौल घटाउँदा जोडीमा तनाव

महिला खेलाडीको शरीरको आकार र ढाँचा संयमित हुन्छ। विभिन्न किसिमका प्रतिस्पर्धात्मक खेल खेल्ने खेलाडीलाई खेल र खेल अभ्यासको चिन्ता बढ्नु स्वाभाविकै हो। प्रतिस्पर्धात्मक खेल जितिन्छ वा जितिन्न भन्ने चिन्ता हुन्छ। एक कर्मठ खेलाडीका लागि उत्कृष्ट खेल खेली उपलब्धि हात पार्ने उद्देश्य हुन्छ। प्रतिस्पर्धात्मक खेलको समयमा यौन गौण हुन्छ। तर, यौन असन्तुलनको कारण पनि खेलाडी र उसको यौन जोडीमा समस्या उत्पन्न हुने जोखिम हुन्छ। 

प्रतिस्पर्धात्मक खेलका लागि खेलाडीले आफ्नो शरीर भद्दा हुन नपाओस् भन्ने हेतुले तौल घटाउने विभिन्न टेक्निक अपनाएका हुन्छन्। मार्सल आर्टस्लगायत कतिपय खेल त तौल समूहकै आधारमा खेलिन्छ। जसमा खेलाडीले तौल कम वा बढी गर्न सक्छन्। तौल घटाउन वा बढाउनका लागि खानापानशैलीमा परिवर्तन गरेको पाइन्छ। जसले शारीरिक सन्तुलनमा पनि प्रभाव पर्छ। शक्ति सन्तुलनमै प्रभाव परेपछि त्यसले यौन जीवनमा अवश्य प्रभाव पार्छ। 

तौल घटाउँदा जोडीमा तनाव
तौल घटाउने नाममा खानपानमा कमी गर्दा व्यक्ति शारीरिक तथा मानसिक रुपमा कमजोर बन्ने जोखिम हुन्छ। यस्तो अवस्थामा खेलाडीले प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसक्ने जोखिम त हुन्छ नै यौन क्रियाकलाप तथा यौनमा समेत ध्यान पुग्दैन। जसले यौन जोडीसँगको सम्बन्धमा दरार उत्पन्न भई सम्बन्ध विच्छेदसम्मको अवस्था सृजना हुन्छ। जब कि यौन जोडी भएका खेलाडीका लागि प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट नतिजा हासिल गर्न यौन जोडीको आत्मीय प्रेम आवश्यक हुन्छ। तर, तौल घटाउने नाममा खानपानको कमी र खेलको तनावका कारण खेलाडीले यौन जोडीले गरेको यौन सम्पर्कको प्रस्तावलाई अस्विकार गर्दा यौन जोडी टाढिने सम्भावना उत्तिकै हुन्छ। 

त्यति मात्रै हैन खेलाडीले आफ्नो यौन जोडीलाई निरन्तर यौनका लागि तिरस्कार गर्दा तिक्तता उत्पन्न भई खेलाडीको यौन जोडीले वैकल्पिक यौन जोडी नरोज्ला भन्न सकिन्न। यस्तो अवस्थामा खेलाडीमा झन् तनावको स्थिति पैदा हुन जान्छ। जसले प्रतिस्पर्धात्मक खेलको नतिजामै प्रभाव पार्छ।  

त्यसो त प्रतिस्पर्धात्मक खेलको समयमा खेलाडीमा शारीरिक तथा मानसिक रुपमा खेलप्रति नै ध्यान जाने भएकाले यौनप्रति ध्यान कम जानु स्वाभाविकै हो। खेलाडीले पनि प्रतिस्पर्धात्मक खेलको समस्या यौनलाई प्राथमिकता दिनु हुन्न। खेलको समयमा यौनलाई प्राथमिकतामा राख्दा नतिजा हात नपर्ने जोखिम हुन्छ। यस्तो अवस्थामा खेलाडीका यौन जोडीले भावना बुझ्न आवश्यक छ। यौन जोडीले खेलको समयमा हौसला दिनु नै बुद्धिमत्ता हुन्छ। खेल खेलिसकेपछि नतिजा आफ्नो हातमा पारेर यौन जोडीले एक आपसमा यौनानन्द लिनु भने शारीरिक तथा मानसिक रुपमा पनि लाभदायक र सुखद् हुन्छ। 

यौन जोडी शारीरिक तथा मानसिक रुपमा तयार भएको अवस्थामा प्रतिस्पर्धामा जानुभन्दा ६ देखि १२ घण्टा अघि यौन तृप्ति मेट्न भने सकिन्छ। खेलको समयमा भने खेलाडीले खेलप्रति प्रतिबद्ध हुनु नै बुद्धिमत्ता हुन्छ। 

ज्यान स्लिम उपलब्धि चिलिम
जिम्न्याष्टिक, स्केटिङ्, स्विमिङ, नृत्य नाटक (बुलेट) जस्ता खेलमा दुब्लो र पातलो शरीरका ढाँचालाई प्राथमिकता दिइन्छ। प्रशिक्षकले खेलाडीलाई पातलो तथा छरितो ज्यान बनाउँदा नतिजा हात पार्न सहज हुन्छ भन्ने सही सल्लाह नदिँदा समस्या उत्पन्न हुन सक्छ। विशेष गरी महिला खेलाडीका लागि छरितो ज्यान बनाउन महत्वपूर्ण मानिन्छ। खेलाडीले ज्यान छरितो बनाउने नाममा खानपान कम गर्नाले शारीरिक तथा मानसिक रुपमा कमजोर हुन्छ। जसले गर्दा यौनमा ध्यान जाँदैन। यौनमा ध्यान नजाँदा एकातर्फ यौन जोडीमा तिक्तता उत्पन्न हुन सक्छ भने अर्काेतर्फ खेलाडीलाई खेलमा असफल भइन्छ कि भन्ने चिन्ताले सताउँछ। जसले खेलको नतिजा आफ्नो हातमा पर्नबाट फुत्कने जोखिम हुन्छ। 

प्रशिक्षकलगायतले खेलाडीलाई तौल घटाउन लगाई क्षमतामा वृद्धि हुन्छ भन्ने गलत सोच र धारणाका कारण खेलाडीले अनावश्यकरुपमा दुःख पाएका हुन्छन्। यस्तो तनावको अवस्थामा खेलाडीका लागि यौनमा सहबास, सम्भोग र क्रिडा धेरै परको विषय हो। किनकि प्रतिस्पर्धात्मक खेलमा खेलाडीले खेलप्रति नै ध्यानकेन्द्रित गरेको हुन्छ। केही खेलमा ज्यान स्लिम पार्र्नुपर्ने भए पनि खेल क्षमता देखाउनका लागि खानपानमा कमी गर्नु ज्यान स्लिम पार्ने उचित उपाय हैन। सत्यता त्यो हो कि,– तौल घटाउँदैमा खेलाडीको क्षमतामा वृद्धि हुँदैन। यसरी तौल घटाउने नाममा खानपानमै कमी गर्दा बरु उल्टो शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने जोखिम हुन्छ।

सन्तुलित खानपान र खेल, सुखद् यौन
तौल घटाउँदा, खानपान कम गर्दा, खानपान गरेपछि वान्ता गर्दा, खेलाडीको तौल घट्छ। तर, तौल अस्वाभाविक रुपमा घटाउँदा शारीरिक, मानसिक र मनोवैज्ञानिक रुपमा खेलाडी कमजोर हुँदै जान्छ। 

जो खेलाडी प्रतिस्पर्धात्मक खेलका लागि तन्दुरुस्त र पूर्णरुपमा सक्रिय हुन्छन्, त्यस्ता महिला खेलाडीको शरीरमा अनावश्यक रुपमा बोसो बढी हुनेभन्दा पनि  मांशपेशीका तन्तुहरु नै बढी हुन्छन्। जसले खेलमा नकारात्मक असर गर्दैन। तर, खानपान कम गरी तौल घटाइयो भने व्यक्तिका मांशपेशीहरुले आफ्नो सामान्य क्रियाकलाप पनि गर्न सक्दैनन्। जसले खेल र यौन दुवैमा नकारात्मक परिणाम निम्तन्छ। 

अझ महिला खेलाडीले तौल घटाउँदा र रजश्वला साथै हड्डीको विकासको प्रणालीमा असर पर्ने भएकाले खेल र यौनमा सोचेजस्तै परिणाम निस्कँदैन। त्यसैगरी खानपानको कमी र व्यायामको असन्तुलनका कारण तनाव उत्पन्न भई खेलाडीमा आत्मविश्वासको कमी हुन्छ। 

त्यसैले खेलाडीले खेलको उत्कृष्ट नतिजा हात पार्न तथा यौन जोडीसँगको सहयात्रालाई सहज बनाउनका लागि खानपान र व्यायाममा सन्तुलन कामय गर्नै पर्छ। खानपान र खेल–व्यायामको सन्तुलन कायम गरेको खण्डमा यौन जोडीसँग यौन तृप्ति मेट्ने मामलामा पनि सन्तुलन मिलाउन सकिन्छ। त्यसैले खेलमा उत्कृष्ट नतिजा हात पार्न र सन्तुलित यौन जीवनका लागि कृत्रिम तरिकाले अनावश्यक रुपमा तौल घटाउनु हुन्न। सन्तुलित खानपान र सन्तुलित खेल–व्यायाम गर्नाले यौन जोडीसँगको यौन सम्पर्क पनि सुखद् र आनन्ददायी हुन सहयोग मिल्छ। 
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment