विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या डेढ करोड नाघिसकेको छ। साढे ६ लाख बढीले ज्यान गुमाइसकेका छन्। नेपालमा पनि संक्रमितको संख्या साढे अठार हजार नाघिसकेको छ। संक्रमणकै कारण नेपालमा (यो रिपोर्ट तयार पार्दासम्म) ४८ जनाले ज्यान गुमाइसकेका छन्। विश्वमा संक्रमणमुक्त भएर घर फर्कनेको संख्या पनि कम छैन। तर, यो महामारी तत्कालै पूर्णरुपमा नियन्त्रणमा आइहाल्ने छाँट देखिँदैन।
डिसेम्बरको अन्त्यबाट चिसो मौसमसँगै चीनको उहानबाट फैलिएको यो भाइरस गर्मी मौसममा पनि फैलियो। तर, चिसो मौसम भएको हावापानीमा भाइरसको सक्रियता गर्मी हावापानीको तुलनामा अनुकूल वातावरण हुन्छ। त्यसैले नेपालमा आगामी चिसो मौसममा भाइरस बढी सक्रिय हुने जोखिम रहेको विशेषज्ञ बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार गर्मीको तुलनामा जाडो मौसममा चिसोका कारण भाइरस बढी सक्रिय हुने सम्भावना रहन्छ। डा. पुनले भने, ‘कोभिडको सुरुवाती पनि जाडो महिनाबाटै भएको हुनाले जाडोमा बढी सक्रिय हुने देखिन्छ।’ अध्ययनअनुसार जाडो महिनामा कोरोनाको संक्रमण बढी सक्रिय हुने सम्भावना देखिएकाले जाडोमा बढी सजग हुनुपर्ने विशेषज्ञको राय छ ।
त्यसो त इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डे पनि जाडो मौसममा भाइरस सक्रिय हुने भएकाले कोरोनाको जोखिम पनि जाडोमा बढी हुने बताउँछन्। विशेषज्ञहरुले चीनमा पनि जाडो मौसममै यो भाइरसको सुरुवात भएकोले नेपालमा पनि आउने जाडो मौसममा भाइरस सक्रिय हुन सक्ने अनुमान गर्न सकिने बताएका छन्। विशेषज्ञका अनुसार नेपालमा जाडो महिना अघिसम्म पनि भाइरसको संक्रमण नियन्त्रण नभए जाडोमा संक्रमणको थप जोखिम हुने आँकलन गर्न सकिन्छ।
जाडोमा कोरोनाको दोस्रो तरंग
जाडो मौसममा किन कोरोना संक्रमणको जोखिम बढ्छ भन्ने एकिनरुपमा भन्न नसकिए पनि जाडो मौसममा रोटा, नोरो, रुघाखोकी गराउने जस्ता भाइरस बढी सक्रिय हुने भएकाले जाडो मौसममा कोरोना बढी सक्रिय हुनसक्ने चिकित्सकको आँकलन छ। असोज, कात्तिक महिनासम्म पनि कोरोना भाइरस नियन्त्रणमा नआए जाडो महिनामा रुघाखोकी गराउने भाइरसको सक्रियतासँगै कोरोनाको जोखिम बढ्नेतर्फ चिकित्सक सजग गराउँछन्। जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुने र भाइरस बढी सक्रिय हुने भएकाले कोरोनाले अझ बढी आक्रमण गर्नसक्ने टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाको तर्क छ। उनी जाडो मौसममा अझ बढी संक्रमणको डर हुने औंल्याउँछन्। निर्देशक डा. पाण्डेले गर्मी मौसमको तुलनामा जाडो मौसममा कोरोना भाइरस धेरै बाँच्न सक्ने बताउँदै आएका छन्।
डा. पुनले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो तरंग आउन सक्नेतर्फ सजग गराएका छन्। ‘जाडोबाटै सुरु भएकाले नेपालमा आगामी जाडो मौसममा कोरोना भाइरसको साइकल आएर दोस्रो तरंग नआउला भन्न सकिन्न,’ डा. पुनले भने, ‘नेपालमा पहिलो तरंग त देखिहाल्यौं। फेरि यो तरंग आउन सक्ने सम्भावना रहिरहन्छ।’
महामारीको रुप लिएको सन् १९१८ को स्पेनिस फ्लुको पनि दोस्रो तरंग आउँदा धेरै मानिसको मृत्यु भएको पाइएकाले कोरोना भाइरसको तरंग पनि फेरि आउनेतर्फ सजग रहन विशेषज्ञको सुझाव छ। यो भाइरसका कारण विश्वमा करिब पाँच सय मिलियन व्यक्ति संक्रमित भएका थिए।
विशेषज्ञले जाडो मौसमअघि कोरोना नियन्त्रण नभए दोस्रो तरंग आउन सक्नेतर्फ सजग गराएका छन्। डा. बास्तोला पनि जाडो मौसममा यो भाइरसको चुनौती हुन सक्ने बताउँछन्। जाडोमा अन्य भाइरसले पनि आक्रमण गर्ने भएकाले भाइरस सर्ने क्रम पनि बढ्न सक्नेतर्फ सजग गराउँछन्। डा. बास्तोलाले भने, ‘यो भाइरसको सर्न सक्ने क्षमता पनि गर्मी मौसममा भन्दा जाडो मौसममा बढी हुन्छ। चिसोमा भाइरस बढी समयसम्म बाँच्न सक्छ।’
प्रारम्भिक अध्ययनअनुसार एकपटक कोरोनाको संक्रमण भएका व्यक्तिमा सो भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुन्छ। त्यस्तो रोग प्रतिरोधात्मक क्षमता सामान्यतः दुई महिनापछि कमजोर भई पहिले संक्रमित भएको व्यक्तिलाई पुनः संक्रमण भई प्रभावित हुने जोखिम रहेको डा. पुन बताउँछन्। डा. पुनको यो तर्कलाई आधार मान्ने हो भने अहिले संक्रमित भई निको भइसकेका व्यक्ति दुई महिनापछि पुनः संक्रमणको जोखिममा रहन्छन्, जतिबेला नेपालमा जाडो मौसम सुरु भइसकेको हुन्छ। जाडोमा अन्य भाइरसको जोखिम धेरै हुँदा कोरोना पनि अलि बढी सर्नसक्नेतर्फ चिकित्सक सजग गराउँछन्। दीर्घ रोगी तथा पाको उमेरका व्यक्तिलाई जाडो मौसममा अझ बढी समस्या हुन्छ। डा. बास्तोला जाडोयामसम्म पनि यो भाइरस नियन्त्रण नभए चुनौतीपूर्ण हुनसक्ने बताउँछन्।
चिकित्सकको मतअनुसार एकातर्फ जाडो महिनामा विभिन्न किसिमको फ्लुको जोखिम हुने र अर्कातर्फ अहिले संक्रमित भएका व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता बढे पनि दुई महिनापछि सो क्षमता कमजोर हुँदै जाँदा कोभिड–१९ को पुनः संक्रमणको जोखिम देखिन्छ।
कमजोर नठानौं
निर्देशक पाण्डेले पनि कोरोनालाई कमजोर नठान्न सुझाएका छन्। नेपालमा कोरोना भाइरस जिनको टेस्ट नै नभएकाले यो भाइरस कमजोर भएको हो भन्न नमिल्ने डा. पाण्डेको तर्क छ। त्यसो त डा. बास्तोला पनि नेपालमा कोरोनाको जिन परिवर्तन भएर कमजोर भएको भन्ने एकिन अनुमान गर्न नसकिने बताउँछन्।
नेपालमा कम लक्षण देखिनुमा हावापानी तथा खानपानले प्रभाव पारेको हो कि भन्ने अनुसन्धानको विषय रहेको चिकित्सकको तर्क छ। नेपालमा भाइरसको रुप परिवर्तनका बारेमा आँकलन गर्ने अवस्था नरहेको चिकित्सक बताउँछन्।
भाइरस कमजोर भएको भन्दै हेल्चेक्र्याइँ नगर्न विशेषज्ञको सुझाव छ। युवा पुस्ता नै बढी संक्रमित भएको र युवा पुस्तामा मृत्युदर कम भए पनि त्यस्ता व्यक्तिले समुदायमा कोरोना फैलिएको अवस्थामा चुनौतीपूर्ण हुनसक्ने भन्दै हेलचेक्र्याइँ नगर्न डा. बास्तोलाको सुझाव छ। समुदायमा फैलिएको अवस्थामा कस्तो रुप लिन्छ भन्ने आँकलन गर्न नसकिने चिकित्सक बताउँछन्। समुदायमा फैलिएर यसको प्रभाव देखिएको अवस्थामा मात्रै यो भाइरसले नेपालमा कस्तो रुप लिन्छ भन्ने थाहा पाउन सकिने चिकित्सकको तर्क छ।
नेपालीको जीवनशैली र रोग प्रतिरोधात्मक क्षमताका कारण कोरोनाले धेरै आक्रमण नगरेको हो कि भन्ने आँकलन गर्न सकिने अवस्था छैन। त्यसो त निर्देशक पाण्डे नेपालमा अहिलेको सन्दर्भमा तापक्रम बढ्ने क्रमले भाइरस धेरै बाँच्न नसकेको वा भाइरसको वंशाणु परिवर्तनका कारण कमजोर भएको हुन सक्ने बताउँछन्।
चिकित्सकको मतलाई आधार मान्दा जाडो मौसममा यो भाइरसको अझ बढी जोखिम हुनसक्ने देखिएकाले यो भाइरस नियन्त्रणका लागि बेलैमा ठोस कदम चाल्नुपर्ने देखिन्छ।
Leave A Comment