प्रहरीका दशैँ

बिहिबार, २० असोज २०७३, ०१ : २० शुक्रवार
प्रहरीका दशैँ

एआईजी प्रतापसिंह थापा
प्रमुख, महानगरीय प्रहरी आयुक्तको कार्यालय
प्रहरीको घरै यही कार्यालय त हो । दशैँमा टीका लाउने, लगाइदिने, शुभकामना आदानप्रदान गर्ने, खसी काट्ने, पूजाआजा गर्ने सबै यहीँ हुन्छ । जनतालाई सुरक्षा दिँदै हामी दशैँ मनाउँछौँ । ड्युटी मिलाएर घरपरिवारसँग भेटघाट गर्ने योजना पनि छ । तर, मिलेको खण्डमा मात्र  ।


एसएसपी विक्रमसिंह थापा
प्रमुख, महानगरीय प्रहरी परिसर, काठमाडौँ
काठमाडौँ प्रमुख भएको नाताले मेरो दशैँ ड्युटी टाइट हुन्छ । यो दशैँलाई सुरक्षित, मर्यादित, हर्षोल्लासपूर्ण र अपराधरहित बनाउनु छ । यो परिस्थिति सिर्जना गर्न सक्नु नै मेरो दशैँ सफल हुनु हो । यतिखेर मान्छेहरू रमाइलो गर्ने मनस्थितिमा हुन्छन् । यसैबेला आपराधिक गतिविधि गर्नेहरू हौसिएका हुन्छन् । हाम्रो चुनौती त्यसैले बढ्छ ।  काठमाडौँमै परिवारसँग टीका थाप्ने योेजनामा छु ।

डीएसपी सोमेन्द्रसिंह राठोर
प्रमुख, सोह्रखुट्टे प्रहरी वृत्त, काठमाडौँ
पुलिसले आफूले दशैँ मनाउनेभन्दा पनि जनतालाई मनाउने वातावरण बनाउने हो । यतिखेर बिदा त सबै स्टाफले माग्छन् । ज–जसको घर नजिक हुन्छ, तिनीहरूलाई समय मिलेसम्म जाने वातावरण बनाइन्छ । नत्र अफिसमै सिनियरले जुनियरलाई टीका लगाइदिने हो । मेरो चाहिँ घर नै काठमाडौँमा भएकाले टीकाको दिन घरमा समय मिलाएर गइन्छ ।

 

Leave A Comment