पत्रकार तथा निबन्धकार जनकराज सापकोटाको गैरआख्यान कृति ‘कहर’ अहिले सर्वत्र प्रशंसित छ । समाजशास्त्री चैतन्य मिश्रले यस किताबमा ‘वैदेशिक रोजगारीको कथामात्र नभई समाज परिवर्तनको परावर्तन र अर्थतन्त्र पनि समेटिएको’ टिप्पणी गरे । यसअघि सापकोटाको ‘जीवन कतिपय’ निबन्धसंग्रह प्रकाशित भइसकेको छ । उनका ‘सोसियल इम्प्याक्ट अफ रेमिट्यान्स इन तराई’, ‘फियर अफ स्मल आम्र्स इन मिड तराई,’ ‘एक्स्ट्रा जुडिसियल किलिङ इन प्रिभेलिङ तराई’ लगायत अनुसन्धानपरक किताब पनि प्रकाशित छन् । सापकोटासँग ‘कहर’माथि केन्द्रित भएर ईश्वर दाहालले संवाद गरेका छन् ।
चन्द्रशमशेरको पालामा जसरी फौजमा भर्ती हुन उर्दी थियो । नेपाली तन्नेरी सेनामा भर्ती भएपछि शासकहरूले टाउको गनेर कुत उठाएजसरी रकम असुल्थे । अहिले पनि अवस्था ठ्याक्कै त्यही छ । देशभित्र सम्भावनाको ढोका नखोल्ने सरकारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड खोलेको छ । यसरी राज्यले नीतिगत रूपमा तन्नेरीलाई विदेश सप्लाई गर्ने र तिनको कमाइले राज्य चलाउने नीति अख्तियार गरेको छ । पहिले गल्लावाल गाउँ पस्थे, तिनले छातीमा फिता लगाएर नाप्थे । अहिले दलालहरू गाउँ पस्छन् र तन्नेरीहरूको पासपोर्ट बनाइदिन्छन् ।
‘कहर’ले इंगित गरेजस्तो वैदेशिक रोजगारीले नेपाली समाजलाई कहरमात्र दिइरहेको छ त ?
सरसर्ती हेर्दा वैदेशिक रोजगारीले नेपाली समाजमा त्राण भरेको देखिन्छ । तर, त्यसका निम्ति हामीले चुकाइरहेको मूल्यको पनि हिसाब हुनुपर्छ । केही परिवारले मीठो खान पाएका छन, केहीका छोराछोरीले टाई झुन्ड्याउन पाएका छन्, कतिका घरमा टीभी र कम्प्युटर भित्रिएका छन् । कतिले जग्गा जोडे, कतिले घर बनाए भन्ने आधारमा यसको हिसाब खोजेर हुँदैन । हाम्रा कति लाख बालबालिका बाबुको मायाबिना हुर्कन बाध्य छन्, हाम्रा कति दिदीबैनी पतिको प्यारबिना जवानीका उराठलाग्दा दिन कटाउन बाध्य छन्, कति लाख आमाबाहरू छोरा आउने दिन गनेर बुढ्यौलीको विरक्तलाग्दो समय कटाउन अभिशप्त छन् ? अनि परदेशको कमाइ हामीले दीर्घकालीन हितका निम्ति कति खर्चिन सकेका छौँ ? परदेश पस्नका निम्ति हाम्रो समाजमा के कस्ता विधि र प्रक्रिया निर्माण भएको छ ? त्यो विधिको माखेसाङ्लोमा विपन्न, निरक्षर र समाजको पिँधको मान्छे कसरी वर्षौंसम्म जेलिएका छन् ? यी सबै प्रश्नको उत्तर नखोजेसम्म वैदेशिक रोजगारीको हिसाब निस्कँदैन ।
केही वर्षअघि भारतीय अध्येता एवं राजनीतिज्ञ शशी थरुरले ब्रिटिसले भारतलाई उपनिवेश बनाएको दशकौँपछि औपनिवेशिक भारतले चुकाएको मूल्यको हिसाब निकालेर त्यसको क्षतिपूर्तिको बहस चलाएका थिए । के हामी पनि अहिले चुप बस्ने र थरुरले जस्तै सय वर्षपछि नेपाली समाजको विघटित मूल्यमाथिको हिसाब खोज्ने हो ?
पारिवारिक विघटन र ग्रामीण क्षेत्रको उत्पादकीय क्षमता ह्रासलाई वैदेशिक रोजगारीले बढायो होला । तर, भीषण द्वन्द झेलेको नेपाली समाजमा यदि वैदेशिक रोजगारीको अवसर नहुँदो हो त अवस्था कस्तो हुन्थ्यो होला ?
राज्यको भूमिका तन्नेरीलाई विदेश पठाएर मात्रै पूरा हँुदैन । राज्यले आवाज उठाउन सक्ने, विधि र व्यवस्थामाथि प्रश्न गर्न सक्ने सबै तन्नेरीलाई परदेश पठाएर बेथितिको चाङमाथि निर्धक्क शासन गर्न सक्ने वातावरण तयार पा¥यो भनेर पनि त भन्न सक्छौँ । राष्ट्र बैंकले हालै मात्र सार्वजनिक गरेको रिपोर्टमा भनिएको छ, १८ दशमलव ८ प्रतिशत घरपरिवारको आर्थिक स्रोत भनेको रेमिट्यान्स मात्रै हो । यसले के देखाउँछ भने श्रम गन्तव्य मुलुकमा आर्थिक मन्दी आयो वा कामदार कटौती भयो भने त्यो परिवार सोझै गरिबीको रेखामुनि पुग्छ । त्यही भएर मैले ‘कहर’ मार्फत रेमिट्यान्स दिगो स्रोतको आधार होइन भनेको हुँ । हामी तत्कालको चमकधमकमा रमाउने कि त्यसको असरलाई समयखण्डको अध्ययनका आधारमा बुझ्ने भनेको हुँ । अझै अनौठो त के भने सोही अध्ययनले विदेशको कमाइको २५ दशमलव ३ प्रतिशत हिस्सा ऋण तिर्नमै खर्च हुन्छ भनेको छ । अब गाउँघरमा ऋण तिर्ने भनेको स्थानीय साहू–महाजनलाई नै हो । चर्को ब्याजदर, त्यो पनि चक्रीय रूपमा तिर्नुपर्ने ब्याजको मिटरमा गरिब फनफनी घुमिरहेका छन् । जसले देखाउँछ, हाम्रो परम्परागत अर्थतन्त्रमा जसरी धनी झनै धनी हुने व्यवस्था थियो, त्यसैको नयाँ स्वरूप अहिले पनि चलिरहेको छ ।
किताब नै किन लेख्नुभयो ? आखिर वैदेशिक रोजगारीका अँध्यारा पक्षहरूलाई सञ्चारमाध्यमले उल्लेख्य स्थान दिएकै छन् ? आखिर ‘कहर’ पनि घटनाको विवरणात्मक स्वरूप मात्र होइन र ?
‘कहर’ घटनाको एकसरो विवरण होइन । कुनै स्टक मार्केटको जस्तो अंकहरूको उत्तोलन मात्रै यसमा छैन । चमकधमक विज्ञापनको एक कुनामा छापिने वैदेशिक रोजगारीको दुःखको खबर वा कुनै मनी ट्रान्सफर कम्पनीको पेजै ढाकिने विज्ञापनको छेउमा छापिने वैदेशिक रोजगारीका दुःखको एकसरो छोटो कथाले यसको गहिराइ बताउन सक्दैन । ‘कहर’ कुनै मान्छे र उसको जिन्दगीको उकालीओरालीको वरिपरिमात्रै घुमेको कथा हैन । यो सिंगो समाजको कथा हो । त्यसभित्र सामाजिक मूल्य–मान्यता, विधि–व्यवस्था, बदलिँदो समाजको आयाम, बदलिँदा हाम्रा सोचाइहरू सबैलाई सबैले बुझ्ने भाषामा बुझाउन खोजिएको छ ।
अनुसन्धानमूलक किताबलाई साहित्यक भाषामा किन लेख्नुभयो ?
परम्परागत ‘रिसर्च’कै भाषामा लेखेको भए पनि हुने थियो । तर, त्यो आम पाठकका निम्ती रुचिकर नहुन सक्छ । अंक र तथ्यांकलाई मात्रै एकसरो रूपमा पस्किँदा निरस हुन्छ । समाज र मान्छेको जीवन कुनै कथाकै शैलीमा पस्किँदा त्यसले धेरैलाई तान्न सक्छ । फेरि यो विषयमाथि व्यापक बहस होस् भन्ने पनि मेरो स्वार्थ थियो । चल्तीको साहित्यले हाम्रो सबै आवश्यकता पूरा गर्न सक्दैन ।
चल्तीको साहित्यले सामाजिक मुद्दामाथि पर्याप्त बहस र छलफल चलाउन सक्दैन भन्न खोज्नुभएको हो ?
कुरोको चुरो त्यही हो । अहिले चल्तीको साहित्य भनेको उपन्यास हो । तर, धेरैजसो उपन्यास अतीतमुखी देखिन्छन् । सरसर्ती हेर्दा पुरानो समयको वर्णन पछिल्ला छिमलका उपन्यासको प्रवृत्तिजस्तो लाग्छ । उपन्यास निश्चित कालखण्ड बुझ्न, त्यतिबेलाको समाज र परिस्थिति जान्न उपयोगी छन् । केही उपन्यास शैलीका हिसाबले पनि उम्दा छन् । तर, तत्कालका सामाजिक मुद्दामाथि व्यापक बहस चलाउन ती असमर्थजस्ता देखिन्छन् । द्वन्द्वमाथि केही कथा र उपन्यास त लेखिए तर द्वन्द्वोत्तर सामाजिक मनोविज्ञानमा हाम्रो साहित्य प्रवेश गर्न सकेको छैन । त्यस्तै, वैदेशिक रोजगारीको बहुल पाटामाथि विस्तृतमा प्रवेश हुन सकेको छैन । अन्य थुप्रै सामाजिक मुद्दा छन्, जो साहित्यमा आइसकेका छैनन् ।
भनिँदै आएको प्रगतिशील साहित्यले पनि त्यसलाई सम्बोधन गर्न सकेन ?
झट्ट हेर्दा हामीकहाँ समाज अघि अघि, राजनीति पछि पछि हिँडेजस्तो देखिन्छ । नयाँ पुस्ताको सोच, बुझाइ र विश्वदृष्टि न राजनीतिमा अटाउन सकेको छ न साहित्यमा । त्यस्तै बदलिँदो समाजको चरित्रलाई पनि साहित्यले जसरी समेट्नुपर्ने हो, त्यसरी समेटेको छैन । अर्थव्यवस्था, व्यवहार पद्धति र सामाजिक शक्ति संर्घषका आयामहरू बदलिएका छन् । त्यहाँ रेमिट्यान्सको पनि ठूलो भूमिका छ । त्यसमाथि भनिँदै आएको प्रगतिशील साहित्य पनि चुकेको छ । हामीकहाँ राजनीतिले उठाएका विषयवस्तुलाई साहित्यले पछ्याएजस्तो देखिन्छ । जब कि हुनुपर्ने चाहिँ साहित्यले उठाएको विषय राजनीतिले पछ्याउनुपर्ने हो ।
‘कहर’को अन्तिम अध्यायमा तपाईंले यो नियतिको निरन्तरता हो भन्नुभएको छ । पहिलो विश्वयुद्धताका नेपाली तन्नेरीलाई भाडाका सिपाही बनाउने चलनकै नयाँ अभ्यास भन्नुभएको छ ? किन त्यसरी व्याख्या गर्नुप¥यो ?
चन्द्रशमशेरको पालामा जसरी फौजमा भर्ती हुन उर्दी थियो र नेपाली तन्नेरी सेनामा भर्ती भएपछि शासकहरूले टाउको गनेर कुत उठाएजसरी रकम असुल्थे । अहिले पनि अवस्था ठ्याक्कै त्यही छ । देशभित्र सम्भावनाको ढोका नखोल्ने सरकारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड खोलेको छ । यसरी राज्यले नीतिगत रूपमा तन्नेरीलाई विदेश सप्लाई गर्ने र तिनको कमाइले राज्य चलाउने नीति अख्तियार गरेको छ । अनौठो त के छ भने ९३ प्रतिशत अदक्ष कामदार विदेश पठाउने राज्यले ती कामदारका समस्या प्रभावकारी ढंगले सम्बोधन गर्ने काम भने गरेको छैन । शासकहरू फेरिए, प्रवृत्ति उस्तै छ । पहिले गल्लावाल गाउँ पस्थे, तिनले छातीमा फिता लगाएर नाप्थे । अहिले दलालहरू गाउँ पस्छन् र तन्नेरीहरूको पासपोर्ट बनाइदिन्छन् । फौजमा तन्नेरी मरे पहिले काँचो धागोले बाँधेको चिठी आउँथ्यो, अहिले कफिन आउँछ । फरक यतिमात्रै हो । शासकहरूको भूमिकामा केही अन्तर छैन । चन्द्रशमशेरका नयाँ संस्करणहरू सत्तामा छन् ।
वैदेशिक रोजगारीको हकमा राज्यको भूमिका कहाँनेर टुंगिएको छ ?
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने भन्दै नीति–नियम पनि बनेका छन् । तर, ती अमूर्त छन् र तिनले कामदारको स्वार्थभन्दा बलिया मेनपावर व्यवसायीको स्वार्थ सम्बोधन गर्छन् । मेनपावर व्यवसायी राजनीतिक दलसँग प्रत्यक्ष जोडिएका छन्, जसले दलका नेतालाई प्रत्येक चुनावमा आर्थिक सहयोग गर्छन् र आफूअनुकूल मन्त्री वा कर्मचारी श्रम मन्त्रालयमा भएन भने तिनको फेरबदल गर्ने हैसियत राख्छन् । भन्दा तीतो सुनिएला, तर वैदेशिक रोजगारीको हकमा राज्यको भूमिका विदेश जानुपूर्व कामदारले कल्याणकारी कोषमा बुझाउने एक हजार रुपियाँ बुझ्ने खजान्ची जस्तो र विदेशमा मरेका कामदारको लगत उतार्ने र टिप्पणी उठाउने कुनै लेखनदासजस्तो मात्रै देखिन्छ ।
दलाल, सरकारी कर्मचारी, मेनपावर व्यवसायी र राजनीतिको चंगुलमा वैदेशिक रोजगारी परेको छ भन्न खोज्नुभएको हो ?
कुरा प्रस्ट छ । वैदेशिक रोजगारीमा ठगिएका कामदारहरू न्यायका निम्ति वैदेशिक रोजगार विभाग पुग्छन् । विभागको पटांगिनीमा थ्याच्च बसेका कामदारहरूको अनुहार हेर्नुभयो भने थाहा हुन्छ, वैदेशिक रोजगारीको कहर कती छ । विभागका कर्मचारी कामदारसँग कसरी बोल्छन् र वैदेशिक रोजगार व्यवसायीसँग कसरी व्यवहार गर्छन् भनेर हेर्नुभयो भने पनि त्यो प्रस्ट हुन्छ । सरसर्ती हेर्दा वैदेशिक रोजगारीमा दैनिक २५ देखि ३० लाख रुपियाँ ठगी हुन्छ । तर, न्याय पाउने घटना भने दुर्लभ हुन्छ, किनकि शक्तिशालीहरूको मिल्ती छ । ठगीका घटनामा प्रभावकारी न्याय निरूपण हुँदैन, जसले सामान्य मान्छेको बिल्लीबाठ हुन्छ । वर्षौंसम्म न्यायको खोजीमा भौँतारिरहेका मान्छेहरूको जुलुस निकाल्ने हो भने सिंगो काठमाडौँ भरिन्छ । तर, ती मान्छेको न्यायको विषय कुनै दलको भागमा पर्दैन । कुनै सामाजिक अभियन्ता तिनका बारेमा बोल्दैनन् । कुनै पत्रकारले त्यसमा खरो टिप्पणी गर्दैन । कुनै सुधारक यसबारे मुख खोल्दैन । अब तपाईं आफैँ भन्नुस्, कहर कस्तो छ ?
‘कहर’ माथि जति बहस र चर्चा भएको छ, तपाईं पत्रकार नभएको भए सम्भव हुन्थ्यो होला ?
हिजोआज लेखकको पृष्ठभूमिले मात्रै किताब बिक्दैन । हल्ला र मारधाड होला तर त्यो अस्थायी हुन्छ । गतिलो किताब लेखेपछि सुदूरका रामलाल जोशीलाई पनि त काठमाडौँले चिन्यो । फेरि कुरा दुईचार थान किताब बिक्री हुनुसँग जोडेर हँुदैन । दुईचार कार्यक्रममा भाषण ठोक्नुसँग मात्रै जोडेर हुँदैन । यो विषय कत्तिको मुद्दा बन्यो भन्ने कुरा महŒवपूर्ण हो । विषयलाई सामाजिक बहसमा त मैले ल्याउन खोजेकै हो । पत्रकार भएकै कारण त्यसमा सजिलो पनि भयो होला । तर, मैले यसबापत अतिरिक्त फाइदा भने लिएको छैन । तपाईं आफैँ हेर्नुस् न, कस्ता किताबले कति चर्चा पाइरहेका छन्, पुस्तक मेलामा कस्ता किताब धेरै बिकिरहेका छन् ?
कस्ता किताब बिकिरहेका छन् ?
‘धनी कसरी बन्ने ?’, ‘संसार हल्लाउने प्रेमकथा’, ‘सुखी दाम्पत्य जीवनका काइदा’, ‘लसुन खानुका सय फाइदा’, ‘प्याज खानुका बेफाइदा’, ‘स्वस्थानी कथा’, ‘पञ्चमी पूजा विधि’, यस्तै–यस्तै किताबको भरमार बिक्री देखिन्छ । जुन कति संस्करण निस्कन्छन्, तिनका अनुवादक को हुन् भन्ने कसैलाई थाहा हुन्न । किनकि, तिनका गुप्त प्रकाशकहरू किताब विमोचन गर्दैनन्, अखबारमा समीक्षा छपाउँदैनन् तर भरमार नाफा कमाउँछन् । तपाईं लामो दूरीका बस स्टपहरूमा गएर हेर्नुस्, हात–हातमा किताब बोकेर बेच्दै हिँड्नेले कस्ता किताब बेचिरहेका छन् ?
पाठक अनुभूति
‘कहर’ पढेपछि
रुद्र खड्का
वैदेशिक रोजगारीको क्षेत्रलाई ‘बिट’ बनाएर पत्रकारिता गरिरहेपछि यो क्षेत्रसँग सम्बन्धित राम्रा÷नराम्रा या नयाँ विषयवस्तु बजारमा आउनेबित्तिकै चासो नहुने कुरै भएन । यसैक्रममा पत्रकार जनकराज सापकोटाले वैदेशिक रोजगारीसँग सम्बन्धित पुस्तक ‘कहर’ सार्वजनिक गरेपछि मलाई उत्सुकता जाग्नु स्वाभाविकै थियो । त्यही उत्सुकता मेट्न मैले पुस्तक पढेँ ।
पछिल्लो दिनमा हामी सबैलाई थाहा भएको कुरा के हो भने वैदेशिक रोजगारीको क्षेत्रमा तमाम विकृति बढेका छन् । ती विकृतिका कारण वैदेशिक रोजगारीको क्षेत्र आलोचित मात्र नभई अस्तव्यस्त पनि भइरहेको छ । यसको मतलब वैदेशिक रोजगारीको क्षेत्रमा राम्रा पक्ष छैनन् भन्ने चाहिँ होइन । यहाँ राम्रा÷नराम्रा दुवै पक्ष छन् । केवल हामीले कुन राम्रो र कुन नराम्रो खुट्टयाउन सक्नुपर्छ ।
सापकोटा पत्रकार भएकाले पनि होला, उनले ‘कहर’ मा वैदेशिक रोजगारीको क्षेत्रमा चर्किएका, देखिएका र भोगेका पीडालाई उतारेका छन् । जुन विषयवस्तु विदेशिनेका पीडा मात्र नभई समस्यामा पर्न सक्ने जोखिममा रहेका युवायुवतीका लागि चेतना दिने प्रयास पनि हुन् । भनिन्छ– आजको दिनमा वैदेशिक रोजगारी हामीले सोचेजस्तो हुन नसक्नुका विभिन्न कारणमध्ये स्वयं विदेशिनेहरूको चेतना अभाव पनि हो । यदि वैदेशिक रोजगारीको क्षेत्रमा जाने हरेक युवायुवतीलाई कमसे कम आफू कहाँ र कुन कामका लागि जाँदैछु भन्ने जानकारी दिन सकेको खण्डमा पनि धेरै सहयोग हुन सक्छ । त्यसैले ‘कहर’ वैदेशिक रोजगारीमा जानेहरूको पीडाले भरिएको भए पनि त्यसले अन्ततः तिनै पीडा र समस्यामा रहेकाहरूलाई चेतना दिने काम गरिरहेको छ भने नीतिनिर्माण तहमा रहेकालाई ठोस योजना बनाउन सहयोग पु¥याउने पनि देखिन्छ ।
Leave A Comment