‘चंगा फगत खेलौना होइन’

बिहिबार, २० असोज २०७३, ०१ : ३५ शुक्रवार , Kathmandu
‘चंगा फगत खेलौना होइन’

भाषाविज्ञानका प्राध्यापक निर्मलमान तुलाधर चंगाबारे विशेष ज्ञान तथा दक्खल राख्छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय चंगा महोत्सवमा भाग लिएका छन् । चंगाका विभिन्न आयाम चर्चा गर्दै आफू सहभागी भएका महोत्सवका अनुभव उनले शुक्रवारसँग बाँडेका छन् ।

दशैँका अवसरमा एकाध चंगा चेट प्रतियोगिता आयोजना भए पनि त्यो जनस्तरमा पुग्न सकेको छैन । केही कर्पोरेट हाउसका व्यक्तिलाई समेटेर आयोजना गरिने प्रतियोगिताले मात्रै चंगाको महŒव जनताको तहमा स्थापित हुँदैन ।

  प्रा. निर्मलमान तुलाधर
 नेपालीको ठूलो चाड दशैँ आएको संकेत गर्ने चंगासँग हाम्रो संस्कृतिको गहिरो सम्बन्ध छ । दशैँ हाम्रो चंगा उडाउने समय हो । यसबाट हामीले के बुझ्नुपर्छ भने चंगा उडाउनुसँग हाम्रो सांस्कृतिक सम्बन्ध कमजोर छैन । शरद ऋतुमा पर्ने दशैँको बेला मौसम सफा हुन्छ, न गर्मी, न जाडो । मन्द हावाको बहावसँगै नेपालीहरू चंगामा रमाउँछन् । यो हाम्रो मौलिक पहिचान हो । तर, हामीकहाँ चंगालाई मौसमी मनोरञ्जन लिने साधनको रूपमा मात्र लिने गरेको पाइन्छ । यसलाई हामीले खेलका रूपमा विकास गर्न सकेका छैनौँ । चंगा उडाउने परम्परालाई हाम्रो संस्कृतिसँग जोडेर देशविदेशमा प्रचारप्रसार गर्न सकेका छैनौँ । यसलाई हामीले खेल र प्रतिस्पर्धाका रूपमा पनि विकास गर्न सकेका छैनौँ । विदेशतिर चंगा उडाउनुलाई खेल तथा संस्कृतिका रूपमा विकास गरेको पाइन्छ ।
नेपाल भाषामा ‘भुटुमाली’, हिन्दीमा ‘गुड्डी पतंग’ भनिने चंगाको अंग्रेजी नाम चाहिँ ‘काइट’ नाम गरेको चराबाट रहेको हो । नेपालमा चंगाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि यसको इतिहास लामो भएको अनुमान लगाउन सकिन्छ । चंगा उडाउनु केवल मनोरञ्जन लिने तरिकामात्र होइन । हामीकहाँ वर्षाका देवता इन्द्रलाई अब पानी पुग्यो भन्ने सन्देश पठाउन चंगा उडाउने गरिएको किंवदन्ती छ । चीनमा यसलाई दुष्टात्मा धपाउन उडाउने गरिन्छ । काठमाडौँ उपत्यकामा नागपञ्चमीदेखि हरिबोधिनी एकादशीसम्म चंगा उडाउने गरिन्छ । कृषिकार्यका लागि पर्याप्त पानी नपुग्दै कसैले चंगा उडायो भने उपत्यकाका कृषकहरू रिसाउने गर्थे । धानका लागि पानी पुगेकै छैन किन चंगा उडाएको भन्दै अभिभावकहरू आफ्ना बच्चालाई हप्काउँथे । त्यसैले चंगा उडानसँग हाम्रो कृषिकर्म पनि जोडिएको छ ।
हामीकहाँ मात्र चंगालाई बच्चाको खेलका रूपमा लिने गरिएको छ । विश्वका धेरै देशमा ठूलठूला चंगा महोत्सव हुन्छन् । चंगाले मनोरञ्जनमात्रै प्रदान गर्दैन, यसले हरेक राष्ट्रको संस्कृति झल्काउने काम पनि गर्छ । युरोपतिर चंगालाई मनोरञ्जन तथा खेलको साधनभन्दा पनि एक प्रकारको संस्कृतिका रूपमा विकास गरिएको छ । हामी चाहिँ यसलाई खेलौनाको रूपमा मात्र लिइरहेका छौँ । चंगा फगत खेलौना होइन । यो हाम्रो चंगाप्रतिको साह्रै सानो बुझाइ हो ।
चंगाको इतिहास धेरै लामो छ । इसापूर्वभन्दा अघि नै यहुदीहरूमाझ चंगाको प्रचलन थियो भन्ने कथन छ । तीन हजार वर्षपहिला चंगा चीनमा बनेको थियो भन्ने मत पनि छ । चीनबाट सुरु भएको चंगा न्युजिल्यान्ड हुँदै पछि युरोपसम्म पुगेको हो भन्ने गरिन्छ ।
विश्वमा सबैभन्दा ठूलो र सबैभन्दा सानो चंगा जापानीहरूले उडाउने गरेका छन् । कलात्मक चंगा बनाउनमा पनि उनीहरू अघि छन् । जापानको हामामात्सुका मानिसहरूले आफूभन्दा पनि अग्लो, चम्किलो र रंगिन चंगा चाडपर्वमा उडाउने गरेका छन् । न्युजिल्यान्डका पिटर भन्ने व्यक्तिको नाममा सबैभन्दा ठूलो चंगा उडाएको रेकर्ड गिनिज बुकमा छ । सुरुसुरुमा चंगाको प्रयोग सैनिक उद्देश्य र मौसमको भविष्यवाणीका लागि गरिन्थ्यो । यसलाई मानव विकासका विभिन्न पक्षमा पहिलेदेखि नै प्रयोग गर्ने गरिएको पाइन्छ ।  
चंगा बनाउन राम्रो कला र सीप चाहिन्छ । हामीकहाँ मौलिक नेपाली चंगा बनाउनेहरू पनि छैनन् । नेपाली बजारमा भारतीय चंगा भित्रिन थालेपछि काठमाडौँमा चंगा बनाउने र त्यसको व्यापार गर्नेहरू विस्थापित हुँदै गए । चंगाका लागि चाहिने कप्टेराको डाँडाभाटा (चंगामा राखिने बाँसका दुइटा छेस्का) को सन्तुलन मिलाउन साह्रौ गाह्रो हुन्छ । चंगाको बनावट वा गुणस्तर यही भाटामा निर्भर हुन्छ । भारतले यस्ता छेस्काहरूको उत्पादन मेसिनद्वारा गर्ने भएकाले भारतमा निर्मित चंगा बढी गुणस्तरका हुन्छन् ।
चंगा विभिन्न प्रकारका हुन्छन् । फ्ल्याट काइट, बोउड काइट, बक्स काइट, डेल्टा काइट, स्टोन काइट आदि चलनचल्तीका चंगा हुन् । सबैभन्दा पुरानो र पुच्छर भएको काइट नै फ्ल्याट काइट हो ।
विभिन्न देशका चंगा विभिन्न शैली र प्रकारका भए पनि नेपाली चंगाहरू मौलिक छन् । भारतीय चंगासँग केही हदसम्म मिले पनि हाम्रा चंगाहरूको बनोट प्रक्रिया अलि फरक छ । हामी कहाँ ‘डाइमन्ड सेप’ का चंगाहरू नै बढी चलनचल्तीमा छन् । नेपाली चंगा उडानकला विश्वकै उत्कृष्ट चंगा उडानकलाभित्र पर्छ । भारतीयहरू चंगा चेट गर्नमा जति खप्पिस छन्, त्यति नै उडाउनमा नेपालीहरू छन् । लट्टाईबाट धागो सरर छोडेर चंगा उडाउने नेपाली कला विदेशीहरूका लागि आकर्षक कुरा हुन्छ ।
मैले सन् १९९४ मा बैंककमा भएको अन्तर्राष्ट्रिय चंगा महोत्सवमा पहिलो पटक भाग लिएको थिएँ । भाषाविज्ञानको प्राध्यापकका नाताले विश्वका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा पढाउन जाँदा मैले विश्वमा आयोजना हुने भव्य चंगा महोत्सवबारे जानकारी लिन पाएँ । सानैदेखि चंगा उडाउने रुचिका कारण आहिले ६९ वर्षको उमेरसम्म पनि म निरन्तर चंगा उडाइरहेको छु । म सोखिन चंगा उडानकर्ता हुँ । अन्तर्राष्ट्रिय स्तरमा हुने महोत्सवहरूमा व्यावसायिक चंगा उडानकर्ता सहभागी हुने गरेका छन् । सन् १९९६ देखि फ्रान्समा आयोजना हुने चंगा महोत्सवमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने म एक्लो नेपाली हुँ । फ्रान्सले हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय चंगा महोत्सव आयोजना गर्ने गर्छ । सेप्टेम्वर १० देखि १८ सम्म फ्रान्समा डाइपे इन्टरनेसनल काइट फेस्टिभल भएको थियो । ३६ वटा देश सहभागी भएको महोत्सवमा क्यानडालाई विशेष निम्तो गरिएको थियो । क्यानडाले इन्डिजिनियस र लोक थिममा चंगा बनाएर र उडाएर आफ्नो सहभागिता जनाएको थियो । सरकारले थोरै मात्र चासो दिने हो भने हामी पनि यस्ता महोत्सवमार्फत हाम्रो कला, संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि धेरै काम गर्न सक्छौँ । तर, यसतर्फ कसैको पनि ध्यान गएको देखिँदैन । विश्वमा चंगा उडान महोत्सवको आयोजना गर्ने राष्ट्रहरूले आफ्नो देशको पर्यटन व्यवसायलाई निकै ठूलो टेवा पु¥याइरहेका छन् । छिमेकी देश भारतले पनि चंगा महोत्सव आयोजना गर्छ । सबैभन्दा बढी अन्तर्राष्ट्रिय चंगा महोत्सव गर्ने देश फ्रान्स हो । यस्ता महोत्सवमा रचनात्मक चंगा बनाउने प्रतिस्पर्धा हुन्छ र विजेतालाई राम्रो पुरस्कार दिइन्छ । यसैगरी इन्टरनेसनल माझा क्लबले ‘फाइटिङ काइट कम्पिटिसन’ गराउँछ । यसपटकको महोत्सवमा ब्राजिलले फाइटिङ काइट कम्पिटिसन जितेको थियो । म वर्षौंदेखि एक्लै यस्ता महोत्सवमा भाग लिँदै आइरहेको छु । स्टलमा नेपाली चंगा प्रदर्शन गर्ने, चंगा उडाउने, स्कुलमा गएर बालबालिकालाई नेपाली चंगा बनाउन सिकाउने काम महोत्सवका क्रममा गर्नुपर्छ । यसपटक मलाई मेरो छोरा सन्देशमानले सघाएको थियो । अमेरिकाबाट आफ्नै खर्चमा फ्रान्स आएर महोत्सवमा सहभागी भएको थियो । मेरा मित्र रमेश श्रेष्ठ पनि बेलाबेलामा मसँग चंगा महोत्सवमा सहभागी हुँदै आएका छन् । यस्ता महोत्सव कतिपटक आफ्नै खर्चमा पुगेर पनि देशको प्रतिनिधित्व गराउँदै आएको छु । महोत्सवमा राति चंगा उडाउने तथा हाइपर काइट र स्टन्ट काइटको उडान पनि निकै रोमाञ्चक हुने गर्छ ।
दशैँका अवसर पारेर विभिन्न वस्तु तथा सेवा गरिने विज्ञापनमा कुनै न कुनै रूपमा चंगाको प्रयोग भइरहेको हुन्छ । दशैँलक्षित कमर्सियल एडमा बढ्दो प्रयोगले चंगाको महŒवलाई बढाए पनि चंगा उडानमार्फत हामीले हाम्रो संस्कृति तथा पर्यटन प्रवद्र्धनमा लिन सक्ने फाइदा लिन सकेका छैनौँ । दशैँ आएपछि चंगाको प्रसंग स्वतः जोडिएर आउने तर चंगा उडान प्रतियोगिता, फेस्टिभल, काइट म्युजियम स्थापना लगायत काममा भने हाम्रो ध्यान गएको छैन । क्लब हिमालयले भक्तपुरको नगरकोटमा चंगा चेट प्रतियोगिता आयोजना गरे पनि त्यो जनस्तरमा पुग्न सकेको छैन । केही कर्पोरेट हाउसका व्यक्तिलाई समेटेर आयोजना गरिने प्रतियोगिताले मात्रै चंगाको महŒव जनताको तहमा स्थापित हुँदैन । नेपालले पनि अन्तर्राष्ट्रिय स्तरको चंगा महोत्सव आयोजना गर्ने र चंगाको संग्रहालय स्थापना हुन सक्ने हो भने हामी चंगामार्फत हाम्रो कला–संस्कृति र पर्यटन प्रवद्र्धन गर्न सक्छौँ ।
प्रस्तुतिः राजन

 

Leave A Comment