बालकलाकारको दशैँ

बिहिबार, २० असोज २०७३, ०३ : ०० शुक्रवार , Kathmandu
बालकलाकारको दशैँ

विश्वकै कान्छा फिल्म निर्देशकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकड्र्समा नाम लेखाउन सफल सौगात विष्ट दशैँको रमाइलोसँगै फिल्म निर्देशनमा पनि व्यस्त हुने भएका छन् । ‘साथीहरूसँग रमाइलो त गर्छु नै,’ उनले भने, ‘तर यो पटक ‘हैरान’ नामक फिल्म समेत निर्देशन गर्नुपर्ने भएकाले त्यता पनि समय दिनुपर्ने भएको छ ।’
कक्षा चारमा अध्ययनरत विष्ट विगतका वर्षमा आमाबुबाहरूको पैसामा आफूलाई चाहिने कपडा किन्थे । तर, यसपटकको दशैँमा उनी आफ्नै कमाइबाट कपडासँगै मन पर्ने साइकल समेत किन्ने भएका छन् ।
फिल्म ‘नाइँ नभन्नू ल’ मा गरेको अभिनयबाट चर्चामा आएका बालकलाकार अनुभव रेग्मीको दशैँ पनि फेरिन थालेको छ । उनी पनि आफ्नै कमाइबाट दशैँका लागि कपडा किन्छन् । ‘यो दशैँमा सपिङका लागि २० हजार छुट्टाएको छु,’ उनले भने, ‘यो पैसाबाट चश्मा, पाइन्ट, टिसर्ट, घडी र जुत्ता किनिसकेको छु ।’ यसपटकको दशैँमा फिल्मका कुनै कार्यक्रम नभएकाले उनी साथीभाइसँग चंगा उडाउँदै र अन्य खेलकुदमा रमाउने बताउँछन् ।
दशैँमा मामाघर जाने, टीका लगाउन अनुभवलाई औधी मन पर्छ । आफैँ कमाउने भैसकेका कारण दक्षिणालाई भने त्यति महŒव दिँदैनन् ।
सातवटा फिल्ममा अभिनय गरिसकेकी अर्की बालकलाकार संगम विष्ट पनि दशैँको सपिङ आफ्नै कमाइबाट गर्छिन् । उनलाई स्पोर्ट ड्रेस मन पर्छ । त्यही भएर यसपटकको दशैँमा सबै स्पोर्ट ड्रेस किन्ने तयारीमा छिन् उनी । ‘आफ्नै आम्दानीबाट मन पर्ने स्पोट्र्स कपडाहरू किन्छु,’ उनले भनिन् । दशैँमा उनी घुमाघामसँगै साइक्लिङ गर्ने योजनामा छिन् । दशैँमा लामो बिदा हुने भएकाले साथीहरूसँग धेरै समय विताउने पनि उनको योजना छ । ‘धेरैभन्दा धेरै समय साथीहरूसँग खेल्छु,’ उनले भनिन्, ‘होमवर्क पनि गर्छु ।’

 

Leave A Comment