व्यवसायीको दशैँ

बिहिबार, २० असोज २०७३, ०३ : ०५ शुक्रवार , Kathmandu
व्यवसायीको दशैँ

आश्रय रन्जितकार
निर्देशक, मकालु वाइन इन्डस्ट्रिज
दशैँमा निकै व्यस्त हुन्छु । अहिले संखुवासभामा छु । दशैँको दुईतीन दिनअघि मात्र काठमाडौँ फर्किन्छु । सबैको बिदा हुने भएकाले भेटघाट, घुमघाम गरिन्छ । दशैँमा कुभिण्डो काट्ने चलन छ । घरमा सबैभन्दा जेठो हजुरबुवाको हातबाट टीका लगाइन्छ ।

रूपेश पाण्डे
प्रबन्ध निर्देशक, आरपी ग्रुप
बडादशैँको अवसरमा नवरत्न व्रत बस्ने गरेको छु । घटस्थापनादेखि व्रत बसेर हरेक दिन पूजा गर्ने गरेको छु । फलफूलमात्र खान्छु । जन्मथलो वीरगञ्जमा आमाबुवासँग दशैँ मनाउने कार्यक्रम छ ।
मिलन थापा
कार्यकारी निर्देशक, फ्रेसिया इन्टरनेसनल
मठमन्दिर गएर पूजाआजा गर्छु । परिवारलाई समय दिनुपर्ने भएकाले अन्त कतै जानै पाइँदैन । आमाको हातबाट टीका लगाउने, आशिष थाप्ने हो । रमाइलो गरेर मनाउने योजना छ । सामान्य सपिङ गरिन्छ ।

प्रकाश श्रेष्ठ
प्रबन्ध सञ्चालक, तीनजुरे वाइन इन्डस्ट्रिज
जन्मघर पाँचथर भए पनि यो दशैँ काठमाडौँमै मनाउने कार्यक्रम छ । गाउँघरमा खसी काट्थ्यौँ । यहाँ खसी नकाटे पनि खानेपिउने र साथीभाइसँग रमाइलो गरिन्छ । हाम्रो नेवार समुदायमा वर्षभरि नै कुनै न कुनै चाड मनाउने भए पनि दशैँलाई विशेष रूपमा मनाइन्छ ।
मनोज श्रेष्ठ
सञ्चालक, स्काई ब्रान्ड
यो पालि घरमै परिवारसँग बसेर रमाइलोसँग दशैँ मनाउने कार्यक्रम छ । तीन दिनसम्म आफन्तकोमा गएर टीका लगाउँछौँ । कामको व्यस्तताले भेट्न नपाएका आफन्तसँग भेटघाट, जमघट हुुन्छ ।

भोला दुलाल
अध्यक्ष, पूर्वाञ्चल ल्युब आयल
दशैँको बिदामा पुस्तक पढ्ने र परिवारसहित घुम्ने योजना बनाएको छु । परिवारसहित इलामको फिक्कल, कन्याम, धनकुटाको भेडेटार घुम्न जाने कार्यक्रम छ । वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई फलफूल वितरण गर्ने, रक्तदान कार्यक्रम गर्ने पनि योजना छ ।

 

Leave A Comment