घुमघाम गरेर दशैँ मनाउने हो भने

शुक्रबार, २१ असोज २०७३, १० : २१ शुक्रवार , Kathmandu
घुमघाम गरेर दशैँ मनाउने हो भने

अमृत भादगाउँले यात्रा लेखन (ट्राभल राइटिङ) मा सुपरिचित नाम हो । यात्रा उनको ‘प्यासन’ हो । उनले करिब–करिब सिंगो नेपाल घुमिसकेका छन् । नेपाली पत्रकारितामा घुमफिरलाई ‘बिट’का रूपमा स्थापित गर्ने पत्रकार उनै हुन् भन्दा अतिशयोक्ति हुने छैन । दशैँका अवसरमा घुमघाम गर्ने चाहनेलाई घुमफिरप्रेमी भादगाउँलेले १० गन्तव्य सिफारिस गरेका छन् ।     

इलाम  
परिश्रमीहरूको बस्ती हो पूर्वको इलाम । एग्रो टुरिजमको नमुना यो जिल्ला आलु, ओलन (दूध), अदुवा, अम्लिसो, अकबरे खुर्सानी, अलैँची र अर्थोडक्स चिया उत्पादनले चम्केको छ । इलाम बजार (१२०८ मिटर) सेरोफेरोमा घुम्न धेरै ठाउँ छन्ः चिया बगान, भ्यू टावर, भालु ढुंगा गुफा, चुरेघाँटी गुम्बा, नारायणस्थान, माईस्थान, भीमसेनस्थान, चिया कारखाना, क्याम्पस, सिंहवाहिनी, सेतीदेवी मन्दिर आदि । बजारमा पर्यटकीय सुविधाका होटल, लज र रिसोर्ट छन् ।  यहाँका बम्बैसन, ललिपप, छुर्पी, चिज, चिया, अकबरे खुर्सानी, झ्याले आलु घरमा ल्याउने राम्रा कोसेली हुन सक्छन् ।  
कसरी पुग्नेः कोटेश्वर, काठमाडौँबाट ६ सय ९० किलोमिटरको दूरीमा रहेको छ इलाम । कोटेश्वरबाट दिउँसो छुट्छन् इलाम जाने रात्रि बस । बसमा १४ घण्टा लाग्छ ।

जनकपुर
जनकपुर बजार बीचमा छ जानकी मन्दिर । मन्दिर भएको ठाउँमा राजा जनकले सीतालाई भेट्टाएको किंवदन्ती छ ।
जनकपुर बजारमा चार दर्जन होटल छन् । दर्जनभन्दा बढी धर्मशाला छन् । जनकपुर बजारबाहिर कुवा गाउँको नारी विकास केन्द्रमा मिथिला कला झल्कने सामान कोसेली किन्न पाइन्छ ।
कसरी पुग्ने ः काठमाडौबाट मुग्लिन हुँदै जनकपुर ३५० किमी, बसमा ९ घण्टा समय लाग्छ । बनेपा–बर्दिबास सडक हुँदै काठमाडौँ–जनकपुर २१० किमी, जिपमा ६ घण्टा समय लाग्छ । काठमाडौँ, पुरानो बसपार्कबाट बस र कोटेश्वरबाट जिप छुट्छन् ।  
हलेसी  
हलेसीधाम हिन्दू, बौद्धमार्गी र किरातीको साझा तीर्थ हो । हिन्दूका भगवान् शिव, बौद्धमार्गीका गुरु पद्मसंभव र किराती पुर्खा रैछाकुलेसँग सम्बन्धित ठाउँ हो हलेसी । जुन खोटाङको महादेवस्थान–४ मा पर्छ । हलेसी दर्शनले दुःखबाट मुक्ति, पदोन्नति, खडेरीबाट मुक्ति, सन्तान लाभ र निरोगी हुने जनविश्वास छ ।
गुफाभित्र थरिथरिका मूर्ति छन् । किरातीका पुर्खा रैछाकुलेले गुफा पत्ता लगाएका हुन् । बौद्धमार्गीका अनुसार हलेसीमा बसेर ध्यान गरेपछि गुरु पद्मसंभव चिरञ्जीवी बने ।
गुफा नजिकैसम्म मोटर चल्छ । हलेसीमा खान–बस्न होटल, लज र रिसोर्ट छन् । फर्कंदा मस्याङ, भट्मास, खुर्सानी, बदाम, गुन्द्रुक र मास कोसेली ल्याउन सकिन्छ ।   
कसरी पुग्ने ः काठमाडौँदेखि बनेपा–बर्दिबास सडकको खुर्कोट खण्डबाट मध्य पहाडी लोकमार्ग हुँदै घुर्मीबाट हलेसी पुग्न २१६ किमी यात्रा गर्नुपर्छ । काठमाडौँको चाबहिल र कोटेश्वरबाट जिप छुट्छन् । काठमाडौँबाट हलेसी १० घण्टामा पुगिन्छ ।

पोखरा
पोखरा प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी, झरनाका साथै प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्प र जिप फ्ल्याएरजस्ता साहसिक खेल पनि त्यहाँ खेल्न पाइन्छ ।
फेवा र बेगनासतालमा डुँगा चढ्ने सुविधा छ । गुफा धेरै छन्– महेन्द्र, चमेरे, गुप्तेश्वर आदि । गुप्तेश्वरमा १४० मिटर पसेपछि भित्रैबाट डेभिज फल्स देखिन्छ ।  
पोखरामा गोर्खा मेमोरियल म्युजियम, क्होइबो, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, नेचुरल हिस्ट्री म्युजियम र क्षेत्रीय संग्रहालय छन् । तालबाराही, विन्ध्यवासिनी र भद्रकाली मन्दिर छन् ।  
बास बस्न फेवा किनारमा अत्याधुनिक होटल छन् । यहाँ संसारभरका परिकार पाइन्छन् । मिठो दालभात पाक्छ, थकाली भान्छामा । पोखराबाट सारंगी, डाँडाघरे वाइन, ‘पोखराको सम्झना’ लेखिएका गलैँचा कोसेली ल्याउन सकिन्छ ।
कसरी पुग्ने ः काठमाडौँ–पोखरा २०० किमी । काठमाडौँको कलंकीबाट बिहानैदेखि बस तथा माइक्रो छुट्छन् । कान्तिपथबाट बिहान ७ बजे छुट्ने टुरिस्ट बस आरामदायी हुन्छ । हवाई यात्रा ३० मिनेट ।

स्वर्गद्वारी
किंवदन्तीअनुसार प्युठानको स्वर्गद्वारीमा ब्रह्माले तपस्या गरेका थिए, पाँच पाण्डव यतैबाट स्वर्ग गएका थिए । त्यहाँबाट धौलागिरि, नीलगिरि, माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छन् ।  
स्वर्गद्वारी (२,०४८ मिटर) मा यज्ञशाला छ । झट्ट हेर्दा नौवटा मन्दिरजस्तो देखिन्छ, तर भित्र एउटै छ । बीचको मूल कुण्डबाट धुवाँ आइरहन्छ । वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन् ।
डाँडामा होटल÷लज छैन । धरमपानी बजारमा सामान्य लज छन् । मन्दिर हातामा धर्मशाला छन् । आश्रमको क्यान्टिनमा दालभात पाक्छ । स्वर्गद्वारीबाट महाप्रभुका फोटा र टिम्मुर कोसेली ल्याउन सकिन्छ ।  
कसरी पुग्ने ः काठमाडौँबाट रोल्पा जाने बस चढ्ने । भिंग्रीमा ओर्लेर रात बिताउने । भोलिपल्ट चार घण्टा उकालो पदयात्रापछि स्वर्गद्वारी पुगिन्छ । भिंग्री–धरमपानी १३ किमी । धरमपानीबाट आधा घण्टामा मन्दिर पुगिन्छ । धरमपानी–होलेरी २९ किमी ।

लुम्बिनी
गौतम बुद्धको जन्मथलो हो लुम्बिनी । लुम्बिनीमा मायादेवी मन्दिर छ । मन्दिरबाहिर  अशोक स्तम्भ छ । सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो ।  सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले लुम्बिनीको गुरुयोजना बनाए । योजनाअनुसार ११ सय ५५ बिगाहा जग्गा अधिग्रहण गरियो । तीन खण्डमा बाँडियो । तीन वर्गमाइलमा उत्तर–दक्षिण फैलिएको भूमिमा उत्तरमा नयाँ लुम्बिनी गाउँ, बीचमा विहार क्षेत्र र दक्षिणमा मायादेवी मन्दिरसहित उद्यान बनायो ।
लुम्बिनी ठूलो क्षेत्रफलमा भएकाले रिक्सा, साइकल र ट्याक्सीमा घुम्नुपर्छ । लुम्बिनीमा तीन दर्जन होटल छन् । लुम्बिनीको कोसेली काठ, माटो र ढलोटबाट बनेका बुद्ध मूर्ति ल्याउन सकिन्छ ।  
कसरी पुग्ने ः काठमाडौँ–लुम्बिनी ३२५ किमी । काठमाडौँबाट लुम्बिनीसम्म बस चल्छ । भैरहवासम्म हवाई यात्रा । भैरहवा–लुम्बिनी २० किमी । भैरहवामा लुम्बिनी जाने गाडी पाइन्छ ।
पाथिभरा
अन्न भरिएको पाथीजस्तो देखिन्छ, ताप्लेजुङको डाँडा पाथिभरा (३,७९४ मिटर) । त्यहाँबाट कुम्भकर्ण, कञ्चनजंघा हिमशृंखला देखिन्छन् । पाथिभरामा सिंहवाहिनी देवीका मूर्ति छन् ।
जनविश्वासअनुसार पाथिभरा दर्शन गरे जन्मै हातखुट्टा नचल्नेका पनि हातखुट्टा सल्बलाउँछन्, दृष्टिविहीनका आँखामा ज्योति भरिन्छ । निःसन्तानलाई सन्तानलाभ हुन्छ । गरिब धनी हुन्छन् । शत्रु निर्बल हुन्छन् ।  
डाँडामा आठ धर्मशाला छन् । पानीको दुःख भएकाले तीर्थालु बस्दैनन् । ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर दूरीमा छ मन्दिर । १६ किमी पर भालुगौँडेसम्म रिर्जभ जिप जान्छ । फेदीबाट दुई घण्टा उकालो बिस्तारै हिँड्नुपर्छ ।  
फुङलिङ र सुकेटारमा राम्रा होटल छन् । अन्यत्र सामान्य लज छन् । पाथिभरामा चिसो हुन्छ । न्याना कपडा लिएर जानुपर्छ । छुर्पी, चौँरीको घ्यू, गलैँचा, राडीपाखी, मह, ढाका कपडा, सुकुटी, अकबरे खुर्सानी, सिमी, गुन्द्रुक, सिन्की कोसेली ल्याउन सकिन्छ ।
कसरी पुग्ने ः काठमाडौँ–बिर्तामोड बसमा १२ घण्टा । बिर्तामोडबाट बिहान साढे ४ बजेदेखि १० बजेसम्म बस पाइन्छ । फुङलिङ पुग्न १० घण्टा । फुङलिङबाट भालुगौँडेसम्म जिपमा । त्यहाँबाट तीन घण्टा पदयात्रा ।  

भेडेटार
सुनसरी र धनकुटाको सीमा बजार भेडेटार (१४२० मिटर) पूर्वी पहाडी जिल्लाको प्रवेशद्वार हो । यो शीतल गन्तव्य हो । राजारानी जाने सडकछेउमा शंख आकारको १८ फिट अग्लो अनौठो शंखेश्वर महादेव मन्दिर छ । भित्र गुफामा शिला छ ।  
बेलायती युवराज चाल्र्स २०३८ सालमा भेडेटार आएका थिए । उनले बजारमाथि शैलुङ डाँडा (१,४७० मिटर)  पुगेर कुम्भकर्ण, सगरमाथा र मकालु हिमाल हेरे । त्यो ठाउँलाई चाल्र्स प्वाइन्ट भनिन्छ । भेडेटार सेरोफेरोमा पाथिभरा, साँगुरीगढी छन् ।
भेडेटारमुन्तिर १० किमीमा सिम्सुवा झरना छ । त्यहाँ क्यानोनिङ गरिन्छ । भेडेटारमा तीन दर्जन होटल र रिसोर्ट छन् । त्यहाँ पश्चिमा खानादेखि तोङ्बा र बंगुरको कान–जिब्रो सहितका परिकार पाक्छ ।
कसरी पुग्ने ः काठमाडौँ–धरान ५५० किमी । धरान–भेडेटार १७ किमी । काठमाडौँबाट बिहान ५ र दिउँसो ३ बजे धरान जाने डिलक्स गाडी छुट्छन् । बसमा १२ घण्टा । धरानबाट भेडेटार जान धनकुटा वा राजारानी जाने बस चढ्नुपर्छ या रिजर्भ गर्नुपर्छ ।  

नमोः बुद्ध
नेपालभित्र पर्ने बौद्धमार्गीका प्रमुख चार तीर्थस्थलमा काठमाडौँको बौद्धनाथ, स्वयम्भू, काभ्रेको नमोःबुद्ध र लुम्बिनी पर्छन् । काभ्रेको श्यामपाटीमा शाक्यमुनि गौतम बुद्धको पूर्वजन्म भएको थियो । त्यहीँ उनले बघिनीलाई शरिर दान गरेका थिए । त्यस ठाउँलाई नमोः बुद्ध भनिन्छ ।  
गहिरोमा नमोःबुद्ध स्तुपा छ । छेउमा कुदुङ टासी छोलिङ गुम्बा छ । माथि कोटडाँडामा गाउँजस्तै देखिने रंगिन गुम्बा गुरु ठाङ्गु रिन्पोछेको अगुवाइमा बनेका हुन् । त्यहाँ ध्यान कक्षा चलाइन्छ ।
डाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न पाइन्छ । नमोः बुद्धबाट मकालु, चोयू, गौरीशंकर, दोर्जे लाक्पा, लाङटाङ, गणेश, मनास्लु र अमादब्लमलगायत हिमाल देखिन्छ । बर्खामा हिमाल देख्ने सम्भावना कम हुन्छ । असोज–कात्तिक हिमाल हेर्ने महिना । गुम्बावरपर आधा दर्जन गेस्ट हाउस छन् ।   
कसरी पुग्नेः काठमाडौँबाट धुलिखेल ३० किलोमिटर । धुलिखेलबाट करिब १२ किलोमिटरमा नमोबुद्ध । बनेपा–बर्दिबास सडकको काभ्रे भञ्ज्याङबाट भित्र सात किमी कच्ची बाटो छ । बनेपाबाट बिहान ९ देखि साँझ ५ बजेसम्म घण्टा–घण्टामा दाप्चा जाने बस छुट्छन् । ती बसमा जाँदा नमोःबुद्ध चोकमा ओर्लने ।
बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्जमा ५० वटा वयस्क बाघ र २९ वटा गैँडा छन् । जंगलमा चित्तल, भालु, बँदेल, नीलगाई आदि जनावर छन् । चराको चिरबिर उत्तिकै सुनिन्छ । हात्ती सफारी सुविधा छ । बयलगाडामा बसेर थारु गाउँ घुम्न सकिन्छ ।
नदी किनारमा घाम तापिरहेका गोही हेर्न मज्जा हुन्छ । निकुञ्ज हेडक्वार्टर ठाकुरद्वारामा गोही प्रजनन केन्द्र छ । जहाँ घडियाल र मगर गोही बस्छन् । हेडक्वार्टर हातामा थारु संग्रहालय छ । ठाकुरद्वारामा ठाकुर बाबा मन्दिर छ । निकुञ्ज क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ । ०२६ सालमा सिकार सुरक्षित वन घोषणा गरिएकामा ०४५ सालमा निकुञ्ज बनाइएको थियो ।   
ठाकुरद्वारामा दुई दर्जन होटल तथा रिसोर्ट छन् । डल्ला होम–स्टेका २२ घरमा सस्तोमा खाना र बास पाइन्छ । कोसेली धेरै छन्, माटोबाट बनेका गैँडा, हात्ती, देवता, खुत्रुके र थारु महिलाले बुनेका ढकी, फूलदानी, पेन होल्डर आदि रिसोर्टहरूमै पाइन्छन् ।  
कसरी पुग्ने ः पूर्वपश्चिम राजमार्गको अम्बासाबाट दक्षिणपश्चिम १३ किमीभित्र ठाकुरद्वारा । काठमाडौँबाट–ठाकुरद्वारा बसमा १४ घण्टा । ठाकुरद्वारा–डल्ला ५ किमी । नेपालगञ्ज–ठाकुरद्वारा ९० किलोमिटर ।

 

Leave A Comment