–सङ्गीत श्रोता
पण्डितहरूको संसद्–बहस सुरु भएको छ
र, बहसको पहिलो विषय छ– खुट्टा !
खुट्टामाथि खुट्टा खप्टाउँदै
कुर्चीमाथि बसेर खुट्टा हल्लाइरहेका पण्डितहरू
सत्ता पक्षमा छन्
चोरका खुट्टा काट भन्नुअघि नै
खुट्टा खुम्चाएर पलेँटी कसिसकेका पण्डितहरू
प्रतिपक्षमा छन्
र, पक्ष–प्रतिपक्ष दुवैको बहसको विषय छ– खुट्टा !
जो सत्तापक्षमा छन्
खुट्टा खप्टाएर हल्लाइरहेका छन्
जो प्रतिपक्षमा छन्
घुँडा खुम्चाएर मुसारिरहेका छन्
शून्य समयको पहिलो प्रश्न छ–
खुट्टा के–का लागि ?
सत्ता पक्ष भन्छ–
खुट्टा खराउका लागि हो
खराउ श्री रामचन्द्रले लगाएका थिए
खराउ राजा दशरथले पनि पहिरिएका थिए
ऋषिमुनिहरूको पाउपोश पनि खराउ नै हो
यो हाम्रो परम्परागत पाउदान हो
परम्पराविरुद्ध जाने अधिकार कसैलाई छैन
सभामुख महोदय !
परिवर्तनका नाममा मौलिकता मास्न मिल्दैन
खुट्टाले बाँच्न पाउनैपर्छ– खराउका लागि ।
प्रतिपक्ष भन्छ–
खुट्टा जुत्ताका लागि हो
जुत्ताको सम्मान र शोभा बढाउने खुट्टाले नै हो
खुट्टाको सुरक्षार्थ गरिएको नयाँ आविष्कार हो जुत्ता
हात्तीछाप चप्पलमा मात्रै खुट्टालाई अड्काउनु हुन्न
खराउतिर फर्केर खुट्टाको अपमान त गर्नै हुन्न
बजारमा आइसकेको जुत्तालाई निषेध गर्नु हुँदै हुन्न
सभामुख महोदय !
परम्पराका नाममा पुराणमा मात्रै बाँच्न मिल्दैन
खुट्टाले बाँच्ने अधिकार पाउनैपर्छ– जुत्ताका लागि ।
पण्डितहरूको संसद्–बहसमा
खुट्टाबारे अरु प्रश्नहरू पनि बाँकी छन्–
एक– खुट्टा खप्टाएर हल्लाउने कि खुम्चाएर मुसार्ने ?
दुई– खुट्टामा कस–कसलाई ढोगाउने ?
तीन– खुट्टामा सुनको पाउजु लगाउने कि हिराको ?
चार– खुट्टा पैतालादेखि घुँडासम्म कि तिघ्रा हुँदै कम्मरसम्म ?
पाँच– खुट्टाबाट जन्मनेहरू र खुट्टामुनि मर्नेहरूलाई गाथमा कसरी रोक्ने ?
छ, सात, आठ, नौ, दश...
अहो, म पनि कहाँबाट आइपुगेछु
यही संसद्–भवनको मूल ढोकामा
म पण्डितहरूको यो संसद् बहसको कुनै पक्षमा पनि छैन
खुट्टा खप्टाउनुपर्छ भन्ने सत्तापक्ष पनि मेरो होइन
खुट्टा खुम्चाउनुपर्छ भन्ने प्रतिपक्ष पनि मेरो होइन
सभामुख महोदय !
अब म तुरुन्तै बाहिर निस्कन्छु
मसँग पनि छन् एक जोडा खुट्टा
तर यी जोर खुट्टालाई
म संसद्ीय हिज्जे–बहसबाट जोगाउन चाहन्छु
र, हिँड्न चाहन्छु सुदूर गन्तव्यको यात्रातिर
मलाई जान दिनुस् बाहिर–
लेफ्ट–राइट ! लेफ्ट–राइट ! लेफ्ट–राइट !
(नोटः संसद्–भवनको मूलगेटबाट बाहिरिँदा–बाहिरिँदै कोही अपरिचितले थमायो सभामुखको हस्ताक्षरसहितको कागज, जहाँ लेखिएको थियो– ‘कमरेड, खुट्टाको काम हिँड्नु हो भन्ने हाम्रा केही माननीय सदस्यहरूलाई पनि थाहा छ है, तर हामी संसद्मा छौँ, यहाँ बहस चलि नै रहन्छ, गुडबाई, सी यू !)
Leave A Comment