–लक्ष्मी थापा
ए शारदीय पवन !
मेरो बस्तीमा
चीलगाडीबाट दिनहुँ ओर्लने
दुईचार बाकसहरू
आज पनि
कुप्रो काँध चढेर
प्रेयसीको आँशुमा तैरँदै
बाग्मती ओर्लेको देखैनौ र ?
भो नसुसेल मालसिरी धुन
यहाँ दसैँ नफर्केको धेरै भो
ए दुर्गे !
हाम्री ढोगिनी देवीलाई बिस्टा कोचार्दा
चुपचाप ठडिरहने तिम्रो त्रिशूलसँग
सोध्नु छ मलाई धेरै प्रश्न
देवीहरू बोक्सी हुन्छन् कि हुँदैनन् ?
छाउगोठ छन् कि छैनन् तिम्रो बस्तीमा ?
गर्भाशयभित्रै छिरेर
छोरीको गलामा छुरा चलाउने छुट
छ कि छैन त्यताका डाङ्डरलाई ?
अबको कालरात्रिमा
म चाहन्छु यी सबको जवाफ
सिस्नो उम्रँदै छ करेसामा
रेमिट्यान्सको पखेटा हालेर
देश भने उडिरहेछ बेलगाम
ए देश !
किन सोच्दैनस् तँ ?
किन बिचार्दैनस् तँ ?
अर्कैले जोडिदिएको पखेटा
अर्कैले तोडिदिनेछ कुनै दिन
र, हामी बन्नेछौँ
लट्टाई चुँडिएको चंगा
अनि ??
Leave A Comment