लेखनमा लागेको बोसो पगाल्ने कर्म

शुक्रबार, २१ असोज २०७३, ११ : ०७ शुक्रवार , Kathmandu
लेखनमा लागेको बोसो पगाल्ने कर्म

बीस वर्षको मेरो अनुभव र विचारमा किताब सम्पादन भनेको पनि खेतीपातीजस्तै कठोर श्रम र कलाको सम्मिश्रण हो, लेखनमा लाग्ने बोसो पगाल्ने सीप पनि हो । मेरा बुबाआमाले गरेको खेतीपाती र मैले गर्ने सम्पादन कर्मबीच खासै अन्तर पाउन कठिन छ । सम्पादन मूलतः अक्षर र शब्दको कलात्मक खेती नै हो, खेतीज्यापुका छोरा र खेतीपाती गरेको आफ्नै अनुभवका आधारमा पनि दाबीका साथ भन्न सक्छु ।


राजेन्द्र महर्जन

चाहना थियो क्रान्तिकारी बन्ने, भइयो क्रान्तिप्रेमी मात्रै । होलटाइमर बन्नुपर्ने भयो क्रान्तिकारिताका लागि । लामो समयसम्म चलनचल्तीका शैलीमा होलटाइमर बन्न सकिएन, बनियो क्रान्तिको सेवा गर्ने उद्देश्यका साथ पत्रकार । छवि बन्यो पत्रकारको, तर आफूलाई पत्रकारका रूपमा कहिल्यै पेस गरिएन । आफूलाई त बन्नु थियो लेखक । चालीसको दशकको सुरुवातदेखि कवितादेखि कथा र लेखसम्म लेख्न थालियो पनि । लेख्न थालेकै कारण बनियो पत्रकार, प्रुफ हेर्नेदेखि सम्पादन गर्नेसम्मको पत्रकार ।
त्यसो त किशोरकालमा मनमा सुषुप्त रूपमा बसेको थियो लेखक बन्ने सपना । र, टिठलाग्दो यथार्थः बन्न त बनियो लेखक, तर लेखक कम, सम्पादक बेसी भइयो । क्रान्तिकारी लक्ष्य पूरा गर्न लेखन र सम्पादनलाई सर्वाेत्तम बाटो ठानियो । वैचारिक–सांस्कृतिक कर्म पनि गर्न पाइने, त्यसैबाट जीविका पनि हुने, एक पन्थ दो काज ! अनि हाम्फालियो मिसन पत्रकारितामा । तितो सत्यः क्रान्तिजस्तै पत्रकारिता पनि पैसाबिना नचल्ने रहेछ । तर, खरो तथ्यः पैसाका लागि मात्रै लेखन र सम्पादन पनि गरिएन ।
लेखन क्रान्तिकारी लक्ष्यअनुरूपको रुचि थियो, सम्पादन पनि त्यही लक्ष्य र रुचिअनुसारको कर्म थियो र त्यही कर्मतिर हिँड्ने जीवन बाँच्ने मेलोमेसो पनि । सामयिकदेखि साप्ताहिक पत्रिकासम्मको सम्पादन, दैनिक अखबारदेखि टेलिभिजन जर्नालिजम र जर्नल सम्पादनसम्मको यात्रा गरियो, तर जहाँ जता गइए पनि कामचाहिँ सम्पादनकै गरियो । वैचारिक रचनाको सिर्जनासँग राजनीतिक–सांस्कृतिक मुद्दामा स्तम्भलेखनसँगसँगै मूलतः सम्पादनकै काममा अभ्यस्त भइयो ।

सम्पादनः श्रम र कलाको सम्मिश्रण
लेखक बन्ने सपना बुन्दा किताब निकाल्छु भन्ने लागेको थियो, तर त्यो कसरी निस्कन्थ्यो, कल्पनामा पनि थिएन । त्यसबारे सूचना र ज्ञान नभएरै होला । लेखन र सम्पादनमा लागिसकेपछि किताब कसरी निस्कन्छ, केही थाहा हुन थाल्यो । लेखनलाई बलियो बनाउन समाज र पुस्तकको अध्ययन जति जरुरी छ, त्यति तै आवश्यक छ नियमित लेखन अभ्यास र पटक पटकको परिमार्जन पनि । लेखनको ज्ञान र अनुभवबिना सम्पादन हुनै सक्दैन त भन्दिनँ, तर पक्कै पनि सम्पादन बलियो र स्तरीय हुनसक्दैन, यो मेरो अनुभव हो ।
यो अनुभवको जरो र त्यसको सेरोफेरोमा दुई दर्जनभन्दा बेसी किताब सम्पादनको इतिहास जोडिएको छ । यो अलिखित इतिहासले मलाई नै घरीघरी भनिरहन्छः सम्पादनको काम बडो दुखिया कर्म हो है ! अर्काे भोगिएको यथार्थले झक्झक्याउँछः लेखनलाई स्याहार्ने, गोडमेल गर्ने वा कलात्मक बनाउने काम दुखिया कर्म हुन सक्दैन ।
लेखकहरूलाई दुःखको स्रोतका रूपमा आरोपित गर्न खोजेको पक्कै होइन । लेखनबिना सम्पादन हुने कुरै भएन, तर सम्पादनबिना पनि लेखन र किताब प्रकाशन सम्भव छ, बग्रेल्ती मात्रामा लेखन र प्रकाशन भइरहेको छ नै । लेखकहरूमा लेख्नुलाई महान कर्म मान्ने संस्कृति र प्रवृत्ति अझै बलियो छ । उनीहरूमा आफै सर्वज्ञ, आफै सिपालु, आफै सक्षम ठान्ने अहंकारको पोकोको कुनै कमी छैन । म आफै पनि यस्ता सांस्कृतिक रोगबाट मुक्त छैन, अरूका रोगबारे टिप्पणी गर्ने अधिकार मसँग छैन । हामी लेखकबीच पुनर्लेखन, सहकर्मीबीच पठन र उनीहरूका सल्लाहको आदानप्रदानको संस्कृति नै कम रहेको छ ।
यस्तो सांस्कृतिक वातावरणमा किताब सम्पादन भनेको कसैका आँखामा समय र पैसाको अपव्यय होला । कसैका नजरमा सोख र विलासी कर्म होला । कसैका विचारमा लेखकको सीप, क्षमता र महत्ताको अपमान ! तर, सबैका सीप, क्षमता र महत्तामा दुस्प्रभाव नपार्नेगरी पनि लेखन र लेखकलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्नेगरी सम्पादन सम्भव छ, जरुरी पनि छ । सम्पादनको जरुरत कुन अर्थमा पछि छ भने यसले लेखनलाई नै स्तरीय, सिलसिलाबद्ध र सरल मात्रै होइन, आधिकारिक र तथ्यसम्मत पनि बनाउन सघाउँछ । हुन त कसैले सम्पादक भनेको रचना संकलनका रूपमा त कसैले भाषा–व्याकरण हेर्ने वा प्रुफ रिडरका रूपमा हेर्ने गर्दछन् । सम्पादनबारे अजासुहरूको भीडभित्र बसेर सम्पादन कर्मसँग जोडिएका काम, प्रक्रिया र शैलीको सूची दिनु सान्दर्भिक हुँदैन होला ।
बीस वर्षको मेरो अनुभव र विचारमा सरल भाषामा भन्दा, किताब सम्पादन भनेको पनि खेतीपातीजस्तै कठोर श्रम र कलाको सम्मिश्रण हो, लेखनमा लाग्ने बोसो पगाल्ने सीप पनि हो । मेरा बुबाआमाले गरेको खेतीपाती र मैले गर्ने सम्पादन कर्मबीच खासै अन्तर पाउन कठिन छ । सम्पादन मूलतः अक्षर र शब्दको कलात्मक खेती नै हो, खेतीज्यापुका छोरा र खेतीपाती गरेको आफ्नै अनुभवका आधारमा पनि दाबीका साथ भन्न सक्छु ।
कुनै किसानले ब्याडमा बीउ राख्दैमा मात्रै धान काट्न पाउँदैन । त्यसका लागि बीउ उमार्ने अनेक चरणसँगै खेत खन्ने, पानी लाउने, बाउसे गर्ने त प्रारम्भिक चरणका काम हुन् । त्यसपछि पटक पटक घाँस उखेल्ने, गोडमेल गर्ने, कीराफट्यांग्राबाट बचाउने कामसँगै धान काट्ने र घरमा भिœयाउने मौका मिल्छ । सम्पादनको काम भनेको धान खेतमा पटक पटक घाँस उखेल्ने, गोडमेल गर्ने, कीराफट्यांग्राबाट बचाउने कामसँग तुलना गर्न सकिन्छ । नेपालको कृषि व्यवस्थापनमा किसान आफैले गर्ने भए पनि यी कामलाई विशिष्टीकरण गर्ने हो भने यसको चरित्र सम्पादकको कामसँग मिल्छ । श्रम र कलाको सही सम्मिश्रण भयो भने गहकिलो उत्पादन हुने रहेछ, नभए बेकारका किताबका उत्पादान अपव्यय र अनुत्पादक लगानीमात्रै हुन्छ । यस्ता किताबमार्फत कागज र जंगलको विनाशसँगै वातारणीय असन्तुलनका लागि लेखक, सम्पादकसँगै प्रकाशकलाई जिम्मेवार ठह¥याइने दिन आउन बेर छैन !

लेख्न सिकाउँदै बनाइयो किताब
मैले लेखन र पत्रिकाको सम्पादनकै क्रममा किताब सम्पादनमा पनि हात हालेँ । यसरी हात हाल्दा कयौँ किताबको सम्पादनमा आफ्नो हात पोलेको अनभूति पनि भएको छ, कयौँ किताबको सम्पादनले भने मेरा हातलाई थप माझेको पनि छ । ‘हात की सफाइ’ गर्नेहरू किताब प्रकाशनको संसारमा पनि काफी भएकाले हात पोल्ने क्रमसँगै अनेक सम्भावना हुँदो रहेछ ।
किताब सम्पादन गर्दाको सुरुवाती अनुभवतिर फर्केर हेर्दा कहिलेकाहीँ अनौठो लाग्छ । प्रौढ साक्षरताको अभियान, उत्पीडितहरूका विभिन्न समूहको निर्माण र उनीहरूले गरेका जीवनसंघर्षबारे किताब निकाल्नुपर्ने, त्यसमा ती सबैका कामका अनुभवी सक्रियतावादीदेखि समाजशास्त्रीसम्मको रचना समेट्नुपर्ने । त्यस्ता सक्रियतावादीहरूचाहिँ लेख्न सक्ने अवस्थामा थिएनन्, तर उनीहरूसँग अनुभव र अनुभूतिको खानी भने थियो । समाजशास्त्रीसँग पनि लेखनका लागि समय नभएको अवस्था ।
यस्तो अवस्थामा सक्रियतावादीहरूलाई केही दिन क्लोज क्याम्पमा राखेर लेख्ने वा अभिव्यक्त गर्ने तरिका सिकाइयो । उनीहरूबाट जेजस्तो खालको लेख तयार भयो, त्यसलाई उनीहरूसँग थप कुराकानीका आधारमा व्यापक परिमार्जन गरियो । र, अन्ततः अनुभव र अनुभूतिसहितको लेखका रूपमा त्यसलाई विकास गरियो । यता समाजशास्त्रीसँग लामो अन्तर्वार्ता गरियो र त्यसलाई कुराकानीमा आधारित लेखका रूपमा ढालियो । यस्तो खालको रचना लेखन पनि सहज पक्कै होइन, लेखक र सम्पादक दुवैका लागि । कुराकानीको ‘ट्रान्सक्राइब’ गर, पटक पटक लेखनको सिलसिला मिलाऊ, शीर्षक र उपशीर्षक राख र तथ्य मिलान गर, यसरी समाजशास्त्रीसँग सल्लाह गर्दै, विचार र तथ्य थपथाप गर्दै वैचारिक रचना बनाइयो ।
एकातिर ग्रामीण अनुभव–अनुभूति, अर्काेतिर शास्त्रीय ज्ञान र प्राज्ञिक अध्ययनलाई मिसाएर स्पेस नामक संस्थामार्फत ‘सामुदायिक संगठनः किन र कसरी ?’ पुस्तक सम्पादन गरियो । सम्पादकका रूपमा यसबाट प्राप्त भएको ज्ञानले भन्छः शब्द लेख्न नसक्नेहरूका जीवन्त अनुभव र समय नभएका व्यक्तित्वहरूका शास्त्रीय ज्ञान र विचारलाई लेखरचनाको रूपमा ढाल्दै किताब बनाउन सकिन्छ, त्यो चाहे जतिसुकै कठिन किन नहोस् । यस्तो किताबले गाउँ गाउँमा सामुदायिक संगठन बनाउन र त्यसबारे विचार निर्माण गर्न पक्कै सघाएको हुनुपर्छ, त्यस्तै आशा गरेको थिएँ, एक सम्पादक र बौद्धिक श्रमिकका रूपमा ।

किताबका लागि समाजशास्त्रीसँग सहकार्य
‘सामुदायिक संगठनः किन र कसरी ?’ पुस्तकमा समाजशास्त्रीको भूमिकामा थिए डा. चैतन्य मिश्र । म प्रकाशन र सम्पादन कार्यमा जोडिएको ‘मूल्यांकन’ मासिक पत्रिकामा ‘चिन्तन’ स्तम्भको थालनी गरेदेखि मिश्र सरसँग निकटता बढेको थियो । र, आफू अतिथि सम्पादक रहेको ‘विकास’ पत्रिकाका लागि नेपालीहरूको गरिबीबारे, गरिबी र सामुदायिक संगठन तथा लोकतन्त्रका विविध आयामजस्ता मुद्दाबारे गम्भीर अन्तर्वार्ता लिएपछि सम्बन्ध गाढा भएको थियो । सायद एकले अर्काका विचार बुझ्ने स्थिति बनिसकेको थियो, यस्तै होला विचारको केमेस्ट्री । यसकै सेरोफेरोमा तयार गरिएको थियो सामुदायिक संगठनसम्बन्धी गहन लेख । यी र यस्ता लेख, विचार एवं अन्तर्वार्ता संकलन गर्दै जाँदा मोटै किताब हुने छाँटकाँट देखियो । यस्तो सुखद सम्भावनाबारे संकेत गर्दा सुरुमा चैतन्य सर त असजिलो ढंगले अनकनाए । किताब बन्नेमा शंका, त्यसमा त्यो स्तरीय रचनाले भरिएको पुस्तक हुनसक्नेमा सरबाट आशंका प्रकट भयो ।
सम्पादकमा पनि घोडाको गुन हुनुपर्ने रहेछ, कुदिरहने, नथाक्ने, अधैर्य नहुने र अन्यका सम्भावनालाई देखाइरहने । लेखकबाट त्यस्तो आशंकापछि विषयसूची बनाएर कुन लेखको कति पृष्ठ हुन सक्छ भनी खाका बनाइयो । अनुमानित पाँच सय पृष्ठभन्दा बेसीको किताब हुने सम्भावना देखिँदा एउटै भोल्युममा निकाल्नुपर्ने आग्रह पनि आयो । प्रकाशन संस्थासँग पनि आबद्ध सम्पादक भएकाले त्यस्तो आग्रह बजार र पाठकको आँखाबाट उचित नहुने तर्क राखियो । लेखकहरूमा, त्यसमा पनि प्राज्ञिक कर्ममा रहेका प्रोफसरमा मोटो र गतिलो पुस्तक निकाल्ने चाहना हुनु अनौठो होइन ।
‘मूल्यांकन’ र ‘नवयुवा’को प्रकाशनसँगै किताब सम्पादनको काम गर्दै जाँदा देखियो, एउटै भोल्युममा निकाल्नु विषयगत हिसाबले पनि अप्ठेरो हुने भयो । र, कम्तीमा पनि पुँजीवाद र अर्थ–राजनीतिसँग जोडिएका रचना एउटा भागमा समेट्नुपर्ने अनुभूति भयो । र, अर्काे भागमा सामाजिक समस्यासँग जोडिएका चिन्तन र विचारलाई सँगेट्ने, त्यसमा सके राजनीतिक टिप्पणी पनि समावेश गर्ने मोटो खाका बनाउने आइडिया आयो । त्यही आइडिया साझेदारी गर्दा सरबाट खाकालाई अन्तिम रूप दिने सहमति बनाइयो ।
यसरी लामो समयको सम्पादन कसरतपछि २०६२ सालमा ‘पुँजीवाद र नेपाल’ पुस्तक प्रकाशित भयो । निरंकुशतन्त्रमा पनि शब्दकर्मका कारण मनमा हर्ष र खुशी छायो, एक आमा र सुँडेनीको मिलीजुली आनन्द ! आमाजस्तो आनन्द कुन अर्थमा भने, यसका केही रचना पुनर्लेखन समेत गरेको छु, अन्तर्वार्ता र अन्तक्र्रियामा व्यक्त विचारलाई लेखमा ढालेको छु । यो सिर्जनात्मक कर्म भयो, जुन आमाको भागमा प¥यो ।
सुँडेनीको यस अर्थमा कि सम्पादकले छरिएका रचना संकलन नगरेको भए, लेखकको चाबहिल घरसम्म धाएर ताकेता नगरेको भए, प्रत्येक सम्पादित रचनाका प्रत्येक शब्द, वाक्य र अनुच्छेदमा लेखकको स्वीकृति र समर्थन लिएर प्रकाशनको समेत जिम्मा नलिइएको भए के हुन्थ्यो, भन्न गाह्रै थियो । तर, पनि आवरणमा लेखकसँगै सम्पादकको नाम राख्न भने हिच्किचाएँ, सायद बेसी नै धृष्टता गरिएको ठानिने डर बस्यो वा सहकर्मीहरूबाट बसाइयो मनमा ।
आफैले जन्माएको मूल्यांकन प्रकाशन गृह २०६४ सालमा साथीहरूलाई जिम्मा लगाएपछि केही सममयको अन्तरालमा म घुम्दैफिर्दै ‘नयाँ पत्रिका’ दैनिक पत्रिकाको ओपएड पेजको सम्पादन गर्न पुगेँ । पत्रिकाका लागि लेखरचना र कुराकानीका लागि चैतन्य सरसँग सम्पर्क गर्नुपर्ने जरुरत भइरहन्थ्यो नै । त्यसमा पनि सामाजिक समस्यासँग जोडिएका चिन्तन र विचारलाई सँगेट्ने खालका उनका रचनाहरूको संग्रह नै सम्पादन गर्ने जिम्मा आफ्नो थाप्लोमा छँदैथियो । यी दुवै कामको सिलसिलामा भेटघाट र कुराकानीसँगै किताबको अर्काे भोल्युमका लागि सरसल्लाह तीव्र पारियो ।
सम्पादनको काम र सरसल्लाहको क्रममा कहिले चाबहिल, गौरीघाटस्थित सरको घर त कहिले कमलपोखरीमा रहेको ‘नयाँ पत्रिका’को कार्यालयमा भेट हुन थाल्यो । मलाई अझै पनि सम्झना छ, जाडोको मौसममा ‘नयाँ पत्रिका’को कार्यालयको कौसीमा घाम ताप्दै, चिया खाँदै, किताबमा समावेश गरिने रचना र अन्य विषयमा सरसँग गफ गर्दै बसेको घटना । कतिसम्म लाग्छ भने, त्यस पत्रिकासँग जोडिएका आजका स्थापित कवि, उपन्यासकार, समीक्षक र सम्पादकहरूले त्यहीँ उनीसँग पहिलो पटक भेटेको र कुराकानी गरेको हुनसक्छ । लेखक र सम्पादकबीच विश्व दृष्टिकोण, विचार पद्धति र अन्य सांस्कृतिक पक्षमा केही हदसम्म ‘वेभलेन्थ’ मिल्यो भने काम सहज र सफल हुने रहेछ, सरसँगको काम गराइले यस्तै भन्छ ।
यही अन्तरसम्बन्ध र अन्तरक्रियाबीच २०६७ सालमा फाइनप्रिन्ट आइएनसीमार्फत जन्मिएको हो ‘बदलिँदो नेपाली समाज ।’ पुँजीवाद र नेपाल प्रकाशित भएको करिब पाँच वर्षपछि सरको अर्काे नेपाली पुस्तक प्रकाशित भयो । यसले नेपाली समाजमा आएको परिवर्तन, त्यस परिवर्तनका कारकतत्व र परिणामबारे बुझ्न सघाउने आशा गरेका थिएँ । र, गरेको थिएँ नेपाली समाजलाई फेर्न सहयोग पु¥याउने विश्वास पनि ।
दोस्रो नेपाली पुस्तकमा पनि नेपाली राजनीतिक परिवर्तन र त्यसको सेरोफेरोमा विकास भएका संघीयतासम्बन्धी ‘डिस्कोर्स’लाई समेट्न सकिएन, ‘साइज’कै कारण । नेपाली राजनीतिक परिवर्तनका साक्षी र समीक्षक रहेका समाजशास्त्रीलाई लेखन र पुस्तकमार्फत पाठकीय संसारमा उतार्न बाँकी नै छ । कहिले लेखककोे समय नमिल्ने, कहिले सम्पादकले पनि ‘नभ्याउने’, कहिले त किताबको सम्पादन दुवैको प्राथमिकतामा नपर्ने उल्झन र अहसजतामा फसेको छ तेस्रो पुस्तक ।
सामाजिक इतिहासकार प्रत्यूष वन्तले एक पटक ठट्टा गर्दै भनेका थिए, ‘पुँजीवाद र नेपाल’ निस्केको पाँच वर्षपछि ‘बदलिँदो नेपाली समाज’ निस्क्यो, अब पाँच वर्षपछि अर्काे भोल्युम निकाल्ने होला नि हैन ?’ आफूसँग स्पष्ट योजना र उत्तर नभएपछि मैले त्यतिखेर हाँस्दै टारेको थिएँ । कस्तो विडम्बना भने, वन्तले अनुमान गरेको भन्दा पनि बेसी समय गुज्रिसकेको छ, कीर्तिपुर–चाबहिलबीचको दूरीमा फैलिएको व्यस्त शहरबाट । अझै तेस्रो किताबका अन्तिम कामका लागि दुवै ‘महाशय’को समय मिलेको छैन, न त परिस्थिति नै अनुकूल भएको छ । समय र परिस्थिति मिलाउने कुरामा पटक पटक एकबुँदे सहमति भएको छ, तर हाम्रो समयचाहिँ खै कता हो कता बेपत्तासँग हराएको छ ?
ट्वीटरः  @rmaharjan72

Leave A Comment