-केवल बिनाबी
मैले मेरै बाको अनुहार
कुँदेको हुँ ढुंगामा
र पठाएको हुँ तिम्रो मन्दिरभित्र
तिमीले वर्षौंदेखि
महादेव मानेरै पुजिरह्यौ
मेरी आमाको मृत्युपश्चात्
कुनामा थन्किएको कोपरा
कुच्याएर बनाएको हुँ गजुर
जसमा चढाइरहेछौ फूल जुगौँदेखि
मेरी जहानको रजले रंगिएको
रातो पेटीकोट काटेर
सिलाएको हुँ ध्वजा
जुन फहराइरहेछ
ठीक तिम्रो शिरमाथि
आफ्नै सम्भोगको स्मरण गर्दै
कुँदेको हुँ टुँडालमा
कामुक आकृतिहरू
जसलाई चुम्ने गर्छाै निधारले
हर बिहान
यी आँखाको पानी निखारेर
सजाएको हुँ
ती सुन्दर आँखीझ्यालहरू
आँखा डुलाएर हेर पुजारी!
जहाँ पोतिएको छ
मेरो पसिनाको रङ
तिम्रो सत्ताले झोसेपछि
मेरो झुपडीमा आगो
जिउँदै जलाएपछि
मेरा जहान परिवार
खरानी बनाएपछि
मेरो सुन्दर संसार
पिएरै धाउने गरेको छु हर साँझ
मेरा यादहरूको संग्रहालय
जसलाई तिमी मन्दिर भन्छौ
सक्छौ भने आँट गर पुजारी!
उठाऊ मेरै आफरमा
अर्जापेका औजारहरू
र भत्काऊ
मेरा यादहरूको संग्रहालय।
Leave A Comment