ऊ सपनाको विरुद्धमा छ

बिहिबार, ०४ कार्तिक २०७३, १० : ३७ शुक्रवार , Kathmandu
ऊ सपनाको विरुद्धमा छ

–निमेषराज सापकोटा


सपनाको विरुद्ध ठूलो उर्दी छ बजारमा

यहाँ यस्तो एउटा वस्तु छ
ऊ मस्तिष्कभित्र पिँजडा बनाउँछ
र बन्द गर्छ लाखौँ पखेँटाहरूको उडान

उसलाई यो भूमि क्रंक्रिट जंगलले
भरिएकोमा कुनै चिन्ता छैन
मान्छेको व्यक्तित्वबाट
बौद्धिकताको एउटा आयाम नै पछाडि परेको
घरका भित्ताहरूमा कमेरोले भोकमरी पोतेको
विद्यालयमा विद्यार्थीहरूलाई निर्जीव नियमको सिरिन्ज रोपेको
केही पनि मतलब छैन उसलाई
बस् ऊ सपना देखेको सहँदैन

उसको रौँ हल्लिँदैन महँगीले
अस्पतालहरू मृत्यु प्रयोगशाला बनेको
र युवाहरूको निराशाभित्र आत्महत्या चिल्चिलाइरहेको
उसलाई मतलब छैन

ऊ छु मतलब भन्छ !

कुनै मजदुर निष्फिक्री खेतको आलीमा उभिन्छ भने
उसलाई रिस उठ्छ
सुनसान रातमा कुनै युवती सडक डुलिरहेको देख्दा
उ झननन्् हुन्छ÷ काँपे जस्तो गर्छ
अन्यायको विरुद्ध कोही बोलिहाल्यो भने दुई शब्द
उ कानमा राख्छ हेडफोन र
मोबाइलमा खोल्छ ब्राजर्स डटकम
टोलमा चोरी हुन्छ, ऊ मस्त निदाउँछ,
किसान नांगो आङ डुलिरहेको देख्दा
असभ्यताको गफ दिन्छ कारभित्रबाट
अनि आफ्नो पप्पीलाई डेरी–मिल्क खुवाउँछ

सपनाको विरुद्ध त्यो पाषाण हृदय यसरी उभिरहेको छ कि
यसरी डर÷मोह फ्याँकिरहेको छ कि
एउटा इमानदार कविको हृदयभित्र पनि पसिरहेको छ
विकृत गोयबल्स
र, कवितामा पासो थापिरहेछ पाठकहरूलाई

यस्तो बेला ऊ रमाउँछ
जात्रा गर्छ
ककटेल पार्टी आयोजना गर्छ
बस् कसैले सपना देखेको ऊ सहँदैन
सपनाको विरुद्ध
उ खल्तीभित्र चक्कु बोकेर हिँड्छ ।

ऊ टेरोरिस्ट देख्छ आँखा जुधाउनेहरूलाई
अपराधी ठान्छ आमनेसामुने हुनेहरूलाई
उसको दृष्टिकोणको न्यायालय
गरिबहरूका लागि एम्बुस थापेर उभिन्छ
र, उसले हातमा औँठीको सट्टा बन्दुक पहिरिएको हुन्छ

ऊ यसरी नै सधैँ
सपना निषेध गरिरहेको छ
उसको व्यवस्थामा
व्यक्तिले सपना देख्नुभन्दा खतरनाक केही छैन ।
 

Leave A Comment