मीनराज बसन्तको ‘मुदिर’ वैदेशिक रोगजारीका क्रममा भोगिने दुःख र संघर्षमा केन्द्रित उपन्यास हो । यसमा उनले पूर्वेली युवालाई मुख्य पात्र बनाएका छन् । सन् २००७ मा गजलसंग्रह निकालिसकेका बसन्तसँग उपन्यासको रचनागर्भ, पात्रचयन र विदेशको भोगाइ–लेखनबारे फणीन्द्र संगमले संवाद गरेका छन् ।
वैदेशिक रोजगारीको पीडा, रेमिट्यान्सले समाजमा पारेको प्रभाव अनि परिवारमा आएको विचलनबारे आख्यान–गैरआख्यान आइरहेकै छन् । ‘मुदिर’मार्फत दिन खोज्नुभएको नयाँ खुराक के हो ?
‘मुदिर’ पनि वैदेशिक रोजगारीसँग जोडिएर आउने दुःख, पीडा र संघर्षको सिलसिलाबद्ध कारुणिक कथा हो । वैदेशिक रोजगारीलाई छोएर जति पुस्तक आइरहेका छन्, ती अपूर्ण छन् । जसरी कविका ‘आमा’ कविताहरू अपूर्ण हुन्छन् । प्रेमानुयायीहरूको ‘प्रेम’ अपूर्ण हुन्छ । देशको अर्थतन्त्रलाई गतिशील पार्ने काम रेमिट्यान्सले गरिरहेको छ । यो देशको ‘ब्याकबोन’ जस्तै भइसक्यो तर रेमिट्यान्स हुल्ने युवाहरूका बारेमा राज्य पिठ्युँ फर्काएर बसेको छ । जीवनको ऊर्जाशील कालखण्डमा जीविकोपार्जनका लागि खाडी पुग्नुपर्ने नेपाली युवाको बाध्यता बनेको छ । त्यहाँ गर्ने संघर्ष, भोग्नुपर्ने अनन्त दुःख, पीडा र क्लेशलाई म आफैँले भोगेको पनि छु । त्यही अनुभवलाई सूक्ष्म रूपमा ‘मुदिर’मा उतार्ने कोसिस गरेको छु । यो नै उपन्यासको नयाँपन हो ।
एउटा युवकमा विदेश जाने सोच पलाउँछ । पासपोर्ट बनाउँछ, गाउँमा ऋण खोजेर कतार पुग्छ । त्यहाँ दुःख गरेर कमाएको पैसा घर पठाउँछ, बिदामा आएर बिहे गरेर पुनः फर्किन्छ र पछि सामान्य दुर्घटनामा परेर घाइते हुन पुग्छ । सरसर्ती उपन्यासको कथा यत्ति हो । यो त हामीले देखे–सुनेकै हो नि, उपन्यासमा किन लेख्नु जरुरी थियो ?
हामीले दिनहुँजसो घटना–दुर्घटनाका खबर सुन्दै–हेर्दै आएको सत्य हो । यस्ता समाचार सुन्दासुन्दा हाम्रा कान पनि पाकिसकेका छन् । उही र उस्तै खालका घटनाहरूको ‘रिपिटिसन’ भयो भन्दैमा समाचार सम्प्रेषणको दायित्वबोधबाट पत्रकारहरू विमुख हुन मिल्छ र ? तर, स्रोताको हकमा भने नसुन्ने र नहेर्ने अधिकार छ । उपन्यासको हकमा पनि यही कुरा लागू हुन्छ । खाडीमा बस्दा दुःख गरिरहेका नेपाली दाजुभाइहरू भेटेँ । मभित्र उकुसमुकुस, छटपटी र दुखाइ थियो । त्यही दुखाइ कोरा कल्पनाबिनै जस्ताको तस्तै लेखिनुपर्छ भन्ने लाग्यो । आखिर मुंसी प्रेमचन्दले भनेकै छन्— ‘लेख्ने त ती मानिसले गर्दछन्, जोभित्र केही दुखाइ हुन्छ ।’ ‘मुदिर’को पूर्ण कथालेखन कविता र गजलमा सम्भव थिएन । उपन्यासमा सानासाना कुरा समेटेर लेख्न–बग्न सकिने सहजता एउटा पाटो थियो । अर्को, पढ्दा पाठकका आँखामा त्यहाँको चित्र उत्रियोस् भन्नका लागि पनि उपन्यास विधा रोजेँ ।
मुख्य पात्र डम्बरको केन्द्रियतामा कथा लम्बिँदा झिँजो लाग्न सक्छ । मध्यभागपछि पनि प्रसंग दोहोरिएका छन् । उपन्यासमा जुन पात्रले संघर्ष गरेको छ, त्योभन्दा कैयौँ गुना बढी दुःख भोग्नेहरू पनि त छन् । कोमामा रहेका कति नेपाली होलान्, अंगभंग भएका कति छन्... दुःखकै कथा लेख्नुथियो भने किन तिनको लेखिएन ?
जुन पात्रका बारेमा सिंगो उपन्यास लेखियो, त्यसमा उसको आद्योपान्त कथा आउनु स्वाभाविक हो । प्रसंग दोहोरिएको कुरामा मेरो अल्प सहमति छ । कथाको माग र मूल पात्रको मर्मलाई स्खलित हुन नदिन तलब, त्यहाँको गर्मी आदिलाई सन्तुलित तवरले जोडिएको छ । खासमा रिपिटिसन पनि त होइन ! प्रसंग स्मरण गराउने र कथा जोड्ने काम मात्रै भएको छ । हो, कतारमा ‘डम्बर’भन्दा अधिक दुःख भोग्नेहरू छन् । कोमामा छन् । अंगभंग भएका पनि छन् । उनीहरू कसैको सम्पर्कमा त होलान् तर सम्पर्क भइहाल्दैमा लेख्न सकिन्छ भन्ने ग्यारेन्टी के छ र ? साथीको सहयोगले मेरो सम्पर्कमा ‘डम्बर’ थिए, मैले उनैको कथा लेखेँ ।
कतारमा डम्बर राईहरू मात्रै छन् त ? के त्यहाँ सुखको कुनै गुञ्जायस छैन ?
कतारमा एकल ‘डम्बर’मात्रै छैनन्, झन्डै पाँच लाखको हाराहारीमा ‘डम्बर’हरू छन् । ‘मुदिर’ उनीहरूमध्ये प्रायः श्रमजीवी नेपालीहरूको प्रतिनिधि कथा हो । नियोजित रूपमै मैले त्यहाँको वास्तविक दुःखलाई देखाएको हुँ । कतार वा खाडी मुलुकमा सुखको गुञ्जायस छँदै छैन म भन्दिनँ । बरु यसका सीमाहरू अवश्य होलान् । ‘डम्बर’ पनि ठाउँ–ठाउँमा तलब पाउँदाको दिन, लगातार कम्पनीका काम हुँदा यो वा त्यो प्रकारले सुखीखुशी भएकै छ ।
एउटा बूढो मान्छेले पेट्रोल पम्पमा चुरोटको ठुटो फ्याँक्दा आगो लागेको घटनालाई जोड्नुभएको छ । यो त जबर्जस्त घुसाइएझैँ लाग्छ नि ।
पम्पमा भएको आगलागीमा ‘डम्बर’ आफ्नो साथीसहित घाइते भए । खाडीमा भोग्नुपरेको यो तितो नियति हो । र, उपन्यासको ‘क्लाइमेक्स’ पनि । यदि उसको जीवनमा आगलागीकै घटना हुँदैन थियो भने उपन्यास नजन्मिन सक्थ्यो । घटनाको दुई वर्षपछि मैले उनलाई भेट्दा शारीरिक अवस्था स्वस्थ थिएन । जलेको हात उस्तै थियो । मलाई त्यही घटनाले छोयो । कुनै पनि घटनालाई त्यसको प्रकार, स्थिति र लेखकको अनुकूलता–पहुँच हेरेर लेखिन्छ । लेखियो पनि यसरी नै ।
‘मुदिर’को लक्षित पाठक को हुन् ? पहिलो पटक विदेश जान खोजिरहेका या विदेशमा रहेका ?
‘मुदिर’को लक्षित पाठक यी बाहेक तेस्रो वर्ग पनि छ । लाखौँ युवाको प्रतिनिधिस्वरूप कथा युवाकै भएकाले लक्षित वर्ग युवा भइहाले । देशप्रतिको वितृष्णा भाव बोकेर दैनिक हजारौँ युवा खाडी पुगिरहेका छन् । वैदेशिक रोजगारमा सोह्र–सत्रदेखि झन्डै पैँतालीस वर्षसम्मका नेपाली छन् । कथा त तिनीहरूको पनि हो । यहाँबाट गरिने कल्पना र त्यहाँ हुने वास्तविकता थाहा पाउनकै निम्ति तेस्रो वर्गअन्तर्गत उनीहरूका परिवारजन पनि यसको लक्षित पाठकभित्र पर्दछन् ।
आफू चितवन बस्नुहुन्छ । पूर्वी पहाड ओखलढुंगाको राई समुदायको युवा मुख्य पात्रको रूपमा आएको छ । उसले बोल्ने लबजमै तपाईं ठाउँठाउँ चिप्लिनुभएको छ । आफूले नजानेको भूगोलमा पसेर किन जोखिम मोल्नुभयो ?
हुन त म पश्चिमको हुँ । तर, पात्र पूर्वको छानेँ । यो ‘डम्बर’माथिको न्याय पनि हो कि उसलाई उसकै ठाउँमा लग्नु र उसकै भाषा–संस्कृतिसँग जोड्नु । तपाईंलाई म चिप्लिएको जस्तो लागेँ । चिप्लिएँ नै सही, तर लडेको त छैन नि । सबैलाई थाहै छ, देश छोडिसकेपछि हावापानी, भाषा, संस्कृति सबै बदलिन्छन् । संगत फरक बन्छ । नयाँ ठाउँमा दैनिक यी चिजबाट ठोक्किएर हिँड्दै गर्दा त्यो बिस्तारै बालअभ्यास जस्तो भएर बस्छ । हाम्रो मौलिक बोलीमा केही बाह्य शब्द झुन्डिन आइपुगिहाल्छन् । जस्तैः जुङजुङ र जाऊँजाऊँ पनि संगतअनुसार आएका भाषिक शब्द हुन् । साथीलाई कतै वार्चा सम्बोधन छ । ढोकालाइ लाप्चो भनिएको छ । यसलाई जोखिमभन्दा पनि समय र सन्दर्भ अनुसारको ‘पात्रबोली’ भनेर बुझ्दा राम्रो होला ।
चार वर्ष कतार भोगेर आउनुभयो । खाडी मुलुक, जहाँ नेपाली पुगेका छन्; त्यहाँबाट लेखिन बाँकी ‘भर्जिन’ साहित्य के हुन सक्ला ?
एक विदेशी लेखकले भनेका छन्– ‘अब यो संसारमा लेखिन बाँकी कुनै चोखो विषय छैन । तर, कसरी लेखिन्छ भन्ने कुरा मुख्य छ ।’ तपाईंले सुरुतिरै वैदेशिक रोजगारीका अनेक पाटामा आख्यान–गैरआख्यान आइरहेको कुरा गरिसक्नुभयो । लाग्छ, त्यस्ता भर्जिन साहित्य लेखिन बाँकी खास नहोलान् । तर मुद्दाहरू, पात्र र तिनका फरक भोगाइ आदि अवश्य हुन सक्छन् ।
Leave A Comment