‘रेमिटेन्स अनुत्पादक क्षेत्रमा खर्च भएको छैन’

सोमबार, ०६ असार २०७३, ०२ : ५० दिलीप पौडेल , Kathmandu
‘रेमिटेन्स अनुत्पादक क्षेत्रमा खर्च भएको छैन’

कार्गो व्यवसायबाट व्यावसायिक क्षेत्रमा प्रवेश गरेका बागलुङका चन्द्र ढकालले रेमिटेन्स, बैंकिङ, अटोमोबाइल, सञ्चार, हाइड्रो, पर्यटन क्षेत्रमा लगानी गरेका छन् । पछिल्लो पटक ‘ड्रिम प्रोजेक्ट’का रूपमा काठमाडौँ,  चन्द्रागिरीमा केबलकार निर्माणको नेतृत्व लिएका आईएमई ग्रुपका अध्यक्ष ढकालसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

केबलकारको प्रोजेक्ट कसरी ल्याउनुभयो ?
काठमाडौँमा विदेशबाट आउने पर्यटकसँगै काठमाडौँकै करिब ४० लाख जनसंख्या बिदा मनाउन जाने नजिकको ठाउँको अभाव खड्किरहेको थियो । त्यो खाँचो पूर्ति गर्नका लागि हामीले एक दिन घुम्न जाने ठाउँको अभावलाई पूरा गर्ने लक्ष्यका साथ चन्द्रागिरीलाई ‘पर्यटकीय क्षेत्र’ बनाउन लागेका हौँ । उक्त क्षेत्र ‘चन्द्रागिरी हिल्स’का रूपमा ब्रान्डिङ हुनेछ ।
कहिलेबाट सञ्चालनमा आउँछ ?
केबलकार निर्माण शतप्रतिशत सम्पन्न भयो । परीक्षण पूर्ण सफल भएपछि निर्माण कम्पनीले हस्तान्तरण गरेको छ । साइड फिनिसिङको काम नसकिएकाले केही ढिलाइ भएको हो । अब छिट्टै काम सकेर व्यावसायिक सञ्चालनमा ल्याउँछौँ ।
उक्त क्षेत्रमा के सुविधा हुन्छन् ?
चन्द्रागिरीमा फाइभ स्टार होटलदेखि साना बच्चा खेल्ने ठाउँसम्म हुन्छ । धार्मिक पर्यटकका लागि मन्दिर आकर्षणको केन्द्र बन्नेछ । केबलकारको बटम स्टेसनबाट टपमा पुग्दा पर्यटकले वातावरणको फरक स्वाद लिन पाउनेछन् । काठमाडौँ उपत्यका तथा हिमालहरूको दृश्यावलोकन गर्न सकिने व्यवस्था छ ।
अहिले रेमिटेन्सको अवस्था कस्तो छ ?
नेपालमा रेमिटेन्सको अवधारणा हामीले सुरु गरेका हौँ ।  आईएमई नेपालको पहिलो रेमिटेन्स कम्पनी हो । विगतमा हरेक वर्ष रेमिटेन्स बढ्दै गएको थियो । सरकारले ‘फ्रि टिकट फ्रि भिसा’ ल्याएपछि वैदेशिक रोजगारीमा समस्या देखिएको छ । कामदार दिने र लिने देशबीच श्रम सम्झौता नभई उक्त कार्यक्रम ल्याउँदा वैदेशिक रोजगारी निकै घटेको छ । यो समस्याले गर्दा आउने दिनमा रेमिटेन्स घट्ने देखिन्छ ।
त्यसो भए नेपालको अर्थतन्त्रमा असर पर्छ ?
नेपाली विदेश जाने जुन दर थियो, त्यो घटेको छ । विदेशिन चाहेका जान सकेका छैनन् । रेमिटेन्सले धानेको अर्थतन्त्रमा स्वतः असर देखिन्छ ।
रेमिटेन्स अनुत्पादक क्षेत्रमा खर्च भयो भनिन्छ नि ?
घरायसी खर्चमा सकियो भन्ने पहिलेदेखि नै सुनिएको हो । तर, यथार्थमा त्यस्तो होइन । एउटा व्यक्ति विदेश गएर कमाउन थालेपछि स्वतः छोराछोरीलाई राम्रो स्कुलमा पढाउने, परिवारको स्वास्थ्यमा ध्यान दिने, खरले छाएको चुहिने घर राम्रो बनाउने गरेका छन् । ती मानवीय आधारभूत आवश्यकता भएकाले अनुत्पादक भन्न मिल्दैन । आधारभूत आवश्यकतासँगै जीवनस्तरमा सुधार आएको छ ।
ब्यांकर हुनुको नाताले मर्जरको नीतिलाई कसरी लिनुभएको छ ?
नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्यायो । बैंक बलियो हुन बैंकसँग ठूलो पुँजी हुनुपर्छ । राष्ट्र बैंकले ठीक समयमा ल्याएको मर्जरले धेरै बैंक तथा वित्तीय संस्थालाई बलियो बनाएको छ ।
वित्तीय संस्थाहरूमा सुशासनको अवस्था कस्तो छ ?
पहिला केही बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको थियो । केही वर्षअघिदेखि नेपाल राष्ट्र बैंकले अनुगमनमा कडाइ गर्न थालेपछि यो समस्या क्रमशः कम हुँदै गएको छ । पछिल्लो समय राष्ट्र बैंकको नियमनले धेरै राम्रो गरेको छ । अनुगमन संयन्त्र बनाएर धेरै राम्रो बनाएको छ ।

Leave A Comment