आफ्नैसँग मनमुटाव

सोमबार, ०६ असार २०७३, ०३ : ०३ शुक्रवार , Kathmandu
आफ्नैसँग मनमुटाव

फिल्म ‘कहो ना प्यार हैंबाट बलिउडमा डेब्यूू गरेकी अभिनेत्री अमिषा पटेलले आफ्ना अभिभावकविरुद्ध १२ करोड जरिवाना भर्ने मुद्दा दायर गरेकी थिइन् । अमिषाले परिवारमाथि आफ्नो कमाइको दुरुपयोग गरेको आरोप लगाएकी थिइन् । आफूले घर छोड्दा आमाले चप्पलले हिर्काएको कुरा मिडियासामु उनले भनेकी थिइन् । अमिषा मात्रै एक्ली अभिनेत्री होइनन् जसको परिवारसँग मनमुटाव छ । कुनै न कुनै कारणले परिवारबाट टाढिने सेलिब्रिटी बलिउडमा धेरै छन् । परिवारको कुनै न कुनै सदस्यसँग मनमुटाव हुने सेलिब्रिटी पनि धेरै छन् बलिउडमा ।

 
अमिताभ र अजिताभ बच्चन
बलिउड महानायक अमिताभ बच्चनको आफ्नो भाइ अजिताभ बच्चनसँग सामान्य सम्बन्ध छैन । अजिताभ आफ्ना परिवारमाथि एउटा बायोग्रफी लेख्न चाहन्थे तर अमिताभले भने– ‘म चाहन्न कि मेरो जीवनको कथा किताबमा छापियोस् । अमिताभ चाहन्नथे उनका जीवनका निजी कुरा सबैका सामु आऊन् ।

राज बब्बर र प्रतीक
प्रतीक बब्बरको सम्बन्ध बुबा राज बब्बरसँग कहिल्यै पनि राम्रो रहेन । एउटा अन्तर्वार्तामा उनले भनेका थिए– ‘बाल्यकालमा बुबाले कहिल्यै पनि मेरो हालखबर जान्ने प्रयास गरेनन् । उनी सधैँ आफ्नो अर्को परिवारसँग व्यस्त रहन्थे ।पछि, प्रतीकले आफ्नो थर बब्बर छोड्ने निर्णय गरे । आफू र बुबाबीच सम्बन्ध सामान्य नरहेको कुरा सबैले थाहा पाऊन् भनेर उनले आफ्ना नाम प्रतीक मात्रै लेखाउने निर्णय गरे ।

देओल परिवार
बलिउडका नामी परिवारमध्ये एक हो देओल परिवार । यस परिवारका सदस्यबीच मनमुटाव रहेको जगजाहेर छ । सौतेनी बहिनी इशा देओलको बिहेमा सनी र बबी देओलले नजाने निर्णय गर्दा बुबा धर्मेन्द्रलाई मिडियाले धेरै प्रश्न गरेका थिए । तर, धर्मेन्द्रले पत्रकारहरूको कुनै पनि प्रश्नको उत्तर दिएनन् । बरु, मिडियालाई उनले त्यहाँबाट निस्कनका लागि भने ।

लता मंगेशकर र आशा भोसले
गायिका लता मंगेशकर र उनकी बहिनी आशा भोसलेबीचको मनमुटाव कसैबाट लुकेको छैन । एउटा अन्तर्वार्तामा आशाले भनेकी थिइन्– ‘मेरी दिदीले जीवनको अप्ठ्यारो समयमा मेरो मद्दत गरेकी थिइनन् ।

उदित र आदित्य नारायण
गायक उदित नारायण र छोरा आदित्य नारायणबीच पनि सम्बन्ध सामान्य छैन । यो सम्बन्ध त्यतिखेर झन् बिग्रियो जब एक महिलाले आफूलाई उदितको पहिलो श्रीमती भएको दाबी गरिन् र आदित्य तथा उनकी आमा दीपा नारायणलाई धोकेबाज भनिन् ।

अरसद वारसी र अनवर हुसैन
अरसद वारसी र उनका सौतेनी भाइ अनवर हुसैनबीच सम्बन्ध तनावपूर्ण छ । अनवर गायक हुन् । उनको करिअर खासै राम्रो छैन । जीवनयापनका लागि उनी एउटा बारमा गीत गाउँछन् । एउटा अन्तर्वार्तामा उनले भनेका थिए– ‘मैले फोन गर्दा अरसदले कहिल्यै पनि उठाउँदैन । न उसले कहिल्यै मेरो मद्दत गरेको छ ।अरसद आफ्नो भाइबारे कहिले पनि सार्वजनिक रूपमा बोल्दैनन् । मिडियाले यसबारे सोध्दा पनि आलटाल गर्छन् ।


रोहित र हृदय सेट्टी
हृदय सेट्टी बलिउडका सफल निर्देशक रोहित सेठ्ठीका सौतेनी भाइ हुन् । ‘चालिस चौरासी’ र ‘प्यार मे ट्वीस्ट’ जस्ता फिल्म हृदयले बनाएका छन् । दुवै भाइबीच मनमुटाव त्यतिखेर बढ्यो जब हृदयले आफ्नो बुबाका दुइटा मात्र छोरा भएको बताए । हृदय र उनका भाइ उदय । भनिन्छ, रोहितका स्टार साथीहरू हृदयसँग काम गर्न अस्वीकार गर्छन् । त्यसैले रोहित र हृदयबीच मनमुटाव चलिरहेको छ ।

Leave A Comment