चम्क्यो मसला व्यापार

बिहिबार, ११ कार्तिक २०७३, ११ : ३३ दिलीप पौडेल , Kathmandu
चम्क्यो मसला व्यापार

दशैँपछि सुस्ताएको बजारमा फेरि चहलपहल बढेको छ । दशैँमा खसीबोकाको खपत बढेजस्तै तिहार नजिकिँदै जाँदा भाइ मसलाको बिक्री ह्वात्तै बढेको हो । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई दिने सगुनलाई ‘भाइ मसला’ भनिएको हो ।
भाइ मसलामा बदाम, काजु, ओखर, पिस्ता, छोकडा, किसमिस, नरिवललगायत विभिन्न सामग्री प्रयोग हुने गरेका छन् । यी सामग्री प्रायः सबै विदेशबाट आउने गरेका छन् । ओखर, बदाम स्वदेशमा उत्पादन भए पनि अन्य मसला विदेशबाट आायत गरिन्छन् । दैनिक उपभोग्य वस्तुमा विदेशीको भर पर्ने नेपालीले चाडबाडमा पनि विदेशकै भर पर्नु परेको छ ।
नेपालमा चीन, भारत, अमेरिका, भियतनाम, यूएई, कतार, थाइल्यान्डलगायत करिब एक दर्जन मुलुकबाट ती सामग्री आउने गरेका छन् । भन्सार विभागको तीन महिनाको तथ्यांकअनुसार करिब एक अर्ब रुपैयाँका तिहारसहितका चाडबाडमा प्रयोग हुने मसला नेपाल आयात भएको छ ।
बदाम, काजुको बजारमा  एक सय ग्रामकै १ सय ८६, ओखरको गुदी सय ग्रामको १ सय ९२, काजु एक सय ग्रामको १ सय ९०, पिस्ता एक सय ग्रामको २ सय १६ रुपैयाँमा बिक्री हुने गरेको छ । अहिले डिमापर्टमेन्टल स्टोर, किराना पसलदेखि सडक किनारासम्म यसकै व्यापार देखिन्छ । सबै सामग्रीलाई मिसाएर एउटै प्याक पारेर बेच्ने गरिएको छ । छुट्टाछुट्टै खरिद गर्न पनि पाइन्छ । उपभोक्ताको सुविधाका लागि डिमापर्टमेन्टल स्टोर तथा व्यापारीले सबै प्रकारका मसला एउटै प्याकमा बिक्री गरिरहेका छन् ।
तिहार नजिकिँदै जाँदा भाइ मसलाको व्यापार बढेको भाटभटेनी त्रिपुरेश्वरकी अर्पणा गुरुङले बताइन् । ‘तिहारका लागि सामग्री किन्नेको भीड लागेको छ,’ उनले भनिन्, ‘सबैले भाइ मसला नै किन्ने गरेका छन् ।’ उपभोक्ताको चाहनाअनुसार मसलासहित मिठाई बिक्री गर्ने गरेको उनले बताइन् ।
उपत्यकासहित यहाँबाट बाहिरी जिल्ला जानेले पनि मसला खरिद गरेर लैजाने गरेका छन् । एक डिपार्टमेन्टल स्टोरमा मसला किन्दै गरेकी प्रमिला सुवेदीले काठमाडौँबाटै मसला लिएर माइत जाने बताइन् । गोरखा माइती घर भएकी सुवेदीले जमाना फेरिएको बताइन् । ‘पहिला घरमै सेल बनाउने र ओखर फुटाएर खाने चलन थियो,’ सुवेदीले भनिन्, ‘अहिले समय बदलिसक्यो ।’ विगतमा भन्दा मसला महँगो भएको उनले बताइन् । ‘सबै मिसाएको एक प्याकलाई दुई हजारमा किने,’ उनले भनिन् ।
मसलासहित तिहारमा प्रयोग हुने सामग्रीले फुटपाथ व्यापार पनि बढाएको छ । रत्नपार्कमा सिजन व्यापार गर्दै आएका ढुण्डिराज तामाङले भाइ मसलासहित तिहारमा चाहिने टीका लगायतका सामग्री बेच्ने गरेको बताए । तिहारमा मसलासँगै ड्राइफ्रुट्ससहित मिठाईको बिक्री हुने गरेको छ । अहिले मिठाई पसलहरूमा पनि घुइँचो लाग्न थालेको छ ।

 

Leave A Comment