११ लाख मालाको माग

शुक्रबार, १२ कार्तिक २०७३, १० : २३ सृजना खड्का , Kathmandu
११ लाख मालाको माग

फूलबिनाको तिहार कल्पना गर्न सकिन्न । नेपालीहरूको ठूलो चाड तिहार नजिकिँदै गर्दा फूलको चर्चा जताततै हुन थालेको छ । तिहारमा अन्य फूलभन्दा सयपत्री र मखमलीको व्यापार चम्किने अधिकांश व्यापारीको भनाइ छ । यस वर्षको तिहारमा ११ लाख मालाको माग भएको बताउने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का सचिव विश्वमणि पोख्रेल तिहारलाई फूलैफूलको पर्व मानिने भएकाले यो बेला फूलकोे अत्यधिक माग हुने गरेको बताउँछन् । भन्छन्, ‘उपत्यकाका लागि छ लाख र बाहिरी जिल्लाका लागि पाँच लाख गरी ११ लाख मालाकोे माग यस वर्ष छ । मखमली फूलमा हामी आत्मनिर्भर छौँ तर सयपत्री फूल भने दुई लाख माला बाहिरबाट आयात हुन्छ ।’
नेपालमा उत्पादित मखमली फूल भने अस्ट्रेलिया, क्यानडा, जापान र अमेरिकालगायत देशमा निर्यात हुने फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘नेपालीहरूले विदेशमा भए पनि आफ्नो संस्कृति भने बिर्सिएका छैनन् । नेपालबाट सामग्री मगाएर भए पनि चाडपर्व मनाउँछन् ।’ उनी यस वर्ष नेपालीहरूले सुलभ र सहज तरिकाबाट तिहारको लागि फूल र माला पाउनेमा विश्वस्त छन् । यो तिहारमा नेपालमा फूलको माग १० देखि १५ प्रतिशतले वृद्धि भएको उनले जानकारी दिए । नौ लाख माला भने नेपाल आफैँले उत्पादन गरेको उनको भनाइ छ । यस वर्ष मखमली ३० देखि ४० र सयपत्रीको लम्बाइ र गुणस्तरका आधारमा ५० देखि सय रुपैयाँसम्म बजारमा उपलब्ध हुने अध्यक्ष श्रेष्ठले बताए ।
मखमलीले ढकमक्क गुण्डु
अनन्तलिंगेश्वर नगरपालिका–१५, गुण्डुका महिलाहरू बिहानैदेखि ढकमक्क फूलेका मखमलीको खेतीमा भेटिन्छन् । भक्तपुरको गुण्डुमा पुगेपछि रंगीचंगी सयपत्री र मखमलीका फूलले तिहार नजिकिएको भान हुन्छ । हरेकका घर र कटेरोमा मखमलीका माला उनेर झुन्डयाइएको देखिन्छ । चोकचोक र गल्लीगल्लीमा स्थानीय कृषक महिलाहरू घाम ताप्दै मखमलीको माला उनिरहेका भेटिन्छन् । माला गाँसिरहेकी सीता नगरकोटीले भनिन्, ‘हाम्रो लागि जागिर घरमै खुलेको छ, अन्त कतै जान पर्दैन ।’ डेढ रोपनी जग्गा भाडामा लिएर फूल खेती गर्दै आएकी उनी आम्दानीको प्रमुख स्रोत नै फूलखेती भएको बताउँछिन् । बालबच्चा पढाउन र घरखर्च धान्न मखमली फूलको सहारा लिँदै आएकी उनले पहिलाभन्दा अहिले फूलले बजार पाएको अनुभव गर्न थालेकी छिन् । गत वर्ष छ हजार माला व्यापार गरको बताउने उनले यो वर्ष भने चार हजार माला तयार गरिसकेकी छिन् । उनले बाहिर देशका लागि तीन हजार माला समेत पठाइसकेको जानकारी दिइन् । ‘कति अरूको सामान मात्र भिœयाउने,  हाम्रो पनि बाहिर जाओस् न,’ उनले भनिन् ।
फूलबारीमा फूल टिप्दै गरेकी मन्दिर पौडेलले भने आफूले मेहनत गरेअनुसारको बजारभाउ पाउन नसकेकोमा गुनासो व्यक्त गरिन् । ‘माला तयार गर्न भोकनिद्रा त्यागेर हामी रातदिन खटिनुपर्छ,’ उनले भनिन्, ‘मेहनत गरेको देखिँदैन, पैसा कमाएको मात्र देखिन्छ । माला गाँस्दा सियोले हात घोपेर छियाछिया पार्छ । एउटा फूल बांगो गाँस्यो भने माला बिग्रिन्छ । मिलाएर गाँस्नुपर्छ । हाम्रो दुःख व्यापारीले देख्दैनन् ।’ आफैँले बजारमा लगेर बेच्दा ५० देखि सय रुपैयाँसम्मे भाउ आउने माला व्यापारीले भने २० रुपैयाँ गोटामा लिएर जाने कृषकहरू बताउँछन् । नगरकोटीका अनुसार खेताला लगाएर माला टिप्न एक बिहानको चियाखाजासहित  २ सय ५० रुपैयाँ पर्न जान्छ । ‘२५ सयजति औषधिमा खर्च हुन्छ,’ उनले हिसाब लगाइन्, ‘सियो र धागोमा एक हजार खर्च हुन्छ । अहिले धान काट्ने सिजन भएकाले फूल टिप्ने खेताला पाउन मुस्किल छ ।’
बिहान कलेज पढ्ने र दिउँसो घरमा बसेर माला गाँस्ने निर्जला नगरकोटी र सुजाता रिसालको दैनिकी पनि आजकाल मखमली फूलमै बितेको छ । यो सिजनमा साना बच्चादेखि बूढाबूढीसम्मको धुन नै माला गाँस्ने भएको निर्जला बताउँछिन् भने एउटा माला गाँसेबापत पाँच रुपैयाँ प्राप्त गर्ने सुजाताको भनाइ छ । यता कृषक देवु कुँवरले अधिकांश गुण्डुवासीले फूल रोपेको देखेर आफूलाई पनि रहर लागेर फूल रापेको बताइन् । बिहान सबेरै फूलखेतीमा भेटिएकी उनले रहरैरहरमा चारपाँच सय माला बेचिसकेको बताउँछिन् । उनले बिहान शीतमा माला टिप्न सजिलो हुने बताइन् । ‘शीतमा टिपेको माला आकर्षक, ताजा र ठूलो देखिन्छ,’ उनले भनिन् ।
जेठमा रोपेको मखमली साउनको सुरुवातसँगै हरेक हप्ता टिप्न सुरु गरिन्छ । फूल टिपेपछि त्यसमा भिटामिन र कुनै ठाउँमा डढुवाको औषधि हालेपछि अर्को हप्ता फूल ठूलो भएर आउने जानकारी कुँवरले दिइन् । कृषकले टिपेको फूल माला गाँसेर तिहारका लागि झुन्ड्याएर राख्ने गरेका छन् । फूलखेती छ महिनाको बाली हो भन्दै कुवँर हाल बिहान फूल टिप्ने, दिउँसो धान काट्न मेला जानुको साथै बेलुका र रातिको समय भने माला गाँसेर आफ्नो दैनिकी बितिरहेको बताउँछिन् । भाइटीकाको दिनसम्म बिक्री हुने माला हाल भने छठका लागि पनि चाहिने जानकारी पाएको उनीहरू बताउँछन् । आफूले गाँसेका माला विदेशसम्म पुग्ने गरेकोमा उनीहरूले खुशी व्यक्त गरे ।

 

Leave A Comment