कलाकारका देउसीभैलो स्मृति

शुक्रबार, १२ कार्तिक २०७३, ११ : १८ सन्जिना श्रेष्ठ , Kathmandu
कलाकारका देउसीभैलो स्मृति

मदनकुष्ण श्रेष्ठ, अभिनेता
मलाई तिहार एकदमै मन पर्छ । गीतसंगीतमा विशेष रुचि भएका कारण सानो बेलादेखि नै देउसीभैलो खेल्न जाने गर्थें । त्यो समयमा देउसीभैलो खेल्दा ९० पैसा जति हुन्थ्यो । त्यो पैसा आफ्नो ठूलो आम्दानी लाग्थ्यो ।
सरोज खनाल, अभिनेता
सानो बेलामा देउसीभैलो खूबै खेलिन्थ्यो । विशेषगरी देउसीभैलोबाट जम्मा गरेको पैसाबाट पिकनिक जाने गरिन्थ्यो ।
किरण केसी, हास्यकलाकार
बाल्यकालमा देउसीभैलो खेल्न जाँदा मलाई मेरो समूहमा मारुनी बनाएर नचाउँथे । त्यो क्षण सम्झँदा अहिले हाँस उठ्छ ।
सत्यराज आचार्य, गायक
बाल्यकालमा हामी देउसीभैलो खेल्न जाँदा जुन घरका मानिस उठ्दैनथे, त्यो घरको झ्यालमा गएर पटाका पड्काउने गथ्र्यौं । सुरुसुरुमा गिटार सिक्ने बेलामा गिटार बजाउँदा कड चेन्ज गर्न जान्दैनथ्यौँ, कहिले तार चुँडिन्थ्यो । एकजना साथीले तारजति सबै निकालिदिएर अरूको अगाडि राम्रो बजाउन आएजस्तो गरी त्यत्तिकै खाली बक्स बजाउँथ्यो । त्यो कडलाई हामी झ्याम कड भन्थ्याँै ।
हेमन्त शर्मा, गायक
मलाई तिहारको पहिलो आकर्षण नै देउसीभैलो हो जस्तो लाग्छ । सातआठ वर्षको हुँदा देउसीभैलो खेल्न एकजना राम्रो गीत गाउने र एकजना राम्रो नाच्ने साथीलाई समूहमा राख्थ्यौँ । त्यो समयमा चाहिँ मलाई सकेसम्म आफ्नै परिवारका सदस्यलाई सामेल गर्न मन लाग्थ्यो । देउसीभैलो खेलेर उठेको पैसा आफ्नै मान्छेले पाऊन् भन्ने लाग्थ्यो ।

विनोद बाजुराली, संगीत संयोजक
मेरो गाउँ बाजुरा हो । एकचोटि देउसी खेल्दा पाँच हजार रुपैयाँ जम्मा भएको थियो । त्यतिबेला त्यो रकम हाम्रा लागि एकदमै ठूलो थियो । तर, जो साथीले पैसा बोकेको थियो, त्यो साथीले पैसा हरायो भन्दा एकदमै नरमाइलो लागेको थियो ।
दमन रूपाखेती, हास्यकलाकार
एउटा स्कुलको कार्यक्रममा देउसी खेल्नका लागि निमन्त्रणा गरेको थियो । तर, रातभरि देउसी खेल्दा पनि पैसा दिएनन् । त्यसपछि लगभग १० वटा तिहार बितिसक्यो, अहिलेसम्म पनि त्यो रकम पाएको छैन । त्यो बेलादेखि मैले देउसी खेल्नै छाडेँ ।
मधुसुदन पाठक, हास्यकलाकार
हामी गाउँघरमा ११/१२ जना साथीभाइ जम्मा भई नाच्दै गाउँदै देउसी खेल्थ्यौँ । हरेक तिहारमा म बाल्यकालको त्यो देउसी सम्झन्छु ।
दीपकराज गिरी, हास्यकलाकार

हामी सानो बेलामा एकदमै उपद्रो गथ्र्याैं । गाउँघरमा देउसी खेल्दा जुन घरमा पैसा दिँदैनथ्यो, त्यस घरको बारीमा गएर काँक्रो चोरेर आधा खाएर छोडिदिन्थ्यौँ । त्यसपछि मूल ढोकामा भित्रबाट ढोका खोल्दा चोट लागोस् भनेर माथि केही झुन्ड्याइदिन्थ्यौँ ।
सूर्य साउद, गायक
गाउँमा हुँदा तिहारमा देउसीभैलो खेल्न गाउँगाउँ जान्थेम् । बत्ती नहुँदा धेरै ठाउँमा लडिन्थ्यो ।  
 

 

Leave A Comment