तराईमा छठ उत्सव

शुक्रबार, १२ कार्तिक २०७३, ११ : ३५ शुक्रवार , Kathmandu
तराईमा छठ उत्सव

दशैँ र तिहार लगत्तै धुमधाम मनाइने पर्व हो छठ । विशेषगरी तराई क्षेत्रमा छठी माताको पूजाआजा गर्दै हर्षोल्लासपूर्वक मनाइने यो पर्वमा निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । कात्तिक महिनाको शुक्ल पक्षको पञ्चमीका दिनदेखि व्रत सुरु हुन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने जनविश्वास छ ।

रितेश त्रिपाठी/वीरगञ्ज
लक्ष्मीपूजाको छ दिनपछि पर्छ, तराईको मुख्य पर्व छठ । हरेक वर्ष तराईवासी यो पर्व धुमधाम मनाउँछन् । दुईतीन हप्ताअघिदेखि नै छठको भव्य तयारी सुरु भइहाल्छ । यस वर्षको छठ पूजा कात्तिक २१ मा परेको छ ।
छठघाटहरूको सरसफाइपछि सजावटका टेन्ट लगाउने काम अलिक अगाडिबाटै सुरु गरिएन भने नभ्याइने चिन्ता हुन्छ धेरैलाई । पर्वका लागि वीरगञ्जका छठघाट बेहुलीजस्तै सिँगारिदै छन् । टेन्ट, मेहराव र झिलिमिली बत्तीले नदी, तलाउ, पोखरी, घाटहरू सजाउने काम भइरहेको छ । रोजगारीका लागि परदेश गएकाहरू घर फर्किरहेका छन् ।
वीरगञ्जमा सबैभन्दा बढी करिब तीन सय ‘श्रीसोप्ता’ राखिने घडीअर्वा पोखरीमा सजावट धमाधम भइरहेको स्थानीय मनोहर साहले बताए । एउटा ‘श्रीसोप्ता’ वरपर ६० देखि ८० जनासम्म व्रतालु बसेर सामूहिक पूजा गर्ने चलन छ । यसरी २० हजारभन्दा बढी व्रतालुका लागि तयार गरिएको घडीअर्वा पोखरीमा सुरक्षाका लागि विशेष व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । १५ फिट गहिरो घडीअर्वा पोखरीबाट पानी निकालेर व्रतालुलाई सजिलो हुने गरी जलस्तर कम गरिएको छ । यस्तै, बढी भीड हुने रानीघाट, मुर्ली पोखरी, नगवा पोखरी, माइधिया पोखरी, पद्मरोड पुल, करबोला राधेमाई, लक्षुमनवा, भुटनदेवी पोखरी, अञ्चल प्रहरी प्रांगणको पोखरी, तेजारथ टोल, आदर्शनगर स्विमिङ पुल, छप्कैया बजारलगायत दुई दर्जन स्थानमा पनि छठका लागि साजसज्जा चलिरहेको छ ।
धार्मिक तथा सांस्कृतिक पक्ष
भोजपुरी लोकसंस्कृतिका जानकार उमाशंकर द्विवेदीका अनुसार छठ पूजा उत्सव मात्र नभई एक तपस्या पनि हो । चोखोपन, संयम र छठी माताको भक्तिपूर्ण अराधनाले मात्र फल प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । ‘झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैठौँ अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो,’ उनी भन्छन् ।
छठ पूजाको विशेषता अस्ताउँदो सूर्यलाई समेत अर्घ दिनु पनि हो । ‘यसमा केवल उदाउँदो सूर्यलाई पूजा गर्दैनन्, बरु अस्ताउँदो सूर्यलाई पनि उचित समान पूजा र सम्मान गर्दछन्,’ द्विवेदीले भने । उनका अनुसार छठ धार्मिक पुजाआजा मात्र नभई संस्कृतिको अंग बनिसकेको छ । यसको विस्तार पनि त्यत्तिकै छ । यो पर्व अब तराईका गाउँहरूमा मात्र सीमित छैन । पहाडी र भित्री पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ ।
छठका बेला शुद्ध शाकाहारी भोजन मात्र चल्ने जनविश्वासका कारण यतिबेला शहर नै शाकाहारी बन्छ । मासुका परिकार खाने ग्राहकहरूको सधैँ भीड लाग्ने, सेकुवाको लागि चर्चित वीरगञ्जको पानी ट्यांकी चोक र माईस्थानका पसलहरू छठमा हरेक वर्ष सुनसान हुने गरेका छन् । शहरका सबैजसो मासुपसल र मांसाहारी होटल छठमा दुई दिन लगभग बन्द नै हुन्छन् ।


सजिँदै छ जनकपुर


सुरेश यादव/जनकपुर
मैथिली समुदायको प्रमुख चाड छठको व्यग्र प्रतीक्षमा छ, यतिबेला जनकपुर । रंगरोगन, साजसज्जा, किनमेललगायत छठ केन्द्रित तयारी जताजतै चलिरहेको छ । दशैँलगत्तै यसको तयारी सुरु भइहाल्छ ।
छठ पर्वको विधि व्यवहारतः कठिन र कठोर भए पनि व्रतालु (व्रत बस्ने महिला) हरूले यसप्रतिको आस्था र विश्वासका कारण हरेक क्षणलाई उल्लासमय बनाउँदै आएका छन् । लगातार घण्टौँको निराहार व्रतमा व्रतालुलाई गाह्रो महसुस हुन नदिन परिवारका अन्य सदस्यले छठ पूजा आयोजना हुने नदी–तलाउको किनारलाई दुलहीझैँ सिंगार्ने गरेका छन् ।  
जनकपुरमा मुख्यतः गंगासागर, धनुषसागर, अरगजा सर, गोरधोई पोखरी, दशरथ तलाउ, कामिनी सर, अंगराज सर, रत्नसागरलगायत करिब एक दर्जन ऐतिहासिक तलाउमा छठ पर्वको रौनक देख्न सकिन्छ । यी पोखरी तथा तलाउका किनार सजाउनका लागि मात्रै वर्षेनि करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने गर्छ । आकर्षक पण्डाल तथा लाइटिङ गरी सजाइने यी क्षेत्र छठ पर्वको हप्तादिन अगावैदेखि झकिझकाउ देखिन थाल्छन् ।
पर्वकै नाउँमा भए पनि छठपूजा गर्ने नदी तथा तलाउ सफासुग्घर गर्ने परम्परा पहिलेदेखि विद्यमान रहे पनि अचेल सजावटका लागि स्थानीय युवा क्लबहरूले प्रतिस्पर्धा नै गर्छन् । खासगरी जनकपुरमा युवा क्लबहरूले छठपूजा व्यवस्थापनमा सक्रिय भूमिका खेलिरहेका हुन्छन् । जानकी युवा क्लबका सल्लाहकार सुशील कर्णका अनुसार जनकपुरको अरगजासागर सजाउनमात्रै दुई लाख रुपैयाँ खर्च हुन्छ ।
पोखरी सजाउन हरेक वर्ष अस्थायी आकर्षण निर्माणमा हुने खर्चलाई व्यवस्थित तथा सदुपयोग गर्न स्थायी सौन्दर्यीकरणमा जोड दिनुपर्ने जनकपुरका सांसद् दिनेश साहले बताए । ‘हामी हरेक वर्ष खर्च गर्छौं, तर त्यसको उपयोगिता के त ?’ साहले भने, ‘यो महँगो पण्डाल र अस्थायी लाइटभन्दा ठोस रूपमै प्रकृतिअनुकूल सजावटमा ध्यान दिए आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउनुका साथै नगरको शोभामा पनि टेवा पु¥याउन सकिन्छ ।’
सबैलाई जोड्ने छठ
अजित तिवारी/विराटनगर
विराटनगरको सिंघिया र केसलिया खोलाको डिल सजाउने काममा यहाँका स्थानीय व्यस्त छन् । अत्यन्तै निष्ठापूर्वक मनाइने छठ पर्वमा यहाँका अन्य खोला र नहरको डिल पनि चिरिच्याट्ट परिसके ।
विराटनगर–६ का अशोक कर्ण घरनजिकैको नहरको डिलमा सरसफाइ गर्दै भेटिए । केराको बोटमा रंगीचंगी पताका लगाएर सजाइने छठ पर्वको घाट आकर्षक देखाउन उनी कस्सिएका छन् । छठ पर्वको धार्मिक र सांस्कृतिक महŒव आफ्नै रहे पनि यसको आकर्षक र मनमोहक पक्ष भने घाटको सजावट पनि हो । धेरै परिश्रम खर्चेर घाटलाई आकर्षक बनाइने गरिन्छ ।
‘कसको घाट कति आकर्षक छ, त्यो कुराले पनि छठ पर्वमा महŒव राख्छ,’ अशोकले भने, ‘हाम्रो सबभन्दा ठूलो चाड भएकाले छठमा यति परिश्रम खर्चेर मनाउँछौँ ।’
छठ पर्वको साँझमा घाटको बसाइ व्रतालुका लागि विशेष हुन्छ । दिनभर उपवास बसेको व्रतालु जब घाटमा अर्घ दिन पुग्छन, घाटको सजावट र पर्व हेर्न आउनेहरूको घुइँचोले उनीहरू पनि दंग हुन्छन् । कतिपयले त इन्टेरियर डिजाइनर नै ल्याएर घाटको सजावट गर्ने गरेका छन् ।
नेपाली कांग्रेसका विराटनगर नगर सभापति भीम पराजुली निरन्तर छठी माताको व्रत बस्छन् । उनीजस्ता व्रतालुका कारण छठप्रतिको आस्था पहाडी समुदायमा पनि विस्तार हुन थालेको बुझ्न सकिन्छ । ‘मधेशी–थारु समुदायले मात्रै मनाइरहेको छठ पर्व अब कुनै समुदाय विशेषको मात्र रहेन,’ उनी भन्छन्, ‘विराटनगरमा ठूलो संख्यामा पहाडी समुदायले पनि छठ पर्व मनाउने गरेका छन् ।’
स्थानीय अगुवा संजय सिंहले छठ पर्वप्रति सर्वसाधारणको आस्था र विश्वास बढिरहेको र यो पर्व भाइचारा र सद्भावको अनुपम उदाहरण बनेको बताए । ‘समाजलाई यो पर्वले जोडेको छ,’ उनले भने, ‘छठिया माइको व्रतले सबैलाई नजिक ल्याएको छ ।’   

Leave A Comment