तिहारका पाँच दिन

शुक्रबार, १२ कार्तिक २०७३, १२ : ०८ शुक्रवार , Kathmandu
तिहारका पाँच दिन

–शान्तिराम कोइराला
                                       
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ । पाँच दिनसम्म चल्ने र सबै दिन यमराजसँग सम्बन्धित भएकाले यी यमपञ्चक भनिएको हो । यम सूर्यपुत्र हुन् । खासगरी बहुलदेवतामा विश्वास गर्ने पूर्वीय चिन्तनमा यी पाँचदिनलाई कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइतिहारजस्ता नाम दिई पाँच दिनसम्म धूमधामले चाड मनाइन्छ । दीपमालिका तिहारको अर्को विशेषपक्ष हो ।

कागतिहार
यमपञ्चकको पहिलो दिन बिहान घर लिपपोत गरी शुद्ध बनाई आँगनमा वैदिक विधिविधानअनुसार यमदूतका रूपमा कागको पूजा गरिन्छ र कागलाई मीठो लाग्ने खाना दिइन्छ । कागलाई यमराजको दूत, सत्यवादी, भविष्य द्रष्टा र सन्देशवाहक पन्छी मानिन्छ । तर, पन्छीहरूमा सबैभन्दा नीच पन्छीका रूपमा कागलाई लिएको पाइन्छ । कागले पौराणिक रूपमा मात्र नभएर सामाजिक रूपमा पनि घर गाउँमा रहेका कतिपय फोहोरमैला खाएर वातावरण सफा गर्ने गर्छ ।

कुकुरतिहार
यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकुर तिहार भनिन्छ । यसदिन बिहानै तेल लगाएर दतिउन गरी स्नान गर्नुपर्दछ । आफ्ना पितृहरूलाई सम्झेर नदी तलाउमा दीप प्रवाह गरिन्छ । त्यसपछि कुकुर पूजा गरिन्छ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ । कुकुर तिहारका दिन शरीरमा तोरीको तेल मर्दन गरी स्नान गर्नाले छालाको रोग र चिसोबाट बच्न सकिन्छ ।

गाईतिहार र लक्ष्मीपूजाः
यमपञ्चकको तेस्रो दिन अमावस्यालाई लक्ष्मीपूजा वा गाईतिहारे औसी पनि भनिन्छ । यसदिन बिहानै घर लिपपोत गरी सफा भई अलक्ष्मीलाई समन्त्र पूजन गरी हटाइन्छ । घरमा धनधान्य लक्ष्मीकी प्रतिमूर्ति गाईको सिङ, खुरमा तेल, घाँंटीमा माला लगाइन्छ र फलपूmल, मीठा–मीठा खाद्यसामग्री खुवाई पूजा गरिन्छ ।
यसैदिन धनकी देवी लक्ष्मीपूजा पनि हुन्छ । घरबाहिरदेखि गोबरले लिपेर लक्ष्मीका पाइला बनाएर पूजाकोठा, धनसारसम्म लगिन्छ, पूजा गरिन्छ । समृद्धिको चाहना, खुशी, ऐश्वर्य, शान्ति चाहनेले लक्ष्मीपूजाका दिन विशेष धनको पूजा, कुवेरकोपूजा गर्ने गर्छन् । पसल, प्रतिष्ठान, ढुकुटी, अन्न आदि सबैतिर विशेष धूप, बत्ती, मिष्ठान्न, फलफूल, सौभाग्य, वस्त्रसहित पूजा गर्ने चलन छ । घर पसल रंग्याउने, पूmलले सजाउने, नरिवल मसला चढाउने, रंगोली बनाउने गरिन्छ । मिठाइ, सेलरोटी, अनरसा आदि चढाइन्छ र बाँडिन्छ । ओखर, कटुस, बिमिरोसहित लक्ष्मीका प्रतिमाको पूजा गरिन्छ । आयुलक्ष्मी, कीर्तिलक्ष्मी, भोगलक्ष्मी, स्थिरलक्ष्मीको पूजा गरिन्छ । यसरात्रिलाई सुखरात्रि पनि भनिन्छ । देउसीभैलो पनि खेलिन्छ । साँझपख महिला, पुरुष, बालबालिका समूह बनाइ भैलीराम भन्दै घरघर डुल्छन् र लक्ष्मीवास गर्ने आशीर्वाद दिन्छन् । यशकीर्ति, ऐश्वर्य, उन्नतिका लागि सन्ध्याकालमा कोठा, प्राङ्गण, गौशाला, जलाशय आदिमा दियो बाल्ने गरिन्छ ।

गोवद्र्धनपूजा र गोरुतिहार
    यमपञ्चकको चौथो दिनलाई गोवद्र्धन पूजा र गोरुतिहार भनिन्छ । गोरुको पूजा गर्नुअघि गाईको गोबरले गोवद्र्धन पर्वतको निर्माण गरी विधिविधानअनुसार पूजा गर्नुपर्दछ । आर्य जातिले गाईलाई विशेष महŒव दिएर माताका रूपमा सम्मान गर्ने हुनाले तिनीहरूको चरण, घाँसपात प्रदान गर्ने क्षेत्रलाई नै गोवद्र्धनका रूपमा पूजा गरिएको भन्ने गरिन्छ । यसैदिन बलीको पूजा पनि गर्ने विधान रहेको छ । अमावस्याका दिन साँझदेखि भोलिपल्ट बिहानसम्म चेलीबेटी मिले भैलो खेल्दछन् भने गोबद्र्धन पूजाका दिन र यमद्वितीयाको दिन दाजुभाइ मिलेर देउसी खेल्ने प्रचलन छ । कृषि कार्यमा  पशुहरू निकै सहयोगी छन् । तिनको सम्मान गर्ने उद्देश्यले यस पर्वमा उनीहरूका पूजा गर्ने चलन छ ।

भाइतिहार
यमपञ्चकको पाँचौं दिनलाई भाइटीका अर्थात् भ्रातृद्वितीया भनिन्छ । यसदिन शास्त्रीय विधिविधानअनुसार यम, यमुना र अष्टचिरञ्जीवीको पूजा गरिन्छ । बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट बिदा लिई निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वक पूजा अर्चना गरेझैँ दिदीबहिनीहरूले यो दिन दाजुभाइको दीर्घायु, आरोग्यता र ऐश्वर्य, कीर्ति आदिको प्राप्तिका लागि सप्तरंगी टीका लगाइदिने र मिष्ठान्न तथा विभिन्न परिकार खुवाउने प्रचलन रहेको छ । सयपत्री, मखमलीको माला लगाई तेलको धाराले परिक्रमा गरी यमुना, नवग्रह, विष्णु, गणेश, ब्रह्माजी आदिको पूजा पनि यसै दिन गरिन्छ । यमराजका रूपमा रहेको कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा ओखर फुटाउने चलन पनि छ । दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा, उपहार दिन्छन् ।

 

Leave A Comment