मधुमेहका लागि फिजियोथेरापी

सोमबार, ०६ असार २०७३, ०४ : ५२ शुक्रवार , Kathmandu
मधुमेहका लागि फिजियोथेरापी

विवेक घिमिरे विशद
एमपीटी न्युरोलोजी, ग्रान्डी सिटी हस्पिटल
शरीरमा इन्सुलिनको कमीले रगतमा ग्लुकोजको मात्रा बढी हुन पुगेर लाग्ने रोगलाई डायबिटिज÷मधुमेह अथवा चिनी रोग भनिन्छ । शारीरिक व्यायाम कम हुँदा, हलचल कम हुँदा र धेरै क्यालोरीयुक्त खाना खाँदा मधुमेह रोग लाग्ने गरेको छ । रगतमा ग्लुकोजको सन्तुलित मात्रामा प्रवाह नभएको अवस्थामा यसले अन्य समस्या पनि निम्त्याउन सक्छ । जस्तैः मुटु रोग, मिर्गौला, खुट्टामा अल्सर, स्ट्रोक, आँखाको समस्या, नशासम्बन्धीलगायत मधुमेहपछि देखापर्ने अन्य समस्या हुन् । त्यस्तै रोगका कारणले कमजोर हुँदा मांशपेशीमा समस्या, जोर्नीको दुखाइलगायत समस्या पनि देखापर्न सक्छ । रगतमा गडबड हुँदा त्यसले शरीरका हरेक अंगमा केही न केही प्रभाव त पार्छ नै । यस्ता रोगलाई हटाउन नसकिए पनि घटाउन र ठीक अवस्थामा राख्नका लागि फिजियोथेरापी आवश्यक छ ।
मधुमेह रोग लागेपछि त्यसलाई सन्तुलनमा राख्न जीवनशैली, खानपिन र व्यायाममा सचेत हुनुपर्छ । यस्ता रोगमा औषधि उपचारभन्दा फिजियोथेरापी विधि प्रभावकारी भएको विभिन्न अध्ययनले देखाएका छन् । रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्न र शरीरको वजन सन्तुलित राख्नका लागि बिरामीलाई कस्तो खाले व्यायाम, कति समयसम्म गर्नुपर्छ भन्ने कुरा फिजियोथेरापिस्टले बिरामीको अवस्था हेरी तोक्न सक्छन् । शरीरको वजन नघटे पनि व्यायामको मद्दतले शरीरको मेटावोलिजममा सुधार ल्याउँछ । त्यस्तै मुटुसम्बन्धी रोग लाग्ने जोखिम पनि न्यून हुन्छ ।  मधुमेहसँगै देखापर्ने हड्डी तथा जोर्नीको  समस्या, ढाड दुख्ने समस्या, घुँडा दुख्ने समस्या (ओस्टियो आर्थराइटिस), हात पाखुरामाथि लैजान नसक्ने (फ्रोजन सोल्डर) आदि हुन् । त्यस्तै नाडीनिरको नसा च्यापिने (कार्पल टनल सिन्र्डम) तथा सायटिका नसाअन्तर्गतका समस्यामा आदि पर्छन् । अनुभवी फिजियोथेरापिस्टले विशेष तथा निश्चित व्यायाम, विद्युतीय उपकरण, म्यानुअल थेरापीको मद्दतद्वारा यस्ता समस्या समाधान गर्न सफल भएको पाइन्छ । तर, उपचार विधि भने उनीहरूले जाँचेर, बुझेर तथा बिरामीको अवस्था हेरेर फरक–फरक तरिकाका हुन सक्छन् ।
बिरामीको अवस्था हेरी हप्तामा कम्तिमा चारपटक व्यायाम ३० देखि ६० मिनेटसम्म गर्नु उपयुक्त हुन सक्ने अध्ययनले देखाउँछन् ।     एउटा रोगको कारणले अर्को अंगमा हानि पार्न सक्ने हुँदा मधुमेहका रोगी र उनका परिवारले त्यसतर्फ सचेत हुनुपर्ने आवश्यक छ । डायबिटिज लागेका अवस्थाका बिरामीले खुट्टाको हेरचाह गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । विशेष गरी खुट्टाको अल्सर (घाउ) भयो भने त्यो सजिलै निको हुँदैन । यस्ता बिरामीलाई खुट्टाका समस्याबाट जोगाउन नरमखालका चप्पल, जुत्ता लगाउन सुझाव दिएमा घाउबाट जोगाउन सकिन्छ । त्यस्ता बिरामीका खुट्टामा घाउ लागेमा त्यसले अन्य समस्यासमेत ल्याउन सक्ने भएकाले खुट्टाको विशेष हेरचाह गर्नु आवश्यक छ । शल्यक्रिया पछिको दुखाइ व्यवस्थापन, अपांगता रोकथाम तथा पुनस्र्थापनका लागि फिजियोथेरापीकै मद्दत चाहिन्छ ।    
जुनसुकै अवस्था र जुनसुकै रोगका लागि पनि व्यायाम एक प्रकारको उपचार नै हो । उचित व्यायाम भनेको पनि एक प्रकारको थेरापी हो । त्यसमा पनि मधुमेहका बिरामीका लागि त उचित व्यायाम अत्यन्तै आवश्यक छ ।
मधुमेहका बिरामीलाई सकभर शरीरमा घाउ लाग्न दिनु हुन्न । मधुमेह बिरामीलाई खुट्टामा असर पर्ने व्यायामको सट्टा अन्य व्यायाम गर्न सुझाव दिनुपर्छ । दौडिने क्रियाकलापले खुट्टामा असर पर्ने भएकाले यसको सट्टा साइक्लिङ, पौडी आदि उपयुक्त हुन्छ । त्यस्तै व्यायामका कारण शरीरमा ग्लुकोजको मात्रा चाहिनेभन्दा कम पनि हुन सक्छ, त्यसैले व्यायामअघि कार्बोहाइड्रेटयुक्त खाना खानुपर्छ ।
मधुमेहका बिरामीका लागि औषधि मात्र नभई उचित व्यायाम, सन्तुलित खाना र विशेष गरी फिजियोथेरापी विधिको प्रयोग पनि आवश्यक छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।

 

Leave A Comment