भक्तपुर बोलाछेँकी सरलामाया प्रजापतिले यस वर्ष तिहारका लागि २० हजार पाला बिक्रीमा राखेकी छिन् । तिहारमा राम्रो व्यापार हुनेमा उनी आशावादी छिन् । तिहार नजिकिएसँगै भक्तपुर नगरपालिकाको बोलाछेँ, पोर्टरी स्क्वायर, च्याम्हासिंह, मध्यपुर थिमिको नगदेश र बोडेलगायत स्थानमा पाला व्यापारीहरूको चहलपहल बढ्न थालेको छ । तर, हाल पालाको कम प्रयोग हुन थालेको व्यापारीहरूको भनाइ छ । सरलामाया भन्छिन्, ‘पोहोर साल भूकम्पले गर्दा पाला बिक्री भएन । यसपालि त व्यापार होला कि ? अचेल मान्छेले पाला बाल्नै छाडिसके ।’ पालाको व्यापारले उनको तिहार खर्च धानिन्छ ।
ललित प्रजापति (७२) पोर्टरी स्क्वायरको गल्लीमा चक्र घुमाउँदै पाला बनाइरहेका भेटिए । १२ वर्षको उमेरदेखि नै माटोको भाडा बनाउन थालेको बताउने उनी पालामा खासै फाइदा नहुने बताउँछन् । भन्छन्, ‘पालामा धेरै फाइदा नहुने भएकाले खुत्रुके लगायतका भाँडाकुडा पनि बनाउने गरेको छु ।’ गत वर्ष माटाका भाँडाहरू सुकाउन र पोल्न पालो कुर्नुपर्ने अवस्था भए पनि पाला किन्ने मानिसहरूको संख्या कम भएसँगै पाला बनाउनेको संख्यामा पनि कमी आएको उनले जानकारी दिए । उनका अनुसार तिहारमा प्रयोग गर्नका लागि चारपाँच प्रकारका पाला हुन्छन् । सबैभन्दा सानो र सस्तो दुई रुपैयाँको पाला हो । त्यस्तै, अन्य पालाहरूमा एउटाको पाँचदेखि २५ रुपैयाँसम्म पर्छ । साना पालाहरूको माग बजारमा अन्यको भन्दा बढी रहेको उनको भनाइ छ । पाला बनाउनका लागि माटोको भने निकै समस्या रहेको माटोको भाँडा व्यवसायीहरूको गुनासो छ । ललित भन्छन्, ‘माटोकै लागि निकै टाढाटाढासम्म पुग्नुपर्छ । यस्तै हो भने एक दिन हामीले पनि यो पेशा नै छोड्नुपर्ने दिन नआउला भन्न सकिन्न ।’ केही वर्षपहिला भक्तपुरको जगातीका खेतहरूबाट माटो ल्याएर भाँडा बनाउने बोलाछेँका प्रजापति समुदायलाई केही वर्ष यताभने माटोको निकै अभाव हुन थालेको छ । चार वर्षयता आफूहरूले ललितपुरको हरिसिद्धिबाट माटो ल्याउन थालेको उनीहरूले बताए । जगातीबाट माटो ल्याउँदा सहज र सुलभ हुने तर हरिसिद्धिबाट ल्याउँदा भने एक टिपको आठ हजार रुपैयाँसम्म पर्न जाने उनीहरूको गुनासो छ । त्यति गर्दा पनि कतिपय अवस्थामा माटो नै पाउन मुस्किल पर्ने उनीहरूले बताए । पाला बनाउन आवश्यक पर्ने कालोमाटोको समस्या भएका कारण यसपालि तिहारका लागि आवश्यक पाला बनाउन निकै समस्या परेको व्यापारीहरूको भनाइ छ ।
त्यस्तै, भक्तपुर नगरपालिका–१४, बोलाछँेका सहदेव प्रजापतिको पनि पुख्र्यौली व्यवसाय नै माटोको भाँडा हो । यस वर्ष उनले २५ हजार पाला बनाएका छन् । आफूले बनाएको पाला आफैँले बेच्ने र कतिपय अवस्थामा अरू पसलमा पनि दिएर बेच्न लगाउने उनको भनाइ छ । पालाको व्यापार पहिलाको भन्दा निकै घटेको उनले बताए । ‘पहिला तिहारका लागि डेढ लाखसम्म पाला बनाइन्थ्यो,’ उनले भने ।
हाल भक्तपुरका मानिसहरू मात्र नभई अरूले पनि पालाको काम गर्न थालेको हुनाले पालाको व्यापार खस्केको सहदेवको भनाइ छ । भक्तपुरमा धेरैजसो काँचो पाला बिक्री हुने उनले जानकारी दिए । ‘बूढापाकाले भन्थे, काँचो पालामा बत्ती बाल्यो भने लक्ष्मी खुशी हुन्छिन् रे,’ सहदेवले भने । काँचो पालामा कम तेल खाने तर पोलेको पालामा धेरै तेल लाग्ने भएकाले धेरैले काँचो पाला प्रयोग गर्ने उनले जनाए । भक्तपुरका अधिकांश मानिसहरू काँचो पाला नै प्रयोग गर्नेसमेत उनले दाबी गरे । ‘पाकेको पाला भने टाढा लैजान नफुट्ने भएको कारण लोकप्रिय छ,’ उनले थपे । तिहारमा मैन र बिजुलीबाट बल्ने बत्तीहरूको प्रयोग बढेसँगै पालाको प्रयोग गर्नेहरू कम भएको उनको ठहर छ ।
तिहारमा माटोको पालासँगै धुपौरो र भिउँटका सामग्री पनि व्यापार हुने गर्छन् । माटोको भाँडा सिजनमा मात्रै बिक्री हुने भन्दै सहदेवले एक दिनमा हजारदेखि १५ सयसम्म पाला बनाउन सकिने बताए । भक्तपुरमा मात्र नभई पालाको माग अन्य जिल्लामा पनि हुने उनले जानकारी दिए । तिहारको लागि खर्च जुटाउने प्रमुख आयस्रोत नै माटोको भाँडाको व्यापार रहेको उनीको भनाइ छ । ‘कतिपयले भने आफ्नो जीविका नै पनि माटोको भाँडा बेचेर गरेका छन्,’ उनले भने । अघिल्ला वर्षहरूमा ४० देखि ६० हजारसम्म पाला बेचेको अनुभव सहदेवसँग छ । अहिलेका वर्षहरूमा भने पाँचदश हजार बेच्न पनि हम्मेहम्मे पर्ने उनी बताउँछन् ।
Leave A Comment