सञ्चिता लुइँटेल फिल्ममा व्यस्त भइरहेकै बेला एक्कासि हराइन् । अभिनेता निखिल उप्रेतीसँग फिल्म सुटिङकै क्रममा बढेको प्रेमलाई विवाहमा परिणत गरेपछि उनी फिल्मबाट टाढिएकी थिइन् । विवाहपछि केही समय भारतमा बसेकी उनी बलिउड छिर्न संघर्षरत रहेको हल्ला पनि चल्यो । सिरियलमा काम गर्न थालेको अफवाह पनि फैलियो । तर, उनी त्यतातिर लागिनन् । फिल्म क्षेत्रबाट टाढिएको चार वर्षमा उनी दुई सन्तानकी आमा बनिन् । सन्तान केही हुर्केपछि अहिले फेरि फिल्ममा फर्किएकी छिन् । उनीसँग डिबी खड्का र अनिल यादवले गरेको अन्तरंग कुराकानीः
फिल्म लाइनमा दोस्रो चरणको संघर्ष कत्तिको सहज वा असहज लागिरहेको छ ?
जति सोचेकी थिएँ, त्यति असहज भएन । फिल्म ‘नाइँ नभन्नू ल–३’ मा दुई सट जति भूमिका थियो । त्यसले मलाई फिल्मकर्मीमाझ पुनः ‘नोटिस्ड’ गरायो । त्यसपछि मूख्य भूमिकामा ‘राधा’ र ‘गुनगुन’मा काम गरिसकेँ ।
तपाईंको डेब्यू फिल्म हिट थियो । त्यसपछि लगातार हिट फिल्म दिइरहेका कारण ‘कमब्याक’लाई अर्थपूर्ण बनाउने प्रेसर होला ?
फिल्म ‘राधा’मा काम गरिसक्दा डर थियो मलाई । कतै दर्शकले बिर्सिसके कि ? तर अहिले कन्फिडेन्स लेभल बढेको छ । किनभने, दर्शकले बिर्सेका रहेनछन् । यो बीचमा म धेरै ठाउँमा पुगेँ । दर्शकले मप्रति उस्तै माया दर्शाउनुभयो । फेरि फिल्म क्षेत्रमा आएकोमा खुशी लागेको बताउनुभयो । फिल्म क्षेत्रबाट आफ्नो क्रेज नघट्दै एक्कासि टाढिएकाले फेरि फर्किन्छे भन्ने आशा बाँकी रहेछ । फिल्म ‘राधा’को गीतको भिडियो जसरी मन पराइएको छ, यसले पनि राम्रै होला भन्ने आशा जागेको छ ।
फिल्म क्षेत्रको वातावरण कत्तिको फरक पाइयो ?
लवाइ, खवाइ, सोच, काम गर्ने स्टाइल र प्रविधिमा फरक आएको रहेछ । पहिला नेपाली फिल्म क्षेत्र एउटै लाग्थ्यो । अहिले बनाउने तरिका र कथावस्तु उठाउने तरिकाका हिसाबले विभाजन रहेछ । आआफ्नै खालका समूह रहेछन् । यो त्यति राम्रो लागेन । किनभने, यसबाट एउटाले अर्काेलाई दिने हौसलाको अभाव महसुस हुन्छ । पहिलो फिल्म ‘अप्सरा’को मुहूर्तमा मलाई त्यतिखेरका जल्दाबल्दा अभिनेता–अभिनेत्रीहरू राजेश हमाल, धिरेन शाक्य, जल शाह लगायतले हौसला नदिएको भए, नसिकाएको भए म त्यति राम्रो काम गर्न सक्थिनँ थिएँ होला ।
दुई सन्तानकी आमा बन्दा पनि तपाईंले आफूलाई फिट राखेको हेर्दा बुझिन्छ, घरबार गरेर टाढिँदा पनि हिरोइन मोह भने घटेको रहेनछ ?
फिट त आफ्नै स्वास्थ्यका लागि रहेकी हुँ । अरूका लागि भन्दा पनि आफ्ना लागि रामी बन्नुपर्छ भन्ने मान्यता छ मेरो । मलाई यसरी फेरि हिरोइनककै भूमिकामा फिल्म क्षेत्रमा फर्किएला भन्ने आशा थिएन । मेरा साथीहरू उषा पौडेल, अरुणिमा लम्साल, ऋचा घिमिरेहरू जो फिल्म क्षेत्रमै आजीवन रहने योजना सुनाउँथे । उनीहरू त बाहिर गइसके जस्तो लाग्थ्यो । यसै पनि फिल्ममा हिरोइनका आयु निकै छोटो हुन्छ । चाँडै रिटायर्ड हुनुपर्छ । यी यथार्थले पनि फेरि हिरोइनका रूपमा कसैले अफर गर्लान् वा हिरोइन भइएला जस्तो लागेको थिएन । मेरो सौभाग्य फेरि हिरोइनकै रूपमा फर्किन पाएँ ।
सुन्दरता जोगाइराख्ने तपाईंको तरिका के हो ?
म पहिलेदेखि नै स्वास्थ्यका विषयमा गम्भीर नै छु । व्यायाम नियमित गर्छु । दुई वर्षदेखि त क्लब नै ज्वाइन गरेर एक्सरसाइज गरिरहेकी छु । कलाकार भएकाले सुन्दर देखिन कोसिस पनि गर्नैपर्छ । किनभने, जहाँ पुगे पनि दर्शकहरूले चिनेर ‘एउटा तस्बिर लिऊँ है तपाईंसँग’ भन्छन् । ‘कस्ती राम्री’ भन्ने प्रतिक्रिया दिन्छन् । राम्री हुँदा बिक्ने र राम्रो हेर्ने फिल्डमा छु भने राम्री पनि बन्नुपर्छ भनेर स्वास्थ्यको ख्याल गरिरहेकी हुन्छु ।
कस्तो संयोग, डेब्यू फिल्म ‘अप्सरा’मा अप्सरा र कमब्याक फिल्म ‘राधा’मा राधाको भूमिका पाउनुभयो !
घरपरिवार र साथीभाइले मलाई कलाका लागि जन्मेकी भन्छन् । किनभने, म सुरुदेखि नै कला क्षेत्रका लागि लक्की भएँ । संघर्ष धेरै गर्न परेन । फिल्म क्षेत्रमा आउने कुनै योजना र सपना थिएन । त्यो बेला एउटा पारिवारिक जमघटमा भेटिनुभएका डा. भोला रिजालले ‘‘अप्सरा’का लागि यस्तै केटी खोजिरहेको थिएँ’ भनेर प्रस्ताव गर्नुभयो । घरपरिवारले अस्वीकार ग¥यो । म त झन् लज्जालु टाइपको मान्छे । लाजका कारण कहिल्यै कसैका अघि गएर नाच्न पनि सकेकी थिइनँ । टीभीमा फिल्म हेर्दा हिरोइन बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अरू राम्रो नाचेको देख्दा त्यस्तै गर्न पाए भन्ने हुन्थ्यो भन्ने लाग्थ्यो । आकर्षण भन्ने यत्ति थियो । पछि साथीभाइलाई फिल्मको प्रस्ताव आएको बताउँदा उनीहरूले ‘तँलाई हिरोइन बन्ने प्रस्ताव आएको ? नछाड् है मौका’ भन्न थाले । मलाई पनि हो जस्तो लाग्यो र परिवारलाई मनाएर डा. रिजालको प्रस्ताव स्वीकार गरेँ । यो फिल्म नसकिँदै ‘आशीर्वाद’मा साइन गरेँ । अहिले पनि यही संयोग दोहोरिएको छ । फिल्म ‘राधा’को सुटिङमै ‘गुनगुन’ फिल्ममा मजस्तै हिरोइन चाहिएको भनेर प्रस्ताव आयो । त्यसमा पनि काम गरियो ।
‘नाइँ नभन्नू ल–३’ मा भन्दा ‘राधा’ फिल्ममा अलि मोटी देखिनुहुन्छ । जानेर मोटाएको कि मोटी नै हुनुहुन्थ्यो ?
‘राधा’ गाउँकी हेल्दी केटी हो । पात्र नै गाला भुक्क परेकी हुनुपर्छ । गाउँमा बस्ने र चरेसको थालभरिको भात खाने केटीको भूमिका गर्दा त्यस्तै देखिन केही मोटाएँ । यसको गीतमा चाहिँ अझ राम्री देखिनुपर्छ भनेर दुब्लाएपछि सुटिङ गर्ने प्रस्ताव गरेकी थिएँ । तर, निर्देशकले गीत पनि स्वाभाविक नै बनाउन मोटीमै छायांकन गर्नुभयो । अहिले त्यो गीत रुचाइएको पनि छ ।
तपाईंका श्रीमान् अभिनेता निखिलि उप्रेती आफैँले पछिल्लो दुुई वर्षमा दुइटा फिल्म बनाइसक्नुभयो । तर, तपाईंलाई सम्झिनुभएन । नपात्याएको वा नजिकको तीर्थ हेलाँ भएको ?
नपत्याएको पनि होला । यसै पनि म एकजना व्यक्तिले बनाएको कलाकार होइन । आफ्नै क्षमता र संघर्षले बनेकी हुँ । त्यसैले श्रीमान्ले बनाएको फिल्ममा आफ्नो भूमिका खोज्न म आफैँले पनि चाहिनँ । उहाँका फिल्म एक्सन हुन्छन् । त्यहाँ भूमिकाका हिसावले पनि सुहाइनँ होला । मेरो अभिनयको त निखिलले तारिफ नै गर्नुहुन्छ । फिल्म उहाँले मात्रै बनाउने होइन, अरू प्रोड्युसर हुन्छन् । उनीहरूलाई आफ्नै श्रीमती हिरोइन बनाउने प्रस्ताव गर्न पनि उहाँलाई अप्ठ्यारो प¥यो होला । यसबाहेक हामी व्यावसायिक हुन चाहन्छौँ । व्यावसायिक हुन चाहनेले व्यक्तिगत सम्बन्धका आधारमा काम गर्नु हुन्न । मैले हिजोको दिनमा पनि आफ्नै क्षमताले काम पाएँ । आज पनि त्यही भइरहेको छ । यो खुशीको कुरा पनि हो ।
कलाकारसँगै घरजम गरेपछि हिरोइन फिल्म क्षेत्रमा फर्किने गरेको उदाहरण बलिउड र नेपाली फिल्ममै कम देखिन्छन् । कतै निखिलजीले आफ्ना फिल्ममा प्रस्ताव नगर्नुको कारण तपाईंलाई घरपरिवारमै व्यस्त राख्ने मनसाय पो हो कि ?
त्यो मलाई थाहा छैन । तर, यी चार वर्षमा कामको प्रस्ताव आइरहँदा पनि म आफैँले गर्न चाहिनँ । बच्चाहरू हुर्काएँ । अहिले उनीहरू स्कुल जान थाले । उनीहरूलाई स्कुल पठाएपछि मसँग कुनै काम छैन । मेरी आमा म जन्मेको ४० दिनपछि नै काममा जानुभएको थियो । मलाई पनि विवाहपछि सबथोकका लागि श्रीमान्कै भर पर्नुभन्दा पनि आफूले जानेको काम गर्नुपर्छ जस्तो लाग्छ । म यत्तिकै बसेँ भने मैले कमाएको नाम खेर जान्छ । अहिले म काममा फर्किंदा विवाह र बच्चा भएपछि काममा जान नपाएका महिलाहरू पनि खुशी हुनुहुन्छ । केही दिनअघि धरानमा एकजना महिलाले ‘तपाईंका कारण हामीलाई हौसला मिलेको छ, काम गर्न नछाड्नुहोला’ भन्नुभएको थियो । यसकारण म काममा फर्किएकी छु । उहाँ पनि खुशी हुनुहुन्छ ।
बुबा एक्सन फिल्म गर्छन्, आमा लभस्टोरी । बालबच्चालाई कस्तो फिल्ममा रुचि छ ?
उनीहरू त्यसरी छुट्याउने भएका छैनन् । टेक्निकल चिजमा रुचि राख्छन् । टीभीमा हाम्रा गीत आउँदा ताली बजाउँछन् । ‘ममी, तिमीले नाचेका गीतमा म नाच्छु है स्कुलमा’ भन्छन् । उनीहरूले बुझेको यत्ति हो ।
आमाबुबा फिल्मकर्मी भन्ने महसुस गरेका छन् कि छैनन् ?
सबैले भन्दा एक खालको फरक महसुस त गरेका छन् । तर, हामी सार्वजनिक कार्यक्रममा जाँदा सबैले तस्बिर खिचाउँदा छोराछोरीलाई झिँजो लाग्दो रहेछ । ‘किन यसरी सबैले फोटो खिचेका ?’ भन्छन् । मैले स्क्रिप्ट पढिरहँदा उनीहरू ‘स्क्रिप्ट पढिसक्यौ त ? के भन्यो स्क्रिप्ट पढ्न दिने टिचरले ?’ भन्छन् ।
जताततै छाइरहेको मान्छे एक्कासि हराउनुपर्दा नामको भोक त जाग्यो होला ?
म बच्चासँगै हराएँ । छुट्टै संसार थियो त्यो । त्यो मेरो कमजोरी पनि थियो । त्यसैले यतातिर सोच्न पाइनँ ।
Leave A Comment