रेमिटेन्सबाट वित्तीय कारोबार गरेको प्रभु समूहले सञ्चालनमा ल्याएको प्रभु बैंक विभिन्न वित्तीय संस्थासहित ‘क’ वर्गकै बैंक मर्ज गरेर ‘क’ वर्गको कमर्सियल बैंकका रूपमा स्थापित भएको छ । वित्तीय अवस्था खराब भएका बैंकलाई मर्ज गरेर पनि छोटो अवधिमै मुनाफा आर्जन गरेको प्रभु बैंकको नेतृत्व गरेका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः
प्रभु बैंकको वित्तीय अवस्था कस्तो छ ?
समग्रमा सकारात्मक छ । तर, पनि हामीलाई बैंकिङ मूल्यमान्यताअनुसार सुदृढ हुन अझै एक÷दुई वर्ष लाग्छ ।
प्रभु बैंकमा यहाँको नेतृत्वले छोटो अवधिमै सफलताको सिँढी चढ्न कसरी सम्भव भयो ?
बैंकमा मैले नेतृत्व लिएपछि तीन विषयलाई मुख्य ध्यान दियौँ । आन्तरिक रूपमा कर्मचारीको क्षमता वृद्धि गर्ने, रिकभरीको प्रक्रियालाई प्रभावकारी बनाउने र बैंकको बिजनेसलाई देखिने गरी आकार बढाउने । कुशल व्यवस्थापन गर्नु निकै कठिन थियो । अलिकति बिग्रिएका बैंकहरू टेकओभर गरेकाले चुनौती थियो । तर, यी पक्षलाई केन्द्रित गरेर अघि बढ्यौँ । वर्षदिनको अवधिमा यस बैंकले बंैकिङ कारोबार र बजारमा एक किसिमको सकरात्मक सन्देश दिन सफल भयो ।
कुनै बैंकलाई मर्ज गर्ने तयारी छ कि ?
राष्ट बैंकले तोकेको पुँजी पु¥याउन हामीलाई थप दुई अर्ब रुपैयाँ आवश्यक छ । दुई अर्ब रुपैयाँ हकप्रद सेयर र आगामी वर्ष प्रदान गरिने बोनस सेयरबाट पु¥याउने योजना बनाएका छौँ । यति हुँदाहुँदै पनि राम्रो गुडविल भएका वित्तीय संस्था आए भने मर्जरमा जान सक्छौँ ।
नाकाबन्दी र भूकम्पपछि बैंकहरूले कसरी राम्रो नाफा आर्जन गर्न सके ?
भूकम्प र नाकाबन्दी यी दुवै घटनाले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पारे भन्ने अध्ययन हुन जरुरी देखिन्छ । त्यो प्राकृतिक विपत्तिले आर्थिक क्षेत्रलाई तहसनहस पार्ने गरी उद्योग, ट्रेडिङ हाउस, रियल स्टेट, यातायातको व्यापारमा धेरै असर पारेन । राष्ट्र बैंकले पनि लकचदार नीति ल्यायो । असर पारेको क्षेत्रमा सहुलियत दियो । त्यसले पनि धेरै उतारचढाव नगरी बैंकले राम्रो कारोबार गर्न सफल भए ।
ग्रामीण जनतामा बैंकिङ पहुँच किन वृद्धि हुन सकेन ?
अहिलेको संरचनाअनुसार ७५ वटै जिल्लामा बैंक पुगे । तर, पनि ग्रामीण क्षेत्रमा पुगेनन् भन्ने गुनासो छ । बैंक नाफामूलक संस्था भएकाले नाफाघाटाको हिसाबकिताब गर्नु स्वाभाविक हो । तर, जनताले अझ बढी अर्थतन्त्रमा योगदान दिन सक्छन् । त्यसले मुलुक र जनतालाई फाइदा हुन्छ । सरकार, राष्ट्र बैंकले ती ठाउँमा निजी र सरकारी बैंकलाई जान प्रोत्साहन गर्नुपर्छ ।
नीतिमा केही कमजोरी छन् कि ?
दुर्गम ठाउँमा नगदको व्यवस्थापन, सुरक्षा व्यवस्थापन सरकारको दायित्व हो । ग्रामीण क्षेत्रमा सेवा दिएबापत बैंकलाई केही अनुदान, करको दरमा केही छुट दिन सके राम्रो हुन्थ्यो । अहिले सबैभन्दा धेरै कर बैंकमा रहेको छ । त्यसमा छुट वा घटाएको अवस्थामा बैंक अझै दूरदराजमा पुग्छन् ।
पछिल्लो समय बैंकले निक्षेपको दर वृद्धि गनुपर्ने अवस्था किन आयो ?
निक्षेपको दर बजारले निर्धारण गर्छ । अझ अघि बढेर भन्दा लोनको मागले पनि निर्धारण गर्छ । बेलाबेलामा सुनिने तरलताको सहजता पनि अर्को कारण हो । अहिले विकास निर्माणले गति लिन थालेको छ । हाइड्रो, पर्यटन उद्योगमा लगानी बढेको छ । विकासले गति लिएसँगै धमाधम होटm खुलेका छन् । सिमेन्ट, स्टिल उद्योगहरू स्थापना भए । आयात–निर्यातको व्यापार वृद्धि भएको छ । चाडबाडमा अटो लोन, होम लोनको माग बढेको छ । त्यससँगै राजनीतिक स्थिरताले पनि केही आशा जगाएको छ ।
मुलुक आर्थिक संवृद्धिको दिशामा अघि बढेको हो ?
आर्थिक विकासलाई सबैले पहिलो प्राथमिकतामा राखेको आभास हुन थालेको छ । राजनीतिक नेतृत्वले पनि आर्थिक एजेन्डालाई उच्च प्राथमिकतामा राखेका छन् । अर्थतन्त्र चलायमान देखिएको छ । यसले निरन्तरता पायो भने आर्थिक गतिविधि अझै बढेर जान्छ ।
बैंकिङ क्षेत्र अझै फस्टाउन केही नीतिगत समस्या छन् कि ?
बैंकिङ कारोबार देशको अर्थतन्त्रले लिने आकारमा भर पर्छ । बैकिङ क्षेत्रमात्र फस्टाएर अन्य क्षेत्र फस्टाएन भने त्यसले कुनै अर्थ राख्दैन । त्यसैले यहाँ उद्योग, व्यापार, विकास निर्माण, कृषि, पर्यटन क्षेत्र फराकिलो बनाउनुपर्छ । बैंकमा डिपोजिट भएरमात्र हुँदैन । आवश्यकताअनुसार लगानी गर्ने ठाउँ हुनुप¥यो । माग छैन भने बैंकले स्रोतमा नियन्त्रण गर्छ ।
कम उमेरमै कमर्सियल बैंकको सफल नेतृत्व गर्न कसरी सम्भव भयो ?
मसँग यो क्षेत्रमा काम गरेको २० वर्षको अनुभव छ । आएको अवसरलाई सदुपयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो । साथमा, आफ्नो कामप्रति इमानदार त हुनैप¥यो । यिनै कारणले सायद राम्रो काम गर्न सकियो ।
बंैकिङ क्षेत्रमा करिअर बनाउन चाहनेलाई के सुझाव ?
सबैभन्दा पहिले आफूमा दृढ इच्छाशक्ति हुनुप¥यो । फिगरसँग खेल्न रुचाउने, सम्बन्ध विस्तार गर्न सक्नुपर्छ । सेवा बेच्ने हो । यो बेच्न कठिन पनि छ । तर, पनि नेपालमा अहिले सबैभन्दा आकर्षक क्षेत्र बैंकिङ भएको छ । केही गर्छु भन्नेलाई राम्रो अवसर छ ।
विद्यार्थी जीवनमा के बन्छु भन्ने सोच्नुभएको थियो ?
बंैकर बन्छु भन्ने थिएन । त्यतिबेला धेरै कुरा हुन्थ्यो । गाउँकै स्कुलमा पढेँ । त्यतिबेला बैंक भनेका सरकारीमात्र भन्ने थियो । कहिले डाक्टर, कहिले लाहुरे हुन्छु भन्ने लाग्थ्यो ।
तपाईंका रुचि के–के छन् ?
घुम्न र साहित्य पढ्न रुचाउँछु । फोटोग्राफीको पनि सोख छ ।
तपाईंको सामाजिक जीवन कसरी अघि बढेको छ ?
‘एजुकेसन फर लाइफ’ भन्ने नारा बनाएर व्यक्तिगत खर्चमा दुर्गम गाउँका विद्यालयमा हरेक वर्ष दुइटा पुस्तकालय बनाउने काम सुरु गरेको छु । त्यसका लागि प्रत्येक वर्ष दुई लाख रुपैयाँ विनियोजन गरेको छु । यो वर्ष चितवनको काउलेमा पुस्तकालय बनाएको छु ।
व्यक्ति सफल हुन के गर्नुपर्छ ?
कामको गहिराइ बुझेर समर्पित भएर लाग्नुपर्छ । धैर्यसहित नाफाघाटालाई स्विकार्न सक्ने क्षमता लिएर अघि बढ्न सके सफल भइन्छ ।
Leave A Comment