पात्रसुहाउँदो ज्यान र मनोदशा

शुक्रबार, १९ कार्तिक २०७३, ११ : १८ सुजित मैनाली , Kathmandu
पात्रसुहाउँदो ज्यान र मनोदशा

‘हिरो कस्तो हुनुपर्छ ?’,यो प्रसंग निस्किएपछि नाम चलेको एउटा नेपाली ‘हिरो’ले पंक्तिकारसमेत उपस्थित एउटा चियागफमा भनेका थिए, ‘स्टाइलिस कपाल, कसिलो ज्यान भएको ह्यान्डसम । गालामा हल्का दाह्री छ भने अझ राम्रो । एक्सन सिनमा फिट हुने । नृत्य गर्न सक्यो भने उत्तम ।’
नेपाली फिल्म क्षेत्रमा अभिनेताको ‘स्टेरियोटाइप’ हो यो । फिल्मको पात्रअनुसार अभिनेताले आफूलाई ढाल्ने होइन, अभिनेताको बाहिरी स्वरूपलाई सुहाउँदो पटकथा लेख्ने चलनले नेपाली फिल्मलाई अझैसम्म जकडेर राखेको छ । राजेश हमालले प्रायः सबै फिल्ममा कपाल पाले । जीवन लुइँटेल र आर्यन सिग्देलले गालामा हल्का दाह्री ‘मेन्टेन’ गर्नमै मूल ऊर्जा खर्च गरे । जब कि उनीहरूले पात्रलाई सुहाउने स्वरूपमा आफूलाई ढाल्ने प्रयत्न गर्नुपथ्र्यो । शारीरिक सुगठनका हिसाबले हिरो भन्न ‘नसुहाउने’ दयाहाङ राई र सौगात मल्लको पाइला फिल्मी क्षेत्रमा परेपछि चाहिँ अलिअलि परिवर्तनको आभास हुन थालेको छ ।
०००
निर्देशक ब्राड एन्डरसनको फिल्म छ– द मेसिनिस्ट (२००४) । यसमा फलामसम्बन्धी काम गर्ने फ्याक्ट्रीमा मेसिन सञ्चालन गर्ने एउटा मूल पात्र छ । ऊ फुकीढल छ । क्षयरोगका कारण त्यस्तो भएको भने हुँदैन । इन्सोम्निया (निद्रा नलाग्ने रोग) का कारण उसको शरीरसँगै मानसिक स्वास्थ्य पनि क्षय भएको हुन्छ । निदाउन लाग्दा कुनै अप्रिय र रहस्यमय अनुभूतिले ऊ नराम्रोसँग झस्किन्छ र बिउँझिन पुग्छ । ऊ निदाउन नपाएको धेरै भइसकेको हुन्छ ।
फ्याक्ट्रीमै काम गर्न आएको एकजना नयाँ श्रमिकसँग एक दिन उसको भेट हुन्छ । नवआगन्तुकले ध्यान खिच्ने गतिविधि गर्न थालेपछि मुख्य पात्रको ध्यान मोडिन गई मेसिन गलत ढंगले सञ्चालन हुन पुग्छ, जसले गर्दा अर्का एकजना श्रमिकको हात काटिन्छ । नयाँ श्रमिकका कारण दुर्घटना भएको मुख्य पात्रको स्पष्टोक्तिलाई कसैले पत्याउँदैनन्, किनकि कम्पनीमा नयाँ श्रमिक कोही आएकै हुँदैन । ‘पागल’ भन्दै उसलाई जागिरबाट निकालिन्छ ।
अरूले ‘अस्तित्वमै छैन’ भनेको पात्रलाई मुख्य पात्रले पछि पनि देख्छ र पिछा गर्छ । त्यसको गाडीको नम्बर टिप्न ऊ सफल हुन्छ । चलिरहेको एउटा कारमा जानाजान ऊ ठोक्किन पुग्छ र त्यस रहस्मय पात्र सवार गाडीले आफूलाई ठक्कर दिएको भन्दै उजुरी हाल्न प्रहरीकोमा जान्छ । त्यहाँ गएपछि उसले चाल पाउँछ– त्यो गाडी उसकै नाममा केही वर्षअघि दर्ता भएको हुन्छ ।
घटना र संवाद अघि बढ्दै जाँदा दर्शकले चाल पाउँछन्– मुख्य पात्रले ‘इन्सोम्निया’को असरका कारण कल्पनिक पात्रहरूको परिकल्पना गरेको हुन्छ, जसलाई ऊ वास्तविक सम्झिन्छ । काल्पनिक र वास्तविक पात्रहरूसँगको सम्पर्क र संवादबाट उसले आफ्नो अतीत क्रमशः थाहा पाउँदै जान्छ । उसले कल्पना गरेको नयाँ श्रमिक वास्तवमा ऊ स्वयं हुन्छ । नयाँ श्रमिक सवार गाडी पनि उसको आफ्नै हुन्छ, जुन गाडीले कुनै समय एउटा बच्चालाई ठक्कर दिएर मारेको हुन्छ । दुर्घटनास्थलबाट कसैले चाल नपाउनेगरी ऊ बेपत्ता भएको हुन्छ । तर, उसको चैन बालकसँगै सडकमा दुर्घटनाग्रस्त भइसकेको हुन्छ । दुर्घटनापछि चिन्ताले गर्दा ऊ सुत्न सक्दैन । लामो समयसम्मको चिन्ता र अनिद्राले उसको शरीर र मनस्थिति दुवै जीर्ण हुँदै जान्छन् । अन्त्यमा प्रहरीकोमा गएर उसले ‘हिट एन्ड रन’ केसमा आफू कुनै समय संलग्न भएको स्वीकार गर्छ । प्रहरीखोरमा पस्नासाथ कुर्सीमा पल्टिएको ऊ क्षणभरमै निदाउँछ ।
०००
‘द मेसिनिस्ट’ बन्नुअघि रिलिज भएको ब्राड पिट र एडवार्ड नोर्टनअभिनीत फिल्म ‘फाइट क्लब’को ‘थिम’ योसँग मिल्जोजुल्दो छ । तर, ‘द मेसिनिस्ट’का मुख्य पात्र क्रिस्टियन बेलको जीवन्त अभिनयले यसलाई ‘फाइट क्लब’भन्दा अब्बल साबित गरिदिएको छ ।
नतिजालाई संयोगले अब्बल बनाउँदैन । अब्बल नतिजाका लागि ठूलो समर्पण र त्याग आवश्यक पर्छ । ‘द मेसिनिस्ट’लाई बेलको अभिनयले उत्कृष्ट बनाएको सन्दर्भ यसको गतिलो उदाहरण हो । ‘द मेसिनिस्ट’का बाँकी पात्रमध्ये कुनै एकको ठाउँमा अर्कैलाई राखेको भए पनि फिल्मको गुणस्तरमा खासै फरक पर्ने थिएन । तर, बेलको ठाउँमा अरू कसैलाई लिइएको भए फिल्म यति स्तरीय नबन्ने पक्का थियो ।
बेलले यो फिल्मका निम्ति साँच्चिकै डाहलाग्दो किसिमले भव्य तयारी गरेका थिए । ‘द मेसिनिस्ट’कै लागि भनेर उनले २८ केजी वजन घटाएका थिए । वजन घटाउन उनले महिनौँसम्म ‘डाइटिङ’ गरेका थिए । त्यतिबेला उनको मुख्य भोजन कफी र स्याउ थियो । शरीर घटाउनु मात्रै ठूलो कुरा होइन । डाइटिसियन र ट्रेनरको निगरानीमा जो कोहीले पनि वजन थपघट गर्न सक्छ । शरीरलाई पात्रअनुकूल हुनेगरी ढाल्ने र पात्रको मनोविज्ञान तथा मनोदशालाई बुझी त्यसलाई फिल्म निर्माण अवधिभर आत्मसात् गर्नु अझ महŒवपूर्ण छ । र, त्योभन्दा महŒवपूर्ण छ, पात्रको पात्रतामा चुर्लुम्म डुबेर जीवन्त अभिनय गर्नु ।
बेलले ‘द मेसिनिस्ट’का लागि यी सबै मापदण्ड पूरा गरेका थिए । फिल्मको तयारीका लागि बेलले कति रात नसुतीकन ‘इन्सोम्निया’ग्रस्त व्यक्तिको मनोविज्ञान बुझ्ने प्रयत्न गरेका थिए ।
फिल्म हेर्दा अनिद्राका कारण भारी भएका बेलका आँखाले दर्शकको ध्यान खिच्छ । अन्य पात्रले फिल्ममा बेललाई भन्छन्, ‘योभन्दा थोरै मात्र पनि दुब्लाइस् भने तँ लोप हुन्छस् ।’ फिल्ममा बेल साँच्चिकै दुब्लाएर लोप हुन लागेको मानिसजस्तै देखिएका छन् । फिल्म हेर्दा लाग्छ– उनको करङमा छाला मोरेर कसैले भित्र प्राण भरिदिएको छ ।
०००
‘द मेसिनिस्ट’ रिलिज भएको एक वर्षपछि निर्देशक क्रिस्टोफर नोलानको अर्को फिल्म निस्कियो– ब्याटम्यान बिगिन्स (२००५) । चमेराप्रतिको आफ्नो भयले गर्दा आमाबाबुको हत्या भएको ठान्ने एउटा पात्र छ, यसमा । त्यस पात्रको अन्तर्यमा भयको विम्ब भएर चमेरा बसेको हुन्छ । आफू सानो छँदा अनाहकमै आमाबाबुले लुटेराको हातबाट ज्यान गुमाएको देखेको उसमा अन्यायविरुद्ध लड्ने उत्कट अभिलाषा हुन्छ ।
यही अभिलाषाले उसलाई चीनको ल्हासा (?) पु¥याउँछ, जहाँ उसले द्वन्द्वकला सिक्छ । साथै, भयलाई अधीनस्थ बनाएर यसलाई क्षमतामा बदल्ने कला पनि सिक्छ । त्यहीँ सिकेको कला उपयोग गरेर ऊ ‘ब्याटम्यान’ बन्छ ।
‘ब्याटमान बिगिन्स’ हेर्दै गर्दा कसैले बलिष्ठ ज्यान भएका यसको मूल पात्र र एक वर्षअघि निस्किएको ‘द मेसिनिस्ट’को मरन्च्यासे पात्र एउटै हो भन्यो भने पत्याउन गाह्रो पर्छ । यति छोटो अवधिमै ज्यानलाई पुनः सुगठित गरी नितान्त विपरीत खालको भूमिकामा कसैले अभनिय गर्नसक्छ भन्ने कल्पना गर्न पनि गाह्रो पर्छ । अरूले कल्पना गर्न पनि अप्ठेरो मानेको प्रसंगलाई बेलले यथार्थमै गरेर देखाएका छन् ।
‘द मेसिनिस्ट’को काम सकिनासाथ निर्देशक नोलानले तीन महिनापछि ‘ब्याटम्यान बिगिन्स’को काम सुरु हुने बताउँदै यसका लागि तयार रहन बेललाई भनेका थिए । त्यतिबेला बेलको वजन ५५ केजीभन्दा कम थियो ।
त्यति वजन भएको व्यक्तिले केही महिनाभित्र ‘ब्याटम्यान’जस्तो बलिष्ठ पात्रको भूमिकामा आफूलाई उतार्नुपर्ने थियो । दृढ संकल्प र अथक मेहनत गरियो भने जस्तै असम्भव काम पनि फत्ते गर्न सकिँदो रहेछ भन्ने उदाहरण बेलले पेश गरे । उनले आफ्नो वजन ४५ केजीले बढाए । निर्देशकले ज्यान अलिक भद्दा भयो भनेपछि उनले शरीरको वजन १८ केजीले कम गरी आफूलाई कसिलो र बलिष्ठ बनाए । यो सब उनले छ महिनाभित्र गरेका थिए । शरीरलाई सुगठित बनाउन उनले कार्बोहाइड्रेट र प्रोटिनयुक्त खाना बढी खाने, हरेक दिन घण्टौँ कुद्ने, ‘वेट लिफ्ट’गर्ने आदि गरेका थिए । ‘पहिलो दिन मैले एक पटक पनि ‘पुस–अप’ गर्न सकिनँ, किनकि म असाध्यै कमजोर भएको थिएँ, मेरो पाखुरामा मांसपेशी नै थिएन,’ एउटा अन्तर्वार्तामा उनले भनेका थिए ।

यति धेरै मेहनत र समर्पणका साथ गरेको कामले प्रशंसा नपाउने कुरै थिएन । ‘ब्याटम्यान बिगिन्स’ ब्लकबस्टर साबित भयो । यसले लक्षित दर्शकबाट मनग्गे प्रशंसा पायो । साथै बेललाई जस्तोसुकै पात्रको भूमिकालाई न्याय गर्ने ‘भर्सटाइल’ अभिनेताका रूपमा प्रमाणित गरिदियो ।
 

Leave A Comment