फैन्ड्रीलाई सम्झेर

शनिबार, २० कार्तिक २०७३, ११ : ३३ माधव ढुङ्गेल , Kathmandu
फैन्ड्रीलाई सम्झेर

चौध वर्षजतिको एउटा दलित विद्यार्थी उम्किएको सुँगुर समात्नलाई निकै बेरदेखि लखेटिराखेको छ । साथीहरू झोला बोकेर स्कुल जाँदै हुन्छन् । तैपनि उसले समात्न सकेको छैन । सुँगुर बाहुन गाउँ पसेपछि ऊ झनै आत्तिन्छ र ज्यान फालेर कुद्छ । समात्न समात्न मात्रै के खोजेको हुन्छ, स्कुलमा एक्कासि राष्ट्रगान सुरु हुन्छ । समात्नै लागेको सँुगुर छोडेर ऊ ठिङ्ग उभिन्छ । राष्ट्रगान सकिँदासम्म सुँगुर बेपत्ता भइसक्छ ।
यो दृश्य मराठी भाषाको चलचित्र ‘फैन्ड्री’ (सन् २०१४) को हो । निर्देशक नागराज पोपटरावको निर्देशनमा बनेको यो चलचित्र दलित मुद्दामा आधारित छ । दलित समुदायबाट आएका निर्देशक नागराजको करिब करिब आत्मकथा भन्न मिल्ने यस चलचित्रका बारेमा निर्देशकले जुन मर्मस्पर्शी बयान दिएका छन्, त्यसको सम्पादित अंशलाई यहाँ अनुवाद गरी राखिएको छ ः
फैन्ड्रीका सन्दर्भमा कुरा गर्न खोज्दा अनेक प्रकारका स्मृतिहरूको कोलाहल मच्चिन थाल्छ मनमा... । फैन्ड्री भन्ने शीर्षकसँगै बाल्यकालदेखिका अनेक सम्झना आँखासामु तैरिन थाल्छन् । जब ती दिनहरू सम्झन्छु, मनमा एउटा अनौठो डर र हीनताको सञ्चार हुन थाल्छ । यो हीनताको भावना खानदानी विरासत हो । जहिलेदेखि यसलाई थाहा पाउन थालेँ, अन्जानमै आफ्नो सीमाका बारेमा जानकारी पनि हुन थाल्यो ।
बच्चा बेलामा रामायण हेर्न जान्थेँ । त्यहाँ सबैको बस्ने ठाउँ निश्चित गरिएको हुन्थ्यो । म आफ्ना लागि तोकिएको ठाउँमा उभिएर राजा रामको मायावी चरित्रलाई हेर्ने गर्थें । त्यही बेलादेखि मनभित्र ‘नो इन्ट्री’को अदृश्य साइनबोर्ड लागेको पाउँथेँ । मनभित्र हीनताको बीज त्यही बेलादेखि रोपियो होला र उचित परिवेश पाएर त्यो हुर्कंदै आयो होला ।
त्यो कुन बेला थियो, मलाई यकिन छैन तर मेरो निर्दोष साहसमाथि अबोध उमेरदेखि नै अङ्कुश लागेको रहेछ । समाजले कहिलेदेखि हरेक मानिसको जाति र धर्म पहिचान गरेर पाइला चाल्न थाल्यो ? त्यो नपुंसक सहनशीलता, एउटा अन्धो शरणार्थीपनाले कहिलेदेखि मानिसको मस्तिष्कमा घर बसाउन थाल्यो, मलाई सम्झना छैन ।
स्कुलमा फारम भर्दा आमाबाबुको नाम बताउनुपथ्र्यो । मेरा आमाबाबुको नाम सुनेर कक्षाकोठा कुटिल हाँसोले, एउटा हिंस्रक हाँसोले गुन्जिन्थ्यो । जति सम्भव हुन्छ त्यति शिक्षकको नजिक गएर अरूले नसुन्ने गरी असाध्यै मसिनो आवाजमा फुसफुसाउँदै आफ्नो पहिचान बताउनु पर्दादेखि, सायद तेस्रो वा चौथो कक्षादेखि नै यो सहनशीलता वा भनौँ दब्बुपनाको विकास भएको हुनुपर्छ । आफ्नो पहिचान वा अस्तित्वको रूपान्तर हीन भावनामा हुन थालेपछि अरूलाई सुनाउने कुरा आफूसँग केही रहँदो रहेनछ ।
ठीकसँग भन्न सक्दिनँ, कहिलेदेखि मलाई आफ्नो नाम उच्चारण गर्न पनि डर लाग्न थाल्यो ? कुनै अपराध गरे जस्तो, अपराध भइसकेको जस्तो डर लगातार लागि नै रह्यो ।
मेरै उमेरका मेरा साथीहरूलाई मेरा बा सेठ, साहेब वा सरकार जस्ता शब्दले सम्बोधन गर्नुहुन्थ्यो । यसको प्रभावले पनि होला, मलाई आफ्नै उमेरका ती साथीसँग समानताको भावना राख्नु वा त्यस्तो समस्तरीय सम्बन्धको अपेक्षा गर्नु अतिरञ्जना लाग्थ्यो । घाँटीमा सुर्कनी बाँध्न कसैले ढिलो गरिदियो भने त्यही नै मेरा निमित्त मुक्ति हुन्थ्यो, स्वतन्त्रता ।
यस्तो नाकाबन्दीमा पनि सपनाका रूपमा सानातिना धमिला बाटाहरू देखिन्थे । एउटा जिन्स पाइन्ट, चाडबाडमा मीठोमसिनो खाने कुरा, घरमा बिजुली, पैतालामा चप्पल । यस्ता नौला र रमाइला दृश्य सपनामा आउँथे र सपनै जस्ता लाग्थे ।
तर, सपनाको न कुनै जाति हुन्थ्यो, न धर्म । अज्ञानी बालकझैँ निर्दोष भएर सपनाहरूले आआफ्ना इच्छा जाहेर गर्थे । अनि सुरु हुन्थ्यो सपना र हीन भावना बीचको पेचिलो सङ्घर्ष । सङ्घर्षमा सपनाहरूले हीन भावनासँग हार्नुपथ्र्यो, जहिले पनि ।
कलेज पुगेपछि एउटा पुरानै सपनाले फेरि ठुँग्न थाल्यो । कलेजमा सम्मानजनक व्यवहार होस्, इज्जत मिलोस् ।
पहिलो वर्षमा श्री माटे महोदयको एउटा कथा पाठ्यक्रममा राखिएको थियो । त्यस कथाको नायकले एउटा खलनायकलाई ‘ए, काले वडर !’ भनेर गाली गथ्र्यो । पाठ्यक्रमका सारा कथाहरू पहिले नै पढिहाल्ने मेरो बानी थियो । यही बानीका कारण पहिलो पल्ट कथा पढ्नेबित्तिकै मैले एउटा निर्णय लिएँ । जुन दिन कक्षामा यो पढाइ हुन्छ, त्यस दिन म अनुपस्थित हुनेछु ।
कथाको पढाइ सकियो होला भन्ने अनुमान गरी आठदश दिनपछि म कक्षामा हाजिर भएँ । तर, त्यही दिन शिक्षकले माटेजीको उक्त कथा पढाउन सुरु गर्नुभयो । र, जुन कुराको मलाई डर थियो, त्यही भयो । ‘ए, काले वडर... ’ भन्ने वाक्य शिक्षकले पढ्नुभयो । विद्यार्थी साथीहरू आफ्नो उम्किसकेको हाँसोलाई बलपूर्वक दबाउँदै मतिर हेर्न थाले । ईश्वरले जस्तो त्यहीँ बस्दाबस्दै अन्तध्र्यान भइदिऊँ । यस्तो त्यही बेला लागेको थियो ।
विपत्का बेलामा असफलताको भयले गर्दा मानिस यस्तै चमत्कारको आशा गर्दो रहेछ । ‘फैन्ड्री’का बारेमा बोल्नुपर्दा यस्तै विपत्को सम्झना हुन्छ । स्कुल नामको ‘भयालय’को सम्झना हुन्छ । यस्तै विपत्का बेलामा ती निर्दोष सपनाहरूको सम्झना हुन्छ, सपनाहरू टुक्रा टुक्रा भएर फुटेको सम्झना हुन्छ ...।
‘पैmन्ड्री’ को अर्थ के ? यो प्रश्न मसँग बारम्बार सोधिएको थियो । र, मैले आजसम्म टार्दै गएँ, कम्तीमा एक वाक्यमा फैन्ड्रीको अर्थ बताउने आँट गरिनँ ।
फैन्ड्री हाम्रै छेउछाउमा बाँचिरहेका जनजाति बोलीको शब्द हो । यो भाषा बोल्ने मानिसलाई हामी चिन्दैनौँ । तिनका दुःखसुख, तिनका सपना, तिनका वेदना, तिनका अस्तित्वको मानौँ हामीलाई कुनै अनुभवै छैन ।
तपाईं पैmन्ड्रीको अर्थ जान्न खोज्नुहुन्छ भने, कदाचित् तपाईंलाई यी उपेक्षित तुच्छ ठानिएका मानिसहरूको अस्तित्व, तिनको वेदना अनुभव भइदियो भने फैन्ड्री शब्दको अर्थ जान्ने तपाईंको चाहना र मैले बनाइराखेको रहस्य, यी दुबै फलीभूत हुनेछन् ।
खासमा फैन्ड्री कुनै रहस्य होइन । यो एउटा आमन्त्रण हो, निम्तो हो हामी सबैका लागि । तपाईं आउनुहोस् र स्वीकार गर्नुहोस् एउटा त्यस्तो कठोर यथार्थलाई जसलाई देख्नु नपरोस् भनेर हामी आँखा चिम्लिँदै भागिरहेका छौँ । जसलाई सधैँ सधैँ हामीले लुकाउँदै आएका छौँ, महारोगलाई जस्तै । मानौँ त्यो एड्स हो ।
तर जब यस रोगको उपचार हुनेछ, त्यसबेला हामी स्वीकार गर्ने छौँ, हामी रोगग्रस्त छौँ । तब मात्रै एक निरोग, ममतामयी बिहानीको सम्भावना तयार होला ।

Leave A Comment