सेक्स लत छुटाउन मनो परामर्श

शनिबार, २० कार्तिक २०७३, ११ : ४५ डा. रवि शाक्य , Kathmandu
सेक्स लत छुटाउन मनो परामर्श

मेरो श्रीमान् मसँग समय मिल्दा दिनकै तीन÷चारचोटिसम्म सेक्स गर्नुहुन्छ । उहाँका अरू पनि सेक्स पार्टनर छन् । यसले गर्दा हाम्रो दाम्पत्य जीवनै  टुट्लाजस्तो भइसक्यो । हामी डिभोर्स गर्ने अवस्थामा पुगिसकेका छौँ । जतिखेर पनि सेक्सका लागि तयार भइहाल्ने उहाँको बानी देखेर छक्क पर्छु । सेक्स बढी गर्न मन लाग्ने कुनै रोग हो कि ? मेरो श्रीमान्को यस्तो समस्याको कुनै उपचार होला ?
सी

तपाईंले प्रश्नमा उल्लेख गर्नुभएको विवरणका आधारमा तपाईंको श्रीमान्लाई ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (विचार र बाध्यताको दुश्चक्र)’ समस्या रहेको बुझ्न सकिन्छ । यस्तो समस्यामा मानसिक परामर्श दिनुपर्छ र बानीबेहोराको उपचार गर्नुपर्छ । तपाईंको श्रीमान्लाई सेक्सको लत लागेको बुझ्न सकिन्छ ।
यौन व्यवहार व्यक्तिको नियन्त्रणभन्दा बाहिर जानु नै सेक्स लत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै ध्वस्त हुन पुग्छ । सेक्सले लतको रूप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिसहरू प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरूले प्रायः असुरक्षित यौन सम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ ।
सेक्सको लत सामान्यतया १६ देखि  ४० वर्षसम्मका व्यक्तिलाई हुन सक्छ । यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट सुरु हुन्छ । कतिपय विवाहित पुरुषले विवाहपछि पनि यो लत छाड्न सक्दैनन् ।  यस्तो लत पुरुष र महिला दुवैमा हुन सक्छ । एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भधारण हुने गरेको पाइन्छ । सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध विच्छेद नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।
कुनै पनि व्यक्तिको यौन स्वभाव र व्यवहारको दायरा कस्तो र कुन स्तरको हुनुपर्छ भनेर किटान गर्न कठिन हुन्छ । तर, दिमागमा जतिखेर पनि सेक्सकै मात्र कुरा आउने, कम तथा बढी उमेर भएकासँग सेक्स गर्न मन पराउने, भर्जिन तथा नयाँ पार्टनरमात्रै खोज्दै भौँतारिने काम कसैले गर्छ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ ।
कुनै एक समय, परिस्थिति वा समाजमा सामान्य लाग्ने सेक्स व्यवहार अर्कोमा पूर्णतया असामान्य लाग्न सक्छ । कुनै एक व्यवहार अस्वाभाविक, अप्राकृतिक देखिएता पनि समग्र यौन व्यवहारको थोरै अंशमात्र भएमा वा यौन सन्तुष्टिको मुख्य माध्यम नभएमा असामान्य नहुन सक्छ । त्यसैले सेक्स एडिक्सनका बारेमा मेडिकल साइन्सले पहिलेदेखि नै परिभाषा गरे पनि यसको उपचार विधि र कुन स्तरको कुलत हो भनेर किटान गरेर मापन गर्न कठिन हुन्छ । जुनसुकै कुराको पनि अधिक चाहना गर्नु र त्यसका कारण व्यक्तिगत काममा अवरोध सिर्जना हुनुलाई लत वा कुलतको रूपमा बुझ्नुपर्छ ।
यौनले मानिसको दैनिकी, सामाजिक अवस्था, पेशागत परिस्थिति तथा सम्बन्धहरूमा असर गरिरहेको छैन भने त्यो समान्य अवस्था हो । तर, नियन्त्रणमा नै लिन सकिन्न, रोक्न खोज्छु भन्दा पनि सकिन्न र यस्तो कार्यमा संलग्न भइ नै रहिन्छ भने त्यो लत मात्र होइन, कुलत हो । सेक्सुअल एडिक्सन अलग्गै रोग होइन तर अरू समस्याले निम्त्याउने समस्या हो । यस्तो अवस्थामा मानिसको दिमागमा सेक्सकै मात्र धारणा आइरहने हुन्छ ।
महिलामा बोर्डर लाइन पर्सनालिटी भन्ने समस्या हुन्छ । यो भनेको आवेग र अस्थिर मुड हुने समस्या हो । यो अवस्थामा महिलामा पटकपटक यौनको चाहना हुने, धेरै सम्पर्क गर्नुपर्ने हुन्छ । यस्ता महिलाले आफूलाई सधँै एक्लोपन महसुस गर्ने गर्छन् । त्यही भएर उनीहरू आफ्नो एक्लोपन हटाउने उपयुक्त माध्यम भनेको नै यौन हो भन्ने सोच्ने हुन्छन् र सम्पर्कमा जाने गर्छन् । उनिहरू जो कोहीसँग पनि सेक्स गर्न सक्छन् । तर, जति धेरै सम्पर्क गरे पनि उनीहरूले सन्तुष्टि भने पाउन सक्दैनन् ।
पुरुषहरूमा पनि यस्तो खालको समस्या हुने गर्छ । पुरुषमा हुने यस्तो समस्यालाई एन्टी सोसियालिजम पर्सनालिटी अर्थात् असामाजिक व्यक्तित्वको समस्या भनिन्छ । यस्तो समस्यामा पुरुषलाई अरूले देख्छन्, पीडा हुन्छ, लाज लाग्छ भन्ने केही हुन्न । उनीहरूको दिमागमा सेक्स नै खेलिरहने र डर पनि नहुने भएकाले जो कोही पनि उनीहरूको शिकार हुन सक्छन् ।
 

 

Leave A Comment