फ्राइडे रिलिज

बिहिबार, २५ कार्तिक २०७३, ११ : ०७ शुक्रवार , Kathmandu
फ्राइडे रिलिज

जात्रा
फिल्म ‘पशुपतिप्रसाद’मा ‘भष्मे डन’को भूमिका निर्वाह गरेर चर्चा आर्जन गरेका अभिनेता विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म ‘जात्रा’ शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । आर्थिक अभाव झेल्दै राजधानीको असनमा सानोतिनो व्यापार गरिरहेका तीन युवाले एक्कासि ठूलो रकम भेट्टाएपछि उत्पन्न परिस्थिति फिल्मको मुख्य विषय रहेको निर्देशक भट्टराईले बताए । फिल्ममा विपिन, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाले तीन फरक पेशा अँगालेका युवाको भूमिका निर्वाह गरेको उनले जानकारी दिए । पहिलोपल्ट फिल्म निर्देशन गरेका प्रदीपले नै फिल्मको पटकथा तयार पारेका हुन् । फिल्ममा प्रकाश घिमिरे, वर्षा राउत, प्रेक्षा वज्राचार्य, प्रवीण खतिवडा आदि कलाकारले पनि अभिनय गरेका छन् ।

जंगबहादुरको कोट
आशिष भेटवाल निर्देशित फिल्म ‘जंगबहादुरको कोट’ शुक्रवारबाटै सार्वजनिक प्रदर्शनमा आउँदैछ । यो फिल्मको कथा ऐतिहासिक पात्र जंगबहादुरको कोटको खोजीमा घुमेको बताइएको छ । फिल्मको पटकथा निर्देशक भेटवाल स्वयंले तयार पारेका हुन् । सस्पेन्स थ्रिलर भनेर प्रचार गरिएको फिल्ममा विमलेश अधिकारी, अनुप बराल, आलोक कार्की, विश्व बस्नेत, सुचित्रा आचार्य, समीक्षा अर्याललगायत कलाकारले अभिनय गरेका छन् । कालीप्रसाद बाँस्कोटा र विनोद घिमिरेको संगीत रहेको फिल्मको छायांकन नेपाल र अस्टे«ेलियाका विभिन्न स्थानमा गरिएको बताइएको छ ।

 

Leave A Comment