‘बूढी देखिन हातमा माड लगाएँ’

शनिबार, २७ कार्तिक २०७३, ११ : ५१ अनिल यादव , Kathmandu
‘बूढी देखिन हातमा माड लगाएँ’

रंगमञ्चमा परिचित नाम हो, रविन्द्रसिंह बानियाँ । १६ वर्षदेखि नाटकमा काम गरिरहेका उनी फिल्ममा भने निश्चल बस्नेतको ‘टलकजंग भर्सेस टुल्के’बाट देखिएका हुन् । उनले हालसम्म आधा दर्जनजति फिल्म र दर्जनौँ नाटकमा अभिनय गरेका छन् । फिल्म ‘पशुपतिप्रसाद’मा हनुमानको मखुन्डो भिरेर अभिनय गर्ने व्यक्ति पनि उनै हुन् । उनी अभिनीत फिल्म ‘जात्रा’ शुक्रवारदेखि रिलिज हुँदैछ । फिल्म र नाटकमा अहिलेसम्म निर्वाह गरेका आफ्ना प्रिय केही भूमिकाबारे उनले अनिल यादवसँग कुरा गरेका छन् ः

विनय बाबुसाहेब
फिल्म ‘टलकजंग भर्सेस टुल्के’मा मैले निर्वाह गरेको पात्र हो यो । कथित सम्भ्रान्त परिवारमा हुर्किएको व्यक्तिको स्वभाव यो चरित्रमा थियो । राजनीतिक परिवर्तन भइसक्दा पनि सत्ता र सम्पत्तिमा परिवर्तन आइसक्दा पनि आफ्नो अहं र अहंकारलाई यो पात्रले कहिल्यै परिवर्तन गर्न चाहेन । ‘म त मै हुँ नि’ भन्ने खालको स्वभाव उसमा थियो । आफूलाई धनी र ठूला ठान्नेहरूले कसरी परिवर्तनलाई स्विकार्दैनन् रहेछ भन्ने कुराको मलाई यो पात्र निर्वाह गर्दैगर्दा महसुस भएको थियो । यो पात्र मर्नुभन्दा अघि कहिल्यै हाँसेन । उसको मृत्युपछि झुन्डाइएको फोटोमा मात्र ऊ हाँसेको थियो । मलाई सुरुमा यो पात्रका लागि निर्देशक निश्चल बस्नेतले पत्याएका थिएनन् । मजस्तो ‘सफ्ट’ मान्छेले यस्तो क्यारेक्टर गर्न सक्छ भन्नेमा उनलाई शंका थियो ।  अडिसन दिएरै म छनोट भएको थिएँ । फिल्म रिलिज भएपछि धेरैले ‘राम्रो काम’ भने ।

हनुमान
मैले सोचेभन्दा बढी चर्चामा आयो, फिल्म ‘पशुपतिप्रसाद’को यो क्यारेक्टर । यो पात्रबारे रिसर्च गर्दाखेरिदेखि नै म योसँग नजिक भइसकेको थिएँ । पात्रसँग जति समानता मिलाउन सकिन्छ, त्यति नै त्योसँग नजिक हुन सजिलो हुँदो रहेछ । सुटिङमा जतिबेला म ‘हनुमान’को मखुन्डो लगाउँथेँ, त्यतिबेला मलाई पात्रकै चरित्र आफूमा भएको अनुभूति हुन्थ्यो । मैले पनि हनुमानजसरी नै रविन्द्रसिंह बानियाँकै स्वरूपमा कतिको चित्त दुखाएँ होला, कति गलत काम गरेँ होला भन्ने लाग्थ्यो । यो पात्रको सबैभन्दा राम्रो पक्ष भनेकै पश्चात्ताप गर्नु हो । समस्यासँग भागेर हुँदैन र वास्तविकतालाई सामना गर्नुपर्छ भनेर जसरी उसले फिल्ममा पशुपतिप्रसादको मृत्युपछि आफ्नो मखुन्डो खोल्यो, त्यो सबैभन्दा ठूलो कुरो थियो । मलाई नजिक फिल भएको पात्र हो यो ।  

सुरज

रिलिज हुने तयारीमा रहेको फिल्म ‘ह्वाइट सन’मा मैले निर्वाह गरेको चरित्र हो यो । जागिर छोडेर भागेको आर्मीको भूमिका निर्वाह गरेको छु । गाउँमा मेरा दाइहरू पनि यसरी लडाइँको बेलामा डराएर विस्थापित भएर बसेका थिए । गाउँको प्रधानपञ्चको छोरोको भूमिका निर्वाह गरेको छु । उसलाई ठालुपनले कहिल्यै निहुरिन दिँदैन । ऊसँग पहिलेजस्तो अधिकार पनि छैन तर पनि अहंकार छोड्दैन । उसको पहिलेजस्तो अस्तित्व नभए पनि ऊ अझै सानमान होस् भन्ने चाहन्छ । सुरजमा मलाई वरिपरि देखिरहेको थुप्रै क्यारेक्टरहरूको झल्को आउँछ ।

जोएस
यो फिल्म ‘जात्रा’को क्यारेक्टर हो । खास नाम चाहिँ जयराम भए पनि यसलाई सबैले जोएस भनेर बोलाउँछन् । जोएस नाटकको विद्यार्थी हुन्छ, जो आर्थिक दुरावस्थाका कारण अभिनयलाई निरन्तरता दिन सक्दैन र व्यवसाय गर्न थाल्छ । तर, पनि फिल्म गर्ने इच्छा उसमा हुन्छ । अडिसनमा पनि बेलाबेला जाने गर्छ । पसल छाडेर भए पनि नाटकको रिहर्सलमा बेलाबेला पुग्ने गर्छ । खासगरी यो मेरा साथीहरूको वास्तविकता पनि हो, जसलाई मैले निर्वाह गर्ने कोसिस गरेको छु । गुरुकुलमा मसँगै अध्ययन गरेका २० जना विद्यार्थीमध्ये अहिले तीनचार  जनामात्र अभिनयमा छन् । बाध्यताले अरूलाई कताकता पु¥यायो ।

फुपूदिदी
पाँच वर्षअघि गुरुकुलमा मञ्चन भएको खगेन्द्र लामिछानेको नाटक ‘पानी फोटो’मा मैले निर्वाह गरेको क्यारेक्टर हो फुपूदिदी । भूमिका निकै छोटो थियो तर चुनौतीपूर्ण । मैले बोल्न नसक्ने लाटी फुपूदिदीको भुमिका निर्वाह गरेको थिएँ । महिला क्यारेक्टर भएकाले बोल्नेबित्तिकै पोल खुल्थ्यो ।  ७० वर्षको वृद्धाजस्तै देखिन मैले गेटअपमा निकै मेहनत गरेको थिएँ । चाउरी परेको देखाउन हातमा माड लगाउँथेँ । यो भूमिका निकै प्रशंसित भएको थियो ।

रविन्द्र
नर्वेका मोर्टन क्रोबले निर्देशन गरेको नाटक ‘ताराबाजी लैलै’मा सबैले आ–आफ्नो वास्तविक परिचयमा काम गरेको थियौँ । सबै विद्यार्थीको बाल्यकालको कथालाई मिसाइएर बनाइएको नाटक थियो । खेल्दा पनि एकदम मज्जा लागेको थियो । दुई सयभन्दा बढी त सो नै भएको थियो । नाटकमा मैले यस्तो चरित्र निर्वाह गरेको थिएँ, जो हल्ला गर्दा सबैभन्दा ठूलो स्वरमा बोल्छ तर सरले कक्षामा कुनै प्रश्न सोध्दा चाहिँ चुइँक्क आवाज निकाल्दैन । पात्रमा मैले आफ्नोपन पाएको थिएँ ।

Leave A Comment