गलैँचा बुन्नेहरूको गीत
आङ्निमा जब तान छुन्छे
सबैभन्दा पहिले ऊ परिवारको भात बुन्छे, दाल बुन्छे
आङ ढाक्ने थोरै कपास बुन्छे ।
अनि आकाश बुन्छे, बतास बुन्छे
जून बुन्छे, घाम बुन्छे
अलिकति देशको नाम बुन्छे ।
पानी, खोला, पहाड, कुइरो
चराचुरुङ्गीको आवाज, माटोको गन्ध
जङ्गलको मीठो सुसेली बुन्छे ।
आङ्निमा जब तान छुन्छे ।
इतिहास–पुरुष
उनीहरू जब बोल्छन्
उनीहरूको मुखुण्डो मात्र बोल्छ
मुख बोल्दैन ।
उनीहरू जब हिँड्छन्
उनीहरूको जुत्ता मात्र चल्छ
पैतला चल्दैन ।
त्यसैले हो क्या’ र
उनीहरूको बोली समाचार बन्छ
लाखौँ बिक्छ ।
उनीहरूको जुत्ता
म्युजियमको शोभा बन्छ
युगौँ टिक्छ ।
गणेशः वसन्तपुर दरबार स्क्वायर
गनेस र काली
पर्यटकहरूका अगाडि हात फैलाउँछन्
दरबार स्क्वायर वसन्तपुरमा ।
गनेसको बाउ शिवे
बिहान उठेदेखि नै टन्न जाँड धोक्छ
र गनेसेकी आमा पारबतीलाई लात्तैलात्तले भकुर्न थाल्छ ।
जुठा भाँडा माझिहिँड्छे÷साहूहरूका घरहुँदी
कालीकी आमा ।
पछिपछि लाग्दै आएका
टुहुरी काली र खाते गनेसतिर हेर्दै
अचम्भित हुन्छन् विदेशी पर्यटकहरू
ढुङ्गे प्राङ्गणमा हनुमान्ढोकाको ।
फुच्चे गनेस खाइलाग्दी कुइरिनी तरुनीलाई
मन्दिरको टुँडालतिर हेर्ने सङ्केत गर्छ
जहाँ कुँदिएका छन् काठमा– सम्भोगका थरीथरी आसनहरू ।
कुमारी कुइरिनी दङ्ग पर्छे नग्न कामकला हेरेर
र गनेसको हातमा थपक्क राखिदिन्छे दस रुप्येँ दाम
अनि हाँस्दै खिच्न थाल्छे कामक्रीडाका तस्बिरहरू ।
श्रम–गीत
कसैले थाहा नपाउने गरी
आँखामा हराएको छ एउटा महानगर
कसैले चाल नपाउने गरी
छातीमा खनिएको छ एउटा पोखरी
कसैले बुझ्नै नसक्ने गरी
ओठमा बिलाएको छ एउटा उपत्यका
कसैले पढ्नै नभ्याउने लिपिमा
हत्केलामा कुँदिएका छन् कविता
आँखामा छ प्रेमको महानगर
छातीमा घृणाको पोखरी
ओठमा तिम्रै– गीतैगीतको उपत्यका
अनि हत्केलामा श्रमका ठेला–गिर्खाका
शब्दहरूले कुँदिएका कविता
म
पूर्ण हुन चाहन्छु
मान्छेको चोलामा
तिम्रो प्रेमलाई
र
श्रमलाई
श्रद्धा गर्दै... ।
पञ्चमहाभूतः एउटा वातावरण कविता
चराहरू आकाशतिर उडे
र आकाश भए
वायु–वेगमा कुदिहिँड्ने वन्यजन्तुहरू
वायु भए
मान्छेहरू माटामा लडीबुडी गरिरहे
र माटो नै भए
माछाहरू पानीमा सलबलाइरहे
र पानी नै भए
बिचरा रूखहरू व्यर्थमा सल्काइए, डढाइए
र आगो भए
तर
चरा
वन्यजन्तु
मान्छे
माछा
र रूखका असल आत्माहरू
डढ्न सकेनन् र तेज भए
अनि तिनैबाट बन्यो सूर्यको उज्यालो
नक्षत्रहरूको नीलो झिलमिल रचियो
०००
तर
कवि— न चरा बन्न तयार थियो
न माछा बन्न
न मान्छे बन्न तयार थियो
न माटो बन्न
त्यसैले
कवि— सुस्केरा बन्यो
संवेदना बन्यो
अक्षर बन्यो ।
विद्रोह
तिमीले त्यो शब्द सुनेका छौ ढाक्रे दाइ ?
जसले संविधान मान्दैन
मर्यादा जान्दैन
संयमलाई चिन्दैन
महान्लाई गन्दैन
ठालु हो भन्दैन ।
तिमीले त्यो शब्द सुनेका छौ
ज्यामी दाइ ?
तिमीले निश्चय त्यो शब्द सुनेका छैनौ
भरिया दाइ !
किनकि—
तिमी सिंहासन मान्छौ—ऊ मान्दैन
तिमी रवाफ देखेर कहालिन्छौ—ऊ कहालिन्न
तिमी मर्न डराउँछौ—ऊ डराउन्न
तिमी मुन्टो निहुराउँछौ–ऊ नुघाउन्न
तिमी तर्किन्छौ÷ऊ पड्किन्छ
तिमी तर्सिन्छौ÷ऊ बर्सिन्छ
तिमी चर्किन्छौ÷ऊ गर्जिन्छ
तिमी चुँडिन्छौ÷ऊ बरु झुँडिन्छ । गिँडिन्छ । रेटिन्छ ।
तर सहजै मेटिँदैन ।
आँटिलो मान्छेलाई
सूर्यले सापटी दिने गर्छ आफ्नो तेज, उष्मा र ऊर्जा
अन्धकार लखेट्न
र कम्जोर मान्छेका मुट्ठीहरू पनि
कसिन्छन् दह्रो गरी
जसलाई पाएर
चिनिराखे है हली दाइ
त्यो विद्रोह हो ।
दरिद्र
गाली र गोलीका माझबाट
भिक्षा र झोलीका माझबाट
भीड र नाराका माझबाट
मुस्कान र दाह्राका माझबाट
ऊ यौटा कम्जोर शब्द हो त्यसैले
सबथोक सहन्छ । नुघ्छ । खुम्चिन्छ ।
आँखा नजुझाई
ठूल्ठूला शब्दहरूको छेउ लागी सहजै गुज्रिन्छ ।
चिनामा उसको नाम लेखिएको रहेछ
‘दरिद्र’ ।
ऊ त्यस्तो बारुद हो, साथी हो !
भोकले ओस्सिन्छ
चोटले ओस्सिन्छ
अपसोचले ओस्सिन्छ
खोस्सिन्छ ओस्सिन्छ
दोषिन्छ ओस्सिन्छ
होच्चिन्छ ओस्सिन्छ
चिमोटिन्छ ओस्सिन्छ ।
हेप्पिँदा–हेप्पिँदै
विद्रोहले तताउँछ
र सबै सखाप पार्ने गरी
ऊ एक्कासि पड्किन्छ ।
ऊ त्यस्तो बारुद हो, साथी हो ।
Leave A Comment