‘मेरा गीत दालभातजस्ता’

आइतबार, ०५ मङि्सर २०७३, ११ : ३२ डिबी खड्का र अनिल यादव , Kathmandu
‘मेरा गीत दालभातजस्ता’

अहिले ‘निर जहिल्यै रिसाउने’ गीत भाइरल भइरहेको छ । यसअघि ‘पारि त्यो डाँडामा’ सारा डाँडापाखा नाघेर नेपाली संगीतप्रेमीका कानसम्म पुग्यो । भर्खरै रिलिज गीत ‘ठमेल बजार’ हिट भइरहेको छ । यी गीत लेख्ने, संगीत गर्ने र गाउने मान्छे हुन्, कालिप्रसाद बाँस्कोटा । यसअघिका चर्चित गीत ‘लैजा रे’, ‘चाहना सकियो’ जस्ता गीतमा शब्द र संगीत उनकै थियो । बाँस्कोटासँग डिबी खड्का र अनिल यादवले अन्तरंग कुराकानी गरेका छन् ।

तपाईंका गीत यति मन पराइनुको कारण के हो ?
खानेकुरामा मान्छेका रोजाइ अनेक होलान् । तर, दालभात–तरकारी मन पर्दैन भन्ने निकै कम भेटिन्छन् । त्यस्तै हुन् मेरा गीत । हाम्रो आफ्नै मौलिक कुरालाई सबैलाई मन पर्ने तरिकाले पस्केको छु । यस कारण सबैले मन पराइदिनुभएको होला । दालभात भन्नुको अर्थ लोकसंगीत हो । जुन सबैको रगतमा छ । सबैको परम्परागत संगीत हो । तर, यसलाई कसरी पस्किने ? वा कसरी पस्किँदा सबैले रुचाउलान् भन्ने कुरालाई मैले ख्याल गरेको छु ।
तपाईं संगीत वा शब्द कहाँनेर बढी ‘दालभात’ मिसाउन खोज्नुहुन्छ ?
म नेपाली स्वाद शब्द र संगीत दुवैमा खोजिरहेको हुन्छु । पस्किने शैली मात्रै अलि फरक हो । नेपाली तरिकाले नै पस्किने कि अलि फरक तरिकाले पस्केर नयाँ मेन्यू बनाउने भन्ने आफूले रोज्ने कुरा हो । म दालभातलाई नयाँ मेन्यू बनाएर पस्किरहेको छु । जहाँ आफ्नोपन र परिवर्तन दुवै रुचाउनेका लागि स्वाद भेटिएको छ ।
‘निर जहिल्यै रिसाउने’ मा आफ्नो अनुभव कति छ ?
म गाना बनाउँदा सबैको कथा कसरी मिसाउने भन्ने सोच्छु । यसमा पनि सबैको अलिकति भोगाइ मिसिएको छ । रिसाउने र फकाउने काम निरन्तर हुन्छ । यसमा मेरो, अर्काको भन्दा पनि सबैको अनुभव छ । त्यसैले सबैले मन पराइरहनुभएको छ । आफ्नै ठानेर नाचेर र गाएर ‘कभर’ गरिरहनुभएको छ ।
तपाईंका गीत (पारि त्यो डाँडामा, निर जहिल्यै रिसाउने) ‘लिरिकल’ नै हिट हुन्छन् । राम्रा गीत हिट हुन भिडियो नचाहिने रहेछ ?
मेरा यी गीतमा मुड छ । त्यसैले हेर्नका लागि बनाइएको युट्युबमा मेरा गीत सुनिन्छन् । अहिले बजारमा एउटा भ्रम छ, गीत चल्नका लागि राम्रो भिडियो चाहिन्छ भन्ने । अझ राम्रो भिडियो बनाउने मान्छेसँग बनाउने, राम्रा मोडल राख्ने र मिडियाका मान्छेबाट बनाउने लगायतका चर्चा हुन्छन् । यी त आफैँ हिँड्न नसक्नेलाई बैसाखी टेकाउने कुरा हुन् । सबल गीत आफैँ कुद्छ । गीत हेर्ने जमाना आयो भन्ने कुरालाई गलत साबित गरिदिए मेरा गीतले । म कहिल्यै पनि गीत बनाउँदा भिडियोमा केन्द्रित हुन्नँ । किनकि, आफ्नो काम जति हो, त्यति गर्ने । गीत राम्रो लेख्ने, संगीत राम्रो गर्न खोज्ने । त्यही गरिरहेको हुन्छु ।
तपाईंको मान्यता गीत सुन्नलाई नै बनाउने हो !
हो, गीत कानकै लागि बनाउनुपर्छ । आँखाका लागि होइन ।
तपाईंका  स्वतन्त्र गीत छैनन् । यी भाइरल गीतहरू पनि होइनन् । गीतले फिल्मको कथा बोकिदिनुपर्दा पनि हिट हुनुको रहस्य के हो ?
मुख्य चुनौती गीत फिल्ममा फिट हुनुपर्छ । मलाई कमर्सियल रूपमा हिट र फिल्मका लागि फिट गीत बनाउनुुपर्छ । त्यसैले म फिल्मका बारे बुझ्छु र शब्द, संगीत दुवैको जिम्मा लिन्छु । धेरैले मलाई सजिलै कुरा बुझ्ने संगीतकारकै रूपमा लिनुुहुन्छ ।
त्यत्रो समयदेखि संगीत गर्नुभयो । कति गीत हिट छन् तर सबैले चिन्नका लागि गीत गाउनुप¥यो है ?
सन् २००८ देखि नै चलेको संगीतकार थिएँ । तर मान्छेले चिनेनन् । फिल्म ‘मञ्जरी’, ‘भिसा गर्ल’, ‘मालतीको भट्टी’लगायतका गीत पनि चलेका थिए । सबैले चिन्न गाउनैपर्ने रहेछ ।
यत्रो वर्ष संगीत मात्रै गरेर बसेको मान्छेमा गाउने मुड कसरी चल्यो ?
फिल्म ‘रेशम फिलिली’को ‘जालमा’ भन्ने गीतमा त्यो शैलीको गाउने मान्छे नपाएर मैले आफैँले गाएँ । मान्छेले मन पराए ।
संगीत क्षेत्रमा आउनेहरूको सुरुको रुचि गाउने नै हुन्छ । तपाईंको पनि गाउने रुचि थियो ?
सानैदेखि रेडियोका गीत सुनेर दुरुस्तै गाउने भएकाले गायक नै बन्छु भन्ने थियो । एक दिन रेडियोमा गीत गाएरै छाड्छु भन्ने लक्ष्य लिएको थिएँ सानोमा । दुइटा जति गीत आफ्नै शब्द, संगीत र स्वरमा रेकर्ड गरेँ । मेरो स्वर मलाई नै मन परेन । बरु कम्पोजिसन र शब्द मन परे । म कम्पोज गर्नतिरै लागेँ । अरूले पनि रुचाए । मेरो स्वर चल्दा पनि मलाई खतरा गायक भएँ भन्ने भ्रममा छैन । म भर्सटायल गायक होइन । मलाई सुट हुने गायकी पत्ता लगाउन मलाई १५ वर्ष लाग्यो । अर्थात्, आफूलाई गायकका रूपमा चिन्न यत्रो समय पर्खिनुप¥यो ।
तपाईं पूर्णकालीन संगीतमा लागेको कति भयो ?
जम्मा दुई वर्ष भयो । त्यसअघि जागिरबाट फुर्सद भएको समयमा संगीत गर्थें ।
के काम गर्नुहुन्थ्यो ?
तिलगंगा आँखा अस्पतालमा मोतीबिन्दु भएकालाई प्रयोग गरिने लेन्स बनाउने प्राविधिक थिएँ । यो काम १५ वर्ष गरेँ ।
व्यस्तता बढेपछि छाडियो ?
मैले आजको दिनको अपेक्षा गरेकै थिइनँ । मेरो जीवनमा पछिल्ला दुई वर्षमा अनपेक्षित घटना भए । कार्यक्रममा, संगीतमा व्यस्त भएपछि जागिर छाड्नुप¥यो ।
त्यसअघि गीतसंगीत गरेर जीवन निर्वाह गर्न सकिन्छ जस्तो लागेको थिएन ?
मैले कहिल्यै गीतसंगीत बेच्नका लागि बनाइनँ । त्यसैले यसबाट आएको आम्दानीले जीवन निर्वाह हुन्छ भन्ने सोच आएन । अहिले पनि आएको काममध्ये १० प्रतिशत मात्रै लिन्छु । किनभने, म व्यापारका लागि होइन, संगीत आफ्ना लागि गरिरहेको हुन्छु ।
तर, अहिले त तपाईंको संगीत महँगोमा बिक्यो नि ?
मेरो संगीत बिकेको होइन, इमानदारी बिकेको हो । मैले इमानदारीपूर्वक संगीतका लागि गरेको प्रयास सफल भएको हो । संगीत बजारमा अहिले कम पाइने भनेकै इमानदारी हो । बजारको नियमै के छ भने जे कम पाइन्छ, त्यो महँगोमा बिक्छ ।  संगीतमा पनि इमानदारी मिसाउँदा बिक्दो रहेछ ।
तपाईंको गीतमा ‘निर’, ‘परान’ जस्ता शब्द छन् । आफ्नै गाउँठाउँमा बोलिने शब्द हुन् कि सुनेका ?
म कीर्तिपुरमा जन्मेहुर्केको हुँ । त्यसैले ‘परान’ हाम्रो काँठ क्षेत्रमा श्रीमती वा प्रेमिकालाई सम्बोधन गर्ने शब्द थियो । ‘निर’ त गीत गाउँदा गन्धर्वले प्रयोग गर्ने शब्द हो । सायद यो निरमायाको छोटो रूप हो । ‘लुट–२’को ‘ठमेल बजारमा’ गीतमा काँठको दोहोरीलाई मोडिफाई गर्ने प्रयास गरेको छु ।
अहिले त चल्तीको मान्छे । कामको स्पिड बढाउनु परिरहेको होला ?
म कामको स्पिड बढाउनै सक्दिनँ । जति गरेँ र गरिरहेको छु, यतिमै ठीक छु । मैले धेरै काम गरेको छैन, जम्मा ५०/६० वटा गीत पुगे होलान् । तर, मान्छेले रुचाएका छन् । संख्या बढाएर के गर्नु ?
आफ्ना गीतको लोकप्रियता पछ्याउन मुश्किल परिरहेको होला ?
त्यस्तै भइरहेको छ । मेरो अनुहारले त कसैले चिन्दैन । मेरो नाम केहीलाई थाहा छ । कार्यक्रममा जाँदा पनि यो गीत कतिपल्ट सुनिसकेकाहरू आएर सोध्छन्, ‘तपाईंले पो गाउनुभएको हो ?’ भनेर । मेरा गीत यति पर पुगिसके कि अब पछ्याउन खोजे पनि भेटाउन सक्दिनँ ।
फिल्म र कलेक्सन एल्बमका लागि संगीत गर्नुभयो । आफ्नै एल्बम बनाउने सोच कहिल्यै आएन ?
सधैँ अरूका लागि काम गरेँ । त्यतै सन्तुष्ट भएँ । आफ्ना लागि कस्तो बनाउने भनेर अलमलिएँ पनि । अब भने एउटा आफ्नै लागि पनि एल्बम बनाउने सोचमा छु ।
अहिले त गायक–गायिका ‘यति अवार्ड पाएँ’ भनेर लोकप्रियतासँग दाँज्छन् । तपाईंले कति अवार्ड पाउनुभयो ?
म ‘अवार्ड फ्रेन्ड्ली’ मान्छे होइन । भर्खरै भएका दुई अवार्डमा पनि मलाई कार्यक्रममा उपस्थित हुने भए अवार्ड दिन्छु भने आयोजकले । मलाई तरिका मन परेन । मेरो गलत फाइदा उठाउँदैछन् भन्ने लाग्यो । त्यसैले कार्यक्रममा उपस्थित भइनँ  । अवार्ड पाइनँ । नारायणगोपाल, गोपाल योञ्जन, मेलवादेवी, तारादेवीहरूले कति अवार्ड पाए ? कसैले थाहा छ ? कति गीत गाए र कस्ता गाए, सबैलाई थाहा छ । त्यसैले म अवार्डलाई महŒव दिन्नँ ।

 

Leave A Comment