माइनसमा बेचिँदै भारु

सोमबार, ०६ मङि्सर २०७३, ११ : ४७ पुष्पराज जोशी , Kathmandu
माइनसमा बेचिँदै भारु

शमशेरगञ्ज, बाँकेका भूपेन्द्र विकले मंगलवार आफूसँग भएको पाँच हजार भारतीय रुपैयाँ दिएर पाँच हजार नेपाली रुपैयाँ साटे । भारतीय रुपैयाँ नचल्ने थाहा पाएपछि सीमावर्ती बजार रूपैडिहा पुगेर उनले पाँच हजार भारुमा पाँच हजार नेरु साटेका हुन् । उनी जस्तै कालिकोटका राजेन्द्र शाही पनि भारतीय रुपैयाँ साट्न मंगलवार नेपालगञ्ज झरे । उनले आफूसँग भएको १० हजार भारतीय रुपैयाँसँग १० हजार नेपाली रुपैयाँ साटे ।
विक र शाही मात्रै हैनन्, हिजोआज नेपालगञ्ज सीमा क्षेत्रमा भारतीय रुपैयाँको नोट दिएर सोही दरको नेपाली नोट लिन खोज्नेको भीड लागेको छ । भारत सरकारले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि भारतबाट काम गरेर फर्केका र काम विशेषले भारतका विभिन्न शहर जाने नेपाली भारतीय रुपैयाँको दोहोरो मारमा परेका छन् । भारतीय पाँच सय र एक हजारका नोट साट्ने र नेपाली रुपैयाँ दिएर भारतीय नोट लिने नेपाली दोहोरो चपेटामा परेका हुन् । भारतीय व्यापारीले भारु पाँच सय र एक हजारका नोट साटेबापत दोब्बर नेपाली रुपैयाँ लिने गरेका हुन् । भारतबाट घर फर्कने नेपाली एक हजार र पाँच सय भारतीय रुपैयाँ दिएर त्यही दरको नेपाली रुपैयाँ लिन बाध्य छन् । त्यस्तै नेपालबाट  उपचार र कामको सिलसिलामा भारत जानेहरू एक हजारको नेपाली नोट दिएर भारतीय पाँच सय तथा दुई हजार नेपाली दिएर एक हजार भारतीय रुपैयाँ लिन बाध्य छन् ।
उपचारका लागि भारतको लखनऊ जाने तयारीमा रूपैडिहा भेटिएका कचनापुरका नरेश केसीले नेपाली रुपैयाँ दोब्बर दिएर भारु नोट लिएको बताए । पाँच हजार भारतीय रुपैयाँ लिन १० हजार नेपाली रुपैयाँ तिरेको बताउँदै उनले भने, ‘पाँच सय र एक हजारका नोट चल्दैनन् । दुई हजार र सानो नोट लिन भारतीय नोटलाई दोब्बर नेपाली रुपैयाँ दिनुप¥यो ।’ भारतीय पाँच सय र एक हजारको नोट बन्द गरेको मौकामा भारतीय बजारमा नेपाली सटहीको दोहोरो मारमा छन् । मुनाफाका लागि भारतीय रुपैयाँ खरिद र बिक्री गर्ने दलालबाट नेपाली मारमा परेका हुन् । भारतीय रुपैयाँको कृत्रिम अभावले भारत जाने र उताबाट फर्कने नेपाली, बिरामी, व्यवसायी हैरानी खेप्न बाध्य छन् ।
भारतबाट काम गरी फर्केका नेपालीसँग भारतीय पहिचान खुल्ने कुनै परिचय पत्र नहुँदा पाँच सय र एक हजारका नोट साट्न पाएका छैनन् । नेपालमा पाँच सय र एक हजारका भारतीय नोट सटही र कारोबार बन्द छ । जसका कारण भारतीय रुपैयाँ ल्याएर फर्केका नेपाली आधा मूल्यमा नेपाली रुपैयाँसँग साटिरहेका छन् । भारतबाट रोजगारी गरेर फर्कदै गरेका दैलेखका हरिबहादुर केसीले एक हजार भारतीय रुपैयाँ दिएर एक हजार नेपाली रुपैयाँ लिएको बताए । ‘नेपाली कामदारसँग भएका रुपैयाँ भारतमा त्यही दरमा सजिलै साटिएन,’ उनले भने, ‘नेपालमा काम नलाग्ने हुँदा कमाएको रुपैयाँ रुपैडिहामै सस्तोमा दिनुप¥यो ।’ घर फर्कदै गरेका नेपाली पाँच सय र एक हजारका भारतीय नोट आधा मूल्यमा बिक्री गर्न बाध्य छन् ।
जमुनाह सीमा प्रहरी चौकी इन्चार्ज प्रहरी निरीक्षक प्रमोदकुमार क्षत्रीले भारतबाट रोजगारी गरी फर्केका र भारत जाँदै गरेका नेपाली आधा सस्तोमा रुपैयाँ खरिद बिक्री गर्न बाध्य भएको बताए । नेपालमा भारु सटही र खरिद गर्ने उपाय नहुँदा सस्तोमा रुपैडिहामा छोड्न बाध्य छन् ।
अहिले नेपालगञ्जमा सञ्चालित एक दर्जन पैसा सटही काउन्टर बन्द छन् । नेपालगन्जस्थित राष्ट्र बैंकले अहिलेसम्म भारतीय रुपैयाँ सटहीको व्यवस्था गरेको छैन । ‘केन्द्रको निर्णय नआउञ्जेल केही गर्न सकिने अवस्था छैन,’ नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गुरुप्रसाद पौडेलले भने, ‘हामीले पनि सरकारकै मुख ताक्ने हो । माथिबाट जे निर्णय आउँछ त्यही गर्छौं । तत्कालका लागि पाँच सय र एक हजार दरका भारु नोट साटिन सक्ने अवस्था छैन ।’
भारतीय नोटका कारण नेपाली दोहोरो मारमा परेको नेपालगञ्जमा मनिचेन्जर व्यवसाय गर्दै आएका लविन घिमिरे बताउँछन् । ‘घाटा खाएर पाँच सय र एक हजारको भारु नोट साट्न धेरै मानिस बाध्य छन्,’ उनले भने । भारत सरकारको एकाएक निर्णयले बैंक तथा वित्तीय संस्थाभन्दा सर्वसाधारण मारमा परेका छन् । ‘नेपाली जनतासँग भएको भारु कस्ले साटिदिने ?’ घिमिरेले भने, ‘बैंक, वित्तीय संस्थासँग आफ्नै डाटा हुन्छ । तर, सर्वसाधारणले भने नोट लगेर कहाँ साट्ने अन्योलमा छन् ।’

 

Leave A Comment