सुत्नुअघि नखाँदा राम्रो

सोमबार, ०६ मङि्सर २०७३, ०१ : ०९ शुक्रवार , Kathmandu
सुत्नुअघि नखाँदा राम्रो

राति श्रम गर्नु नपर्ने भएकाले बढी खाना खाएमा शरीरमा अनावश्यक ऊर्जा जम्मा हुन्छ । जसले शरीरलाई हानि पु¥याउन सक्छ । त्यसैले राति हलुका खाना खानुपर्छ । शरीरमा अनावश्यक ऊर्जा जम्मा गर्न सक्ने किसिमका खानेकुरा भरसक खानु हुँदैन ।
चकलेट
चकलेटमा क्याफिन हुन्छ । कालो चकलेटमा क्याफिन अझ बढी हुन्छ । क्याफिनजन्य खाना खानाले निद्रा कम लाग्छ, पाचनक्रिया तीव्र बन्छ र  शरीर डिहाइड्रेट हुने गर्छ ।
 
मसलायुक्त खाना
मसलायुक्त खाना खाने उपयुक्त समय दिउँसो हो । राति निदाएको बेला पाचनक्रिया ढिलो हुन्छ । जसकारण खाएको पच्न बढी समय लाग्छ । सुत्नुअघि मसलायुक्त खाना खाएमा राम्रोसँग निद्रा लाग्दैन ।
 
कफी
कतिपयले राति खाना खाएपछि कफी खाने गर्छन् । तर, यो बानी राम्रो होइन । कफीमा पाइने क्याफिनले राति राम्रोसँग निदाउन दिँदैन ।
 
मदिरा
मदिराजन्य पदार्थको सेवन गरी सुत्दा केही क्षणका लागि मस्त निदाइन्छ । तर, राति निद्रा टुट्यो भने फेरि निदाउन गाह्रो हुन्छ । बढी मदिरा खाइयो भने शरीरमा पानीको मात्रा बढ्छ । जसले गर्दा पिसाब फेर्न उठिरहनुपर्छ र निद्रा भंग हुन्छ ।
भात
भात अथवा भातजस्तै कार्बोहाइड्रेट बढी पाइने खाना राति भरसक खानु हुँदैन । कार्बोहाइड्रेटले शरीरलाई ऊर्जा दिन्छ । तर, राति शरीरलाई त्यति ऊर्जाको आवश्यकता हुँदैन । पेट टन्न हुने गरी भात खाएर सुत्ने मानिसलाई मधुमेहलगायत रोग लाग्ने जोखिम बढी हुन्छ ।

रातो मासु
रातो मासुमा प्रोटिनको मात्रा बढी हुन्छ । शरीरलाई राति बढी प्रोटिनको आवश्यकता पर्दैन । कार्बोहाइड्रेट पाइने खानासँग सन्तुलन नमिलाइकन रातो मासु खाइयो भने निद्रा लाग्दैन ।

तरकारी
काउली, ब्रोकाउलीलगायत तरकारी खानाले ट्राइप्टोपान नामक एमिनो एसिडको प्रभाव कमजोर हुन्छ । ट्राइप्टोपानले मीठो निद्रा लगाउँछ । त्यसैले अनिद्राको समस्या भएकाहरूले राति बन्दा, च्याउ, गोलभँेडाजस्ता तरकारी खानु हुँदैन ।

सलाद
काँचो तरकारी तथा फलफूल पचाउन गाह्रो पर्ने भएकाले रातिको खानमा यस्ता खानेकुरा भरसक खानु हुँदैन ।
मिठाइ
सुत्नुअघि मिठाइ, केक, चकलेट कुकिज अथवा आइसक्रिम खानाले राम्रोसँग निदाउन सकिँदैन । यस्तो खाना खाँदा बढी तिर्खा लाग्छ । यस्तो खानाले शरीर मोटाउने र मधुमेहलगायत रोग लाग्ने जोखिम बढ्छ ।
जंक फुड
क्यान्डी बार, पोटेटो चिप्स, चाउचाउलगायत खानेकुरा खाएर सुत्नु हुँदैन । यस्ता खानामा फ्याट र सुगरको मात्रा बढी हुन्छ । जसले निद्रा भगाउने, मोटोपन बढाउने, मधुमेह लगाउने जोखिम बढाउँछ ।
पानी
सुत्नुअघि धेरै पानी पिउनु हुँदैन । यसो गर्दा शरीरमा पानीको मात्रा बढ्छ र पिसाब आइरहन्छ । जसले गर्दा निद्रा भंग हुन्छ । बढी पानी पिउँदा शरीरबाट सोडियम, पोटासियमलगायत खनिजको निकास बढी हुन्छ । जुन स्वास्थ्यका लागि राम्रो होइन ।
फलफूलको जुस
सुन्तला, अंगुरलगायत फलफूलको जुसमा एसिडको मात्रा उच्च हुन्छ । त्यही भएर फलफूलको जुस खाएर सुत्दा छाती पोल्न सक्छ । जुसमा चिनी बढी र फाइबर कम हुन्छ । जसकारण फलफूलको जुस खानाले रगतमा इन्सुलिनको मात्रा घट्ने र चिनीको मात्रा बढ्ने  हुन्छ । त्यसैले राति जुस खाने बानी भएकाहरूलाई मधुमेह लाग्ने जोखिम बढी हुन्छ ।

Leave A Comment