अहिलेका बच्चा खेलौनासँग, मोबाइल र टेलिभिजन वा ल्यापटपसँग हुर्कन्छन् । छिमेकीलाई चिन्नुभन्दा पहिले उनीहरूले भिडियो गेम र कार्टुनका बनावटी चित्रहरूलाई चिनेका हुन्छन् । यिनै चित्रहरू तिनका खेल्ने–भुल्ने निकटतम मित्र हुन् । तिनले हाँसेको, रिसाएको, झगडा गरेको वा रोएको देख्दा बच्चाको मनमा सोही प्रकारको संवेदना जन्मिन्छ । मान्छेका वास्तविक संवेदनालाई चिन्नुभन्दा पहिले नै उनीहरूलाई कृत्रिम संवेदनासँग भुल्ने बानी परिसकेको हुन्छ ।
हाम्रा बच्चाहरूको सोच्ने तरिका अब परिवार वा समाजअनुसार भिन्नाभिन्नै किसिमको छैन । बरु टेलिभिजनका कार्टुन कथाले बनाएअनुसारको छ । ‘टम एन्ड जेरी’लाई नै हेरौँ । यसमा मुख्य चरित्रका रूपमा मुसो र बिरालोलाई प्रस्तुत गरिएको छ । हरेक पल झगडा गर्नु, एउटाले अर्कालाई लखेट्नु, झुक्याउनु, भाग्नु, लड्नु, माथिबाट खसेर शरीर ध्वस्त हुनु, टाउको जमिनमै टाँसिएर मिल्नु तर केही पनि नहुनु । जस्तै दुर्घटना होस्, उनीहरू कहिल्यै मर्दैनन् र कहिल्यै मिल्दैनन् पनि । बारम्बार झुटो व्यवहार गरेर, धोका दिएर अर्कालाई हैरान बनाउँदाको परपीडनलाई यहाँ आनन्दका रूपमा देखाइन्छ ।
यस्तो भएपछि दुर्घटना मात्रै होइन, हिंसा पनि बच्चालाई सामान्य कुरा लाग्छ । जुन कुरा बच्चै छँदा सामान्य थियो, पछि पनि त्यो सामान्य नै हुनु स्वाभाविक छ । कसैमाथि आक्रामक व्यहार गर्नु, झुटो बोल्नु, धोका दिनु र परपीडनमा रमाउनु असाध्यै सामान्य कुरा बन्न पुग्छ । अर्कालाई शत्रु देख्नु र त्यसलाई सताउनमा मजा आउनु बच्चाहरूको मनोरञ्जनको हिस्सा बन्न पुग्छ । हरेक समस्याको समाधान हिंसा र युद्धमा मात्रै देखिन थाल्छ ।
यस्ता कथाहरूले मनोरञ्जन मात्रै दिँदैनन् बरु शिक्षा पनि दिन्छन् । के ठीक र के बेठीक भनी छुट्याउने विवेक पनि बच्चाहरूले यस्तै कथाबाट सिक्छन् । पहिले पहिले आफ्ना नातिनातिनालाई ज्ञानगुनका कुरा सिकाउन बाजेबजैले सुनाउने दन्तेकथा वा लोककथा हिजोआज मिक्की माउस, मोटु पत्लु, डोरेमन, बेनटेन वा निन्जा हतौडीहरूले सुनाइरहेका छन् ।
एउटै कार्टुन कथालाई विभिन्न संस्कृतिसँग सम्बन्धित अनेक बच्चाहरूले बडो चाख मानेर हेर्ने गर्छन् । यसरी हेरिने कथाहरू धेरै छन् तर सबै उत्तिकै लोकप्रिय छैनन् । ज्यादा लोकप्रिय कथाहरूको सङ्ख्या थोरै मात्रै छ जसका दर्शक विश्वका अनेक कुनामा छरिएका छन् । यसको अर्थ के भने ती थोरै तर ज्यादा लोकप्रिय कथाको प्रभाव विश्वका धेरै केटाकेटीमाथि करिब करिब समान ढाँचामा परेको हुन्छ जसले उनीहरूको सोच्ने र व्यवहार गर्ने तरिकालाई गहिरोसँग प्रभावित गर्छ । यस्ता कथाहरूले बालमस्तिष्कको पुनर्निर्माण गर्छन् र त्यसलाई आफ्नो अनुकूलतामा ढाल्छन् ।
सबैलाई एउटै खालको स्वाद मन पर्न थाल्नु, एउटै प्रकारको सुन्दरता मन पर्न थाल्नु भनेको सोही वस्तुको माग सर्वत्र हुन थाल्नु हो । एउटै कम्पनीका उत्पादनले सर्वत्र बजार कब्जा गर्नु हो । एउटै रङका, भाषाका, संस्कृतिका मानिसहरूको वर्चस्व स्थापित हुँदै जानु हो । एउटै विचारधारा र एउटै मूल्य प्रणालीको बोलवाला कायम हुनु हो । त्यो भनेको संसारका धेरैभन्दा धेरै मूर्त–अमूर्त सम्पदाहरू सिद्धिँदै जानु हो । ‘चिसो भनेकै कोकाकोला’ भन्ने मन्त्र असाध्यै धेरै मानिसको दिमागमा गहिरोसँग छिरेपछि सोडा पानी र कागती पानीको व्यापार त सिद्धिन्छ नै पेप्सीकोलाको पनि भविष्य के हुन्छ भन्न सकिँदैन ।
बच्चाका लागि टेलिभिजन कार्यक्रम कस्तो हुनुपर्छ भन्ने बारेमा छलफल गर्न मेलबर्न भन्ने ठाउँमा पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलन भएको थियो । उक्त सम्मेलनले तयार गरेका सिद्धान्तमध्ये एउटा सिद्धान्तले भन्छ, बच्चाका लागि भनेर त्यस्ता टेलिभिजन कार्यक्रम बनाइनुपर्छ जसले आफू, आफ्नो संस्कृति, आफ्नो भाषा तथा आफ्नै जीवन अनुभवलाई सुन्न, हेर्न र अभिव्यक्त गर्न सकोस्, जसले उनीहरूको आफ्नो समुदाय र स्थानका बारेको बोधलाई थप पुष्ट बनाओस् । तर अहिले निर्माण भइराखेका बाल चलचित्र वा कार्टुनहरूले यस मान्यताको उल्लंघन गरेका छन् ।
अमेरिकाले आफ्ना बाल चलचित्र वा कार्टुन विश्वका अनेक देशमा निर्यात गर्छ । उसले बनाएका यस्ता चलचित्र उसैको विश्वदृष्टिकोण र उसैका सांस्कृतिक मूल्यले युक्त हुन्छन् । अन्य देश र समुदायका बच्चा जब यिनै बाल चलचित्र हेर्छन् र सिक्छन्, तिनले आफ्नो संस्कृतिलाई कि त भुल्छन्, कि त्यसप्रति अलगावको अवस्थामा रहन्छन् र अमेरिकी संस्कृतिलाई रुचिपूर्वक ग्रहण गर्छन् । बाल चलचित्रदेखि कार्टुन हुँदै अनेक प्रकारका इन्टरनेट गेम, भिडियो गेममा यही कुरा हुँदै आएको छ ।
समूह समूहको भिडन्तबाट रमाइलो लिनका लागि ‘क्ल्यास अफ क्ल्यान्स’ भन्ने जुन डिजिटल खेलको निर्माण र प्रसार गरिएको छ त्यो हिंसामा रमाउने खालको छ । ‘क्ल्यास रोयल’ पनि यस्तै खेल हो जसले मानिसमा अरूमाथि आक्रमण गर्दा प्राप्त हुने मनोरञ्जनलाई प्रोत्साहन दिन्छ । केही खेल सुटिङमा आधारित छन् । गोली हानेर अर्कोलाई ढाल्दा आनन्द आउने खेलमा सानैदेखि लत बसाएर बच्चालाई सैन्य सर्वोच्चताप्रति सहनशील बनाइएको छ । बच्चाहरू ‘मिनी मिलिटा’ वा ‘स्नाइपर थ्री डी’मा जुन आनन्द लिइराखेका छन्, त्यो मानवीय पटक्कै छैन । बच्चाले इन्टरनेटमार्फत मोबाइलमा वा कम्प्युटरमा खेल्ने युद्धसम्बन्धी खेलमा फाइटिङ टाइगर वा डब्ल्युडब्ल्युईलाई लिन सकिन्छ । क्यान्डी क्रस जस्ता केही खेल छन्, जहाँ तोडफोडबाट आनन्द आउँछ ।
यस्ता खेल र टेलिभिजन कार्यक्रम व्यावसायिक मुनाफा वा आय आर्जनका लागि प्रयोगमा आइरहेका छन् । कसैलाई यसबाट राम्रो पैसा मिलेको होला तर धेरैलाई यसले राम्रो नै गरेको छ भनेर भन्न सकिन्न । समयको बर्बादी र भविष्यप्रति उदासीनताको कुरा मात्रै होइन, यस्ता खेल र चलचित्रको संरचनामै त्यस्ता केही विशेषता छन् जसले मानिसको मस्तिष्कलाई खास किसिमको ढाँचामा ढालेर अन्ततः उसको चेतनालाई नियन्त्रण गर्ने ध्येय राखेका हुन्छन् । यस्ता चलचित्र वा खेलले स्थानीय संस्कृतिमाथि वैश्विक संस्कृतिको श्रेष्ठता वा वर्चस्वलाई बढावा दिन्छन् । मानिसलाई विश्वव्यापी समाजको सदस्य बनेको भ्रम दिन्छन् र सोही स्तरको प्रतिस्पर्धामा संलग्न गर्छन् । प्रतिस्पर्धा, सफलता र व्यक्तिवाद जस्ता पुँजीवादी मूल्यहरूको प्रचार गर्छन् र मानिसलाई एकअर्काप्रति विश्वास नगर्न वा भरोसा नगर्न प्रेरित गर्छन् । सांस्कृतिक विविधतालाई कमजोर बनाएर विश्वव्यापी उपभोक्तावादी संस्कृतिमार्फत अन्ततः एकल संस्कृतिकरणको प्रक्रियालाई जोड दिनु यस्ता सामग्रीको उद्देश्य रहने गरेको छ ।
Leave A Comment