‘रंगमञ्च कुनै नियममा बाँधिएको हुँदैन’

बुधबार, ०८ मङि्सर २०७३, १० : ५४ शुक्रवार , Kathmandu
‘रंगमञ्च कुनै नियममा बाँधिएको हुँदैन’

अनुवादः घिमिरे युवराज
अगस्टो बोआल ब्राजिलका प्रसिद्ध नाटककार तथा निर्देशक हुन् । उनलाई अनौपचारिक पद्धतिबाट शैक्षिक चेतना विस्तार गर्ने अभियन्ता मानिन्छ । १६ मार्च १९३१ मा जन्मिएका उनी सन् ६० को दशकदेखि मजदुर आन्दोलनमा लागे । र, रंगमञ्चलाई राजनीतिक आन्दोलनमा प्रयोग गरे । सन् १९७१ मा नाटक गर्दागर्दै उनी गिरफ्तार भए । बन्दीगृहमा उनलाई चार महिना यातना दिइयो । मजदुर आन्दोलनबाटै उनी सन् १९९४ मा रियो दी जानेरोको नगर परिषद् सदस्यमा चुनिए । र, रंगमञ्चमार्फत स्थानीय कानुनमा परिवर्तन ल्याए । उनलाई प्रसिद्ध शिक्षाविद् पाउलो फेरेको अनौपचारिक शिक्षा पद्धतिबाट प्रभावित मानिन्छ । पाउलो र उनी असल मित्र थिए । बोआलका ‘गेम्स फर एक्टर एन्ड ननएक्टर’, ‘थिएटर अफ दी अप्रेस्ड’ ‘पेडागोजी अफ दी अप्रेस्ड’ रंगमञ्चका प्रसिद्ध सैद्धान्तिक किताब मानिन्छन् । उनी अन्तक्र्रियात्मक रंगमञ्च ‘थिएटर अफ दी अप्रेस्ड’का आविष्कारक हुन् । आज यो शैली संसारका सयभन्दा बढी देशमा अभ्यास हुन्छ । सन् २००९ मा उनको निधन भयो ।
‘डेमोक्रेसी नाउ’ नामक अनलाइन टीभीका लागि सञ्चालक एमी गुडम्यानले बोआलसँग लिएको यो अन्तर्वार्ता उनको निधनपछि प्रसारण भएको थियो ।     ‘थिएटर अफ दी अप्रेस्ड’ के हो ?

‘थिएटर अफ दी अप्रेस्ड’ पारम्परिक थिएटरको सीमाभन्दा बाहिर आएर गरिएको प्रयोग हो । नाटकघर वा लेखिएको नाटकभन्दा बाहिर आएर गरिने नाटक हो यो । रंगमञ्च भनको अनुभूतिजन्य कुरा हो । यो कुनै नियम र पर्खालभित्र बाँधिएको हुँदैन । हामी त्यस्ता जीव हौँ, जोसँग अभिनय क्षमता छ । हामी हर क्षण अभिनय गरिरहेका हुन्छौँ । हामीसँग अवलोकन गर्ने क्षमता हुन्छ । डल्फिन र हात्तीजस्ता केही जनावरमा पनि यो क्षमता हुन्छ । हरेक मानिस कलाकार हो । यस किमिसको नाट्य शैलीमा दर्शक पनि कलाकार हुन् । त्यसैले यस किसिमको नाट्य शैलीमा हामी दर्शकलाई दर्शक–कलाकार भन्छौँ । अरू कलाकारजस्तै ‘थिएटर अफ दी अप्रेस्ड’मा पनि अभिनय हुन्छ तर यसमा साँच्चैको जीवनको प्रतिविम्ब हुन्छ । यसमा कलाकार हैन, हामी हुन्छौँ । हामी नाटक हेर्छाैं र नाटकका चरित्रहरूमा आफूलाई अनुभूत गर्न सक्छौँ । त्यसैले ‘थिएटर अफ दी अप्रेस्ड’मा हामी दर्शक र कलाकार दुवै हौँ ।  

हामी भनेको को ?

हामी भनेको हामी सबै । हरेक व्यक्ति । तपाईं र म । तर, विशेषत हाम्रो सम्बन्धमा चाहिँ हामी भनेको पीडित । हाम्रो विचारमा सबै प्रकारका मानवीय सम्बन्धहरूमा संवाद हुनु आवश्यक छ । हामीसँग स्वाभाविक समाजको क्षण हुनुपर्छ । अर्को बोलिरहेको बेला आफूले सुन्नुपर्छ । यसरी नै एकअर्काले सुन्ने वातावरण हुनुपर्छ । तर, सायद हामी काला र सेता, उत्तर र दक्षिणका मानिसहरू यसो गरिरहेका छैनौँ । सायद एउटा मात्रै बोलिरहेको छ । कि त लोग्नेमान्छे मात्रै बोल्छ, कि त गोराहरू मात्रै बोल्छन्, वा उत्तरी देशका मात्रै बोल्छन् । त्यसैले हामी दुवै पक्षको संवादलाई स्थापित गर्न चाहन्छौँ । सबैले बोल्न पाउने अधिकार होस् भन्ने चाहन्छौँ त्यसैले हामी भनेको पीडित । कुनै पनि किसिमको पीडित । यौनहिंसाबाट पीडित, तलबबाट पीडित वा राजनीतिबाट पीडित । हामी भन्नाले सबै किसिमका पीडित ।

 यस किसिमको कामका लागि तपाईंलाई केले प्रेरित ग¥यो ?

थिएटर अफ दी अप्रेस्डको आविष्कार कसरी भयो ? मेरो बुबाको बेकरी थियो ब्राजिलमा । म १३/१४ वर्षको हुँदादेखि बुबालाई बेकरीमा सघाउँथेँ । त्यहाँ धेरै मजदुरलाई देखेँ । उनीहरू त्यहाँ हेपिएका थिए । र, उनीहरूको पीडाले म भरिएको थिएँ । सोच्थेँ, किन यिनीहरू यसरी थिचिँदा पनि विरोध गरिरहेका छैनन् ? यही कुराले गर्दा मैले १५ वर्षको हुँदा उनीहरूबारे नाटक लेखेँ । तर, मैले एउटा क्षणमा आएर महसुस गरेँ– ‘म उनीहरूको जस्तै हेपाइमा छैन । म उनीहरूको परिस्थितिमा थिइनँ तर म उनीहरूजस्तो हुने प्रयास गरेर कलाकार बन्ने कोसिस गरिरहेको थिएँ ।’ मैले सोचेँ, अब म यिनीहरूलाई आफ्नो उत्पीडनविरुद्ध कसरी लड्ने भनेर सिकाउँछु । त्यसपछि म १९५० र ६० को दशकमा राजनीतिक नाटकतिर लागेँ । ती नाटकमा तिनै मजदुरले अब के गर्नुपर्छ भन्ने सन्देशहरू हुन्थे ।  तर, काम गर्दै गएपछि मैले महसुस गरेँ, उनीहरूलाई जति मलाई थाहा छैन । हो, नाटकबारे मलाई उनीहरूभन्दा बढी थाहा छ । तर, उनीहरूको जीवन र समस्याका बारे मलाईभन्दा धेरै उनीहरूलाई नै थाहा छ भन्ने कुरा एउटा घटनाले सिकायो । तिनताका म उत्तरपूर्वी ब्राजिलका ठाउँहरूमा नाटक मञ्चन अभियानमा थिएँ । हाम्रो नाटकको नायकले भन्यो, ‘अब हामीले हाम्रो जमिनको रक्षाका लागि रगत बगाउनुपर्छ ।’ त्यसपछि क्रान्तिकारी गीत गायौँ । हामीहरू भूमिहीन त थिएनौँ तर भूमिहीनजस्तै देखिएर त्यहाँ गएका थियौँ । नाटक सक्किएपछि एक जना भूमिहीन हामीकहाँ आए र भने– ‘तपार्इंहरू पनि हामीले जस्तै सोच्नु हँुदो रहेछ । त्यसैले किन तपाईंहरू आफ्ना सुन्दर राता बन्दुकहरू बोकेर आउनुहुन्न ? तिनै बन्दुकले केही जमिनदारविरुद्ध लडौँ र हाम्रो जमिन फिर्ता लिऊँ । हामी आफ्नो रगत बगाउन तयार छौँ ।’ हामीले भन्यौँ– ‘हाम्रा बन्दुक त नक्कली हुन् ।’  त्यसपछि उनले भने, ‘ठीक छ, बन्दुक त नक्कली हुन् तर तपाईंहरू निकै सजग र गम्भीर हुनु हुँदो रहेछ । तपाईंहरू आउनुस् हामीसँग सबैलाई पुग्ने बन्दुक छन् ।’ त्यसपछि हामीले भन्यौँ, ‘हामी खासमा साँच्चैका कलाकार मात्रै हौँ, भूमिहीन हैनौँ ।’ उनले रिसाएर भने, ‘ए, त्यसोभए साँच्चैका कलाकार तपाईंहरू हामी साँच्चैका भूमिहीनहरूको चाहिँ साँच्चैको रगत बगाउने कुरा गरिरहनु भएको छ ? तपाईंहरूको आफ्नो रगत हैन ।’ त्यतिबेला मलाई लाग्यो– हामी जुन सन्देश दिन चाहन्थ्यौँ, सकेनौँ । हामी उनीहरूलाई आफ्ना समस्यासँग लड्ने उपाय दिन नसक्ने रहेछौँ । 

तपाईं किन जेल पर्नुभयो ?
सन् १९७१ को कुरा हो । यो थिएटर अफ दी अप्रेस्डको सुरुवाती काल थियो । हामी न्युजपेपर थिएटर गरिरहेका थियौँ । त्यतिखेर पुलिस र सरकारका गुप्तचर सैनिकहरूबाट हामीले निकै दुःख पायौँ । नाटक गर्न मात्रै नदिने हैन कि साँच्चै दुःख दिन्थे । कहिलेकाहीँ हामी आत्मरक्षाका लागि मञ्चमा जाँदा पनि गोजीमा हतियार लुकाएर जान्थ्यौँ । किनभने, तत्कालीन निरंकुश शासनपद्धतिविरुद्ध र सर्वसाधारण नागरिकका पक्षमा नाटक गर्न सजिलो थिएन । त्यतिखेर सैनिकले मान्छे मार्ने र यातना दिने गर्थे । मलाई पनि उनीहरूले त्यसरी नै गिरफ्तार गरे । धन्न, म बाँच्न सफल भएँ ।

त्यो अनुभवले तपाईंको नाटकप्रतिको धारणामा के परिवर्तन ग¥यो ?
एक किमिसले त्यसअघि नै मेरो धारणा परिवर्तन भैसकेको थियो । जतिखेर हामीले भूमिहीनहरूको नाटक ग¥यौँ, हामीले उनीहरूलाई सन्देश त दियौँ तर त्यही चुनौती आफूले लिन सकेनौँ । चे ग्वेभाराले एउटा कुरा भनेका छन्– ‘सँगसँगै जोखिम उठाउन सक्ने भएमात्रै उनीहरूसँग एैक्यबद्धता जनाऊ ।’ मैले कुनै जोखिम मोलिनँ । त्यहाँ गएँ, नाटक देखाएँ र उनीहरूलाई नाटकमार्फत भनेँ– ‘जाऊ र लड ।’ त्यसपछि प्लेन चढेर फर्केर आएँ । त्यसैले मेरो सोचाइ पहिल्यै परिवर्तन भैसकेको थियो । तर, एकान्त बन्दीगृहमा एक्लै बस्दा मैले नयाँ कुरा अनुभव गरेँ । मैले मौनतालाई सुनेँ । मैले आवाज सुनेको थिएँ तर मौनतालाई कहिल्यै सुनेको थिइनँ । एक्लो र मौनताको बेलामा सोच र विचारहरू झन् बलिया भएर आउँदा रहेछन् । मैले जेल जीवनमा थुपै राजनीतिक व्यक्तिहरूलाई भेट्न पाएँ । केही कुरा सिक्न पाएँ ।   
ब्राजिलमा निरंकुश शासन समाप्त भएपछि स्थिति कस्तो रह्यो ? परिस्थिति कसरी परिवर्तन भयो ?

रंगमञ्चमा चाहिँ सेन्सरसिप हुन छोड्यो तर धेरै लामो समयसम्म परिस्थिति उस्तै रह्यो । तर, राष्ट्रपति लुला दी सिल्भाको कार्यकालदेखि परिस्थिति सुध्रियो । उनको कार्यकालपछि ब्राजिलमा साँच्चिकै परिवर्तन भयो । तर, एउटा कुरा भने परिवर्तन भएको छैन– बृहत् पुनर्संरचना । अझै किसानहरूको जमिन गलत व्यक्तिहरूको हातमा छ । उनीहरूले फर्जी कागज बनाएर भूमि हत्याएका हुन् ।   

भुमिहिनहरूको आन्दोलन ‘एमएसटी’ बारे बताउनुस् न । 

मैले १९६० देखि १९६४ सम्म स्थानीय निकायमा बसेर काम गरेको थिएँ । त्यतिखेर एउटा सिंगै गाउँको भूमिमाथि निर्णय गर्ने एकजना नेता हुन्थ्यो । त्यो प्रजातान्त्रिक थिएन । तर, एमएसटीले आफ्नो आन्दोलन सबैतिर फिँजाएपछि जमिनमाथिको निर्णय समूहले गर्न थाल्यो, एक जनाले हैन । एमएसटीले जग्गाहरू कब्जा गरेर सामूहिक निर्णयको अधिकारभित्र राख्न थाल्यो । 

लुला शक्तिमा आउनुअघि मजदुर र किसानहरूको हित–अधिकारका कुरा उठाउँथे तर उनी शक्तिमा आएपछि पनि खासै परिवर्तन भएको छैन भनिन्छ नि ? 

धेरै परिवर्तन भएको छ । पक्कै पनि हामीले चाहे जति वा हामीले परिवर्तन गर्नुपर्ने जति चाहिँ भएको छैन ।


 दक्षिणतिरबाट संयुक्तराज्य अमेरिकातिर फर्केर हेर्दा यो कस्तो देखिन्छ ?
मेरो विचारमा दक्षिण, उत्तर, पूर्व, पश्चिम वा तल–माथि जताबाट हेरे पनि संयुक्तराज्य अमेरिका उस्तै देखिन्छ । अमेरिका एउटा यस्तो देश हो, ऊ जे चाहन्छ, त्यही गर्छ । देश पनि हैन, म के देख्छु भने एउटा समूह वा ठूलो संगठनले ऊ जे गर्न चाहन्छ त्यही निर्णय गर्छ । उनीहरू कसैको वास्ता गर्दैनन् । कसैलाई सम्मान गर्दैनन् । अमेरिका स्वतन्त्र सरकार मन पराउँदैन । अरू देशका नागरिकहरूको स्वतन्त्रताको सम्मान गर्दैन । अमेरिकी सरकार त्यही गर्छ, जेमा उसलाई फाइदा छ ।
     
तपाईं के कुरा पूरा होस् भन्ने चाहनुहुन्छ ?

धेरै कुरा चाहन्छु । म धेरै कुराको आशा गर्छु । किनकि, म जहिल्यै अगाडि हेर्छु र सकारात्मक रूपमा हेर्छु । मलाई लाग्छ– हामीले सपना देख्नुपर्छ र परपरसम्मको सपना देख्नुपर्छ । अगाडि बढ्नका लागि सपना चाहिन्छ ।  
के हो त्यो सपना ?

मेरो जीवनमा एउटा मात्रै सपना छ, मेरो जिन्दगीको सपना । यसलाई म सपनाजस्तै बनाउन चाहन्छु । म महिला र पुरुषमा समानता देख्न चाहन्छु । काला र गोरा वा फरक–फरक देश सबै मिलेर बसेको देख्न चाहन्छु । एक जना स्पेनिस कविको एउटा कविता सम्झन्छुः   बाटो पहिल्यै त्यहाँ हँुदैन  तिमीले त्यहाँ हिँडेपछि बाटो बन्ने हो  हामीलाई थाहा छैन बाटोले कहाँ पु¥याउँछ । तर, हामीलाई त्यो दिशा थाहा छ, जतातिर हामी बाटो बनाउन चाहन्छौँ । म एउटा बिन्दुमा पुगेर बाटो पूरा गर्न चाहन्नँ । सधैँ अगाडि बढ्न चाहन्छु ।    

 

Leave A Comment