मोहनकुमार दाहाल
राजेश खन्ना हिन्दी फिल्म उद्योगमा उत्पादन भएका एकमात्र सुपरस्टार हुन्। उनीभन्दा पछि पनि अन्य कोही हिन्दी सिनेमाका नायक सुपरस्टार बन्न सकेनन्। प्रष्ट छ, उनीभन्दा अघि पनि कोही सुपरस्टार थिएनन्। सुपरस्टार शब्द आजभोलि अत्यन्त सस्तो रूपमा प्रयोग भइरहेको छ। त्यसैले भ्रम सिर्जना गरेको मात्र हो। अन्यथा राजेश खन्ना एक्ला र एकमात्र सुपरस्टार हुन्, जो बलिउड भनिने गरिएको हिन्दी फिल्म जगतमा उत्पादन भए। उनलाई सिनेमाका निर्माता–निर्देशक वा मिडियाले सुपरस्टार बनाएका होइनन्। फ्यानहरूले सुपरस्टार बनाएका हुन्। यो सन् १९६९ देखि १९७७ सम्मको टड्कारो घटना इतिहासमात्र होइन, वर्तमानमा पनि यसको सान्दर्भिकता सकारात्मक–नकारात्मक दुवै कोणबाट खोज्न सकिन्छ। राजेश खन्नाको भौतिक अवसान भएको पनि चार वर्ष नाघिसक्यो। तापनि, उनीजस्तो बेजोड लोकप्रियतालाई इतिहासको पन्नामा मात्र कैद गर्ने दुष्प्रयास जारी राखिएको छ। उनी अहिले बाँचिरहेका भए अर्को महिना (डिसेम्बरमा) ७४ वर्षका हुने थिए। तर, उनको जीवनकालमै पछिल्लो करिब २७ वर्षको अवधि उनलाई गुमनाम बनाउन प्रयोग गरियो। यस्ता सारा 'खेल' बलिउडभित्रबाट भएको थियो र उनको चरम अहंकारले त्यसलाई बल पुर्यायो।
लगातार १६ वटा फिल्म राजेश खन्नाले आफ्नै मात्र 'जादू' ले हिट गराएका थिए। अमिताभ बच्चन, जसको कुनै एक फिल्म हिट भए लगत्तै अर्को फ्लप हुन्थ्यो। उनलाई राजेश खन्नाको विकल्पमात्र होइन, खन्नाभन्दा महान् बनाउने कृत्रिम अभियान बलिउडका निर्माता, निर्देशक, लेखकहरूले चलाए। मिडिया पनि त्यसमा प्रयोग भयो। फलस्वरूप 'एंग्री यंग मैन' को इमेज खडा गरियो। यसको पोल समयक्रममा खुल्दै जानेछ।
वास्तविक सुपरस्टार पैदा गरिँदैन। ऊ आफैँ पैदा हुन्छ। यस अर्थमा सच्चा र वास्तविक सुपरस्टार राजेश खन्ना बाहेक अन्य कुनै तथाकथित महानायक र खान्स द ग्रेट होइनन्। लगातार १६ वटा त परै जाओस, पाँच वटा हिट फिल्म दिन नसक्नेलाई मेगा स्टार पदवी दिएर मिडियाकर्मीले बलिउडको स्तर खस्काएका छन्। २७ वर्ष राजेश खन्नालाई गुमनाम तुल्याउने षड्यन्त्र भयो। तर, मृत्युभन्दा अघि करीब एक महिनासम्मको बिरामी अवस्थामा उनी पुनः उदाए। यसमा उनलाई सुपरस्टार बनाउने फ्यानहरू यति जबर्जस्त रूपमा प्रकट भए कि नयाँ पुस्ताका भनिने मिडियाकर्मीहरू हेरेका हेरै भए। बजारमा खपत हुने देखेपछि मिडियाहरू अघि सर्ने नै भए। आजको महानायक वा खान्स द ग्रेट १० वर्षमात्र गुमनाम भए कहाँ पुग्लान? धन्य, फिक्सिङ र सेटिङको जमाना आइदियो। फलस्वरूप करिब ३० वर्षदेखि सलमान, शाहरूख र आमिर खान मिडियामा 'लोकप्रिय' नै छन्। अमिताभ बच्चन त 'कौन बनेगा करोडपति' र विज्ञापन बजारका कारण 'गड' नै बनाइए। २५/३० वर्षसम्म कुनै सिने नायक 'हिट' हुनु प्रकृतिको नियम हुन सक्दैन। तर, नेटवर्किङबाट जे पनि सम्भव छ। राजेश खन्ना यी सबका अपवाद हुन्। त्यसैले स्वाभाविक र पक्का सुपरस्टार उनीबाहेक बलिउडले अर्को पाउन सकेन।
राजेश खन्नाको चरम अहंकारको जवाफमा बलिउडका तत्कालीन हर्ताकर्ताहरूले अमिताभ बच्चन प्रोजेक्ट चलाए र त्यसमा एक हदसम्म सफल पनि भए। तर, यसले इतिहास बाँगियो र नयाँ पुस्ता भ्रमको शिकार बनिरहेको छ। राजेश खन्ना, किशोर कुमार र आरडी बर्मनको त्रिकोण नेटवर्किङ थिएन। उनीहरूबीचको तालमेल स्वाभाविक बहाव थियो। पछि कृत्रिम नदी पैदा गर्न खोजियो, जसमा त्यस्तो सरलता स्वभावतः रहेन।
सन् १९८० को दशकको पूर्वार्द्धसम्म अघिल्लो दशकजस्तो टड्कारो नभए पनि राजेश खन्ना वास्तवमा सुपरस्टार नै थिए। त्यसपछि उनी पछाडि धकेलिए। राजेश खन्नाले बदलिएको समय चिन्न सकेनन्। यसबारे त प्रशस्त चर्चा भएको छ। तर, समयले राजेश खन्नालाई चिन्न नसकेको तथ्य उनको मृत्युपछि प्रकट हुन पुग्यो। यो दुर्भाग्य राजेश खन्ना र बदलिएको जमाना दुवैको हो। समय बलवान रह्यो, राजेश खन्ना बिचरा उसको तुलनामा दुर्बल एक मनुष्य। तर, दोषी राजेश खन्नाभन्दा बढी बदलिएको जमानाका ठेकेदारहरू रहेको पुष्टि भइसकेको छ। राजेश खन्नाका असंख्य फ्यानहरू सुषुप्त अवस्थामा रहेका छन् भन्ने ती ठेकेदारहरूलाई पत्तै भएन। फ्यानहरू खन्नाको अन्तिम अवस्थामा जागृत भए। फ्यान त्यस्तै हुन्छन्। तर, नयाँ जमानाको बलिउडका ठेकेदारहरू किन समयमै जागृत हुन सकेनन्। यसले एउटा अमूल्य निधि हाम्रो अगाडिबाट गुम्न पुग्यो। समय र जमाना त हार्दैन, हार्छन् जति नै महान् भए पनि मनुष्य। राजेश खन्नामा पनि यही सिद्धान्त लागू भयो। समयलाई त लज्जाबोध हुँदैन। तर, मनुयष्मा लज्जा र ग्लानि हुन सक्छ। राजेश खन्नाको मृत्युको चार वर्षपछि भए पनि बलिउडको रङले छोएका दक्षिण एसिया र समस्त दुनियाँका मनुष्यले एकपटक मनन् गर्ने हो भने लज्जाबोध हुन सक्छ। राजेश खन्नालाई पछिल्लो अढाई दशकसम्म गुमनामीमा राख्नेहरूले वास्तवमा अपराध नै गरेका हुन् भन्नु अन्यथा मानिनेछैन।
रोचक राजेश
— राजेश खन्नाले 'मास हिस्टेरिया' पैदा गरेका थिए। सिने नायक हिन्दी सिनेमाको अढाई/तीन घण्टाको अवधिमा मनोरञ्जन गर्छन्। तर, खन्नाबारे यति मात्र भन्न सकिन्न। उनी असंख्य व्यक्तिहरूका लागि जीवनको अभिन्न अंग नै बनेका थिए।
— कैयन महिलाहरूले राजेश खन्नालाई आफ्नो रगतले प्रेमपत्र लेखेको तथ्य प्रकाशमा आयो। खन्नालाई एक चुम्बन दिने प्रयासमा कैयन स्त्रीहरू उनको गाडीलाई चुम्बन गरेर सन्तुष्ट हुन बाध्य हुन्थे।
— कतिपय केटीहरूले फिल्मको पोस्टरमा देखिएका राजेश खन्नाको तस्बिरसँग विवाह गरेको बताएर अभिभावकलाई चिन्तित तुल्याएका थिए। उनीहरू अरू कसैसँग विवाह गर्न त्यो बेला तत्पर हुँदैनथे।
— दुःखद समाचारहरू पनि प्रकाशमा आए। जब सन् १९७३ को सुरुमा राजेश खन्नाले डिम्पल कपाडियासँग विवाह गरे। कतिपय केटीहरूले आत्महत्या नै गरे। जसले आफूलाई नियन्त्रण गरे, तिनले पनि कैयन छाक खाना छाडेको र उदासीमा दिन बिताएको समाजमा देखियो।
— विवाहिता महिला कतिपयले आफ्नो श्रीमान्ले राजेश खन्नाको स्टाइलमा हिँडेको, बोलेको, मुस्कुराएको नपाएपछि घर झगडा परेको समाचार पनि १९७० को दशकमा आम नै थियो।
— पुरुषहरू पनि राजेश खन्नाको स्टाइलको कपी गर्न होड गर्थे। टाउकोलाई एउटा खास तरिकाले झुकाएर 'भुतुक्क' पार्ने गरी मुस्कुराउने उनको 'अदा' सर्वाधिक लोकप्रिय थियो।
— राजेश खन्नाको घमण्ड आकाशमा पुगेको थियो। त्यसपछि कुनै पनि कथित सुपरस्टारले त्यस्तो सफलताको चरम शिखर चुमेनन्। त्यस्तो शिखरमा पुगेको भए कसले के गर्थे, यो कल्पनाको कुरामात्र रह्यो।
— राजेश खन्नाको महाभूल। राजकपुरको फिल्म 'बबी' की नायिका डिम्पलसँग उनले मुख्यतः पब्लिसिटी स्टन्टका लागि विवाह गरे। जुन विवाह १० वर्ष पनि चलेन।
Leave A Comment