नेफ्टा अवार्डका लागि कलाकार रिहर्सलमा

बिहिबार, ०९ मङि्सर २०७३, १२ : ३६ शुक्रवार , Kathmandu
नेफ्टा अवार्डका लागि कलाकार रिहर्सलमा

आउँदो पुस–८ गतेबाट यूएईको दुबईमा हुन गइरहेको नेफ्टा फिल्म अवार्डका लागि कलाकारले एक महिनाअघिदेखि नै तयारी थालेका छन् । सोमवारबाट सुरु भएको रिहर्सलका लागि दर्जनभन्दा बढी कलाकार काठमाडौँस्थित जमलको राष्ट्रिय नाचघरमा भेला भइरहेका छन् ।

अवार्डमा प्रस्तुतिका लागि राजेश हमाल, करिश्मा मानन्धर, नम्रता श्रेष्ठ, प्रियंका कार्की, सञ्चिता लुइँटेल, निखिल उप्रेती, नाजिर हुसेन, सलोन बस्नेत, नम्रता सापकोटा, जेविका कार्की, रोहित रुम्बा, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, पूजा शर्मा, रिस्ता बस्नेत, साम्राज्ञीराज्यलक्ष्मी शाह, माला लिम्बू, पल शाहलगायत कलाकारहरू नृत्यको अभ्यास गरिरहेका छन् । उनीहरूलाई कोरियोग्राफरद्वय शंकर बीसी र नरेशवीर सिंहले नचाइरहेका छन् ।

रिहर्सलमा कलाकारहरू ‘निर जैले रिसाउने’, ‘सुर्के थैली’, ‘पूर्व पश्चिम रेल’, ‘म यस्तो गीत गाउँछु’, ‘हारेँ हारेँ’, ‘ब्लास्ट हुनेवाला छ मेरो जवानी’, ‘झकास झापाली’ बोलका गीतहरूमा नृत्य अभ्यास गरिरहेका छन् । अभिनेत्री करिश्माले मात्र तीन गीतमा नृत्य प्रस्तुत गर्दैछिन् ।

पछिल्लो समय फितलो व्यवस्थापनका कारण विदेशमा भइरहेका अवार्ड कार्यक्रम निकै आलोचित भइरहेका छन् । भर्खरै सिक्किममा सम्पन्न इनास अवार्डले यस्तै आलोचना खेपिरहेको बेला नेफ्टाले भने दुबईमा अवार्ड सम्पन्न गर्न तयारीलाई व्यापक बनाएको छ । ‘अवार्डलाई स्तरीय बनाउन हामी कुनै कसर बाँकी राख्दैनौँ,’ आयोजक चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले भने ।

विदेशमा हुने अवार्डको कमजोर व्यवस्थापनका कारण कतिपय कलाकारलाई विदेशका अवार्डप्रति नै वितृष्णा जगाइरहेको छ । यसप्रति आफूहरू निकै सजग भएको नेफ्टा अवार्डको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएको कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एन्ड डिस्ट्रिब्युसन कम्पनीका सुवाससिंह ठकुरी ‘अनिश’ले बताए । ‘दुबई लगिने सम्पूर्ण अतिथिको व्यवस्थापनमा हामी कुनै कमी हुन दिँदैनौँ,’ उनले भने ।

नेफ्टा अवार्ड दुबईको अलनासार लिजरल्यान्डस्थित आइस रिंक हलमा हुँदैछ, जहाँ भारतीय अवार्ड कार्यक्रमसमेत भइसकेका छन् । अवार्डमा नेपालबाट कलाकार, प्राविधिक, फिल्मकर्मी र पत्रकार गरी सय जनाभन्दा बढीको टोलीलाई दुबई लगिने अध्यक्ष लामाले बताए । यसपटक टोलीमा तीन दशकदेखि सक्रिय वरिष्ठ प्राविधिकलाई समेत स्थान दिइएको उनले बताए । वर्ष ०७२ मा रिलिज भएका फिल्म सहभागी हुने अवार्डमा २८ विधा राखिएका छन् । नेफ्टाले यसअघि नेपालसहित मलेसिया, हङकङ र कतारमा अवार्ड सम्पन्न गरिसकेको छ । ‘नेपाली सिनेमालाई अन्तर्राष्ट्रियकरण गर्नु र यसको बजार विस्तार गर्नु नेफ्टाको ध्येय हो,’ अध्यक्ष लामाले भने ।

 

Leave A Comment