मण्डलामा मिट्ठोे ‘मिल्क टी’

बिहिबार, ०९ मङि्सर २०७३, १२ : ४९ शुक्रवार , Kathmandu
मण्डलामा मिट्ठोे ‘मिल्क टी’

राधा अविवाहित युवती हो । विवाहित शिवसँग प्रेम सम्बन्धमा छे । ऊ एक्लै बस्न चाहन्छे । उसले ऐना हेर्न छाडेकी छे । आफूलाई आफ्ना शब्दहरूमा खोज्छे । दूध चिया खूब मन पर्छ उसलाई तर खल्लो । जीवनमा जबर्जस्ती घोलिएको मिठास (चिनी) उसलाई मन पर्दैन । स्वतन्त्र भएर बाँच्न चाहन्छे । तर, पुरुषप्रधान समाज उसको स्वतन्त्रतामा बाधक बन्न चाहन्छ ।

शुक्रवारदेखि काठमाडौँ, अनामनगरस्थित मण्डला नाटकघरमा प्रदर्शन सुरु भएको नाटक ‘मिल्क टी’को पात्रको यथार्थ हो यो । उसो त नाटक नै यथार्थवादी छ, जसले थुप्रै महिलाहरूको यथार्थ बोल्न खोजेको छ । विवाहेतर सम्बन्ध राख्ने पुरुषहरूमाथि पनि नाटकले कडा व्यंग्य गरेको छ । सधैँ महिलालाई मात्र दोषी देख्ने र कमजोर देखाउन खोज्ने समाजको यथार्थ पनि नाटकले भन्न खोजेको छ ।

नाटककी निर्देशक सृजना अधिकारी स्वयं नाटकमा ‘राधा’ बनेर उत्रिएकी छिन् । निर्देशनमा उनको यो पहिलो नाटक हो । आफू  काम गर्दा गल्ती गर्न मन पराउने व्यक्ति भएको बताउने सृजनाले पहिलो निर्देशनका लागि यही नाटक छान्नुलाई पनि गल्ती भनेकी छिन् । ‘यही नाटक छान्ने गल्ती पछाडि चाहिँ मेरो ‘हिरोइक’ चरित्र जिम्मेवार छ,’ उनले भनिन्, ‘मेरो यही चरित्रको बल र तागतले नै नाटक तयार भएको छ ।’

यस नाटकको अर्को सुन्दर पक्ष भनेको मञ्च परिकल्पना पनि हो । कुनै परिवर्तनविना एउटै कोठामा नाटक सकिन्छ । धाराबाट पानी बगिरहेको र चिया पकाइरहेका दृश्यहरू हेर्दा दर्शकलाई कुनै नाटकको नभएर यथार्थ दृश्य नियालिरहेको भान हुन्छ । मञ्च परिकल्पना पनि सृजनाकै हो । नाटकमा सुलक्षण भारती, लूनिभा तुलाधर, रेनुका कार्की, प्रेम वर्षा, रियर राई, अनुप न्यौपाने र आशिष घिमिरेले अभिनय गरेका छन् । सबैको अभिनय बलियो छ । नाटक हेर्ने प्रायः दर्शकको प्रतिक्रिया आइरहेको छ– ‘मिल्क टी मिट्ठो छ ।’  
नाटक सोमवारबाहेक प्रत्येक दिन साँझ साढे ४ बजेबाट एक महिनासम्म मञ्चन हुनेछ ।

 

Leave A Comment