‘कन्ट्रोभर्सी त सम्पत्ति हो’

शनिबार, ११ मङि्सर २०७३, १२ : ४० प्रशान्त लामिछाने , Kathmandu
‘कन्ट्रोभर्सी त सम्पत्ति हो’

भारतकी चर्चित लेखिका शोभा डे गत साता काठमाडौँ ओर्लिइन् । नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘मिडिया एन्ड आन्ट्रप्रनरसिप’ सम्मेलनमा भाग लिन उनी नेपाल आएकी थिइन् ।
१८ भन्दा बढी पुस्तककी ६८ वर्षीया यी लेखिका समाजिक सञ्जालमा अति व्यस्त देखिन्छिन् । उनी आफ्नो लेखनीले मात्र नभएर ‘सोसल मिडिया’मा दिएका अभिव्यक्तिले पनि उत्तिकै विवादमा परिरहन्छिन् । तर, उनी सामाजिक सञ्जालप्रति सकारात्मक छिन् । ‘सामाजिक सञ्जाल आम मानिसको अभिव्यक्ति स्वतन्त्रताको थलो हो,’ डेको मूल्यांकन छ ।
‘मानिस आफ्ना मनका भावना, पीडा ओकल्न चाहिरहेको हुन्छ । त्यसलाई फेसबुक, ट्वीटरजस्ता सोसल मिडियाले उनीहरूलाई सहयोग गरिरहेका छन् । यो सकारात्मक पाटो हो,’ डेको मान्यता छ । तर, यिनै डे भने सोसल मिडियामा कहिले भारतीय ओलम्पियनहरूबारे त कहिले गाईको मासुबारे दिएको अभिव्यक्तिको कारण विवादमा परिरहन्छिन् । यहाँसम्म कि उनले गाईको मासुबारे दिएको अभिव्यक्तिका कारण शिवसेनाले उनीविरुद्ध आन्दोलनै ग¥यो । डेलाई सरकारले सुरक्षा दिनुप¥यो ।
‘सामाजिक सञ्जाल नहुँदा आम मानिसले आफ्नो कुरा राख्ने सहज तरिका के थियो ?’ उनी प्रश्न गर्छिन् । ‘आज यसैबाट ठूलठूला अभियान र आन्दोलनसमेत भएका छन् । के यो सकारात्मक होइन ?’ कफीको चुस्कीसँगै डेले होटल सोल्टीमा गफिँदै भनिन्, ‘सोसल मिडिया कसरी चलाइन्छ भन्नेले पनि प्रभाव पर्छ, तर सधँै यसले समाजमा नकारात्मक प्रभाव पार्छ भन्नु गलत हो ।’ सोसल मिडियाको शक्ति भनेकै ‘कमन पिपुल’ को आवाज भएको उनको धारणा छ ।
सधँै सोसल मिडियाको प्रभाव रहन्छ भन्नेमा डेको विश्वास छैन । विश्व जसरी डिजिटल गतिमा अघि बढिरहेको छ, त्यसले सोसल मिडियालाई पनि विस्थापन गर्ने उनको आकलन छ । ‘फेसवुक, ट्वीटरभन्दा अघि पनि हामी यस्तै अरू केही चलाउँथ्यौँ, जो अहिले अस्तित्वमा छैनन्,’ उनले भनिन्, ‘आजका फेसबुक र ट्वीटर पनि प्रविधिको विकाससँगै विस्थापित हुनेछन् र तिनका ठाउँमा अझै नयाँ केही आउँछन् ।’
 
सधैँ विवादमा आइरहने यी लेखिका विवादलाई सम्पत्तिका रूपमा लिन्छिन् । ‘हो त, कन्ट्रोभर्सी त तपाईंको सम्पत्ति हो,’ उनले भनिन्, ‘मनमा लागेका कुराहरू अभिव्यक्त गर्नुपर्छ । विवाद आउला कि भन्ने चिन्तामा फस्नु हुन्न । एउटा लेखकको अभिव्यक्ति नै उसको सम्पत्ति हो । त्यसमा विवाद आउँछ भने त्यो पनि सम्पत्ति नै भएन र ?’
लेखकले फाइदा वा बेफाइदा हेरेर बोल्न नहुनेमा उनी अडिग छिन् । ‘सत्य बोल्नु र लेख्नु लेखकको काम हो, त्यसले नै उसलाई सफल बनाउँछ,’ उनले भनिन्, ‘लेखकले फाइदा÷बेफाइदा हेर्नु हुँदैन ।’
उनी पाठकको स्वतन्त्रताप्रति पनि सचेत छन् । पाठकलाई यस्तो पुस्तक पढ्नुपर्छ भनेर थोपर्न नहुने उनको धारण छ । ‘पाठक आफैँमा स्वतन्त्र हुन्छन्,’ उनको बुझाइ छ, ‘उनीहरू आफ्ना चाहनाअनुसार किताब पढ्न स्वतन्त्र छन् । उनीहरूलाई यस्तो पुस्तक राम्रो भनेर थोपर्नु हुँदैन ।’ तर, भर्खर पुस्तक पढ्न सुरु गर्दै गरेका युवाहरूलाई भने छोटा वाक्य भएका अर्थात् सरल भाषाका किताब पढ्न उनी सुझाव दिन्छिन् । ‘पुस्तक त सबैले आफ्नो रुचिअनुसार छान्न सक्छन् तर नयाँ पाठकले छोटा वाक्य भएका पुस्तक पढ्दा पठन क्षमता बढाउन मद्दत गर्छ,’ युवा पाठकलाई उनको सल्लाह छ ।
बढ्दो सूचना प्रविधिको विकाससँगै प्रिन्ट मिडिया विस्थापनको पनि चर्चा हुन थालेको छ । भारतको चर्चित म्यागजिन ‘स्टारडस्ट’ की सम्पादक रहिसकेकी डेलाई अनलाइनले प्रिन्टलाई विस्थापन गर्छ भन्ने विश्वास छैन । ‘डिजिटल मिडियाले प्रिन्टलाई विस्थापन गर्न सक्दैन,’ उनले भनिन्, ‘अनलाइन मिडियाको विकासले पेपरको बिक्री कम भने गर्न सक्छ । टेलिभिजनको तीव्र विकास भइरहँदा पनि पत्रिकाको भविष्यमाथि प्रश्न उठेको थियो, तर त्यस्तो खास असर त गरेन । पेपरको आफ्नै बजार छ, टेलिभिजनको आफ्नै बजार छ ।’ अहिले पनि ‘हार्ड कपी’ लाई सुरक्षित गर्न चाहनेहरूको संख्या उत्तिकै भएको उनको बुझाइ छ ।
दशौँ पटक नेपाल आइसकेकी डेलाई यहाँका हिमाल र सम्पदाहरूले मोहनी लगाएका छन् । पोखरा र पाटन उनलाई औधी मन पर्छन् । भूकम्पले पाटनलाई क्षति पु¥याउँदा उनको चित्त दुख्यो । पोखराबाट देखिने मनोरम हिमशृंखला उनका आँखा वरिपरि नै हुन्छन् । ‘सबै कुरा मिले एक पटक नेपाली बाटोमा ट्रेकिङ गर्ने योजना छ,’ उनले भनिन् ।


ग्रोथवेजः मिडिया एन्ड आन्ट्रप्रनरसिप कन्भेन्सन

‘प्रोडक्ट’को विश्वसनीयता ठूलो

नेपाल रिपब्लिक मिडियाको आयोजनामा ‘ग्रोथवेजः मिडिया एन्ड आन्ट्रप्रनरसिप कन्भेन्सन’ मंसिर २ गते राजधानीमा सम्पन्न भयो । कार्यक्रममा सहभागी अधिकांश वक्ताले प्रोडक्टको ब्रान्डिङका लागि विश्वसनीयता सबैभन्दा ठूलो कुरा भएको बताए ।

कार्यक्रममा भारतकी चर्चित लेखिका तथा स्तम्भकार शोभा डे, बिजनेस वल्र्डका संस्थापक तथा प्रधान सम्पादक अनुराग बत्रा, युवा लेखक सचिन गर्ग र भाइजुअम डेन्ट्सू एइगस नेटवर्कका प्रबन्ध निर्देशक श्रीपद कुलकर्णीले धारणा राखेका थिए ।

‘कुनै पनि प्रोडक्टलाई ब्रान्ड गर्नका लागि त्यसको विश्वसनीयता नै सबैभन्दा ठूलो कुरा हुन्छ,’ काठमाडौँस्थित सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा लेखिका डेले भनिन्, ‘त्यसैले उद्यमीहरूले प्रोडक्टको विकास र विस्तारका लागि प्रचारप्रसारमा भन्दा पनि विश्वसनीयतामा जोड दिनुपर्छ ।’ उनले सबैभन्दा बढी उपभोक्ता महिला रहेको र उनीहरू मूर्ख नभएको समेत जिकिर गरिन् ।


सोही कार्यक्रममा बिजनेस वल्र्डका संस्थापक तथा प्रधान सम्पादक अनुराग बत्राले उद्यमीलाई गर्न हुने तीन र गर्न नहुने तीनटा टिप्स सुझाए । ‘विनातयारी मिडियामा नजानुस्, धेरै अपेक्षा नराख्नुस् र एउटै मिडिया हाउसमा विभिन्न मान्छेसँग संगत नगर्नुस् । यी तीन गर्न नहुने कुरा हुन्,’ उनले भने , ‘त्यसै गरी तीनटा गर्नैपर्ने कुरा भनेको विश्वसनीय हुनु, कन्टेन्ट क्रिएट गर्नु र सम्बन्ध निर्माण गर्नु हो ।’  

बत्राले लामो रिपोर्ट प्रस्तुत गर्ने पत्रकारिताको भविष्य अझै रहेको दाबी समेत गरे । ‘लामो संरचनाको पत्रकारिता ट्वीटरले विस्थापित गर्न सक्दैन,’ उनले भने, ‘लामो स्वरूपको पत्रकारिताको महŒव अझै छ, रहिरहनेछ ।’ बत्राले आफ्नो न्युजरुममा युवा पत्रकारलाई काम लगाएको भन्दै उनीहरूमा नयाँ सोच हुने बताए । ‘मेरो न्युजरुममा सबै पत्रकार ३५ वर्षमुनिका छन्,’ उनले सुनाएका थिए । उनले मिडिया सधैँ एउटै व्यक्ति वा विषयमा मात्र केन्द्रित हुन नहुने भन्दै नयाँ खोज र नयाँ पात्र मिडियाको मिसन हुनुपर्ने बताए । बत्रासँगको सत्र प्रिज्म एड्भर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले सञ्चालन गरेका थिए ।

त्यस्तै, भाइजुअम डेन्ट्सू एइगस नेटवर्कका प्रबन्ध निर्देशक श्रीपद कुलकर्णीले डिजिटल मिडिया प्रवेशले पारेको प्रभावबारे धारणा राखेका थिए । उनले उपभोक्ताले कसरी सोच्छन्, कसरी व्यवहार गर्छन् र कसरी सामान किन्छन् महŒवपूर्ण हुने भन्दै व्यवसायीलाई सामग्री बजारमा लानुभन्दा अगाडि विज्ञापनका निश्चित प्रक्रिया पूरा गर्न सुझाव दिए । डिजिटल मिडियाले डिजिटल इकोनोमी सिर्जना गरिरहेको उनको भनाइ थियो । लाइनेज प्रालिका अध्यक्ष संकेत लामिछानेले उनको कार्यक्रम मोडरेट गरेका थिए ।

कार्यक्रममा भारतीय बेस्ट सेलर उपन्यासकार सचिन गर्गले आफ्नो लेखन यात्राको संघर्ष सुनाए । उनले लेखक कसरी उद्यमी पनि हो भनेर व्याख्या गरेका थिए । गर्गले मिडियाको सहयोगले पुस्तक बिक्रीमा सघाउ पुग्ने बताए ।  ‘कुनै दिन ठूलो पत्रिकामा किताबबारे छापियो भने त्यसले व्यापार केही बढाउँछ । अनि ट्वीटरमा फलोअर्स पनि,’ गर्गले भने, ‘फलोअर्सबीच हुने अन्तरक्रियासँगै किताबको बिक्री पनि बढ्छ ।’
नेपाल रिपब्लिक मिडियाकी निर्देशक संवृद्धि ज्ञवालीले सहभागी अतिथि, विज्ञापनदाता, उद्यमी, मिडियाकर्मी सबैलाई स्वागत गर्दै विज्ञापनदाताका विविध आयाममाथि चर्चा गरेकी थिइन् । ‘कतिपय मिडियामा आउन नचाहने र कतिपय बढी आउन खोज्ने हुन्छन् । हामी यो सम्मेलनबाट त्यस्ता दुवैका लागि उपयोगी मध्य मार्ग पहिल्याउने कोसिस गर्नेछौँ,’ उनले कार्यक्रमको उद्देश्यबारे बोलेकी थिइन् ।
कार्यक्रमको मुख्य सत्रको अध्यक्षता अनिल चित्रकारले गरेका थिए । ‘टेक द लिड’ पुस्तकका लेखक उनले उत्पादनलाई जनसमक्ष पु¥याउन मिडियाले सहयोग गर्ने उल्लेख गरे ।
प्यानलिस्टलाई नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली तथा निर्देशक शोभा ज्ञवालीले उपहार प्रदान गरेका थिए । स्मार्टफोन कम्पनी जेडटीईले सम्मेलनको प्रायोजन गरेको थियो ।

Leave A Comment