उज्यालोतिर देश

आइतबार, १२ मङि्सर २०७३, १० : ३२ शुक्रवार , Kathmandu
उज्यालोतिर देश

–लक्ष्मण वियोगी
गत वर्ष मंसिर ८ गते काठमाडौँ उपत्यकाको लोडसेडिङ दैनिक सात घण्टा थियो । तर, यो वर्ष ठ्याक्कै यही समयमा उपत्यका झिलिमिली छ । उज्यालोकै लागि सोलार, इन्भर्टर र अन्य स्रोत राख्नुपर्ने अवस्था आएको छैन । समग्रमा राजधानीवासीको दैनिकी सहज भएको छ । अहिलेसम्म विद्युत् कटौतीको चिन्ता छैन ।
उपत्यका झलमल्ल हुनुको रहस्य के हो ? सबैका मनमा प्रश्न उब्जिने गरेको छ । हरेकले आ–आफ्नो अड्कल काट्ने गरेका छन् । नेपाल विद्युत्् प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आउनु लोडसेडिङ अन्त्यको प्रमुख कारण मानिएको छ । तर, यो कति वास्तविक र तथ्यगत छ भन्नेमा कमैको ध्यान गएको छ ।
प्राधिकरणले गत वर्ष यही समयमा भारतबाट करिब दुई सय मेगावाट बिजुली आयात गरेको थियो । अहिले तीन सय मेगावाटभन्दा बढी आयात गरेको छ । गत वर्ष भारतको नाकाबन्दीका कारण ग्यास आयात ठप्प हुँदा बिजुलीको उपभोग बढेको थियो । त्यतिबेलाको उच्च माग १ हजार ८ सय मेगावाटसम्म पुगेको थियो । यस्तै, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट २५ मेगावाट उत्पादन भएको छ ।
भूकम्पका कारण बिग्रिएका संरचना पुनर्निर्माण भएका थिएनन् । त्यही कारण पटक–पटक लाइन काटिने समस्या थियो । गत वर्ष ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन पूरा भएको थिएन । २०७२ फागुन ७ बाट मात्र ८० मेगावाट आएको थियो । यो वर्ष त्यहाँबाट निरन्तर उक्त परिमाणको विद्युत्् आइरहेको छ ।
यो वर्ष गत वर्षको तुलनामा प्रणालीमा करिब १ सय ९६ मेगावाट बिजुली थप भएको छ । यही कारण माग र आपूर्ति मिलाउन प्राधिकरणलाई सजिलो भएको छ । यो वर्ष भारतबाट ८०, निजी आयोजनाबाट उत्पादन ७४ र पानीको बहावमा आएको सुधारबाट प्राधिकरण विद्युत्गृहमा ४२ मेगावाट बढी विद्युत् थप भएको छ । प्राधिकरणले अहिले भारतबाट करिब तीन सय मेगावाट बिजुली आयात गरेको छ भने ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट प्रणालीमा २५ मेगावाट थपिएको छ ।
प्रणालीमा विद्युत् भए पनि उचित रूपमा प्रणाली तथा ‘लोड’ व्यवस्थापन नभए विद्युत् संकटको समस्या हुन्छ । प्राधिकरण कार्यकारी निर्देशकमा घिसिङ आइसकेपछि यसमा उल्लेख्य सुधार भएको देखिन्छ । विद्युत् संकट कम गर्न प्रणालीमा बढी बिजुली नथपिए पनि माग, आपूर्ति र पूर्वाधार संरचनाको उचित व्यवस्थानमा ध्यान दिइएको घिसिङले बताएका छन् ।

‘माग र आपूर्ति व्यवस्थापनमा जोड दिएका छौँ’
कुलमान घिसिङ
कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
गत वर्ष यही समयमा लोडसेडिङ थियो । अहिले कसरी समाधान हुन सक्यो ?
गत वर्षको तुलनामा यो वर्ष प्रणालीमा बढी विद्युत् थप भएको छ । योसँगै आन्तरिक व्यवस्थापन र ‘लोड’मा सुधार गरिएको छ । उपत्यकाको वितरण प्रणालीमा धेरै सुधार भइसकेको छ । केही ठाउँमा अझै काम हुँदै छ । माग र आपूर्ति व्यवस्थापनमा ध्यान दिइएकाले भएकै बिजुलीबाट सर्वसाधारणलाई राहत दिन सम्भव भएको हो ।
प्रणालीमा उपलब्ध विद्युत्ले यो वर्ष अब लोडसेडिङ हुँदैन ?
भारतबाट करिब तीन सय मेगावाट आयात भइरहेको छ । आयात बढाउन पूर्वाधार संरचना सुधारमा जोड दिइएको छ । चुहावट घटाएर पनि केही विद्युत् थप हुन सक्छ । बिस्तारै नदी तथा खोलामा पानी घट्ने क्रम बढिरहेको छ । अहिलेको लोडसेडिङ अन्त्य परीक्षण मात्र हो । भारतबाट ल्याउने बिजुली नेपालको प्रणालीसँग मिलाउन (सिंक्रोनाइज) सकियो भने अँध्यारो मुक्त नै हुन्छ । तर, अहिले नै कति घण्टा हुन्छ भनेर भन्न सकिन्न । यत्ति हो, विद्युत कटौती नगन्य अवस्थामा राख्ने प्रयास छ ।
उद्योगमा लोडसेडिङ गरेर सर्वसाधारणलाई बाँडिएको भन्ने छ नि ?
उद्योगले अहिले २० घण्टासम्म निरन्तर विद्युत् पाइरहेका छन् । साँझ र बिहान बढी माग हुँदा चार÷पाँच घण्टा उद्योग नचलाइदिनुस् भनेर आग्रह गरिएको छ । ‘लोड’ मिलाउन पनि यसो गर्नुपर्छ । प्राधिकरणले पाँच घण्टा उद्योग नचलाउन सूचना पनि निकालेको छ । सर्वसाधारणलाई विद्युत वितरण गरेर उद्योगमा बाँडिएको भन्ने कुरा सत्य होइन ।
भारतबाट ल्याउने बिजुली काठमाडौँसम्म ल्याउन सकिन्छ ?
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट अहिले आइरहेको ८० मेगावाट काठमाडौँसम्म आएको छ । तर, त्यहाँबाट थप ८० मेगावाट ल्याउने तयारी छ । यो विद्युत काठमाडौँ ल्याउन प्रणाली सिंक्रोनाइज हुनुपर्छ । त्यसमा हामी काम गरिरहेका छौँ । अन्तिम अवस्थासम्म भएन भने पनि उपत्यका वरिपरिका विद्युतगृहबाट आपूर्ति भएको विद्युत्ले ‘लोड’ व्यवस्थापन गरेर यहाँको माग धान्न सकिन्छ ।
भारतबाट आउने बिजुली काठमाडौँ आउने बाटो के हो ?
खिम्ती–ढल्केबर प्रसारण लाइन करिब पूरा भइसक्यो । भारतबाट ढल्केबरसम्म आएको विद्युत् खिम्ती–बाह्रबीसे–काठमाडौँ १३२ केभी र हेटौँडा–कुलेखानी–स्युचाटार १३२ केभी डबल सर्किट लाइनबाट करिब सय मेगावाट ल्याउन सकिन्छ । बाटो यही हो । यसो गर्न पनि भारत र नेपालको प्रसारण प्रणाली जोडिनु आवश्यक छ । यसमा काम भइरहेको छ ।

Leave A Comment