‘द ग्रेट डिक्टेटर’को समापन भाषण

आइतबार, १२ मङि्सर २०७३, १० : ३६ माधव ढुङ्गेल , Kathmandu
‘द ग्रेट डिक्टेटर’को समापन भाषण

चार्ली च्याप्लिनका प्रसिद्ध चलचित्रमध्ये ‘द ग्रेट डिक्टेटर’ (१९४०) पनि एउटा हो । चार्लीका अन्य चलचित्रझैँ यो पनि कमेडी चलचित्र हो तर अन्य चलचित्रभन्दा फरक यसमा चार्लीको सक्कली आवाज सुन्न पाइन्छ र यसले राजनीतिक विषय, त्यसमा पनि नाजीवादी जर्मन तानाशाह हिटलरमाथि गम्भीर व्यंग्य गरेको छ ।
चलचित्रमा यहुदी व्यक्ति र हिटलर दुवैको भूमिकामा चार्लीको अभिनय छ । हिटलरले भाषण गर्नुपर्ने ठाउँमा ऊ (सक्कली हिटलर) एकाएक हराउँछ र मिल्दो अनुहारको यहुदी व्यक्ति (नक्कली हिटलर) मञ्चमा पुग्छ । दोस्रो विश्वयुद्ध चलिरहेको समयमा नाजीवादी दमनबाट उत्पीडित उक्त यहुदी व्यक्तिका रूपमा चार्लीले भाषणमा जे बोलेका छन्, त्यो मानवताका पक्षमा बोलिएको चर्चित मन्तव्यमध्ये एक हो । प्रस्तुत छ, उक्त चलचित्रमा चार्लीले दिएको विश्वप्रसिद्ध भाषणको अनूदित अंशः

मलाई खेद छ, तर म शासक बन्न चाहन्नँ । यो मेरो काम होइन । कसैमाथि पनि राज गर्नु या कसैलाई जित्नु मेरो उद्देश्य होइन । म त कसैलाई मद्दत गर्न चाहन्छु, यदि हुन सक्छ भने, यहुदीलाई, गैरयहुदीलाई, कालालाई, गोरालाई... ।
हामी एक–अर्कालाई मद्दत गर्न चाहन्छौँ । मान्छेको खास स्वभाव नै यस्तै हुन्छ । हामी एक–अर्कासँग मिलेर खुशीयालीपूर्वक बाँच्न चाहन्छौँ । एउटाले अर्कालाई दुःख दिएर बाँच्नु हाम्रो उद्देश्य होइन । हामी आपसमा घृणा र अपमान चाहँदैनौँ । यस संसारमा सबैका लागि ठाउँ छ र हाम्रो यस समृद्ध धर्तीले सबैका लागि अन्न र पानी जुटाउने सामथ्र्य राख्छ ।
जीवनको बाटो स्वतन्त्र र सुन्दर हुन सक्छ तर हामी मूलबाटोबाट भड्किएका छौँ । लोभ–लालचले मानिसको आत्मालाई विषाक्त तुल्याएको छ । मानिसहरूका बीचमा घृणाको पर्खाल उठाइदिएको छ । हामीलाई हिंसा–हत्याको दलदलमा फसाइदिएको छ । हामीले प्रगति त ग¥यौँ तर आफैँलाई त्यसको सीमाभित्र बन्द पनि गरिदियौँ ।
हामीले मेसिन बनायौँ, मेसिनले हामीलाई धेरै कुरा दियो तर हाम्रो मात अझै बढ्दै गयो । हाम्रो ज्ञानले हामीलाई सनकी बनाइदिएको छ । हाम्रो चातुर्यले हामीलाई निर्दयी बनाइदिएको छ । हामी असाध्यै धेरै सोच्ने र असाध्यै कम मात्रै ‘महसुस’  गर्ने भयौँ ।
आजका दिनमा हामीलाई यति धेरै यान्त्रिकता होइन, मानवीयताको आवश्यकता छ । चातुर्यका तुलनामा विनम्रताको आवश्यकता धेरै छ । यी गुणविना जीवन हिंस्रक हुँदै जानेछ र सबै समाप्त हुने बाटोतिर लाग्नेछ ।
हवाईजहाज र रेडियोले हामीलाई एक–अर्काको नजिक बनाइदिएका छन् । यिनै उपलब्धिको प्रकृतिले जोडतोडले भनिरहेका छन् – मानिसमा सदाचार होस्; जोडतोडले कराउँदै भनिरहेका छन् – पूरै संसारमा भाइचारा होस्, हामी सबैमा एकता होस् । यहाँसम्म कि यही समयमा मेरो आवाज पनि दुनियाँका लाखौँ–करोडौँ मानिससम्म पुगिरहेको छ । लाखौँ–करोडौँ उदास र थकित पुरुष, महिला तथा ससाना बच्चाहरूसम्म पुगिरहेको छ, जो त्यस तन्त्रको सिकार भएका छन्, जसले मानिसलाई क्रूर र अत्याचारी बनाइदिएको छ र निर्दोष मानिसहरूमाथि अन्याय गरिरहेको छ ।
जोसम्म मेरो आवाज पुगिरहेको छ, म उनीहरूसँग भन्न चाहन्छु– तपाईं निराश नहुनुस् । जुन विपत्ति हाम्रो अगाडि छ, त्यो केही पनि होइन । लोभ–लालचको आयु सिद्धिएको संकेत हो । मानिसको घृणा सदासर्वदा बाँच्ने कुरा होइन । तानाशाहहरू सधैँका लागि रहँदैनन्, मृत्युले उनीहरूलाई लैजान्छ । जुन शक्ति उनीहरूले जनताबाट खोसेर लिएका थिए, जनताले त्यसलाई फिर्ता लिनेछन् । मानिसहरू मरिरहन्छन्, स्वतन्त्रता कहिल्यै मर्दैन ।
सिपाही साथीहरू ! तपाईंहरू आफूलाई अत्याचारीहरूका हातमा नसुम्पिनुस् जो तपाईंलाई घृणा गर्छन्, जो तपाईंलाई दास बनाउँछन्, जो तपाईंको जिन्दगीका बारेमा फैसला गर्छन्, जो तपाईंले के गर्नुपर्छ, कसरी सोच्नुपर्छ भनेर निर्णय दिन्छन्, जो तपाईंले कस्तो महसुस गर्नुपर्छ भन्नेसम्मको खटन गर्छन्, जो तपाईंलाई भोकै राख्छन् र तोपमा प्रयोग हुने गोलाका रूपमा तपाईंलाई प्रयोग गर्छन् । तपाईंले आफूलाई ती अप्राकृतिक मनुष्यहरू, ती यान्त्रिक मानवहरूका हातको पुतली बन्न नदिनुस् जसको दिमाग यान्त्रिक छ, जसको हृदय पनि यान्त्रिक छ । तपाईं यन्त्र होइन, तपाईं मानिस हो । तपाईंको हृदयमा मानवताको सागर उर्लिरहेको छ । प्रेमको सागर छ । घृणा तपाईं नगर्नुस् । घृणा खालि त्यसैले गर्छ जसले कसैको प्रेम पाउन सकेको हुन्न, जो प्रेमबाट वञ्चित र अप्राकृतिक हुन्छ ।
सिपाही साथीहरू ! दासताका लागि नलड्नुस् । स्वतन्त्रताका लागि लड्नुस् । सेन्ट ल्युकको सत्रौँ अध्यायमा लेखिएको छ, ईश्वरको साम्राज्य समग्र मानव जातिको भित्र हुन्छ, एउटा मान्छेको भित्र होइन । कुनै खास समुदायका मानिसको भित्र मात्रै होइन बरु सबै मनुष्यको भित्र हुन्छ । तपाईं सबै साथीहरूसँग तागत छ, यन्त्र बनाउने तागत, खुशीहरू पैदा गर्ने तागत, तपाईंहरू हरेक व्यक्तिमा यस जीवनलाई शानदार बनाउने, रोमाञ्चक गतिविधिमा बदल्ने तागत छ । तसर्थ लोकतन्त्रका नाममा, आउनुस् हामी हाम्रो तागतलाई प्रयोग गरौँ । आउनुस्, हामी एक होऔँ । आउनुस्, हामी एउटा नयाँ संसारका लागि संघर्ष गरौँ । एउटा त्यस्तो सुन्दर संसार जहाँ सबै मान्छेलाई काम गर्ने अवसर मिलोस् । त्यस नयाँ संसारमा युवा वर्गका लागि राम्रो भविष्य र वृद्धवृद्धाका लागि सुरक्षा मिलोस् ।
यस्तै वाचा उनीहरू पनि गर्छन् तर झुट बोल्छन् । उनीहरू त्यस वाचालाई पूरा गर्न सक्दैनन् । तानाशाहहरूले आफूलाई त मुक्त गर्छन् तर मानिसहरूलाई दास बनाउँछन् । आउनुस्, संसारलाई मुक्त गर्नका लागि लडौँ । राष्ट्रिय सीमाहरूलाई भत्काइदिऔँ । लालचलाई मिल्काइदिऔँ । घृणालाई जमिनमुनि गाडौँ र असहनशीलतालाई कुल्चिएर अगाडि बढौँ ।
आउनुस्, हामी तर्कको संसारका लागि संघर्ष गरौँ । एउटा यस्तो संसारका लागि लडौँ जहाँ विज्ञान र प्रगतिले सबै कुरालाई खुशीयालीतर्फ लैजान सकोस् । लोकतन्त्रका नाममा, आउनुस् हामी एकताबद्ध होऔँ ।
हान्नाह (फिल्ममा चार्लीकी प्रेमिका) ! के तिमी मेरो कुरा सुन्दै छौ ?
तिमी जहाँ भए पनि मलाई हेर । हेर, हान्नाह, आकाशमा हेर । बादल हिँड्दैछ । त्यसमा सूर्य पनि देखिँदैछ । हामी यस अँध्यारोबाट निस्केर प्रकाशतिर बढ्दैछौँ । हामी एउटा नयाँ संसारमा प्रवेश गर्दैछौँ । बढी दयालु संसार, जहाँ मानिस लालचभन्दा माथि उठदैछ, घृणा र पशुत्व त्याग्दैछ । हेर हान्नाह, मुनष्य आत्मालाई पँखेटा दिइएको छ र अन्ततः यस्तो समय आइ नै सक्यो जब ऊ आकाशमा उड्न थाल्यो । त्यो इन्द्रधनुषजस्तै उड्न थाल्यो । त्यो आशाको आलोकमा उड्न थाल्यो । हेर, हान्नाह, हेर !

Leave A Comment