‘निर्देशकका लागि सिलिन्डरको लाइनमा बसेँ’

बुधबार, १५ मङि्सर २०७३, १० : ३५ शुक्रवार , Kathmandu
‘निर्देशकका लागि सिलिन्डरको लाइनमा बसेँ’

पर्दापछाडि रहेर काम गर्छन्, सत्यराज चौलागाईं । करिब सात वर्षदेखि नेपाली फिल्ममा निर्देशकको सहायक भएर काम गरिरहेका छन् । मुख्य सहायक निर्देशक भएर नेपाली फिल्ममा काम गर्दाका आफ्ना करिअर अनुभव उनले शुक्रवारसँग यसरी साटे ः

बाल्यकालदेखि नै फिल्ममा काम गर्ने रुचि थियो । त्यही रहरका कारण मैले १० वर्षअघि ०६३ सालमा काठमाडौँको चाबहिलमा सिनेमा संसार कला केन्द्र खोलेँ । कला केन्द्र खोल्नुको एउटै कारण थियो– फिल्म क्षेत्रमा प्रवेश गर्ने । त्यहाँ नृत्य, गायन सबै सिकाइन्थ्यो । म ड्रम पनि अलि अलि बजाउँथेँ । त्यतिबेलासम्म त मेरो मनमा कलाकार बन्ने भूत चढिसकेको थियो । मेरै कार्यालयको नजिकै निर्देशक दयाराम दाहालको घर बन्दै थियो । एक दिन म उहाँलाई भेट्न घरमै पुगेँ । मेरो कला केन्द्रमा आइदिनका लागि निम्ता पनि गरेँ । मेरा रहरका विषयमा उहाँलाई बताएँ । ०६६ सालमा मलाई उहाँले ‘मायाको बारी’मा भन्ने फिल्ममा उहाँको प्रथम सहायक निर्देशक भएर काम गर्न अफर गर्नुभयो । त्यो फिल्ममा राजेश हमाल, करिश्मा मानन्धरजस्ता चर्चित अभिनेता÷अभिनेत्री काम गर्दै हुनुहुन्थ्यो । पहिलो फिल्ममै राजेश दाइसँग काम गर्न पाउने हुँदा मन खुशी पनि भयो । उत्तिकै नर्भस पनि । ठूलठूला कलाकारहरू घमण्डी हुन्छन् भन्ने मलाई लाग्थ्यो । तर, उहाँहरू एकदम सहज लाग्यो । मलाई नयाँ प्राविधिकलाई जस्तो व्यवहार गर्नुभएन ।

फिल्म प्राविधिकका रूपमा काम गर्दा अनेक भोगियो । मेरो कपालसँग जोडिएको रमाइलो किस्सा छ । ‘मायाको बारीमा’मा काम गर्ने क्रममा मेरो कपाल अभिनेता श्रीकृष्ण श्रेष्ठको जस्तो लामो थियो । त्यो कपाललाई लिएर निर्देशक दयाराम दाईले असन्तुष्टि जनाउनुभयो । उहाँले सीधै ‘कि कपाल काट, कि सेट छोडेर जाऊ’ भन्नुभयो । त्यतिबेला मन खिन्न भयो । तर, मैले कपाल नकाट्ने बताएँ । पछि त्यो विवाद साम्य भयो ।  कपालले काममा केही रोकावट नहुने मेरो भनाइ थियो ।

निर्देशकको सहायक भएर मैले फिल्म ‘समय’, ‘कोहिनुर’, ‘नाइके’, ‘को–आफ्नो’, ‘भाग् सानी भाग्’, ‘के म तिम्रो होइन र’ लगायत फिल्ममा काम गरिसकेँ । मेरो बुझाइमा मुख्य सहायक निर्देशकको काम भनेको निर्देशकको भिजनलाई बुझेर उसलाई काममा सहज बनाइदिने हो । कलाकारको ड्रेसदेखि लिएर सिनसम्मका कुराहरूमा निर्देशकलाई जानकारी गराउने हो । निर्देशकले कुनै सिनको टेक लिन बिर्सियो भने उसलाई सम्झना गराउने हो । तर, यहाँ त्यतिमात्र गरेर पनि हुँदैन । यहाँ त निर्देशकको चाकरी पनि गर्नुपर्छ । मैले त यतिसम्म कि निर्देशकको घरमा ग्यास सकिएपछि तीन घण्टा लाइन बसेर ल्याइदिनुपरेको छ । एउटा फिल्ममा त निर्देशकले जाँड खाएर फिट्टान भएपछि मध्यरातमा लिन समेत बोलाएका छन् । तर, म चुपचाप गएको छु । किनकि, मलाई केही कुरा सिक्नु थियो । म पैसाका लागि भन्दा निर्देशक बन्नका लागि निर्देशकलाई सघाइरहेको थिएँ ।
यहाँ फिल्म प्राविधिकमाथि हुने विभेद पनि मैले नमीठोसँग भोगेको छु । रातको समयमा सुटिङ सकिँदा निर्देशकलाई गाडीले घरसम्मै पु¥याउँथ्यो । हामीले भने रातको १ बजे पनि पैदल हिँडेर जानुपथ्र्याे ।

पारिश्रमिकको कुरामा पनि प्राविधिकमाथि अन्याय छ । अन्याय कसरी भने हामीले पाउनुपर्ने पारिश्रमिक पनि बीच बाटोमै हराउँछ । निर्माताले हामीलाई ५० हजार दिएको छ भने हाम्रो हातमा निर्देशकले २५÷३० हजारमात्र दिन्छन् । यो एक किसिमको शोषण हो । तर, एकदुई वर्षयता पहिलेको तुलनामा अहिले विभेद निकै कम भएको सुनिन्छ ।
मैले पहिलो फिल्ममा काम गर्दा १५ हजार रुपियाँ पारिश्रमिक पाएको थिएँ । अहिले १ लाख २० हजार रुपियाँसम्म लिन्छु । यति लिएबापत न्यूनतम तीन महिनादेखि छ महिनासम्म एउटा फिल्मका लागि समय दिनुपर्छ ।

मैले नयाँ र पुराना दुवै खाले निर्देशकसँग काम गरेको छु । पुरानासँग काम गर्न निकै गाह्रो छ । उनीहरूलाई केही सुझायो भने ‘तँ जान्ने भइस्’सम्म भन्छन् । नयाँले चाहिँ सहायक निर्देशकका सुझावलाई पनि ग्रहण गर्छन् । यो राम्रो कुरा हो । मैले आधा दशकजति निर्देशकको सहायक भएर काम गर्दा बटुलेको अनुभव अब प्रयोग गर्ने बेला आएको छ । अभिनेत्री एवं निर्मात्री सुष्मिता केसीले मलाई ‘बाबरी फूलको बोट’ नामक फिल्मको निर्देशकमा अनुबन्ध गर्नुभएको छ । फिल्म फागुनबाट फ्लोरमा जाँदैछ । म निर्देशक भएपछि मेरा सहयोगीहरूप्रति गर्ने व्यवहार सधैँ सम्मानजनक हुनेछ । किनकि, अपमानित हुँदाको पीडा म राम्ररी जान्दछु ।

 

Leave A Comment